स्वेच्छिक अवकास (भिआरएस) मा मसँगै जागिर छाडेका एकजना साथीसँग अस्ति भर्खरै फेरि भेट भयो । गाडीमा एकछिन सहयात्रा गर्ने मौकामा साथीले एउटा जिज्ञासा राखे– ‘यार साथी, तपाईँसँग एउटा कुरा सोधौँ सोधौँ लागेको छ, सोध्न मिल्ने हो कि होइन भनेर म अलि दोधारमा छु ।’
मैले भनेँ, ‘सोध्नु न यार, साथीसाथीमा पनि केको औपचारकिता !’
उनले धकाउँदै भने, ‘मैले तपाईँभन्दा २–४ वर्ष अगाडिदेखि जागिर खाएको । स्वेच्छिक अवकासमा जाँदा तपाईँको भन्दा केही न केही बढी नै रकम पाएको हो । जागिर छाडेपछि तपाईँको फूर्तिफार्ती कहाँबाट कहाँ पुग्यो, म जहाँको तहीँ छु । तपाईँले के तरक्की गर्नुभयो र गाडी किन्नुभयो, त्यस्तो राम्रो घर बनाउनुभो ? घर पनि दुई-दुइटा बनाउनुभयो । अलि अचम्म लागेर सोधेको है ।’
मैले भने, ‘तपाईँले भनेजस्तो के के न गरेको त केही छैन साथी । सबैले बनाएकै घर बनाएको हुँ, धेरैले चढेकै गाडी चढेको हुँ । तपाईँले पनि राम्रै गर्नुभएको छ । स्वेच्छिक अवकासमा गएका थुप्रै साथीहरूले मेरोभन्दा राम्रो पनि गरेका छन् । जे होस्, तपाईँको यो जिज्ञासाको सम्मान गर्दै म अब एउटा निबन्ध नै लेख्छु । त्यो लेखेपछि तपाईँलाई लिङ्क पठाउँला, अनि डिटेलमै बुझ्नुहोला नि !’
उनले चित्त बुझाए, म पनि एउटा निबन्धको विषय प्रदान गरेकोमा साथीलाई धन्यवाद भन्दै लेख्न बसेँ ।
घर सबैको हुन्छ । धेरै जातिका चराचुरुङगी, पशु र किटहरूले पनि आफ्नो घर बनाउँछन् । घरपालुवाका लागि हामीले पनि बनाइदिन्छौँ । कतिपय पशुपन्छीले रुखलाई वा ओडारलाई वा झाडी वा प्वालहरूलाई घर बनाउँछन् । मौरी, कमिला, धमिराहरूले पनि सुन्दर सुन्दर घर बनाउँछन् । तोप चराको घरको आकर्षणको के कुरा गर्नु ! अपवाद बाहेक घर सुरक्षा, ओत र आत्मीयताको श्रोत हो । संसारको जुनसुकै कुनामा भए पनि हरेक मानिसलाई एउटा ढोकाबाट भित्र छिरेपछि सुरक्षा र सुखको, आनन्दको अनुभूति हुने ठाउँ घर हो । घर एक भौतिक संरचना मात्र होइन, एउटा गहिरो सम्बन्ध र सम्झनाहरूको केन्द्र पनि हो । महल होस् कि झुपडी, ओडार होस् कि दरबार, कुटी होस् कि गुफा । एक ओछ्यान, एक भान्सा, एक न्यानो माया । मन भारी बनाएर निस्कनुपर्ने र खुशी हुँदै पस्नुपर्ने ठाउँ घर ।
आज म मेरै घरको कथा सुनाउन खोज्दैछु । दुनियाँमा कसैले नगरेको कुरा भए पो गर्नु, नाथे घरको कुरा पनि के गर्नु भन्ने पनि लाग्न सक्छ तपाईँलाई । तर मैले मेरो प्रिय साथीलाई वचन दिएको छु, त्यसैले म नितान्त वैयक्तिक विषय भए पनि घरको कथा लेख्दैछु । रूचि लागे पढ्नुस् नलागे आफ्ना काममा लाग्नुस् ।
