शंकरकुमार श्रेष्ठ । भारतको सिक्किम उच्च न्यायालयले नेपाली भाषामा ण, श, ष, ड़, ढ़, क्ष, त्र, ज्ञ को प्रयोग अनिवार्य गरेको छ । सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दार र न्यायाधीश मीनाक्षी मदन राईको इजलासले हालै सो निर्णय सुनाएको हो ।
न्यायालयको निर्देशनमा गठित “लिङ्ग्विष्टिक ओभरसाइट एकस्पर्ट कमिटी”को सिफारिसका आधारमा न्यायालयले तीनवटा निर्देशन पनि दिएको छ । यो निर्देशन सिक्किम विश्व विद्यालयसहित अन्य सबैले पालन गर्नुपर्ने छ ।
समितिको सिफारिसलाई तुरुन्त कार्यान्वयनमा ल्याउने तथा “ण, श, ष, ड़, ढ़, क्ष, त्र, ज्ञ” नेपाली व्यञ्जनहरू पुनर्स्थापित गर्नुपर्ने छ ।
विश्वविद्यालयमा यी व्यञ्जनहरूको प्रयोग नगरी हालसम्म प्रकाशित भएका पाठ्यपुस्तकहरूका लेखकहरूले भूल-संशोधन पनि गर्नु पर्ने छ । यी पुस्तकहरूलाई आफ्नो पाठ्यक्रमको समावेश गर्न पाइने छैन ।
विश्व विद्यालयले सो निर्देशनलाई पालन गरेको तथा समितिको सिफारिस अनुसार व्यञ्जनहरूलाई प्रयोगमा ल्याएको जानकारी समितिलाई दिनुपर्ने छ ।
सो समितिलाई अस्तित्वमा राखेर निरन्तर भाषिक निरीक्षण गर्नुपर्ने छ । विश्वविद्यालय, महाविद्यालय, विद्यालय तथा प्रकाशन संस्थान तथा मिडिया दुवै प्रिण्ट एवम् सोसल मीडिया आदि क्षेत्रहरूमा नेपाली भाषाको प्रयोग ठीक ढङ्गले हुन सकोस् ।
सिक्किम विश्व विद्यालयले नेपाली व्यञ्जन प्रयोगमा दोषपूर्ण मानकहरू थोपरेको आरोप लाउँदै पूर्वी सिक्किम पाकिम पाँचे निवासी अवकाशप्राप्त नेपाली भाषाका शिक्षक तथा साहित्यकार श्री धनराज गुरूङले विगत ७ अगस्त २०२५ को दिनमा सिक्किम उच्च न्यायालयमा जनहित याचिका प्रस्तुत गर्नुभएको थियो । यसै जनहित याचिकामाथि सिक्किम उच्च न्यायालयमा मुख्य न्यायाधीश श्री विश्वनाथ सोमाद्दार र न्यायाधीश श्रीमती मिनाक्षी मदन राईको खण्डपीठले सुनुवाइ गरेको थियो । सोही दिन प्रारम्भिक आदेश जारी गर्दै दुई जनाको सो खण्डपीठले समिति गठनका लागि भाषा विशेषज्ञहरूको नाममा १९ अगस्तको दिन प्रतिवादी मध्ये एक राज्य सरकारको शिक्षा विभागलाई शपथपत्र प्रस्तुत गर्ने आदेश दिएको थियो ।
सो प्राप्त शपथपत्रमा उल्लेखित नामहरूको परिक्षण गर्दै न्यायालयले श्रवणका क्रममा २१ अगस्तको दिनमा ६ सदस्यीय समितिको नाम आदेश पत्रमा उल्लेख गरेको थियो । जसमा सिक्किम प्रज्ञा प्रतिष्ठानका अध्यक्ष श्री सुकराज सुब्बा, नेपाली लोकसाहित्यकार श्री चन्द्रप्रकाश शर्मा, नयाँ दिल्लीको साहित्य प्रतिष्ठानको नेपाली भाषाका संयोजक श्री शंकरदेव ढकाल, नरबहादुर भण्डारी स्नातकोत्तर महाविद्यालय तादोङका प्राध्यापक डा. टेकबहादुर क्षेत्री, साहित्य प्रतिष्ठान पुरस्कार प्राप्प साहित्यकार श्री अनन्त बराल र सिक्किम विश्व विद्यालयको नेपाली विभागीय प्रमुख श्रीमती कविता लामा समावेश हुनुहुन्थ्यो । सो समितिको नाम “लिङ्ग्विष्टिक ओभरसाइट एकस्पर्ट कमिटी” राखिएको थियो ।
याचिकाकर्ताको पक्षमा अधिवक्ताहरू श्री काजी साङ्गे थुप्देन, श्री ओमप्रकाश भण्डारी, श्री सजल शर्मा, श्रीमती प्रेरणा राई तथा श्रीमती सृजना बागदासका अनुसार सो निर्णय समितिको अनुशंसाको आधारमा भएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 










