नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्

देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।

महाभारतीय आख्यानका अनुरागी प्रिय बन्धु !

आज अत्यन्त प्रसन्नताको अनुभूति भइरहेछ, किनभने जय काव्य अर्थात् महाभारतको पहिलो आदिपर्व  (लगभग १० हजार श्लोकमा फैलिएको) सम्पन्न गरेर दोस्रो पर्व : सभापर्वमा आज हामी प्रवेश गर्दैछौं । महाभारतको आदिपर्वका अत्यन्त प्रेरक, रोचक र रोमाञ्चक उपाख्यानहरू लगभग ७० प्रकरणमा सम्पन्न भएका छन् । २०८० साल फागुन महीनाको २५ गते पहिलो प्रकरण महाभारतारम्भबाट यो सिलसिला प्रारम्भ भएको हो । लभभग एक वर्ष र चार महीना समयावधि हामी महाभारतको यो अत्यन्त गरिमामय ज्ञान–यज्ञमा सहभागी हुँदै आएका छौं ।

यसका सहगामी आदरणीय भावक–पाठकवृन्द एवम् प्रकाशक प्रसारक प्रिय बन्धु श्री अश्विनी कोइराला अनि उहाँको यो लोकप्रिय अनलाइन पत्रिका साहित्यपोस्ट परिवारप्रति यो सनतकुमार अन्तर्हृदयले आत्मीयताशील अभिनन्दन टक्य्राउँछ ।

सबैको जय होस् ।

…..

१५ दिनको श्रमसाधनाद्वारा विशाल महावन खाण्डव अग्निदेवलाई स्वाहा गरिसकेर एकान्तमा यमुनातटमा बसेका श्रीकृष्ण र अर्जुनका बीच उपस्थित भएको दानव–लोक–शिल्पी मयासुरले कृतज्ञतापूर्वक अर्जुनका पाउ पर्दै भने :

हे कुन्तीनन्दन, मलाई हजुरले क्रोधसन्तप्त अग्निदेव र श्रीकृष्णबाट बचाएर जीवनदान दिनुभएको छ । म हजुरका प्रीतिका लागि केही गर्न चाहन्छु । आज्ञा होस्, हजुरलाई मन पर्ने के काम गरुँ?

तिम्रो कृतज्ञताले नै म सन्तुष्ट छु, केही गर्न पर्दैन, अब तिमी जाऊ, भनेर अर्जुनले सप्रेम विदा दिंदा पनि उनी जान मानेनन् । केही न केही प्रिय कार्य गर्ने अदम्य इच्छा व्यक्त गरे । अर्जुनका प्रेरणाले अन्त्यमा श्रीकृष्णले भन्नुभयो : हे मय, तिमी दानवलोकका शिल्पी हौ । तिमी आफ्नो स्वेच्छाले महाराज युधिष्ठिरका लागि एउटा भव्य सभाभवन बनाऊ जसमा तिम्रो उत्कृष्ट कालीगढी झल्कियोस् ।

मयासुरले श्रीकृष्णको आज्ञा शिरोपर गरी अत्यन्त प्रसन्नभावले त्यस्तो भवन बनाउने अठोट गरे । यसका लागि शुभ मुहूर्त हेरेर दश हजार हात लम्बा र त्यति नै चौडा आयाम भएको विशाल सभाभवन निर्माण गर्ने तैयारी गर्न लागे ।

यता भगवान् श्रीकृष्ण केही दिन इन्द्रप्रस्थमा बसेर पाण्डवहरुहरूको भव्य अतिथ्य ग्रहण गरिसकेपछि आफ्नो राजधानी द्वारका जान तैयार हुनुभयो । उहाँले प्रथमतः सबैलाई सप्रेम भेटेर विदा माग्नुभयो । पञ्चपाण्डव, माता कुन्ती, द्रौपदी आदि सबैसँग यथोचित भलाकुसारी गरी विदा भएर द्वारका जान लाग्नुभयो । महाराज युधिष्ठिर लगायत सबै सदस्यहरूले उहाँलाई सादर नमन गरेर बडो भव्य विदाइ गरे । स्वयं महाराज युधिष्ठिर श्रीकृष्णलाई पुर्‍याउन भनेर दुई कोश परसम्म जानुभयो । आफ्नो शीघ्रगामी रथमा सारथि दारुकद्वारा हाँकिएको दिव्य रथमा सवार भएर उहाँ वेगशाली गरुडमा सवार भए झैं त्वरित गतिमा द्वारका पुग्नुभयो । त्यहाँ वयोवृद्धा माता देवकी, पिता वसुदेव र राजा उग्रसेन आदिलाई चरणप्रणाम गरी, दाजु बलराम, प्रद्युम्न, साम्ब, निशठ, चारुदेष्ण, गद, अनिरुद्ध र भानु आदिसँग स्नेहाश्लेषका साथ भलाकुसारी गर्नुभयो ।

….