ताप्लेजुङमा मेरा हजुरबा–हजुरआमाको घर थियो । त्यो घरमा सात दाजुभाइ र तीन दिदीबहिनीको जन्म भयो । एक भाइ छोरा बाहेक आठ–दश वा बाह्र वर्ष उमेरतिर पुग्दा हजुरबाका छोराछोरीले क्रमशः घर छाडे । छोरीहरूको बिहे भयो, छोरा पढ्न वा कमाइ गर्न हिँडे । कान्छो छोरा मेरा पिताजी पनि कहिले फुङलिङ, कहिले दिङ्ला, कहिले धरान हुँदै समयक्रममा भोटाङ पुग्नुभयो । त्यहीँ परदेशमा म जन्मेको हुँ ।
म जन्मेको ठाउँमा अस्पताल थिएन । हामी दशै जना दाजुदिदी र भाइबहिनी घरमै जन्मेका हौँ । म जन्मिँदा हाम्रो स्थायी घर बन्ने क्रममा थियो रे । स्थायी भन्नाले केही वर्षलाई ढुक्क हुनसक्ने सम्भावना भएको घर भनौँ न । म खेतको गह्रामा स्याउलाले बारबेर गरेर बनाइएको छाप्रामा जन्मिएँ । मेरो पहिलो घर त्यही थियो । केही समयपछि ढुङ्गामाटोको गारो र परालको छानो भएको नयाँ घरमा सारिएँ । नयाँ घरमा घर बनाउनेहरूको ढङ्गले काम नगर्दा एक वर्षसम्म घरको मझेरी र सिकुवा दलदल जस्तो भयो रे । मझेरीको एक छेउमा टेक्दा पूरै मझेरी हल्लिन्थ्यो भन्नुहुन्छ आमा । त्यही घरमा मैले पाइला टेकेँ र तातेताते गर्न सिकेँ ।
त्यो घर म राम्रैसँग सम्झन्छु । निकै माथिको गाउँबाट शुरु भएको दायाँबायाँ र तलमाथि पनि निकै फराकिलो गरी फैलिएको खेतको करीब पुछारतिर हाम्रो घर थियो । छिमेक भन्नु एक घर थियो कान्छी फुपूको । त्यहाँबाट अरु घर धेरै टाढा टाढा थिए । एकान्त ठाउँ । अलि तलबाट जङ्गल शुरु हुन्थ्यो । कमेरो र रातोमाटोले पोतेको एकतले घर थियो, दक्षिण फर्केको । घर अगाडि आँगन, आँगनको पल्लो छेउमा खोल्मा । खोल्माको माथि गाईवस्तुका राखनधरन, खोसेला, पराल आदि । मुनिपट्टि गाई गोठ, दाउराका हार र बाख्राको खोर पनि ।
त्यो घर अहिले छैन अरे, त्यही घडेरीमा अरु कसैको घर छ, ढुङ्गामाटोकै, कमेरो र रातो माटोले पोतेको तर जस्ताले छाएको । त्यहाँबाट प्राप्त तस्बीर र भिडिओ म निकै घोरिएर हेर्ने गर्छु । त्यो घरमा म आठ वर्षको उमेरसम्म बसेँ हुँला । त्यो घर, हाम्रो खेतबारी, सुन्तलाबगान र गाईवस्तु चराउने पाखो सुविधाजनक थिए । इच्छा नहुँदा नहुँदै गाउँका एक जना जालीको जालमा परेर हामीले त्यो ठाउँ छाड्नु परेको हो भन्नुहुन्छ आमा । त्यो घर बेचेर हामी अलि माथि कुइँकेलको घर किनेर सर्यौँ ।
यो पनि उही प्रकारको हो । उसो त त्यहाँ सबैका घर त्यस्तै हुन्थे । त्यो घर उत्तरतिर फर्केको थियो । दुईतले घरको माथिल्लो तलामा घरका राखनधरन र ओछ्यान पनि थिए । भुइँ तलामा चुल्हो, अँगेनो, मझेरी, पानीका गाग्रा राख्ने आट, आटमाथि बिँडा, बिँडामाथि गाग्रा, छेउछाउमा धिरी, यताउता तोलुङ, ठेकी, अँगेनामाथि मकै भुट्ने होर्ल्याङ, अँगेनाका साइडमा ओछ्यान इत्यादि । ढोकाबाट बाहिर निस्केपछि सिकुवा, सिकुवाका डिलमा मकैका खोसेलाबाट बुनेका गजरा ओछ्याएका आट, साइडमा जाँतो । घरको अगाडि चिल्लो आँगन हुनु त स्वाभाविकै भयो । आँगनको