साहित्य अदृश्य विमान हो, कल्पनाको आकाशमा उडाउँछ । शान्त पोखरी हो, मानिसलाई चुर्लुम्म डुबाउँछ । साहित्य एकाग्रताको औषधी हो, ध्यानमग्न बनाउँछ । कोलाहलको दुश्मन हो, शान्त बनाउँछ । कल्पना, कोमलता,भावुकता, करूणा जस्ता समवेदना नभई यो जन्मँदैन । कसैसँग रिस उठ्यो वा चित्त दुख्यो भने पनि स्रष्टाले अक्षरमा नै आफ्ना भावनाहरू छताछुल्ल पारेर पोख्छ, तर कसैमाथि पनि भौतिक आक्रमण गर्दैन । साहित्याकाशमा विचरण गर्नेले हम्मेसि घातक हतियार प्रयोग गरेर अपराध गर्दैनन् । कम से कम मैले साहित्य साधकले त्यस्ता अपराध गरेको थाहा पाएको छैन । त्यसैले म साहित्य रुचाउँछु । यसप्रतिको अनुरागमा हरदम डुबिरहन्छु । मलाई त्यसरी डुब्न पाउँदा सुखानुभूति हुन्छ । कानूनका निरस शब्द, भाषा र वाक्यहरू पढ्दा, सुन्दा र लेख्दा मस्तिष्क थकित भएको हुन्छ । थकिल मस्तिष्कले पनि साहित्य साधनाबाट आराम पाउँछ । साहित्यले मलाई सुम्सुम्याउँछ, र आनन्द दिन्छ ।
मलाई कसैसँग प्रतिस्पर्धा गर्नु छैन । न मैले कसैलाई उछिन्नु छ न त विजेता हुनुछ । न कुनै फैसला गराउनु छ न न कसैसँग शत्रुता नै चाहिएको छ । मलाई कसैसँग निकटता आवश्यकता छैन, न त मनमुटावको नै छ । म आफ्नै ठाउँमा छु, तटस्थ छु । मैले कुनै समूह बनाएको छैन, एक्लै एक्लै छु । मलाई घेराबन्दी गरिएको छैन । मैले ठूला सपना देख्ने त कुरै आएन । तर पनि साहित्यकारहरूबीचको आपसी सम्बन्ध धमिलिएको देख्दा म छक्क पर्छु । एक अर्कालाई निषेध गर्ने, उपेक्षा गर्ने, अतिरञ्जित गर्ने, देवत्वकरण र दैत्यकरण गर्ने जस्ता भावहरू प्रकट भएका देख्दा म आर्द्र हुनपुग्छु । साहित्य जस्तो सुन्दर र शान्त क्षेत्रमा यस प्रकारका गतिविधि देख्दा हरकोही एकलव्यहरू आहत हुन्छन् ।
मलाई लाग्दैन, साहित्यको मापन प्राप्त गरिएका पुरस्कार तथा भित्तामा झुण्डाइएका प्रमाणपत्रले गर्छ । ओढाइएका दोसल्ला र पहिराइएका फूलका मालाले गर्छ । घरका भित्तामा झुण्डाइएका प्रमाणपत्रभन्दा मनको भित्ताले झुण्ड्याउने रसास्वादनका प्रमाणपत्रहरू पवित्र हुन्छन् । गलामा लगाइएका मालाभन्दा मनले उनीहरूका माला निश्छल हुन्छन् । त्यहाँ कसैको हात तल वा माथि पर्दैन । अनुगृहीत र कृतज्ञ हुनुपर्ने अवस्था हुँदैन । कसैको प्रायोजन र संयोजन हुँदैन । साहित्याकाशमा सिर्जनाको सौरभ छर्ने चम्किला नक्षत्रहरूले पुरस्कार नै पाउनु पर्छ र ?
खै किन हो, हरेक कालखण्डमा कसैलाई निषेध गर्ने र घेराबन्दी गर्ने खेल हुँदै आएका छन् । पाठकहरू पनि सिर्जनाभन्दा नाम र तस्बीर हेरेर प्रतिक्रिया व्यक्त गर्न तल्लीन छन् । यस्तो नियतिको सास्ती ती नक्षत्रहरूले पनि भोगे होलान्, तर आडम्बर र अभिमान उनीहरूमा देखिएन ।
एकजना साहित्यकार मित्रले कुराकानीका क्रममा भने, “घरका भित्तामा झुण्ड्याएका प्रशंसाका प्रमाणपत्रहरूले न त आवश्यक परेका बेला एउटा ओखती किन्न सकिन्छ न त एउटा पुस्तक नै । न त त्यसले खाने अन्न दिन्छ न पिउने पानीको थोपो नै । जीवनका आवश्यकता त्यस्ता प्रमाणपत्रबाट पूरा हुँदैनन् । त्यसका लागि थोरबहुत पैसाकै आवश्यक पर्छ । त्यस अवस्थामा प्रमाणपत्रभन्दा त पैसा महत्त्वपूर्ण हुन आउँछ ।”
ती मित्रको भनाइलाई आफ्नो ठाउँमा रहन दिऔं । उनको भनाइमा सत्यताको अंश भए पनि प्रमाणपत्रलाई त्यति खसाल्नु पनि हुँदैन । पवित्रताको प्रमाणपत्रमा किन आपत्ति गर्नु ? प्रायोजित प्रमाणपत्र पो आपत्तिजनक हो त ।
साहित्य लेखन र साहित्य पठनमा मानिस चुर्लुम्म डुब्यो भने उसले अरू सबै कुरा बिर्सिन्छ । आफूभित्रका पीडा, आक्रोश, घृणाहरू सबै बिर्सिएर खुशी हुनसक्यो भने त्यसबाट प्राप्त हुने प्रफुल्लताले शरीरमा अक्सिटोसिन, एन्डोरफिन र सेरोटिनिन् जस्ता हर्मोनहरू उत्पादन हुन्छन् । ती हर्मोनहरू हामीले ओखतीको रूपमा खाने टनिकहरू भन्दा कैयौं गुणा उपयोगी हुन्छन् । हरेक दिन एकछिन भए पनि साहित्यको रसमा डुबुल्की मार्न पाउँदा दिनभरि नै मन प्रफुल्लित हुन्छ । त्यसैले म भन्छु – साहित्य ठूलो औषधी हो । यसले मानिसलाई आरोग्यता बाँढिरहन्छ । मानसिक रूपमा र शारीरिक रूपमा पनि ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 










