हामी यति निर्लज्ज भएका छौँ कि दुनियाँका सामु नाङ्गिसक्दा पनि स्वाभिमानको कुरा गरिरहेका छौँ । सिसाको घरभित्र नाङ्गो उभिएको हाम्रो स्वाभिमानले हामीलाई कस्तो आदर्शमा वा मानवीय मूल्यमा स्थापित गर्ला ?
…
एक टुक्रिएको चट्टानलाई
मुठ्ठी बनाउन पाए,
एक मुठी आगोलाई जुलुस,
नबनाइदिए शासकहरूले,
म,
अगेनाहरूमै फर्काइदिन्थेँ,
सदा चुलो बलिरहोस् झुप्रामा ।
यो मेरो कविता विकल्पहरूको आवाज थियो, छ र हो। विकल्पको आवाज दिनु समयको माग हो। परिवर्तनको आकाङ्क्षा हो। विकल्प नयाँ सपनाहरूको लहर हो । तर “विकल्प विद्रोहको स्वरबाट मात्र जन्मन्छ वा विकल्प ध्वंसपछिको निर्माण हो” भन्ने चिन्तनबाट अभिव्यक्त स्वरहरू समेत आज स्वयं विकल्पविहीन जस्ता बन्न पुगेका छन्। हामीलाई आज चौतर्फी विकल्पहरू चाहिएका छन्। हामीलाई पार्टीहरूमा विकल्पको खाँचो छ। नेताहरूको विकल्पको खाँचो छ। न्यायालयमा विकल्पको खाँचो छ। कर्मचारीतन्त्रमा विकल्पको खाँचो छ। समग्र राज्य व्यवस्थाका अङ्गहरूमा विकल्पको खाँचो छ। यी विकल्पका सन्दर्भहरूले हामीलाई पटक-पटक उद्वेलित पनि गरेका छन्। तर हाम्रा सामु किन विकल्पहरू छैनन् ? र आजसम्म हामीले विकल्प ठानेर रोजेका वा अपनाएका विकल्पहरू किन विकल्प भएर उभिन सकेनन् ? हामीले हाम्रा प्रगति र समृद्धिहरूलाई परिवर्तनको आकाङ्क्षा बनाएका छौँ। परिवर्तनका निम्ति हामीले नेतृत्वको विकल्पको आवाज उठाएका छौँ, त कहिले प्रणालीकै विकल्पको आवाज बुलन्द गरेका छौँ ।
नेपालको आधुनिक राजनीतिको इतिहासमा हामीले करिब ७० वर्ष निरन्तर विकल्पका स्वरहरू निकालिरहेका छौँ तर हाम्रा सामु आजसम्म सही विकल्प उत्पन्न हुन सकेन र आज पनि हामी विकल्पको कुरा नै उठाइरहेका छौँ। विकल्प खोजिरहनुपर्ने यो विकल्पको अनन्त यात्रा स्वयं आफैमा प्रश्न भएको छ। सधैँभरि राज्यसत्ता र राज्य व्यवस्थाप्रति विकल्प मात्रै खोजिरहने हामी कस्ता मानिस ? सबैभन्दा धेरै त हाम्रा सोचहरूमा विकल्प चाहिएको छ। राज्यको प्रणालीमाथि विकल्पको प्रश्न उठाइरहँदा हरेक मान्छेले आफैलाई परिरहेको खाँचो र समस्याको विकल्प बिर्सिरहेको छ, किन ? एक क्षण राज्य र प्रणाली बिर्सिएर आफ्नै जीवनप्रति किन गम्भीर हुँदैन मान्छे ? राज्यसत्ता र प्रणालीबारे विकल्प नै सोचे पनि के राष्ट्रप्रतिको कर्तव्य पूरा गरेको छ र हामीले ? कर्तव्यविहीन प्रणालीको चिन्ता गर्नुको के अर्थ ? कर्तव्यविहीन राज्यसत्ताको चिन्ता गर्नुको के अर्थ ? यस्ता निराशा र आक्रोश मिश्रित प्रश्नहरूका बीच पनि विकल्पको खाँचो छँदैछ।
जीवनका हरेक मोडमा मानिसले विभिन्न विकल्पहरूको सामना गर्नुपर्छ। विकल्प भनेको छनोट गर्ने अवसर हो। जसले हामीलाई कुनै पनि परिस्थितिमा उपलब्ध विभिन्न मार्गहरू मध्ये एउटा रोज्न सक्ने सामर्थ्य प्रदान गर्छ। यो मानव अस्तित्वको अभिन्न अङ्ग हो। यसले हाम्रो जीवनको दिशा बदल्न महत्त्वपूर्ण भूमिका खेल्दछ। विकल्पहरू सधैँ सकारात्मक र सहज मात्र हुँदैनन्। कहिलेकाहीँ हामीले खराब विकल्पहरू मध्ये कम खराबलाई रोज्नुपर्ने अवस्था पनि आउँछ। तर यस्ता कठिन चुनौतीहरूले हामीलाई सोच्न, विश्लेषण गर्न र दूरदर्शिताका साथ निर्णय लिन प्रेरित गर्छ। सही विकल्पको छनोटले सफलता र सन्तुष्टि प्रदान गर्न सक्छ भने गलत विकल्पले पश्चात्ताप र असफलता निम्त्याउन सक्छ। आज हरेक मान्छे सही विकल्पको छनोटमा चुकेर छटपटाइरहेको छ। पानीबिनाको माछा जस्तै भएको छ मान्छे। हामीले सही विकल्प किन रोज्न सक्दैनौँ ? यसका आफ्नै रहस्य र कारणहरू छन्। हामीलाई यी कारण र रहस्य बुझ्ने अवसर नै छैन। किनभने हामी विगत लामो समयदेखि परिवर्तनका आकाङ्क्षाहरूलाई विचार, सिद्धान्त र वादको दाम्लोले बाँधेर राजनीतिको मैदानमा घिसारिरहेका छौँ। हामीले वाद र सिद्धान्तको अडानलाई जीवनमरणको सवाल ठान्दै आएका छौँ। वाद र सिद्धान्तका अगाडि नतमस्तक नेपाली मानव समाजलाई वाद र सिद्धान्तले नै दास बनाइरहेको छ।
