अस्पतालबाट फर्किएर घरमा बेडरेस्टमा रहेका बेला एउटा पाको डाक्टरसँग भएको अन्तरंग कुराकानी मनमा खेलिरह्यो ।
उसले भनेको थियो, “पाखापहरामा उकालो-ओरालो गर्थे हाम्रा पुर्खा । अर्गानिक हुन्थे खानेकुरा । शुद्ध हावापानी । हाम्रो जीवनशैली बिग्रियो । खानपान झनै बिग्रियो । शारीरिक श्रम हुँदैभएन । हामी तपाईंको जुन उमेरमा यस रोगको उपचार गर्दछौं; तपाईंका छोराछोरीलाई योभन्दा कम उमेरमा र नातिनातिनालाई अझ कम उमेरमा हामीले उपचार गर्नुपर्ला ।”
उसको कुरा सम्झिएपछि ‘किन आइएछ यो शहरमा’ भन्ने पनि लाग्यो । अलिक तंग्रिएपछि गाउँ फर्किने सोच बनाएँ मैले ।
दुई हप्तादेखि यतै छु । घरबारी बनमाराले ढाकेछ । आँगन र दलानमा पनि बनमारा । यो सबै फाँडफुँड गरेर कोदो रोप्न सोचले गाउँ फर्किएको म । गाउँमा काम गर्ने मान्छे फिटिक्कै पाइँदैन । आफू अलिअलि काट्यो; हात गल्ने । चिट्चिट् पसिना आउने । हातभरि फोकैफोका । खानबस्न पनि उति ठेगान भएन ।
पाँचसात दिनअघि जहानलाई पनि लिएर आउनुपर्यो भनेर शहर आएको । जहान माने पो ! उसलाई मनाउन चार दिन जति लाग्यो ।
हिजो बेलुका फेरि आइपुग्यौं । बिहान गएर हेर्दा बारीमा बनमाराको नामोनिसाना रहेनछ । आँखा मिचेर पनि हेरें । अहँ, बनमाराको त्यान्द्रो पनि छैन !! बनमाराको जरोबुटो कतै देखिएन ।
पछि कुरा बुझियो : कुनै टिकटकरले बनमाराको बोटै देखाएर यसको औषधीय गुणको बखान गरेछ । अरू कयौं टिकटकरहरूले त्यसैलाई पछ्याएछन् । बनमाराको टुप्पाले एउटा रोग, पातले अर्को रोग, डाँठले अर्को रोग र जराले अर्को रोग निर्मूल हुने कुरा रहेछ- टिकटकमा । अनि त चारैतिरबाट ओहिरिएछन्- बनमारा काट्ने मान्छे । बनमाराको भारी कसले बढी ओसार्ने भनेर कम्पिटिसन चले झैं पो भएछ ।
हामी बुढाबुढीले पनि फुर्सदमा टिकटक हेर्यौं ।
हाम्रो टाउको दुखाइ : सफाचट !
टिकटकर– जिन्दावाद !!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२१ असार २०८३, आईतवार 