पल्लो छेउमा खोल्मा थियो, ढिँकी पनि थियो । घर अगाडि अलि पर विशालकाय बरको रुख थियो । काग र अरु चराचुरुङगीको दोहोरीलत्ता हुन्थ्यो रुखमा । पाकेर कालो भएका खाइलाग्दा बरका दाना टिपेर हामी खान्थ्यौँ । मह जस्ता मीठा । त्यसको स्वाद जिब्रोको टुप्पामा अझै छ । त्यो बरको रुख छ कि छैन होला ! त्यहाँ पुगेँ भने बर र निबाराका दाना अवश्य खाने छु । खन्यूका दानामा पनि मह त हुन्थ्यो तर थोरै, खान झन्झटिलो । निबाराका पाकेका दानाभित्रको लटक्क परेको गुलियो पदार्थ कहिल्यै बिर्सन सकिएन ।
बारीतिरका सुन्तला, आरु, अम्बक, नस्पाती, मेल, उखु, आरुबखडा इत्यादि र वनतिरका भक्मिलो, ऐँसेलु, कुसुम, वन तरुल, भ्याकुर इत्यादिका कुरा अहिले नगरौँ । आवश्यकताभन्दा बढी नोस्टाल्जिक भइएला, मन निमोठिएला, भक्कानो फुट्ला । फेरि घरका विषयमा लेख्न बसेको घरबाट परपर लाग्नु पनि भएन । बहकिनु भएन ।
त्यो घरमा तीन वर्षजति बसेपछि मातापिताले त्यो मुलुकै छाडेर स्वदेश (त्यहाँ रहुन्जेल त्यो पनि हाम्रो स्वदेश नै थियो) नेपाल फिर्नुभयो, म पनि सधैं सधैं सुन्ने गरेको मधेश आएँ ।
झापाको हाम्रो पहिलो घर काठका तख्ता ठड्याएर बनाएको पराले छानो भएको टाँडे घर थियो । पचासफुटे भनिने बाटोको पश्चिमतिर पूर्व फर्केको घर । पचासफुटे सम्झेपछि मौकामा एउटा प्रशंग यहाँ घुसार्छु – पचास फुटे भनिने त्यो बेला (२०३३) देखिकै अत्यन्तै चलनचल्तीको बाटो ग्राभेल रोड बन्छ रे, छिटै पिच पनि हुन्छ रे भन्ने हल्ला सुन्न थालेको झण्डै चालीस वर्षपछि भर्खरै त्यो बाटोको आधाउधी भाग पिच भएछ । गजब छ नि हाम्रो विकासको गति !
भैगो त्यता नजाउँ ।
घरको काखीपट्टि अर्को सानो झुपडी घर थियो जहाँ हाम्रा जेठा फुपाजू सपरिवार बस्नुहुन्थ्यो । पछि धुलाबारीतिर बसाइँ जानुभयो । आँगनको वायव्य कुनामा काठको पुरानो इनार थियो । पानी निकाल्ने बाल्टीलाई लामो डोरीमा उनेर इनारको मुखमा बाँधिएको हुन्थ्यो । अलि पछि अग्लो खाँबामा बाँस बाँधेर उत्तोलक प्रयोग गरेर पनि पानी निकालिन्थ्यो । घरको पछाडिबाट एक किलोमिटर जति लामो सोतो परेको खेत थियो, गौरिया खोलासम्म तन्केको । त्यो खेतमा मातापिता खेती गर्नुहुन्थ्यो, हामी झुम्राका गोल खेल्थ्यौँ, बेलाबेला पिकनिक पनि जान्थ्यौँ । त्यो घरमा पनि हामी धेरै बसेनौँ । कोइराला पिताजी (पत्रकार शिव गाउँलेजीका पिता) ले हाम्रा जन्तरे बडाकाको घरखेत किनेर बस्नुभएको थियो अघिल्लो वर्षदेखि । के कारणले हो उहाँसँग हामीले घरखेत सट्टापट्टा गर्यौँ र पाँचौ नम्बरको घरमा सर्यौँ २०३६ सालमा । पचासफुटेको पूर्व थियो यो घर पश्चिम फर्केको । त्यो समयको राम्रै घर थियो । काठका फलेकहरूले बारेको, खरले छापेको, तुलनात्मक रूपले अघिल्लोभन्दा ठूलो । घरमुनि भान्सा थियो, ग्वाली र बाख्राको खोर थियो । माथि बरण्डा र सुत्ने कोठाहरू थिए । भर्याङबाट तलमाथि गर्दा घड्याङ घड्याङ् गरेर आवाज आउँथ्यो, घर हल्लिन्थ्यो । फागुन चैतका बेला हुन्डरी चलेर घरै लडाउला जस्तो गर्थ्यो । केही पटक त घरको छानो उडाएर हाम्रो हरिबिजोग पनि भएको थियो ।
