मूलसडकभन्दा केही टाढा एउटा घर छ । सडकतिर मूल ढोका पारेर बनेको त्यो घरको पिँढीमा पहिल्यैदेखि चार–पाँच जना महिला–पुरुष गफ गरेर बसेका छन् । म सडकलाई छोडेर त्यही घरतिर लाग्छु र आँगनमा पुग्छु । मेरो पाइलाहरू घरतिर लागेको देख्नासाथ पिँढीमा बसेका सबैको नजर मतिर पर्छ । उनीहरू सबै चनाखो बन्छन् । सम्भवतः मेरो पाइलोले नै बताएको छ त्यो गाउँको लागि म नौलो व्यक्ति हुँ । अझ केही पहिला नै फोनबाट उनीहरूलाई अवगत भइसकेको छ– “नेपालबाट एकजना व्यक्ति आउँदै हुनुहुन्छ ।” म आँगनमा पुग्नासाथ पिँढीमा बसिरहेका एकजना व्यक्ति जुरुक्क उठ्नुहुन्छ र मैतिर आउँदै बोल्नुहुन्छ– “तपाईं नै हो नेपालबाट आउनुभएको ? आउनुहोस् ! बस्नुहोस् । यता कुर्सीमा !”

“हो ! हो ! म नै हुँ । मनबहादुरजीले खबर गर्नुभएको थियो होइन !” भन्दै म उहाँले देखाउनुभएको प्लाष्टिकको कुर्सीमा बस्छु ।

सामान्यतयाः गाउँमा कुनै नौलो व्यक्ति पसेको छ भने हल्लाखल्ला र खासखुस चल्नु स्वाभाविकै हो । अझ नेपालबाट आएको भनेपछि भेट गर्न हत्तारिनु अनौठो होइन । त्यो घरमा मान्छेहरू थपिने क्रम बढ्न थाल्छ । फाट्टफुट्ट त्यो घरको पिँढीमा जनसंख्या बढ्दै जान्छ । त्यही क्रममा एक जना वृद्ध व्यक्ति पाँच–छ वर्षको बालकलाई हातमा डोर्याउँदै आइपुग्नुहुन्छ र मलाई संकेत गर्दै बोल्नुहुन्छ– “हे ! बाबु नै हो, नेपालबाट आउनुभएको ?”

तर मैले उत्तर दिन भ्याएको छैन । उहाँसँग हातमा डोर्याउँदै आएका बालकको मुखबाट बोली फुत्त फुत्हिाल्छ– “उहाँ हाम्रो नेपालको अंकल हो ? हजूरबा !”

नगेन्द्र न्यौपाने

त्यो बालकको प्रश्नतिर ती व्यक्तिको चाँसो जाँदैन तर म चनाखो हुन्छु र बच्चाको भनाइलाई संकेत गर्दै बोल्छु– “तपाईंको नेपालमा पनि आफन्त छन् ?”

ती व्यक्ति केही ठोसे बोलीमा जवाफ दिन्छन्–

“के को हुनु ! यो त्यसै बोल्छ कोही छैन ।”

ती व्यक्तिले “त्यसै” बोल्छ भनेर हल्का रूपमा लिए पनि म स्तब्ध बन्छु । मलाई सतर्क बनाउँछ । त्यो बच्चाले न नेपाल देखेको छ, न उसका कोही आफन्त नै छन् । न बाबु–बाजेले देखे तर ऊ जन्मँदै नेपाल लिएर जन्मेको छ । उसलाई नेपालप्रति चाख छ । त्यसैले भन्ने गरिन्छ, ‘मायाको बिउ रोप्न ठाउँमा पुग्न पर्दैन त्यो वंशमा टाँसिएर आएको हुन्छ ।’ पक्कै नेपालमा उसको केही भएर त उसको मुखबाट बोली निस्कियो । ऊ नेपाल शब्द आफ्ना बोलीमा राख्न चाहन्छ ।

“तपाईंको नाति ?” म उनलाई फेरि सोध्छु ।

“हजुर ! यो मेरो नाति ।”

“कति भाइ छन् छोराहरू ।”

“मेरा छोरा छैनन् । यो छोरीको छोरो ।”

