
कोमल फुयाल
आकाशबाट ताराहरू एकैसाथ हराएको दिन
आमाले मलाई भन्नुभएको थियो,
‘छोरा, आज एकादशीको व्रत लिनु पर्दछ।’
मलाई त्यस दिन एकादशी होइन भन्ने थाहा थियो
मैले आमालाई सोधेँ, ‘आज एकादशी होइन नि त ?’
उपवासको नाम आमाको लागि एकादशीको व्रत थियो
उनका लागि माधवी भक्तिको मार्ग थियो
शुद्धता नै स्वाभिमानको प्रदर्शन थियो
आत्मिक भक्तिको अमिट आधार थियो।
नारायण र नरमा केही पनि त फरक हुँदैन
भन्ने कुराको निर्क्यौल गरेपछि
आमाले जुनेलो भुट्ने कुरा गर्नुभयो
उपवासमा जुनेलो सेवन राम्रो हुने निष्कर्ष थियो
हामी सबैकोः सर्वसम्मत।
केही मानिसहरू उपवासमा रहेका व्यक्तिहरूको सेवा गर्न
हाम्रो बस्तीमा आएका छन् रे
हो, हाम्रा पल्ला घरका दाइले त्यो खबर ल्याएका थिए
आमा र म जुनेलो केलाउन र निफन्न लाग्दा
ती मानिसहरू हाम्रो सेवाका लागि हाम्रै घरसम्म आइपुगे।
तिनीहरूको बोलीबचन मीठो थियो
तिनीहरूको भाषा शिष्ट र शालिन थियो
मैले तिनीहरूलाई नमस्कार फर्काएँ
त्यसपछि आमाले पनि नमस्कार फर्काउनु भयो
र तिनीहरूले आ-आफ्ना झोला खेलेर हामीलाई
नारायण भक्तिको पाककलाको पर्चा दिएर भन्न थाले,
‘नारायण प्रशन्न हुने खाद्य भनेको खट्टे हो,
उनको नामको उपवासमा जुनेलो र ऊखु वर्जित छ।’
म त चुप नै लागिरहेँ
बोल्नु पर्ने नै के थियो र?
मलाई लाग्यो, ‘मेरी सोझी आमाले अब
कसरी यी अभिमानी मूर्खहरूलाई सम्झाउनु होला र?’
आमाले मेरो मुखतिर हेर्नुभयो
अनि भन्नु भयो, ‘तपाईं भक्तहरूले भनेको पनि ठीक नै हुनुपर्छ
तर हामीले उपवासमा खट्टे खाएका छैनौँ आजसम्म,
एकै क्षण कुर्न सक्नु हुन्छ भने कुर्नोस्
तपाईंहरूलाई आज म जुनेलो टक्राउनेछु।
यस मौसम जुनेलोको रह्यो यस बस्तीमा।’
(फुयाल त्रिविवि, कीर्तिपुरमा प्राध्यापन गर्छन् ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 







