विश्वविद्यालयमा प्राध्यापन पेशा गरिरहेका डा. हिमलाल श्रेष्ठ नेपाली साहित्यमा परिचित नाम हो । उनले कविता र लघुकथा लेखनलाई बढी जोड दिएर साहित्य उन्नयनमा गति लिएको पाइन्छ । उनका कृतिहरूमा मानवतावाद, यथार्थवाद र पर्यावरणीय चेतनाको मिश्रित सम्प्रेषण रहेको देख्न सकिन्छ ।
भर्खरै उनले ‘चौतारो चिन्तन’ लघुकथासङ्ग्रह ल्याएका छन् । लघुकथालाई छोटो कथ्य साहित्यको वर्गमा राखिएको देखिन्छ । महान् कथाकार एन्तोव चेखबले आफ्ना साना कथाहरूमा पनि मानवतावाद र वास्तविकतावादको सन्देश दिएका थिए भने बेजोड लघुकथ्य शिल्पाकारमा अर्नेष्ट हेमिगंवे र अस्तित्ववादी रचनाकार फ्रान्ज काफ्काले पनि मानिसहरूको जीवन संर्घषका थुप्रै पटकथा त्यही लघुकथ्य लेखनमा जोडेका थिए । एक्काइसौँ सदीमा पनि यो विधा उत्तिकै विकसित भइरहेको छ ।
यतिखेर पश्चिममा छोटो कथा लेख्ने कथाकारहरू झुम्पा लाहीरी र एलिस मुनरो प्रभावशाली देखिएका छन् । नेपाली साहित्यमा पनि यो विधा उतिकै फैलिँदै गएको छ । लामो कथाहरूमा जस्तै यो लघुकथा विधामा पनि समाजभित्रका परिघटना, थोरै पात्र र उत्कर्ष शैलीलाई सटीक रूपले प्रयोग गर्दै छोटो कथ्य बुनौट, प्रति खण्डित र टुक्रे संवादमार्फत सामाजिक सन्देशहरू दिने गरिन्छ । खासमा लामो कथामा भने दीर्घकालीन समयावधि र कालखण्ड (ऐतिहासिक) का सामाजिक क्रियाकलापहरू र घटना आधार बनाइएको हुन्छ । लघुकथामा सटीक छोटो र दैनिक जीवनका अल्पकालीन दृश्यांकन उतार्ने प्रयास गरिन्छ जसमा मानव जातिको चरित्र, पात्रहरूको भूमिका, दैनिकी जीवनयापन, तीनको अन्तरक्रिया–संवाद र नैतिकतासहितको सामाजिक सन्देशहरू थोरै शब्दहरूभित्र प्रवाहित हुन्छन् । सामान्यतः छोटा कथाहरू एक हजार शब्दभित्रै उन्ने गरिन्छ । यिनै अवधारणा, सामाजिक सन्दर्भ र परिवेशमा चौतारो चिन्तन लघुकथासंग्रह आएको मान्न सकिन्छ ।
सरर्सर्ती हेर्दा यस सङ्ग्रहमा पाँच विषय खण्डमा समेटिएका ४७ वटा साना र मझौला कथाहरू सङ्कलित रहेका छन् । ती कथाहरू नेपालमा माओवादी विद्रोह काल (पचास र साठीको दशक) शुरु हुँदादेखि हालसम्मको गणतान्त्रिक समय परिवेशसम्ममा लेखिएको पाइन्छ । यद्यपि यसलाई समयकालिक चित्रपटको विवरणभन्दा विषयमुखी धारामा पाँच मुख्य विषयवस्तुमा विभाजन गरी गरिएको छ ।
क) पर्यावरण चिन्तन खण्ड
ख) जनयुद्ध र जनजीवन खण्ड
ग) समाज र परिवर्तन खण्ड
घ) आदर्श खण्ड
ङ) कोरोना विशेष खण्ड
प्रतिनिधि कथा र छोटो समीक्षा