उनी आज्ञाकारी शिष्यजस्तो मेरो प्रश्नको उत्तर दिइरहेका हुन्छन् । तर मलाई खल्लो लाग्न थाल्छ । मेरो कमजोर मानसिकताप्रति आफैंलाई धिक्कार लाग्छ । मेरो पितृ सत्तात्मक दिमाग कहिल्यै परिष्कृत हुन सकेन । मेरो दिमागले नाति भनेपछि सधैं छोरा नै देख्यो । छोरीतिरका आँखा बन्द भए । मलाई अफसोच लाग्छ । मान्छेहरू किन हरेक पाइला–पाइलामा विभेदकारी बनिरहेका हुन्छन् । पक्षपाती बन्छन् ।
फेरि म उनैको ध्यान आकर्षण गर्दै सोध्छु–

“कति छन् तपाईंका छोरीहरू ?”

“चारवटी ।”

“चार–चारवटी छोरीहरू । दाइजो त धेरै नै लाग्यो होला, हगि !”

“हाम्रोमा दाइजोको चलन छैन । केटा र केटीको व्यवस्था गरिदिने हो ! आफैं मिलेर विवाह गर्छन् । उनीहरूलाई दाइजोको लोभ छैन । दाइजोको बारेमा थाहा पनि छैन ।”

उनले हल्का रूपमा आफ्नो भनाइ राखे तर म गह्रुँगो भएँ । नेपालको भयावह स्थिति सम्झेर दिमाग मडारिन थाल्यो । अहो ! कस्तो फराकिला सोचाइ ! कस्तो विशाल आत्मा ! वास्तवमा हरेक समाजाई चाहिएको त्यही हो । तर वर्षेनी नेपालमा दाइजोका लागि डढेका बुहारीहरूको घटना सुन्ने मेरा कानले यस्तो फिराकिलो सोचाइलाई कसरी विश्वास गर्न सक्छ ! दाइजोको घटनाले क्लान्त दिमागले त्यो लिन सकेन । मलाई छटपटी हुन्छ ।

“त्यसो भए छाउपडी पनि छैन होला हगि ! बर्मामा ?” म यसैमा फेरि सोध्छु ।

“के हो त्यो छाउपडी भनेको ?” उनी मैतिर प्रश्न राख्छन् म पनि झ्वाट्ट भन्न सक्दिनँ । मलाई पनि त्यो बारेमा खोल्न मन लाग्दैन । कहिलेकाहीं जानेको कुरा पनि भनिहाल्न आँट आउँदो रहेनछ ।

“छाउपडी ! महिनावारीको बेला होला नि !” नजिकै बसेकी महिलाले उत्तर दिन्छिन् । फेरि यसैमा थप्छिन्– “छैन ! छैन ! बाबु ! यहाँ त्यस्तो केही छैन ।”

नेपालमा जल्दोबल्दो समस्या त वर्मामा नाम निशाना नै रहेनछ । हरेक वर्ष सर्पले डसेर मर्ने बालिकाको कथा त बर्मेलीलाई ज्ञान नै रहेनछ । नेपालमा मट्टितेल खन्याएर बुहारी मार्ने घटना त उनीहरूले सुनेकै रहेनछन् ।

म केहीबेर अन्यत्रको पनि गफ गर्छु । अनि चिया र बिस्कुट खाएर त्यो घरबाट निस्किन्छु ।

दिन अझै बाँकी छ, भने वर्माको गाउँ घुम्ने मनसाय अझै मरेको छैन । म त्यो घरबाट बिदा भएर अगाडि बढ्छु । आत्माले जितेपछि संसारै उज्यालो भनेकोजस्तो भय, त्रासको नाम नै हुँदैन । ममा एक्लै वर्माको गाउँ–गाउँ घुम्ने साहस हुन्छ तर खनालजी मान्नुहुन्न ।

“कहाँ एक्लै हिँड्नु ! नौलो ठाउँ ! बाटो पनि चिन्नु पर्यो नि ! म पनि जान्छु ।”

हामीहरू दुवै अगाडि बढ्छौं । धेरैबेरको सडक हिँडेपछि सडकमाथि एउटा मध्यम खालको घर देखापर्छ । त्यहीँ घरलाई संकेत गर्दै खनालजी मलाई सुनाउनुहुन्छ– “यो पनि नेपालीको घर हो ।”