काठ मकाएर घरको बार काम नलाग्ने भएपछि बुबाले काठ फालेर बाँसको टाटी बुनेर प्लास्टर गर्ने सेन्टर बटम प्रविधिमा परिणत गर्नुभएको थियो । खरको छानालाई टिनले प्रतिस्थापन गरेको थियो । सत्ताइस वर्ष बिताएपछि २०६३ सालमा त्यो घर भत्काएर छेउमै नयाँ एकतले भुइँ घर बनाइयो । इटाको गारो, टिनको छानोवाला । बुबाआमा अहिले त्यही घरमा हुनुहुन्छ । त्यसको स्वरूपलाई बुबाले धेरैपटक परिवर्तन गरिसक्नुभयो । कहिले कोठा थपेर, कहिले किचन गाँसेर, फेरि कहिले किचन लडाएर, बरन्डा थपेर । पहिलापहिला हामी हरेक पटक जाँदा घरमा केही न केही परिवर्तन भएको हुन्थ्यो । अचेल कम भएको छ । सानो घर छ । चाडपर्व आदिमा हामी सबै भेला हुँदा सुत्न ठाउँ पुग्दैन । अरु बेलाका लागि प्रशस्त फराकिलो मानिन्छ । घर अगाडि सामान्य फूलबारी छ, बाह्रै महीना जस्तो फलिरहने भोगटेको रुख छ, कटहर, आँप, आरु, लिची, अमलाका रुख छन् । पछाडि उस्तै सोतो परेको लामो खेत छ । मास्तिर फुपूको घर छ । पर्तिर भिनाजुको खेतबारी छ । तल्तिर ठूल्दाजु, माल्दाजुको घर छ, अलि तल्तिर ठूल्दिदीको घर छ । दाहाल भाइको घर त्यतै छ । खड्का, न्यौपाने, डाँगी, ढकाल, पौडेल, सतार, माझीहरूका घर छन् । यहाँ के छैन सबथोक छ भन्नु जस्तो छ । हामी दशै जना छोराछोरी, दर्जनौँ नातिनातिना, बुहारी सबैको मूल घर यही हो । यता देश विदेशका ठाउँठाउँमा सबैका आआफ्नै पौरखका आआफ्नै घर पनि छन्, तर दुनियाँको जुन कुनामा पुगे पनि घर कहाँ भनेर कसैले सोध्दा सबैका जिब्राको टुप्पामा झापा झुण्डेको होला भन्ठान्छु म, मेरै जस्तो । झापा कहाँ भन्दा, गौरादह । गौरादह कहाँभन्दा बरगाछी ।
बुबाआमाले बनाएको घर छाडेर परदेश लागेको र आफ्नै पौरखले बनाएको घरमा बस्न थालेको बीचमा बाइस वर्षको खाडल छ । तसर्थ अलिकति डेराको कथा कहनु वान्छनीय होला । डेरालाई डेरै सम्झे पनि भो, घरै सम्झे पनि भो । सानातिना वाधा व्यवधान सहने र गुनासो नगर्ने स्वभावले पनि होला प्रायः डेरामा पनि घरै जस्तो सन्चोले बसियो । घरबेटीसँग तँ तँ म म कहिल्यै गर्नु परेन । भाडा नतिरी भागिएन । तँ निस्की भनेर कहिल्यै कुनै घरबेटीले भनेन ।