यस कथासङ्ग्रहका सबै पटकथाहरू पठनीय छन् । यिनमा कथाको मुख्य पात्रले भोगेको समयकाल, घटित घटना, कार्य र कारण, उत्पन्न प्रतिक्रिया– चेतना, संवेदना, सामाजिक चेतना र कथाभित्रका पात्रको जीवन सङ्घर्षले विशिष्ट सन्देश दिन्छन् ।
पहिलो विषय खण्डमा समेटिएका कथाहरूले बिग्रँदै गएको पर्यावरण, पानीको सङ्कट, जलवायु परिवर्तन र वनजंगलको अवस्थाप्रति चिन्ता व्यक्त गर्छन् । जसमा डाँफेको एकालाप, काग र कोइलीको हानथाप, फुर्के पोखरी र चौतारो चिन्तन शीर्षकका साना कथाहरूले प्रकृतिको रचना र पर्यावरण सन्तुलन र सोको संरक्षणको महत्त्व दर्साएका छन् ।
दोस्रो विषय खण्डमा रहेका कथाहरूमा अयोग्य लडाकु र बन्दुके शीर्षक लगायतमा तत्कालीन समाज, माओवादी विद्रोहको आवश्यकता र जनयुद्ध लड्ने निर्णायक पात्रहरूको मनोविज्ञान देखिएको छ । तेस्रो खण्डमा जातभातको कथा र सुशासन भन्ने कथाले सामाजिक यथार्थता, थिचोमिचो, अन्यायपूर्ण समाजको संरचना र राज्यको विभेदकारी चरित्र वर्णन गरेको छ ।
चौथो खण्डले माइतीघर, लाहुरेको मन, अछूत पाठशाला र फेरिएको दशैं जस्ता कथाका माध्यमबाट सगरमाथालाई माइतीघर बनाइएको बिम्बले कथाकी नायिकाबाट यस धर्तीप्रति अगाध प्रेम प्रकट गर्दै गरेको देखाउँछ । फेरिँदै गएको परम्परा र दशैंको परिमार्जित संस्कृति लगायत समाजमा कायमै रहेको जातीय विभेदको विद्यमान अवस्था पनि यसले दर्साएको छ ।
पाँचौँ खण्डले कोरोना महामारी र संसारभर मानव जीवनलाई तर्साएको भाइरसको चर्चा अनि उत्पन्न डरलाग्दो सङ्कट र नैराश्ययुक्त समय देखाइएको छ । साथै आफ्ना नागरिकहरूको मानवीय उपचारलाई महत्त्व नदिइएका अस्पताल, स्वास्थ्य सेवी र राज्यको गैरजिम्मेवार चरित्र देखाइएको छ । यी सबै कथाहरूका पात्रहरूमा कतै लेखक आफैँ प्रमुख पात्र छन्, कतै डाँफे र कोइली बनेका छन् र कतै बिम्बबाट संवाद मात्रै बोलेका छन् । कतै ऊ, ऊनी, उसको भन्ने तेस्रो पात्र पनि भएका छन् । जे होस्, यी सबै कथाहरू यथार्थपरक सामाजिक कथनका दृश्यचित्र नै हुन् जसले समाजभित्र उत्पन्न भइरहेका समस्याउपर वास्तविक रूपले चिन्तन मनन गरेको छ । यिनको दायित्वप्रति अपनत्व प्रदर्शन गरेको छ ।
कृतिबाट एउटा प्रतिनिधि कथा लिऊँ – फेरिएको दशैँ । यसलाई लेखकले संवाद एवं कथास्वरूप (पटकथा) को आकार दिँदै अति संक्षिप्त ढाँचामा लेखेका छन् ।
फेरिएको दशैंको सारः
