म लेखक हुँ, मन लाग्दा लेख्ने गर्दछु । विषय भेट्टाएँ भने समय मिल्ने बित्तिकै लेख्न दौडिहाल्छु । यसपटक भान्छासम्बन्धी विषयमा लेख्ने सोच बनाएपछि म बर्दिबास पुगें ।
रेल र बसको लामो यात्रा पार गर्दै, बर्दिबासबाट करिब तीन किलोमिटर पश्चिमउत्तरतिर रहेको होटल पञ्चधुरामा म पाहुना बनेँ । जुलाई महिनाको तातो गर्मीमा एक्लै काँधमा व्याग बोकेर बर्दिबास आउनुको मुख्य उद्देश्य कविता दाहाललाई भेट्नु थियो । साथै, ‘एक पन्थ दुई काम’ झैँ मिथिला साहित्यकार र नेपाली चलचित्र जगतका कलाकार रमेश रञ्जन झाको निम्तो स्वीकार गर्ने अवसर पनि यहीँ मिलेको थियो । भगवान राम र माता जानकीको दर्शन गर्ने तीव्र इच्छा त झन् मनमा पहिलेबाटै थियो ।
एक महिनाको ग्रीष्मकालीन छुट्टी बिताउने विचारका साथ, “के निउँ पाउँ कनिका फक्याउँ” भन्ने उखान सम्झँदै म ४ जुलाईका दिन पञ्चधुरा होटलमा पुगेँ । होटेलमा कविता दाहालको परिवारले नै व्यवस्था मिलाइदिनुभएको रहेछ । त्यहाँको आतिथ्यताले थकाइ बिर्साएर शान्तिपूर्वक विश्राम गर्न पाएँ ।
भोलिपल्ट बिहानै (५ जुलाई २०२५) पञ्चधुरा होटल नजिकैको माई स्थान मन्दिरमा दर्शन गरेर म आफ्नो दिउँसोको कार्यक्रमतर्फ लागेँ । त्यस क्रममा जनार्दन अधिकारी र कविता दाहाल परिवारको ‘दिव्य भवन’ पुगें ।
त्यहाँ पुग्दा स्वागतका लागि उपस्थित साहित्यकार मित्रहरू र पत्रकार साथीहरूसँग सुन्दर परिवेशमा भेट भयो । अनौपचारिक भए पनि सानो रमाइलो भेटघाट सम्पन्न भयो । परिचय साटासाटपछि क्रमशः सिस्नुपानी नेपाल महोत्तरीका अध्यक्ष कवि नारद काफ्ले, अधिकारी समाजकी सचिव शान्ता काफ्ले अधिकारी, कवि नारायण घिमिरे, कवि अम्बिका प्रसाद दाहाल, राष्ट्रिय उत्पादन तथा बजार संरक्षण संघका सचिव शिवजी महत्तो, पत्रकार जीवनराज दाहाल, ज्योतिषी नारायणराज दाहाल, जनार्दन अधिकारी, रामचन्द्र पौडेल, उद्धव अविचल, प्रेम घिमिरे लगायत बर्दिबास साहित्य–सांस्कृतिक प्रतिष्ठान परिवार नै सहभागी हुनुभएको थियो ।
यस रमाइलो भेटघाटमा मैले असमको फूलबुट्टे गम्छाले भान्छा सुधार अभियान नेपाल की अध्यक्ष कविता दाहाललाई र जेष्ठ साहित्यकारको प्रतिनिधित्वस्वरूप कवि प्रेम घिमिरेलाई अभिनन्दन गरें । साथै, उपस्थित सबैलाई यस अवसरमा बर्दिबास आउनुको उद्देश्य र पृष्ठभूमि पनि अवगत गराएँ ।
यसअघि पनि मैले नेपालको पर्यटन परिवेशबारे केही झलक प्रस्तुत गर्दै, आफ्ना घुमफिर अनुभव र मुख्य पात्र चिनीमाया माझीलाई केन्द्रमा राखी नियात्रा प्रकाशित गरेको थिएँ । ‘मत्स्यकन्याको मुलुकमा’ पुस्तकको अपार सफलतापछि अर्को महत्वपूर्ण विधालाई पछ्याउँदै यसपटक म बर्दिबास आएको हुँ । कविता दाहालको सामाजिक सञ्जालमा भान्छा सम्बन्धी विषय सुनेर नै मैले भेट गर्ने अनुमति लिएर यात्रा थालेको हुँ ।
भेटघाट र भलाकुसारीमा समाज उपकृत हुने र धेरै ज्ञानवर्धक प्रसङ्ग दाहालबाट प्राप्त हुनेछ भन्ने विषयले भारतको असमदेखि पितृभूमि नेपालले मलाई खिचेको कुरा उपस्थित सबैमा अवगत गर्ने गर्दछु ।
बर्दिबासको दिव्य भवनमा पुगेर कवितालाई भेटे पछि मैले यो भान्छा विषय पछ्याउँदै आएँ । यो भनिरहँदा अलिक अनौठो मान्नु होला शायद !
