हाम्रो विद्यालय डियरवाक सिफल स्कुलमा अन्य विषय जस्तै भाषा विषयलाई पनि उत्तिकै महत्त्व दिइन्छ । हाम्रो विद्यालयले हामीलाई हरेक महीना एउटा अङ्ग्रेजी र एउटा नेपाली गरी दुईओटा पाठ्यपुस्तकका अतिरिक्त पुस्तकहरू पढ्न दिइन्छ । यस्ता विभिन्न पुस्तकहरूले नै हामीलाई साहित्यका विभिन्न विधाहरूसँग परिचित गराएको छ । यसरी नै हामी पढाइ र लेखाइका विभिन्न विधाहरूबारे परिचित हुँदै गइरहेका छौँ । नेपाली र अङ्ग्रेजी साहित्यको बारेमा थप जानकारी प्राप्त गर्ने अवसर हामीलाई प्राप्त भएको छ । यसै गरी हाम्रो विद्यालयले कथा, कविता, नाटक, हास्यव्यङ्ग्य, खण्डकाव्य लगायत विभिन्न विधासँग हामी विद्यार्थीहरूलाई परिचित गराउँदै आएको छ । यी पुस्तकहरू हाम्रा लागि भाषिक ज्ञानका साथै व्यक्तित्व विकासमा समेत महत्त्वपूर्ण सावित भएका छन् ।

पुस्तक परिचयः

प्रत्येक महीना विभिन्न विधाका पुस्तक पढ्ने क्रममा गत वैशाखमा हामीले पुरू लम्सालको नाटक ‘नौगेडी’ पढ्ने अवसर पायौँ । स्वदेश तथा विदेशमा समेत मञ्चन भइसकेको ‘नौगेडी’ एक प्रसिद्ध तथा लोकप्रिय नाटक हो । यो नाटक सात ओटा दृश्यमा विभाजित छ । यो नाटकले नेपाली ग्रामीण समाजको वास्तविकता देखाउन खोजेको छ । ८३ पृष्ठ सङ्ख्या भएको यो पुस्तक लघु आकारको भए पनि हामीले यस पुस्तकबाट नेपाली समाज, समाजको सोचाइ, कुप्रथा, महिलाबारे पुरुषको र महिला स्वयंको सोचाइ आदि बारे धेरै कुरा थाहा पायौँ ।

कथावस्तुः

नाटकको कथा दुप्चेश्वर मेलाबाट शुरु हुन्छ । नेपथ्यमा मन्दिरको घण्टीको आवाज सुनिरहेका हुन्छन्, मानिसहरू गाउँदै हुन्छन् । त्यहाँ दुपचेश्वरको जात्रा लागिरहेको हुन्छ । तादी नदीको आवाज आउँदै गर्दा केही मानिसहरूले हातमा दाम्लो बोकेर मादलको धूनमा नाचगान गर्दै रहेका हुन्छन् । त्यहीँ केही मानिसहरूले च्यान्टे र मनमाया नाम गरेको दुईजना पात्रहरूबीच प्रेम छ भन्ने कुरा पनि गरिरहेका हुन्छन् । नजिकै शेर्पाहरू हातमा हात समाएर गीत गाउँदै नाच्दै हुन्छन् । त्यतिमा नै त्यहाँ मनमाया र च्यान्टे पनि आइपुग्छन् । उनीहरूबीच कुराकानी हुँदै गर्दा केही युवायुवतीहरू मादल बजाउँदै नाचगान गर्दै आइरहेका हुन्छन् । एक जना रक्सीले मातिएको युवक पनि त्यहाँ आउँछ । उसले युवतीहरूलाई जिस्काउन थाल्छ । युवतीहरू पर पर जान्छन् तर रक्सीले मातेको युवक भने झन् नजिक गएर जिस्काउन थाल्छ । उनीहरूको झगडा पर्छ । च्यान्टे र मनमायाका साथीहरू आएर उनीहरूलाई सम्झाउँछन् – जात्राको बेलामा झगडा गर्नु हुँदैन । उनीहरू गीत गाउन थाल्छन्, र फेरि जात्रामा रमाउँछन् । त्यसपछि मनमाया र च्यान्टे एउटा मन्दिरमा बिहे गर्न जान्छन्, र दुवैको घाँटीमा फूलको माला लिएर फर्किन्छन् । यसरी उनीहरूको विवाह हुन्छ ।