म पुलुक्क त्यो घरतिर हेर्छु । पहिलादेखि नै त्यो घरबाट लगातार भाँडा ठटाएको आवाज आइरहेको छ । तिखो आवाज परसम्म सुनिएको छ । म त्यो आवाजलाई संकेत गर्दै खनालजीलाई सोध्छु– “केको आवाज हो त्यो ? लगातार आइरहेको छ ।”

“आरानको हो सर ! हसिया, खुर्पा उद्याउने आरान छ त्यो घरमा ! नेपालीको हो !” उनी सहज रूपमा उत्तर दिन्छन् तर मलाई अनौठो लाग्छ । मनमनै सोच्छु– “वर्मामा पनि आरान ! कस्तो होला ! फेरि नेपालीको ।” तर बाहिर निकाल्न सक्दिन । डर लाग्छ । केही अन्कनाई दोहोर्याएर सोध्छु– “नेपालीकै आरान हो त्यो ?”

उनी कति पनि नहिच्किचाइकन उत्तर दिन्छन्– “हो सर ! नेपालीको हो ।”

एकाएक मलाई त्यो आरान हेर्ने इच्छा हुन्छ र उनीप्रति प्रस्ताव राख्छु– “मिल्छ भने त्यो हेर्न जाऔं न त !”

हामीहरू दुवै जना सडकबाट कान्ला उक्लन्छौं र सरासर आरान भएको कटेरामा पुग्छौं । कटेरामा एकजना २५–२६ वर्षका युवक फलाम पिटिरहेका हुन्छन् । हामीलाई देख्नासाथ फलाम पिट्न छोडेर हतारिँदै घरभित्र पस्छन् । मलाई अचम्म लाग्छ– “किन यिनले गर्र्दै गरेको काम छोडेर घरभित्र पसें ! किन त्यसरी भागे । पछि थाहा हुन्छ उनी घरभित्रका आफ्ना बाबुलाई खबर गर्न गएका रहेछन् र त्यसरी हतारिनुको कारण चाहिँ पिट्न तयार भएको फलाम सेलाउन नपाओस् भनेर रहेछ ।

ठूला आँगन, आँगनको एउटा छेउमा आरानको लागि बनाइएको सानो कटेरो अनि अर्को छेउमा तुलसीको मठ ! हिन्दु सभ्यताको सानो संकेत, जुन सभ्यता उनीहरूले नेपालबाटै लगेका थिए ।्

भित्रबाट दलमानजी आउनुहुन्छ र हामीलाई घरभित्र लग्नुहुन्छ । फराकिलो बैठक कोठा, कोठा अर्को कुनामा सानो भान्सा, अनि छेउमा गृहस्थीहरू सामान– दलमानजीको घर व्यवहार मजबुत देखिन्छ । हामी बस्दा–बस्दै दलमानकी श्रीतीले ग्रीन–टी र तातो पानीको थर्मस ल्याउनुहुन्छ । हामी पिउँछौं ।

“तपाईंका पुर्खाहरू नेपाल कुन ठाउँबाट आउनुभएको रहेछ ” म सोध्छु ।

“खै ! नेपाल कुन ठाउँ हो थाह छैन, नेपाल भन्ने मात्र छ ! नेपालबाट यही कामको लागि आउनुभएको रहेछ । हसिया–खुर्पा उद्याउन आवश्यक पर्यो भनेर आरनै बोकेर आउनुभएको रहेछ ।”

उतिबेला हरियो फाँटले नै नेपालीलाई वर्मामा अठ्काएको थियो । कृषिका लागि औजार त खाँचो पर्ने नै भयो तर वर्मेलीसँग हिमचिम नपाएका नेपालीले औजार उद्याउने ठाउँ पाएनन् भने नेपालबाट ल्याइएका औजारहरू भुत्ते हुँदै गए– त्यसैले आरानको कामको लागि दलमानका पुर्खाहरू वर्मा गए होलान् म उनको भनाइमा आफ्नो अन्दाज लगाउँछु । तर यो अन्दाज मात्र होइन वास्तविकता नै हो ।

नेपालमा भएको भए उनी दलित समुदायका थिए, उनको पहिचानलाई जातीय विभेदले संकीर्ण बनाएको थियो । तर वर्मेलीहरू दलित र गैर दलित बारेमा अनभिज्ञ नै छन् । त्यो बारेमा राय बुझ्न दलमानजीलाई डराई–डराई सोध्छु– “यहाँतिर जातीय विभेद र छुवाछुतलाई कसरी लिन्छन् । बर्मामा त्यस्तो केही महसुस गर्नुभएको छ ?”