शिक्षा, पेसा, सम्बन्ध, राजनीति र व्यक्तिगत जीवनका हरेक क्षेत्रमा विकल्पहरू हुन्छन्। विद्यार्थीले कुन विषय पढ्ने ? जागिरेले कुन पेसा रोज्ने ? राजनीतिज्ञले कुन विचारधारा र राजनीतिक दल रोज्ने ? वा व्यक्तिले कस्तो जीवनशैलीको छनोट गर्ने ? भन्ने जस्ता प्रश्न विकल्पकै उदाहरण हुन्। प्रत्येक विकल्पका आफ्नै फाइदा र बेफाइदा हुन्छन्। जसको गहिरो अध्ययन र मूल्याङ्कन आवश्यक हुन्छ। विकल्पको अभाव हुन्थ्यो भने वा विकल्पको अभाव भयो भने जीवन एक निश्चित मार्ग मात्र भएर रहन बाध्य हुने थियो । जसमा नयाँपन र आविष्कार कम हुन्थ्यो। विकल्पहरूले हामीलाई नयाँ सम्भावनाहरू खोज्न, जोखिम मोल्न र आफ्नो क्षितिज फराकिलो बनाउन प्रोत्साहित गर्दछ। यसले व्यक्तिगत विकास मात्र होइन समाजको प्रगतिमा समेत टेवा पुर्याउँछ तर आज विकल्प जस्तो गतिशील चिज पनि हाम्रो राज्य प्रणालीमा बोझिल र कष्टकर भइरहेको छ, किन ? के मान्छेको जीवन र राजनीति फरक कुरा हो ? के जीवनका विकल्प र राजनीतिका विकल्पहरू साझा हुन नसक्ने कुरा हुन् ? एउटा गम्भीर प्रश्न खडा भएको छ।
हरेकका आ-आफ्नै सिद्धान्त छन्। कसैको प्रजातान्त्रिक सिद्धान्त, कसैको लोकतान्त्रिक सिद्धान्त, कसैको धार्मिक सिद्धान्त, कसैको मार्क्सवादी सिद्धान्त, कसैको मालेमावादी सिद्धान्त, कसैको राजावादी सिद्धान्त, कोही गणतन्त्रवादी, कोही गान्धीवादी। कोही फ्रायडवादी, कोही साम्यवादी, कोही उदार लोकतन्त्रवादी, कोही मधेसवादी, केही जातीयतावादी र पृथकतावादी। मानिस आ-आफ्नै वादका अडानमा लडेका छन्। मरेका छन् र मारेका छन्। तर पनि हामीसँग कुनै विकल्प निस्किएको छैन, किन ? यतिका विकल्प हुँदा पनि हामी किन विकल्पविहीन ? हामीलाई आज उत्तर चाहिएको छ कि असली रूपमा यी वाद र सिद्धान्तको ७० वर्षे दास भएर हामीले खोजेको विकल्प के हो ? र हामीले के स्थापित गरेर के हासिल गर्न सफल भयौँ यो धर्तीमा ? हामीले के पायौँ र के गुमायौँ हाम्रो मानव मूल्य र राष्ट्रिय इतिहासमा? अहिले हाम्रै पुर्खाको इतिहासले हामीसँग जवाफ माग्न थालेको छ। हाम्रा आफ्नै कर्मले हामीलाई नै प्रश्न गरिरहेको छ आज। भोलि हाम्रा भावी सन्ततिले हामीलाई प्रश्न गर्ने कुरा पनि निश्चित छ। तर आज हामीलाई यी यावत् प्रश्नको जवाफ खोज्ने स्वतन्त्रता छैन। अधिकार छ तर साहस छैन किनभने हाम्रो घाँटीमा वाद र सिद्धान्तको तरवार सोझिएको छ। हामी यो तरवारको इशाराभन्दा मुक्त चल्न नसक्ने भएका छौँ। हाम्रो नियति तरवारमा हिँडिरहेको छ।
हामीले आफूलाई मात्र होइन समाजलाई, राष्ट्रलाई र आम मानव जातिलाई, तिनको राष्ट्रिय सभ्यतालाई वाद र सिद्धान्तको भीरबाट लडाइदिएर अत्याचार गरिरहेका छौँ । हामी यति निर्लज्ज भएका छौँ कि दुनियाँका सामु नाङ्गिसक्दा पनि स्वाभिमानको कुरा गरिरहेका छौँ । सिसाको घरभित्र नाङ्गो उभिएको हाम्रो स्वाभिमानले हामीलाई कस्तो आदर्शमा वा मानवीय मूल्यमा स्थापित गर्ला ? हामीले जुन आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक एवं सांस्कृतिक आदर्शबाट रूपान्तरण सोचेर वाद र सिद्धान्तको भरिया भयौँ, त्यसैले हाम्रा आकाङ्क्षाहरूको विकल्प दिन सक्दैन भने अब हामी कुन आदर्शबाट, कुन मूल्यबाट अर्को विकल्प सोचिरहेका छौँ ?