नेपाली समाजमा दशैंको सामाजिक र सांस्कृतिक महत्त्व उत्तिकै छ । प्राचीन कालदेखि नै हिन्दू धर्मालम्बीहरूले मनाउने गरेको यो पर्वले पारिवारिक पुनर्मिलन, ठूला सदस्यको सम्मान, नातागोता आफन्त र बहुपक्षीय सामूहिक सहयोग, सामाजिक–पारिवारिक विचार र भावनाहरू आदान प्रदान जस्ता महत्त्व बोकेको देखिन्छ । यतिखेर आधुनिक गणतन्त्र कालखण्डमा आइपुग्दा यही दशैँको रौनकता, चरित्र र क्षेत्र पनि फेरिएको महसूस कथाकारले गरेको देखिन्छ । परम्परागत दशैँबाट विचलन हुँदै गर्दा आज आधुनिक दशैं मनाउने शैलीमा पनि ठूलो परिवर्तन आएकाले कतै हाम्रा परम्पराहरू, पूर्वजहरूको ज्ञान स्रोत, हाम्रा गाउँघर र यिनको पर्यावरणीय योगदान अनि सदियौँको सभ्यताको विरासत नयाँ पुस्ताले बिर्सने त होइनन् भन्ने चिन्ता प्रकटित भएको छ ।
हुन पनि हो, पहिले पहिलेका दशैंमा सबै परदेशीहरू गाउँमा आउँथे । टाढा टाढाबाट लाहुरेहरू घर फर्कन्थे । रोजगारीका लागि विदेश गएका सन्तानहरू जसरी पनि बाबाआमा भेट्न आउँथे । पैतृक मूल घरमा टीका थाप्थे । यसको पुर्खाजनित, आनुवाशिंकी (सगोत्रीय) र सांस्कृतिक मूल्य कति हो कति थियो । विडम्बना, तर अहिले सन्तानहरू बाआमालाई उतै विदेश बोलाउँछन्, उतै अमेरिका–युरोप र अस्ट्रेलियामा नै दशैँजस्ता चाडबाड मनाउँछन् । एक्लै मनाउँछन् । साथीभाइ, इष्टमित्र, नातागोता एवं गाउँले दुःखसुख बाँडिने जस्ता सामूहिकतावादका संस्कारसँग टाढिँदै र आफ्नो माटो बिर्सेर मनाइने दशैंको के अर्थ होला र ? यस्तै यस्तै मातृभूमि प्रेम र सांस्कृतिक मूल्य बोधको आत्म जागरणले यो कथा तयार भएको छ, जसको सांस्कृतिक सन्देश उच्चकोटीको छ ।
सन्दर्भ र परिवेश:
यो कथाको परिवेश आजकलको सांस्कृतिक विनिर्माणतिर बढिरहेको हाम्रो समाज र दशैं परम्परासँग जोडिएको छ । नेपालीहरू विदेश जाने क्रममा उतै बस्छन् । उतै जागिर हुन्छ , परिबार बालबच्चा उतै हुन्छन् भने नेपालमा बाउआमा र प्रौढ पुस्ता मात्र हुन्छ । यस कथामा विदेशमा रहेकी छोरी सञ्चिताले केही समय अघि नेपालमा रहेका बाबालाई फोन गर्छिन् र दशैँ मनाउन उतै बोलाएको सन्दर्भ छ । कथामा टेलिफोनमा बाउछोरी बिच गहिरो संवाद भएको छ । छोरीप्रतिको अगाध प्रेम सम्झिएर बाऊ पनि दशैँका लागि उतै विदेश गएका देखिन्छन् ।
कथामा बाउको घरदेखि एयरपोर्टसम्मको यात्रात्मक परिवेश बनाइएको छ । यो कथा परिवेश नेपाली समाजको लागि सान्दर्भिक छ । केही वर्षयता अहिलेका दशैँ यस्तै यस्तै देखिएका छन् ।
यसको शीर्षक यथार्थपरक सटीक छ – फेरिएको दशैं । हो केही समय अघिको र पुरानो दशैँ नेपालमा मनाउनेहरू अचेल विदेशमा दशैँ मनाउने गर्छन् जसले दशैँको लक्षण, चरित्र, स्थान र संस्कार नै फेरिँदै गएको जनाउँछ ।
मूल भाव र पात्रता
