इतिहासकार डा. ड्यान गोसलिङ एक दिन बेलायतको नेशनल आर्काइभ खोतल्दै थिए । त्यहाँ एउटा वसीयत देखेर उनी चकित भए । खासमा त्यो वसीयत विलियम शेक्सपियरको रहेको खुलेको छ । डा. गोसलिङले सयौँ कानूनी कागजपत्र फेला पारेका थिए । ती सूचीबद्ध नगरिएका बाकसहरू खोज्दै गर्दा शेक्सपियरको परिवारसँग सम्बन्धित रहेको पत्तो पाएका हुन् । सामान्यतः यस्ता कागजपत्रहरू कसको हो भनी पहिल्यै छुट्याएर राख्ने गरिन्छ ।

फेला पारिएको १७औँ शताब्दीमा बनाइएको त्यो वसीयतले विलियम शेक्सपियरले बनाएको ठूलो घरको स्वामित्वको अदालती लडाइँका बारेमा रहेको बताइएको छ ।

त्यो बेला स्ट्र्याटफर्ड–अपन–एभनमा भएको त्यो घर शेक्सपियरले उपहारमा छोरीलाई दिएका थिए । तर त्यो घर हात पार्न परिवारका अन्य सदस्यहरूको पनि भूमिका देखिएको छ ।

वसीयतलाई २५ अगस्ट १६४२ मा थोमस नासले तयार पारेका थिए । यी थोमसका हजुरबुवा र शेक्सपियर साथी थिए ।

डा. गोसलिङका अनुसार, उक्त वसीयतलाई १९औँ शताब्दीको अन्त्यतिर फाइल गरिएको थियो । त्यसैले करीव १५० वर्षदेखि कसैले यसलाई ध्यान दिएर हेरेको थिएन ।

उनले भने, ‘यो नयाँ फेला परेको प्रमाणले के देखाउँछ भने शेक्सपियरले आफू मर्नुअघि बनाएको वसीयत कार्यान्वयन सहज र विवादरहित अवस्थामा थिएन ।’

नासे भनेर चिनिने वकिल थोमस नास शेक्सपियरकी नातिनी एलिजाबेथ हलका पति थिए । उनीहरू शेक्सपियरको घर न्यू प्लेसमा बस्थे । यो घर त्यो बेलाको गाउँभरिकै ठूलो घर मात्र नभई शहरकै दोस्रो ठूलो घर थियो ।
तर, नासले वसीयतमा आफू बसेको घरलाई आफ्ना काकाका छोरा एडवर्डलाई दिए ।

त्यस्तो उपहार दिने अधिकार कानूनी रुपमा उनलाई थिएन । त्यसको हक त एलिजाबेथको मात्र थियो ।

यो सम्पत्ति शेक्सपियरले पहिले नै आफ्नी जेठी छोरी सुजानालाई दिएका थिए । जुन बेला वसीयत एडवर्डलाई सुम्पिइएको थियो, सुजाना त्यतिबेला जीवित नै थिइन् । उनी छोरी एलिजाबेथ र ज्वाईं नाससँगै त्यही घरमा बस्थिन् ।

नासको मृत्यु सन् १६४७ मा भएपछि, सुजाना र एलिजाबेथले घर त्याग्नुपर्ने अवस्था आयो । एडवर्डले उनीहरूलाई घर खाली गर्न आदेश दिए ।

त्यतिबेला पनि सुजानको सम्पत्तिमाथिको स्वामित्व उनीसँगै रहेको देखिन्छ । तर, अर्को वर्ष एडवर्डले अदालतमा मुद्दा हाले र आफ्नो दिवंगत दाइको इच्छालाई मान्नुपर्ने माग गरे ।
पछि सो मुद्दा च्यान्सरी अदालतमा पुग्यो । एलिजाबेथले आफ्ना दिवंगत श्रीमान् थोमस नासले आफ्नो अधिकारमै नभएको शेक्सपियरको घर कसैलाई दिन नपाउने प्रमाण देखाइन् ।

सो घर शेक्सपियरले उपहारमा आमालाई दिएको र आमापछिको वास्तविक हकदार अरू कोही नभएर आफू हुनुपर्ने जिकीर एलिजाबेथले गरेकी थिइन् ।

इतिहासकार डा. गोसलिङ भन्छन्, ‘पछि एलिजाबेथले अदालतबाहिरै मिलापत्र गरेर १६७० मा आफ्नो मृत्यु नहुञ्जेल त्यही घरमा बस्ने अवसर पाइन् ।’

यसरी डा. गोसलिङले एउटा अञ्जान वसीयत पढ्दै गर्दा त्यो वसीयत प्रख्यात नाटककार विलियम शेक्सपियरसँग जोडिएला भन्ने कल्पनै गरेका थिएनन् । उनले बीबीसीलाई भने, ‘जब म वसीयत पढ्न थालेँ, पढ्दै गर्दा चकित भएँ । हेर्दाहेर्दै यो च्यान्सरी अदालतको मुद्दामा शेक्सपियर परिवार र उनका सन्तानहरूसँग कसरी प्रत्यक्ष जोडिएको रहेछ भन्ने पत्ता लाग्यो । यसरी एउटा सम्पत्ति विवाद एउटा कागजले छताछुल्ल बनाइदियो ।’