कोपनहेगन। विश्वप्रसिद्ध बेलायतको वेम्बली एरिनामा १० हजार दर्शक सामु लोकरक प्रस्तुत गरेको दुई सातामै नेपथ्यले डेनमार्कमा पनि दर्शकको हृदय जित्न सफल भएको छ। कार्यक्रम सुरु हुनुअघि नै टिकट ‘सोल्ड आउट’ भइसकेको थियो।

शनिबार कोपनहेगनको ऐतिहासिक पुलेन हलमा आयोजित कन्सर्टमा नेपाली राजदूतदेखि नेपाल आएका विदेशी राजदूतहरू सपरिवार सहभागी हुनुहुन्थ्याे । साथै फिनल्यान्ड, जर्मनी, नर्वे, स्वीडेन, बेल्जियमलगायत विभिन्न युरोपेली मुलुकबाट नेपाली संगीतप्रेमी युवा–युवतीहरू उत्साहसहित उपस्थित हुनुभएकाे थियाे ।

कार्यक्रम बेलुकी ६ बजेदेखि नै चहलपहल सुरु भइसकेको थियो। पहिलो प्रस्तुति ‘सा कर्णाली’ देखिनासाथै दर्शकदीर्घामा उत्साह र उत्तेजना छाएको थियो। त्यसपछि मुख्य गायक अमृत गुरुङले ‘कोशीको पानी’ सुनाउँदा हलभरि चिच्याहट र मोबाइल बत्तीको झिलिमिलीले माहोल झनै रौनकिलो बनेको थियो।

करीब दुई घण्टा लामो कन्सर्टमा ‘यो जिन्दगानी’, ‘रातो र चन्द्रसुर्जे’ लगायतका लोकप्रिय गीत प्रस्तुत भए। अमृत गुरुङले प्रस्तुति अवधिभर दर्शकसँग संवाद गर्दै देश, भाषा र पहिचानप्रतिको उत्तरदायित्व नबिर्सनु पर्ने सन्देश पनि दिनुभयाे ।

नेपाली राजदूत सुम्निमा तुलाधरले नेपथ्यको प्रस्तुति मात्र नभएर यो अवसर नेपाली उत्सवको रूपमा परिणत भएको बताउनुभयाे । उता, डेनमार्कका पूर्वराजदूत गर्ट मेनकीले नेपथ्यलाई नेपाल र संसारबीचको सानदार पुलको संज्ञा दिनुभयाे ।

दर्शकमा पनि उत्तिकै उत्साह देखियो। फिनल्यान्डकी व्योमा ताम्राकारले यसलाई जीवनकै अविस्मरणीय अनुभव बताउनुभयाे भने नर्वेका प्रलय रिसालले यसलाई “जीवनमा एकपटक लिनैपर्ने अनुभव” भन्दै प्रतिक्रिया दिनुभयाे ।

कन्सर्टमा अमृतलाई  ध्रुव लामा (ड्रम), सुविन शाक्य (बेस गितार), नीरज गुरुङ (गितार), शान्ति रायमाझी (मादल) र दिनेशराज रेग्मी (किबोर्ड)ले साथ दिनुभएकाे थियाे।

स्थानीय आयोजक पवन पाण्डेका अनुसार लामो प्रतीक्षा र दुई वर्षको तयारीपछि यो सफलता सम्भव भएको हो। डेनमार्कमा सफल प्रस्तुति दिइसकेपछि नेपथ्यको टोली अब माल्टा (अगस्ट २७), पोर्चुगल (अगस्ट ३१) र बेल्जियम (सेप्टेम्बर ३) मा कन्सर्ट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।