यस लघुकथाको मूल भाव आफ्नो जन्म घर र मातृभूमि छाडेर परदेश (बाह्य देश) मा दशैँ मनाउनु पर्ने बाध्यात्मक अवस्था, युवा पुस्ताका मानिसको विदेशमा रहने व्यस्तता र आधुनिक जीवनशैली फेरिँदै जाँदा हाम्रो समाजमा सांस्कृतिक विचलन देखा पर्दै गएको छ भन्ने हो ।
यसमा नेपालमा रहेका बाबा र विदेशमा रहेकी छोरी सञ्चिता प्रमुख पात्र छन् । छोरीको खुशीका लागि बाबा दशैंमा टिका लगाइदिन बाहिर जाने क्रममा रहेको देखिन्छन् । सहायक पात्रमा सञ्चिताको साथी प्रभात र उनका श्रीमान् रामपाल पनि छन् । खास गरी सञ्चिताले टेलिफोन संवाद गरी दशैंमा बाबालाई बोलाएको चित्रपटमा यिनीहरू सहयोगी बनेका छन् । बाबा स्वाभाविक रूपले अभिभावकीय छन्, स्नेही छन्, छोरीप्रति सकारात्मक भएर उनका खुशीका लागि उतै जान्छन् । छोरीले नै प्लेन टिकट र भिसा पटाउँछिन् पनि । यसले दशैं खर्चिलो भएको भन्ने खाले आर्थिक पाटो पनि देखाएको छ ।
भाषा शैली :
यसमा पात्रहरू बिच सरल संवादहरू कोरिएका छन् । यी संवादहरू नेपाली भाषामा नै छन् । सँगै अङ्ग्रेजीका भिसा, एयरपोर्ट, प्लेन टिकट, प्रोसेस जस्ता केही शब्दहरू पनि प्रयोग भएका छन् । फेरिएको दशैं मार्फत लेखकले उत्तर आधुनिक परिवेश र कालखण्डमा नेपालको चाडबाड, परम्पराहरू फेरिँदै जाँदा यसमा आएको सांस्कृतिक विचलनको अवस्थालाई देखाएका छन् । धेरै युवापुस्ता देश बाहिर परदेशमा रहेका र यी युवा पुस्ताले विदेशमा नै चाडपर्वहरू मनाउँदा हाम्रो मौलिक चाडपर्व, संस्कृति, परम्परा र मातृभूमिको मूल्य बोध बिर्सिरहेको घटना यहाँ देखिन्छ । यसर्थ यो यथार्थपरक र सामाजिक सन्देशमूलक छोटो कथा हो ।
पर्या–साहित्यको सन्दर्भ : यसभित्र के छ हरित चेतना ?
पर्या–साहित्य पनि एक उत्तर–आधुनिक साहित्य विधा हो । यसले हाम्रो समाज, संस्कृति र वरिपरिको पर्यावरण चेतका कुराहरू साहित्य मार्फत दर्साएको हुन्छ । समाज र पर्यावरण हमेसा अन्तरसम्बन्धित हुन्छ । मानिसहरूले समाजका घटना र परिवर्तनलाई कथा, कविता र निबन्धमा उतार गरेजस्तै वातावरण–पर्यावरणका महत्त्व र चिन्ताहरू साहित्य विधामा उजागर गरेपछि यसलाई हरित साहित्य र पर्या साहित्य भनिएको पनि हो । प्रकृति के हो ? मानव र प्रकृतिको अन्तरसम्बन्ध किन जरुरी ? प्रकृति कसलाई कति आवश्यक छ ? तर यही प्रकृतिमाथि दमन, अन्याय, अत्याचार भै पनि रहेको छ । कस्ता मानिसहरूले किन प्रकृति उपर गलत कार्य गर्छन् ? को हुन पर्या–खलपात्र (इकोभिलेन) र प्रकृति विनाशकर्ता ? त्यसो भए को हुन प्रकृतिका सच्चा पहरेदार ? अनि कसरी प्रकृति स्वयं पनि आफ्नो अस्तित्व बचाउन सङ्घर्षशील छ ? हो यस्तै यस्तै विषयमा लेखिने र हरित चेतना जगाउने कथाहरू पर्याकथा बन्ने गर्छन् । यस चौतारो चिन्तनमा पनि यस्तै पर्यावरणीय चेतना बोकेका १७ वटा कथाहरू सङ्ग्रह गरिएको छ । यसर्थ यो सङ्ग्रहमा पर्याप्त हरित चेतना विद्यमान छ भन्न सकिन्छ ।