मेरो बुझाइमा भान्छा भन्ने कुरा केवल आमाले वा श्रीमतीले पकाएर खुवाएको मात्रै हो भन्ने लाग्थ्यो । साथै, विभिन्न ठाउँमा नयाँ भान्छामा थपिएका परिकार नै भान्छाको विषय होला भन्ने पनि सोचेको थिएँ । तर, जसै म दिव्य भवन पुगेर भान्छाभित्रको कथा–व्यथा र भान्छाभित्रको विराट विज्ञान सुन्न थालेँ, तब मात्र आमाले दिएका संस्कार, संस्कृति र परम्परा भित्रका भान्छाका कुरा बुझ्न सकें ।
भान्छा अभियानकी अभियन्ता दाहालसँगको घण्टौँ भलाकुसारीमा थाहा पाएँ– भान्छा भनेको केवल भोजन र व्यञ्जन मात्रै रहेनछ । दरबारदेखि घरवारसम्मका चौरासी व्यञ्जन भित्रका हरेक पूर्वीय सनातन संस्कृति भित्रका भान्छाका कुरा सुनेर अचम्मै लाग्यो । उहाँको दृष्टिमा गाई, माई र माटोको प्रसङ्ग आजको समाजले बुझेर व्यवहारमा उतार्नु जरूरी छ भन्ने कुरा हृदयस्पर्शी लाग्यो ।
परम्परागत रीति–रिवाज, नीति–नियम र चालचलन थर–गोत्र अनुसार चल्दै आएको रहेछ । सासु वा आमाको भान्छाभित्र पौष्टिकता र स्वादसँगै प्रकृति–मैत्री, वातावरण–मैत्री पक्ष रहेको कुरा प्रमाणसहित देख्न पाइयो । यसको प्रष्ट दृष्टान्त कुनै डेमोन्स्ट्रेशनमा कविता दाहालसँगै बसेर देख्न–सुन्न सकिन्छ ।
वैदिककालदेखि सुन्दै आएका पञ्चगव्य, पञ्चामृत, गोमुत्र, गोबर, जडीबुटी, तन्त्र–मन्त्र, यन्त्र, भस्म जस्ता प्राचीन ज्ञानलाई उहाँले वैज्ञानिक दृष्टिले व्याख्या गर्नुभएको सुन्दा चकित भएँ । भान्छाभित्र हरेक सप्ताह, हरेक महिना, हरेक ऋतु र हरेक वर्ष भगवानलाई भोग लगाइने भोजनदेखि दैनिक खाद्य अभ्याससम्मका विषयहरू गहिरो रहेछन् । सासूले बुहारीलाई दिएको ‘बुहार्तन’ भित्र पनि विज्ञान लुकेको छ भन्ने पुष्टि गर्नुभयो ।
जीवन, जगत् र स्वास्थ्यसँग सम्बन्धित, विश्वविद्यालयमा पनि पढ्न नपाइने तर दैनिक जीवनसँग गाँसिएका यस्ता ज्ञानवर्धक कुरा उहाँको कण्ठबाट प्रवाहमा सुन्दा म अभिभूत भएँ । कुनै शिक्षण सामग्री बिना घण्टौँ भान्छाभित्रको विराट विज्ञान प्रस्तुत गर्ने क्षमता साधारण कुरा होइन भन्ने महसूस गरेँ ।
आफैँ कर्कट रोगले ग्रस्त भएर पनि जीवन–मृत्युसँग युद्ध गर्दै बस्नुभएको दाहालले परिस्थिति स्वीकार गर्दै, हाँसी–हाँसी भान्छाभित्रको विज्ञानलाई उजागर गर्नुभएको कुरा असामान्य लाग्यो । संसारमै मानव–मैत्री, प्रकृति–मैत्री, वातावरण–मैत्री, जीव–मैत्री र जगत्–मैत्री ज्ञान रहेकाले यो विषय अत्यन्तै मूल्यवान् लाग्यो । आम मानिसले यसलाई सुनेर, बुझेर, जीवनमा अवलम्बन गर्नु जरुरी छ भन्ने अड्कल मैले गरें ।
नेपाली समाजमा सासू–बुहारीको कलह धेरै सुनिन्छ । तीजका गीतदेखि पुराना कथासम्ममा यो विषय प्रचुर पाइन्छ । तर, आमा वा सासूले सिकाएको व्यवहारिक संस्कारभित्र भान्छाको विराट विज्ञान लुकेको रहेछ भन्ने कुरा प्रष्ट रूपमा कविता दाहालले देखाइदिनुभयो । यसबारे तीन दिनसम्म निरन्तर भलाकुसारी गर्दा समयको ख्याल नै रहेन । यो विषयमा एउटा राम्रो पुस्तक तयार हुनसक्छ भन्ने विचारले मैले कदम अघि बढाएँ । दिव्य भवनभित्र हामीलाई उत्कृष्ट सुविधा उपलब्ध गराइदिनुभएकोमा कविता दाहाल र परिवारप्रति आभारी छु ।