मनमाया र च्यान्टेको विवाह भइसकेपछि मनमायाले च्यान्टेलाई नौगेडी बनाइदिन अनुरोध गर्छिन् तर च्यान्टेले उनीहरूको आर्थिक अवस्था कमजोर भएकाले त्यो सम्भव नभएको कुरा गर्छ । त्यसपछि उनीहरूको प्रेमिल जीवनमा झगडा शुरू हुन्छ । उनीहरू झगडा गरिरहेकै बेला इन्दिरा बज्यै त्यहाँ आइपुग्छिन्, र उनीहरूको बच्चा नहुनुका बारेमा सोधखोज गर्छिन् । उनले आफ्नी बुहारी सुत्केरी हुन लागेको खबर पनि दिन्छिन् । साथै, च्यान्टे र मनमायालाई दुप्चेश्वर मन्दिरमा गएर सन्तानको कामना गर्न सुझाव दिन्छिन् । मनमायाले इन्दिरा बज्यैको कुरा ठिक ठान्छे, र त्यहाँ जान मन गर्छे । तर च्यान्टे झर्कँदै यस्तो कुरा बारम्बार सुनिरहन नसकिने भन्दै ‘मन्दिर नजाने’ भन्छ ।

त्यसपछि नाटकको दृश्यमा माइली आइपुग्छे, र उनीहरूलाई झगडा नगर्न भनी सम्झाउँछे । माइलीलाई आफ्नो पीडा पोख्दै मनमायाले बच्चा नभएकोमा दुःख पोख्छे । त्यस कुरामा माइलीले डाक्टरलाई देखाउन सल्लाह दिन्छे ।

अर्को दृश्यमा च्यान्टे चिया पसलमा पुग्दा मानिसहरू उसलाई बच्चा नहुनुका कारण जिस्क्याउँछन् । त्यहाँ चन्द्रे पनि आइपुग्छ जसले भर्खरै मात्र चुनावमा हारेको हुन्छ । त्यहाँ उपस्थित मानिसहरूले चन्द्रेले पैसा खर्च नगरेको कारण चुनाव नजितेको हो भन्छन् । अर्जुन चिया पकाउन थाल्छ, र चिया खाइसकेपछि च्यान्टेले आफूले चिया खाएको गिलास आफैँ माझ्नुपर्छ । यसले नेपाली समाजमा विद्यमान जातीय भेदभावलाई झल्काउँछ ।

पछि घर फर्केपछि मनमाया र च्यान्टेबीच फेरि नौगेडी र बच्चाको विषयमा झगडा पर्छ । माइली फेरि त्यहाँ आइपुग्छे, र उनीहरूलाई झगडा गर्नुहुँदैन भनेर सम्झाउँछ । आफ्नो भाग्यको तुलना पनि गर्छे । माइलीलाई उसको परिवारका सदस्य मिलेर बेचेको थिए, त्यो कुराको तुलना नै उसले मनमायाको जीवनसँग गर्छे । बेलुका च्यान्टे एउटा कुखुराको बोकेर घर फर्कन्छ । मनमायाले त्यसलाई काट्न दिन्न ।  हुर्काएर चल्ला पार्ने बताउँछे । यो कुरामा च्यान्टे पनि सहमत हुन्छ । अन्त्यमा, च्यान्टेले इस्टकोटबाट २०० रुपियाँ झिकेर मनमायालाई दिन्छ ।

एक दिन मनमाया इन्दिरा बज्यैको घरबाट फर्कँदै थिइन् । बाटोमा बज्यैले भनेका कुराहरू उनको मनमा घुमिरहेको थियो । इन्दिरा बज्यैले आफ्नी बुहारीलाई मनमायाजस्ती बाँझीको छेउमा नजानू नत्र तिम्रो पनि बच्चा कुहिन्छ भनेर भनेकी हुन्छिन् । त्यो कुरा सुनेर मनमाया अत्यन्त दुःखी र अपमानित महसुस गरिरहेकी हुन्छिन् । त्यहाँ अर्जुन आइपुग्छ, र मनमायालाई चिन्ता नगर्न भन्छ । बच्चा नपाएकोमा उसको मात्र गल्ती होइन च्यान्टेको कमजोरी पनि हुन सक्छ भनी सम्झाउँछ । यात्राको क्रममा, मनमाया र अर्जुन प्रेममा पर्छन्, र यौनसम्पर्क गर्छन् । मनमाया गर्भिणी हुन्छे ।