के विकल्पको मेरुदण्ड यो वाद र सिद्धान्तले नै भाँचिदिएको होइन र ? तर अनौठो सत्य के छ भने सामाजिक वा राजनीतिक विकल्प दिन अथवा वाद र सिद्धान्तको विकल्प दिन पनि वाद र सिद्धान्त नै चाहिन्छ। अब कुन वादले विकल्प खोज्ने ? हाम्रा सामु निरन्तर प्रश्न छ :-
हामीले अँगालेका वाद र सिद्धान्त किन असफल भए ?
हाम्रो आदर्श किन धुमिल हुँदै गयो ?
हामीले अँगालेको विचारधाराले हामीलाई नै किन निरन्तर नाङ्गो बनाइरह्यो ?
किन अस्मिता लुटिरह्यो ?
किन अभाव, तिरस्कार र घृणाको पात्र बनाइरह्यो ?
किन रोज्न सकिएन सही विकल्प ?
किन बुझ्न सकिएन पुर्खाको बलिदान ?
किन पूरा भएनन् हाम्रा कर्तव्य ?
किन अन्धकार छ सन्ततिको भविष्य ?
के अब यसको जवाफ नदिएर हामीलाई इतिहासले छुट देला ?
अब हाम्रा सोचहरू बदलिनुपर्छ। हाम्रा सच्चाइहरू उजागर हुनैपर्छ। हाम्रो समीक्षा अब हामीले नै गर्नुपर्छ। सच्चाइलाई स्वीकार्नै पर्छ। यी कुनै कुरा हाम्रा थिएनन्। यी कुनै कुरा हाम्रा सपना होइनन्। यी कुनै कुरा हाम्रा विकल्प होइनन्। हामीले अरुकै झुटा आदर्शहरूमा आफ्नै भविष्यलाई आगो लगाउँदै आयौँ। आफ्नो पुँजीलाई ध्वस्त बनाएर उल्टै मगन्ते कमण्डलु उठायौँ। जुन समाजको, जुन राष्ट्रको राजनीतिले एउटा पनि राजनेता पैदा गर्न सक्दैन, त्यस्तो राजनीति र सिद्धान्त हाम्रो विकल्प हुन सक्दैन। जुन राजनीतिसँग आफ्नो मौलिक संस्कृति हुँदैन, त्यो हाम्रो सपना हुन सक्दैन। जुन चिजसँग आफ्नोपन भन्ने कुनै कुरा छैन, त्यो कुरालाई आफ्नो ठान्नुले हाम्रो विकल्प तयार हुन सक्दैन। महत्त्वपूर्ण कुरा के हो भने उपलब्ध विकल्पहरूलाई कसरी हेर्छौँ, कसरी विश्लेषण गर्छौँ र कसरी बुद्धिमत्तापूर्वक छनोट गर्छौँ भन्ने कुराले मात्र हामीलाई अगाडि बढ्न र सार्थक जीवन जिउन मद्दत गर्छ।
त्यसैले, अब उठ्न सक्छन् मौलिकताका आवाजहरू । तोडिन सक्छन् आयातित औपनिवेशिक शोषणहरू । जुट्न सक्छन् सभ्यताका लडाइँहरू । छुट्न सक्छन् नक्कली वाद र सिद्धान्तका दासताहरू। र जुरुक्क उभिन सक्छन् मौलिकता र स्वाभिमानका हिमालहरू। आऊ चुनौँ हाम्रा रोजाइ र विकल्पहरू।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 