उता दानव–लोक–शिल्पी मयासुरले असुरराज वृषपर्वाको महलमा गएर दिव्य निर्माण–सामग्रीले लबालब भरिएको रत्नमय विशाल पात्र लिएर आए । त्यसमा त्रिलोकीभरिका बहुमूल्य रत्न, हीरा जवाहरात र निर्माण–सामग्रीका साथ अनमोल वस्तुहरू थिए । त्यहाँबाट झिकेर उनले एउटा विशाल र भव्य गदा भीमसेनलाई उपहार दिए, त्यहाँबाट झिकेर उनले अर्जुनलाई देवदत्त नामक दिव्य शंख उपहार दिए जो अर्जुनको निजी शंखका रूपमा आजसम्म पनि सुविख्यात रहेको छ । बाँकी सबै दिव्य रत्नहरू यथोचित संयोजन गरेर मयासुरले एउटा भव्य सभाभवन तैयार गरे । दश दश हजार हात लम्बाइ र चौडाइ भएको, गगन–मण्डल–व्यापी त्यो भवन हरेक दृष्टिले भव्य थियो । रत्ननिर्मित झ्याल–ढोका र मणिमय वेदिकाहरूले सुशोभित उक्त भवनका बीचमा एउटा दिव्य पुष्करिणी बनेको थियो जसका इन्द्रनील मणिले बनेका पातहरूले सजिएका चन्द्र–दीधिति–मय कमलहरू फक्रक्क फुल्दथे । पद्मराग मणिमय कमलवनको सुवासले सारा परिवेश मगमगाइरहन्थ्यो । स्फटिकमणिमय सिंढीहरूले सजिएको त्यो पुष्करिणी मायासिद्ध थियो । मणि र माणिक्यले खचित उक्त पुष्करिणीमा मानिस झुक्किन्थे, स्थल भन्ठानेर जान्थे र जलमा छ्याप्लाङ्ग खस्दथे । चारैतिर दिव्य उपवनले सजिएको र विविध दिव्य पक्षीहरूको श्रुतिमधुर कलरव गुँजिरहने उक्त सभाभवन सुधर्मा देवसभा र ब्रह्मसभा भन्दा पनि भव्य थियो । त्यसमा मयासुरका आज्ञापालक आठ हजार किङ्करहरू रहन्थे जसले त्यसको अहर्निश रेखदेख गर्दथे ।

पूरा का पूरा चौध महीना लगाएर मयासुरले त्यो विशालाकार दिव्य सभाभवन निर्माण गरेका थिए । तैयार भइसकेपछि उनले धर्मराज युधिष्ठिर–समक्ष गएर त्यसमा प्रवेश गर्न निवेदन गरे । उक्त सभाभवनका गजुरमा एउटा दिव्य ध्वजा शोभायमान थियो, जो कहिल्यै झुक्दैनथ्यो । त्यसमा भूतहरूको महापराक्रमी किङ्कर नामक गण निवास गर्दथ्यो जसमा भव्य कपिको चिह्न अङ्कित थियो । जसले यस सभाभवनलाई हमेशा सुरक्षित राख्दथ्यो । सो दिव्य सभाभवन वीरवर अर्जुनलाई सादर समर्पण गरेर प्रेमालिङ्गनपूर्वक मयासुर विदा भएर आफ्ना लोकतिर प्रस्थान गरे ।

यता शुभसाइत हेरेर महाराज युधिष्ठिरले त्यस सभाभवनमा प्रवेश गरे । त्यहाँ उनले विधिपूर्वक देवदेवीहरूको आवाहन गरेर पूजा आजा र यज्ञानुष्ठान सम्पन्न गरे । उक्त सभाभवनमा असित, देवल, सत्य, सर्पिमाली, महाशिरा, अर्वावसु र शाण्डिल्य आदि सकल ऋषिगण सम्मानित आसनमा विराजमान रहन्थे । मुंजकेतु, विवर्धन, कक्षसेन, मद्रराज शल्य, अंगराज, वंगराज, अक्रूर, कृतवर्मा, द्रुपद आदि प्रधान क्षत्रियगण आदि महाराज युधिष्ठिरको सेवामा रहने गर्दथे । अर्जुनका सखा गन्धर्व तुम्बुरु, चित्रसेन आदि सत्ताइस गन्धर्व र अप्सरागण समुपस्थित भएर विभिन्न नृत्यगीतादि प्रस्तुत गरेर उक्त सभाभवनलाई गुलजार गराउँदथे । जसरी दिव्यलोकमा सकलदेवतागण उपस्थित भएर ब्रह्मसभामा ब्रह्माको उपासना गर्दथे त्यसै गरी यस लोकका सारा महापुरुषहरू समुपस्थित भएर त्यस मयनिर्मित दिव्य सभाभवनमा धर्मराज युधिष्ठिरको समुपासना गर्दथे ।

…..

महाभारत सभापर्वको १ देखि ४ अध्यायमा आधृत ।

२०८२ साल आषाढ २७ गते शुक्रवार  

ॐअक्षरालयः ।