२०३६/०३७ सालमा दाजु डा. गोविन्दराज भट्टराईको छत्रछायाँमा काठमाडौंका तीन ठाउँ डेरा बसेँ, मन्जुश्री टोल, ब्रह्म टोल र ठमेल । ०३७ मा फर्केर घरै गइयो । प्रवेशिका पछि २०३९ सालमा फेरि परदेश लागियो । छ महीना ठूल्दाजु आरपी भट्टराईको छत्रछायाँमा रसुवाको धुन्चेमा डेरा बसियो । फर्केर मास्टरी गर्ने क्रममा धादिङको छत्रेदेउरालीमा खकुरेलको घरमा हामी ४–५ जना नातेदार सदस्यहरू बस्थ्यौँ । भाडा नलाग्ने घर भएकोले त्यसलाई डेरा भन्न पनि मन लाग्दैन, घर त भन्नै मिलेन । घर न डेरा भए पनि हिसाब गर्न सजिलोका लागि यसलाई डेरै मानौँ । यो डेरा नम्बर आठ थियो ।
धादिङमा टेकेर काठमाडौं हान्न सफल भएपछि २०४२ मा काठमाडौं छिरेँ । काठमाडौंको सामाखुशी, पाटनको सुन्धारा, नःटोल, झम्सिखेल हुँदै काठमाडौंकै ठमेल, मैतीदेवी, डिल्लीबजार, देवकोटा मार्ग, घट्टेकुला र अन्तमा सिनामङ्गल गरी जिन्दगीमा जम्मा अठारवटा डेराको अनुभव भेला गरिएछ ।
मेरा डेरा बसाइका सबैभन्दा प्रिय ठाउँ ठमेल र डिल्लीबजार क्षेत्र भए । आज पनि त्यहाँ वरपर पुग्दा म निकै भावुक हुन्छु । थुप्रै पसलेहरू र अन्य चिनापर्चीका हितैसीहरूसँग अहिले पनि भेटघाट, बातचित हुन्छ । बेलाबेला ती पुराना डेरा बसेका ठाउँ घुम्न जान्छु । केही ठाउँहरू मैले छोराछोरीलाई पनि लगेर देखाएको छु ।
डिल्लीबजार पीपलबोट मेरो काठमाडौंमा घरको जग हाल्न कोशेढुङ्गाको काम गरेको ठाउँ हो । मैले दूरसञ्चार संस्थानमा काम गर्दा तीक्ष्ण व्यावसायिक सोच भएका भाइ नन्दीकेशर भट्टराईसँग सङ्गत गरेँ । उनैको अगुवाईमा शुरु गरेको सञ्चार (एसटीडी आइएसडी सेवा) व्यवसायमा उनले मलाई पार्टनर बनाए । उनले मलाई घर चलाउन मात्र होइन घडेरी किन्न समेत सक्षम बनाए । मैले यो किन भनेको भने म व्यापार व्यवसाय गर्ने सोच र क्षमता भएको मानिस होइन । उनका सङ्गतले हामीले जोरपाटी अतरखेलमा एउटा घडेरी लियौँ । बाँसबारीमा एउटा खोल्सी किनारामा पनि घडेरी लियौँ (भलै त्यो घडेरीमा बाटो नखुल्नाले ७–८ वर्षपछि किनेकोभन्दा कम मूल्यमा बेच्नुपर्यो) । त्यो सबै एउटा साधारण खरदार, सुब्बोमा जागिर खाने दुगुरेको हुतीको कुरा थिएन । अब म सिनामङ्गलमा मेरो घरको जग अचम्मसँग बसेको कुरा सुनाउँछु ।
डिल्लीबजार पीपलबोट चौतारामा हामीले ‘हाम्रो सञ्चार सेवा’ चलाएका थियौँ । त्यो बेला टेलिफोन, ट्रङ्ककल गर्न ज्यादै महङ्गो थियो । फोन गर्नेहरूको लाइन लाग्थ्यो । व्यापार राम्रो थियो । साथमा पैसा भइरहन्थ्यो । त्यही बेला एकजना पुराना परिचित हितैषी दाइले मसँग निकै जोडजुलुम गरेर बीसहजार रकम सापटी लगेका थिए । एक दुई दिनलाई भनेर लगेको महीनौँसम्म फिर्ता गरेनन् । झण्डै एक वर्षपछि एक दिन उनले मलाई तान्दै लगेर तीलगङ्गा नजिक सिनामंगलमा एउटा घडेरी देखाए र भने तपाईं यो लिनुहोस्, मैले दिने पैसामा नपुग पैसा दिनुहोस् । म अक्क न बक्क परेँ । कति पर्छ भनेको पासखर्च सबै गरेर तीन लाख पचहतर हजार अरे । बाफ रे बाफ ! सुन्ने बित्तिकै त्यो असम्भव लागेर म हिँड्न खोजेँ । उनले समाते ।