प्राचीन, मध्य युग र आधुनिक युगसम्ममा पनि प्रकृतिको गुणगान र व्याख्या गर्दा साहित्यकारहरूले स्वच्छन्दतावाद धारबाट गरेको पाइन्छ । यी साहित्यमा प्रकृति, पर्यावरण र महिलालाई उपभोग्य विलासी वस्तुका रूपमा लिने र यिनको सुन्दरता, मादकता, मोहकता र चञ्चलताको गुणगान गराउने प्रचलन शासकहरूले गरेका थिए । यद्यपि यति बेलाको उन्नत पुँजीवादले समेत प्रकृति, पर्यावरण र महिला जातिप्रति यस्तै भोगविलास र अति उपभोगको धारणा लिएको छ । यसैले पुँजीवाद निरन्तर प्रकृतिको चरम शोषण, दोहन र विनासलीलामा अगाडी बढेको छ । यस समयको औद्योगिक पुँजीवाद र नव–उदारवाद दूबैले विकासका नाममा प्रकृतिको सत्यानाश गरेका छन् जसले समग्र मानव जातिको अस्तित्व नै सङ्कटमा पारिदिएका छन् । हेरौँ त विगत पचास वर्षयता वायु प्रदूषण र कार्बन उत्सर्जनको वृद्धिले लगातार पृथ्वीको तापमान बढेको छ, यो १.५ डिग्री कट्ने अवस्थामा छ । हिमालदेखि समुद्र विनाश, वनजंगल, ताल तलैया, नदीनाला विनाश उस्तै छ । पृथ्वीका जैविक सम्पत्तिहरू जस्तै: बाघ, हात्ती, गैँडा, हरिण, चरा, डाँफे, कोइली, किरा, सरीसृप लगायत लाखौँ प्रजातिहरू लोपोन्मुख भएका छन् ।
किन यस्तो भयो भन्दा यो पुँजीवादी प्रणालीको चरम लालच र नाफाको धन्दाले गर्दा उनीहरू प्राकृतिक स्रोत उपर अधीन शोषण बढाइरहेका छन् । के यो प्रकृति र आम मानव समुदाय उपरको अन्याय होइन त ? अवश्य हो । यसैले हाम्रो साझा पृथ्वी, पर्यावरण र प्रकृति जोगाउने सन्देश र चेतना लिएर आज पर्या साहित्य हाम्रो अगाडी आएको हो । यसले प्रकृतिमाथि सीमित धनाढ्य र पुँजीपतिहरूले गरेका लुट धन्दा उपर प्रश्न गर्छ, प्रतिरोध गर्छ, सङ्घर्ष गर्छ र खबरदारी गर्छ । तसर्थ हरित–साहित्य एक क्रान्तिकारी साहित्य पनि हो । अझै यो पर्या साहित्य एक विनिर्माणवादी सामाजिक–सांस्कृतिक आन्दोलन पनि हो ।
यस लघुकथा सङ्ग्रहमा पनि पर्यावरणप्रति समर्पण र उच्चस्तरीय चेतना पर्याप्त देखिन्छ । जस्तै: डाँफेको एकालापमा भन्ने कथामा हेरौँ त– यस कथामा मूल पात्र डाँफेले उसको वासस्थान, हिमाल वरिपरिको अवस्था, पर्यावरण, रुख बिरुवा, हावाको सिरेटो, हराउँदै गरेको वेगवान् बतासे झोक्का र हिमालयकै चिसोपनमा क्रमशः आएको तातो परिवर्तन र आफ्नो अस्तित्वको चिन्ता गरेको छ । ऊ नाच्ने खेल्ने सैलुङ, नागी चौर र पाटनमा धेरै परिवर्तन आयो, चिसो स्थान तातो भयो, खानेकुरा सकिँदै गए , मानिसहरूले गलत कार्य गर्दै गए । अब उसको सार्वभौमिकता स्थल र वासस्थान नै हराउने डर लागेको छ उसलाई । उस्का सन्तानहरू निरन्तर अस्तित्वमा रहलान् त यहाँ ? भन्नेजस्तो गम्भीर प्रश्न गरेको छ । एकालापमा छ डाँफे चरो ऊ ।