नाटकको अर्को दृश्यमा च्यान्टेको घर देखिन्छ । अर्जुन त्यहाँ आइपुगेको हुन्छ । च्यान्टे घरबाहिर गएको थाहा पाएपछि उसले मनमायालाई जिस्काउन थाल्छ । च्यान्टे फर्किएपछि अर्जुनलाई ‘किन आएको ?’ भनेर सोध्छ । अर्जुनले नौगेडी र केही अरू सामान किन्न त्रिशुली बजार जान लागेको बताउँछ । अर्जुन गइसकेपछि, मनमायाले फेरि च्यान्टेसँग नौगेडी माग्छे । च्यान्टे झर्किएर मनमायाको कपाल तान्न थाल्छ, र यसरी नै उनीहरूबीच झगडा हुन्छ । मनमाया भित्र गएर हँसिया निकालेर आउँछे । ‘यो घरमा यदि दुवैजना बस्याैँ भने एकजना मर्छाै’ भन्दै घाँस काट्न निस्कन्छे । च्यान्टे पनि एकातिर लाग्छ, तर त्यो रात च्यान्टे भने घर फर्केर आउँदैन ।

केही दिनपछि देवकी मनमायाको घरमा आउँछे । च्यान्टे अर्को गाउँमा बिष्टहरूकोमा लुगा सिउने काम गरिरहेको बताउँछे ।

अर्को दृश्यमा मनमाया घरको काममा व्यस्त हुँदा, माइली आइपुग्छे । उसलाई तीजका लागि भनेर केही सामान दिन्छे । मनमायाले माइलीलाई आफू बिरामीजस्तै भएको, महिनावारी दुई महीनादेखि रोकिएको कुरा भन्छे । त्यति बेलामा च्यान्टे पनि आइपुग्छ । माइलीले उसलाई मनमाया गर्भवती भएको कुरा सुनाउँछे । त्यो सुनेर च्यान्टे अत्यन्तै खुशी हुन्छ । माइली त्यहाँबाट गएपछि च्यान्टेले मनमायालाई भित्र गएर आराम गर्न भन्छ । मनमायालाई केही काम नगर्न भन्दै सबै काम आफैँले गर्ने बताउँछ ।

त्यतिकैमा अचानक भूकम्प आउँछ । उनीहरूको घर भत्किन थाल्छ । मनमाया घरभित्रै च्यापिन्छे । ऊ चिच्याउँदै सहयोग माग्छे । च्यान्टेले पनि गुहार माग्छ । भूकम्प रोकिए पछि दौडेर भित्र जान्छ । तर ऊ पुग्ने बेलासम्म मनमायाले प्राण त्यागी सकेकी हुन्छे । च्यान्टेले रुँदै आफ्नो इस्टकोटबाट नौगेडी निकालेर उसलाई लगाइदिन्छ । मनमायाले त्यो नौगेडी जिउँदै हुँदा लगाउन पाइन । उसको आशा पनि उसँगै नै मर्यो ।

परिवेशः

नाटकको स्थलगत परिवेशमा नुवाकोट जिल्लाको ग्रामीण भेगमा अवस्थित दुप्चेश्वर गाउँ, सांस्कृतिक परिवेशअन्तर्गत नाटकले ग्रामीण सांस्कृतिक पर्व, परम्परा, नाच, जात्राका साथै राजनीतिक परिवेशअन्तर्गत क्रान्ति र परिवर्तनको सपना देख्ने ‘चन्द्रबहादुर’जस्ता पात्रहरू नाटकमा उपस्थित छन् ।

निष्कर्ष तथा पुस्तक सिफारिस :

‘नौगेडी’ नाटक नेपालका ग्रामीण समाज र समुदायको ऐना हो । विशेष गरी महिला पात्र मनमायाको माध्यमबाट हामीले देख्न सक्छाैँ कि महिला हुनु आफैँमा चुनौती हो । नाटकमा खासगरी नेपाली ग्रामीण समाजको यथार्थ, परम्परागत सोच, लैङ्गिक असमानता, जातीय असमानता र विभेद, अन्धविश्वास, गरीबी आदि विषयको गहिरो चित्रण गरिएको छ । च्यान्टे र मनमायाको कथाद्वारा सन्तान नहुनुको पीडा, समाजमा महिलाको स्थान तथा माइलीको कथाद्वारा समाजले महिलालाई गर्ने भोग्या व्यवहारको यथार्थ चित्रण गरिएको छ । तथ्य र भावना दुवैको मिश्रण भएको यो एक सामाजिक नाटक हो – ‘नौगेडी’ । यो नाटक केवल मनोरञ्जन मात्र होइन, चेतना र परिवर्तनको सन्देश पनि हो ।

‘नौगेडी’ नाटक माध्यमिक तहका विद्यार्थीहरूका लागि अत्यन्त उपयोगी साहित्यिक कृति हो । यसले सामाजिक समस्याको यथार्थ रूपमा चित्रण गरेको छ । नेपाली भाषा र सामाज अध्ययन गर्न चाहने सबैलाई लागि म यो सुन्दर कृति सिफारिस गर्दछु ।

कक्षाः १०, डियरवाक सिफल स्कुल