उनलाई आफ्नो बारेमा जानकारी गराउन कुनै शरम नै छैन । कुनै गोप्यता नै छैन । उनी स्पष्ट रूपमा बोल्छन्– “खै ! नेपालतिर हुन्छ भन्छन् । कस्तो हुन्छ जातीय विभेद भनेको ! यस्तो त यहाँ थाहा पाएको छैन । बर्मातिर सुनेको छैन ।”

ग्रीन–टी पिउँदा पिउँदै खाजा आइपुग्छ । हरियो पातमा वाफमा पकाएको खानेकुरा । त्यो खानेकुराको नाम मलाई थाह हुँदैन तर पातबाट निकाल्दै खान थाल्छु । साह्रै मीठो लाग्छ ।

“यो बर्माको निकै चल्तीको खाजा हो” दलमान बताउनुहुन्छ ।

दलमानजीको घरमा खाजा खाएपछि हामीहरू निस्किन्छौं र सडकैसडक अगाडि बढ्छौं । सडकमा केहीबेर हिंडेपछि मुख्य सडकभन्दा केही तल अर्को घर आउँछ । सडकतिर फर्काएको घरको आँगन ठूलो छ । अनि पिँढी लामो ! पिँढीमा एकजना सुचिकार कुर्सीमा बसेर लुगा सिलाइरहेका छन् भने वरिपरि दुई–तीनजना महिला हातले सिलाउँदै ।

खनालजीसँग पहिलेदेखी सुचिकारको चिनजान भएर मात्र होइन सुचिकारको बानी नै त्यस्तो– उनलाई आफ्नो बारेमा होस् वा समाजको भन्न केही डर नै छैन । सायद त्यही बानी थाहा पाएर होला मलाई पनि उनलाई प्रश्न सोध्न धक लाग्दैन । केहीबेर गफपछि । जुन प्रश्न दलमानजीलाई राखेको थिएँ त्यही प्रश्न राख्छु । वास्तवमा मैले गाह्रो मानी–मानी सोधे पनि दकस लागी–लागी बोले पनि उनले कुनै दकस नै मानी उत्तर दिन्छन् तर सुचिकारको विचार फरक आउँछ । सायद अहिले पनि नेपालतिर आउने–जाने चलेकै छ । उनको आफन्तहरू वर्मामा आइरहन्छन् र नेपालको ताजा गतिविधिबाट उनी विज्ञ छन् । उनी प्रष्टसँग बोल्छन्–

“आफू दिनभरि तास खेलेर बस्ने साँझ परेपछि रक्सी खाएर श्रीमतीमाथि जाइलाग्ने अनि आफू विभेदमा परियो भनेर नाराबाजी गर्ने ! यो कस्तोखाले विभेद हो ! कस्तोखाले चलन हो ! खै ! मलाई फुर्सद नै छैन । फुर्सद नभएपछि केको विभेद केको समानता । म त सबैतिर समान देख्छु ।”

म उनको भनाइले केहीबेर प्वाल्ल परेर हेर्छु । मेरो मुखबाट बोली निस्किँदैन । उनको यो अभिव्यक्ति दार्शनिक नभई व्यवहारिक थियो ।
हामीहरू सुचिकारको घरबाट निस्किँदा झमक्क साँझ परिसकेको थियो । हामी अगाडि बढ्यौं । यस्तै अन्तरविरोधको हलचल लिंदै मेरो वर्माको त्यो गाउँ घुम्ने प्रक्रिया पूरा हुन्छ । म लोखुको संस्कृत छात्रवास पुग्दा खानाको तयार भइसकेको छ । मनमा धेरै कुराहरू लिंदै रात बित्छ । आखिर त्यहीँ समाज टुक्रिएर बनेको अर्को समाज– बर्माको नेपाली समाज ! त्यसैको रूप न त हो ! तर उनीहरूलाई दाइँजोको बारेमा थाहै छैन । छाउपडी भन्ने सुनेकै छैनन् । जातीय विभेद र छुवाछुतको बारेमा चासो छैन । यस्तो पो समाज !