यस्तै गरी पहाडमा रहेको फूर्के पोखरी भन्ने कथामा कङ्क्रिट ढाँचाको पर्यटन स्थल बनाउँदाका कारण पोखरीको पानी सुक्दै गएकोले पर्यावरणीय सङ्कट मडारिएको र त्यहाँ रहेका स्थानीय माछाहरूले चिन्ता पोखेका छन् । चिलहरूको वार्तालाप, काग र कोइलीको हानथाप अनि चौतारो चिन्तन भन्ने कथाहरू पनि उत्तिकै पर्यावरण चेतना र हरित सन्देशले भरिएका छन् ।
अब यस लघुकथा सङ्ग्रहको मूल नाम प्रदान गरिएको चौतारो–चिन्तन भन्ने शीर्षक कथा हेरौँ । यसमा कथाकार डा. श्रेष्ठले कति मिहिन रूपमा पर्यावरणीय चिन्तन गरेको देखिन्छ । यस कथामा उच्चशिक्षा अध्ययन गर्ने क्रममा शोध कार्यका लागि उत्पला भन्ने विद्यार्थी पात्रले हिन्दू संस्कृतिभित्र रहेका प्राचीन पर्यावरणीय चिन्तन, दर्शन, ज्ञान मीमांसा र सांस्कृतिक चैतन्यता बारे स्थलगत अध्ययन गर्ने क्रममा छनौट गरिएको मन्दिरको निर्माण सन्दर्भ परिवेश लिइएको छ । उक्त प्राचीन मन्दिर पौराणिक महत्त्व र पर्यावरणीय रूपमा उन्नत रहे पनि धन दौलत र आधुनिक डोजरे विकास मोहका कारण सो भत्काई यतिबेला सिमेन्ट र कङ्क्रिटयुक्त बनाइयो ।
जसको वैदिक, धार्मिक र पारिस्थितिक महत्त्व नै लोप गरियो । हाम्रो समाजमा वर्तमानमा यसरी भित्रिँदै आएका अप्राकृतिक, गैर जिम्मेवार तथा विचलित चेतना र विकृत संस्कारले पुराना पाटीपौवा, मठमन्दिर र चौताराहरू मासिँदै र यससँगै जोडिएका ज्ञान विज्ञान र तत्त्व मीमांसाहरू समेत हराउँदै गएकोप्रति लेखकको गहिरो चिन्ता देखिन्छ ।
लेखकले यसप्रति सचेत हुन यो कथामार्फत समाजलाई विनम्र आग्रह गर्नुभएको छ । यस्तो खाले पर्यावरण प्रेम यो कृतिमा सङ्कलित सबै कथाहरूमा उत्तिकै देख्न पाइन्छ । यसर्थ यो चौतारो–चिन्तन लघुकथा एक उत्कृष्ट सामाजिक सन्देश र हरित चेतना बोकेको नेपाली साहित्यिक कृति भन्न सकिन्छ । लेखक प्रा. डा. हिमलाल श्रेष्ठलाई यसरी निरन्तर पर्या–साहित्य सृजना कर्ममा लागिरहन आग्रह गर्दै चौतारो चिन्तनप्रति शुभेच्छा प्रकट गर्दछु ।
(लेखक जलवायु परिवर्तन, पर्यावरणीय साहित्य र हरित ज्ञान मीमांसामा पनि कलम चलाउने गर्नु हुन्छ ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ असार २०८३, मंगलवार 