त्यसपछि सिन्धुलीगढी, सिन्धुली कला–घर, स्थानीय महोत्तरीको पृतना, भरत ताल, ज्वलेश्वर महादेव, जनकपुरको राम–सीता–जानकी मन्दिर घुम्ने अवसर मिल्यो । गंगासागरमा विशेष गंगा आरतिमा सहभागी हुँदै मिथिला साहित्यकारहरूसँग भेटघाट गरेर फर्कियौँ । नेपालको सुन्दर रमणीय ऐतिहासिक धार्मिक स्थलहरूको यात्रा गर्दै बर्दिबासका अधिकारी परिवारलाई बिदाइ गरेर भोलिपल्ट देवघाटको कालीगण्डकीमा स्नान गर्न पुगेँ ।
यात्राबाट फर्किएपछि पनि प्रत्येक सम्झनामा भान्छाका कुरा कानमा गुञ्जायमान भइरहे । आफ्ना व्यस्तताबीच पनि दाहालले परिवारको जिम्मेवारी एक्लै निभाउँदै अभियानलाई अघि बढाउनु ठूलो कुरा लाग्यो । साधारणतया नारीहरू भान्छा–घरमै सीमित हुन्छन् तर उहाँमा त्यो मात्र नभई कवि, गीतकार, भजनप्रेमी र कुशल कलाकारितासमेत रहेछ । उहाँका शब्दलाई भारतकी प्रतिष्ठित गायिका अनुराधा पौडवाल, गायक राजेशपायल राई, निशा देशार, सुजाता वर्मा, रचना रिमाल, सिक्किमकी गायिका स्मिता प्रधानहरूले स्वर दिएको देख्दा चकित भएँ । भिडियोमा उहाँको अभिनयसमेत देखेर उहाँ एक कुशल कलाकार हुनुहुन्छ भन्ने अनुमान गरें ।
त्यति मात्र कहाँ हो र, राष्ट्रिय उत्पादन तथा बजार संरक्षण महासंघकी उपाध्यक्षको जिम्मेवारीसमेत उहाँले वहन गर्दै हुनुहुन्छ । स्थानीय हाटबजार हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म किसानका उत्पादन पुर्याउन उहाँ संलग्न हुनुहुन्छ । उहाँको विचारमा समाजले साथ दिए राष्ट्रको अर्थतन्त्र सबल हुनेछ, युवा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था घट्नेछ, र वैदिक–जैविक विधिबाट उत्पादन भएका सामग्री संसारकै लागि उत्तम उपहार हुनेछन् ।
कविता दाहाल भन्नुहुन्छ, “भान्छा घरभित्र पकवानमा मात्र सीमित हुँदैन एउटा भान्छे अथवा आमा । संस्कार, संस्कृति, परम्परा र धर्मको बागडोर सम्हाल्ने जिम्मेवारी उनीहरूको काँधमा हुन्छ । आमा अथवा भान्छेहरू त एउटा विश्वविद्यालयका उत्कृष्ट प्राध्यापक जस्तै हुन् । पिताले धेरै गरेर घर चलाए पनि, घरलाई सम्हाल्ने क्षमता आमा वा भान्छेमा हुन्छ । घर–परिवारको स्वास्थ्यदेखि उपचारसम्म आमाको नजरमा हुन्छ भन्ने कुरा सर्वविदित छ ।”
फेरि उहाँ भन्छिन्, “त्यसैले पूर्वीय सभ्यताको संस्कार, संस्कृति र सनातन परम्परा भित्र गाई, माई र माटो भनेको सबै जीव–जगत्को आधार हो । हाम्रो प्रकृतिका साधक ऋषिहरूले यस जगत्का लागि अनुसन्धान गरेका कुरा भित्र नै सम्पूर्ण आधार छ । तर आज विषय–विज्ञहरूले विविध अनुसन्धान गर्दा नैतिकता हरायो, माटो मृत भयो, प्रकृति र वातावरण ध्वस्त भयो, खाद्यवस्तु अखाद्यमा परिणत भयो, संवेदनशीलता हरायो । परिवार परिवारसँग, धर्म धर्मसँग लड्न थाल्यो । अझै पनि यही बाटो पछ्यायौँ भने अन्ततः हामीले सबै गुमाउनु पर्नेछ ।”
वास्तवमै यो भनाइ मननयोग्य छ । अहिले पनि हामी गुमाइरहेका छौँ भन्ने लाग्छ । अब समय आएको छ, अङ्ग्रेजी र विज्ञानमा पारङ्गतहरूले संस्कृतभित्र लुकेको विज्ञानलाई प्रमाणसहित उजागर गर्नुपर्ने ।
यी गहिरा विचार सुनेपछि म गम्भीर भएँ । बिस्तारै धेरै चर्चा–परिचर्चा सुनेर उपकृत हुँदै उहाँको स्वास्थ्य लाभको कामना गर्दै त्यहाँबाट छोटो बिदाइ लिएँ ।
“जय भान्छा, जय सनातन संस्कृति !”
असम, भारत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२३ असार २०८३, मंगलवार 