‘उनीसँग लिनु छ बीस हजार, अब चाहियो ३ लाख ५५ हजार । जोरपाटीको घडेरी बेचेर आएको २ लाख रकम जगेडा थियो । मैले निकाल्न सक्ने यही दुई लाख २० हजार हो । मलाई एअरपोर्ट छेउमा घडेरी लिनु छैन, म सक्तिनँ, मेरो २० हजार फिर्ता पाए बरु थपथाप गरेर उता झापामा केही बन्दोबस्त गर्छु’, मैले भनेँ ।
उनले भने, ‘म तीन महीनालाई पचास हजार बाँकी राखिदिन्छु ।’
मैले झकिँदै भनेँ, ‘तीन महीनामा कहाँबाट ल्याउनु ? म ऋण बोकेर बस्दिनँ, मलाई छुट्टी दिनुहोस् ।’
उनी ‘विचार गर्नुस्, यस्तो मौका फेरि फेरि आउँदैन’ भन्दै हिँडे । भोलिपल्ट अफिसमा यस्तो आपत पर्यो भनेर साथीभाइसँग कुरा गरेँ । सन्चयकोषमा पैसा होला, नागरिक लगानीमा होला झारझुर गर्नु नि भन्ने सल्लाह दिए साथीहरूले । म त्यतातिर लागेँ । दुवैतिरको हिसाब गर्दा साठी हजार निस्कने भयो । एकजना साथीले भने, ‘यस्तो सुवर्ण अवसर गुमाउनु हुँदैन, म पचास हजार सापटी हालिदिन्छु ।’
एकातिर ऋणको त्रास अर्कातिर घडेरीको आश । मैले ठट्टा गरेर साथीलाई भनेँ, ‘ऋण नहाल्नू, मेरो मोटरसाइकल किन्नू ।’
उनले भने, ‘सिकेकै छैन, लाइसेन्स छैन मलाई मोटरसाइकलको के काम ! अरु अरु साथीहरूले उनलाई उकासे, तीन दिनमा सिकेर छ दिनमा लाइसेन्स आउँछ, लिनू लिनू । यस्तै अप्ठ्यारोमा त हो नि साथीभाइलाई सघाउने ।’
कुरैकुरामा कुरा मिल्यो । मैले एक वर्ष अगाडि एकसठ्ठी हजारमा किनेको थिएँ, हिरोहोन्डाको एसएस भन्ने मोटरसाइकल । साथीलाई पचास हजारमा दिएँ । अझै पुगेन पैसा । म भोलिपल्ट फेरि सिनामंगल गएँ र दाइलाई पैसा बटुल्दै गरेको कुरा सुनाएँ । उनले भने भोलि जति छ त्यति लिएर आउनू, नपुगेको म जग्गावालालाई भनेर एकदुई महीनालाई बाँकी राखिदिउँला ।
यसरी बलजफ्ती गरेर हरि दाइले मलाई सिनामङ्गल, एअरपोर्टको छेउमा घडेरी किन्न बाध्य गराए । यो २०५३ सालको कुरा थियो । घडेरीमा जाने बाटो थिएन, एक साइडमा खोल्सो थियो । पछि त्यही खोल्सो बाटो बन्छ भनेर दाइले मलाई ढाँटेका थिए । मैले पत्याएको थिएँ । मेरोभन्दा भित्रतिर बाटो भएको ठाउँमा घडेरी लिने छिमेकीहरूले यस्ता लाटा पनि झापाली हुँदा रहेछन् भनेर खूब कुरा काटेछन् त्यो बेला, पछि सुनाउँथे ।
दिन आएपछि कसैको केही नलाग्ने रहेछ । २०५९ सालतिर दूरसञ्चारले निश्चित नोकरी अवधि पुगेका कर्मचारीलाई घर सापटीका नाममा ऋण दिने सूचना निकाल्यो । धितो राखेर साढे दुई लाख ऋण पाइने भयो । यो सुनेपछि हाम्रो मनमा चौचौ हुन थाल्यो । घडेरी छँदैछ, टहरो हालेर बसौँ, कति बस्नु डेरामा भनेर बूढाबूढी क्याल्कुलेटर लिएर बस्यौँ, कति खर्च लाग्ला टहरो बनाउन भनेर । त्यही घडेरी दूरसञ्चारमा धितो राखेर अफिसबाट पुरानो ऋण कटाएर दुई लाख बीस हजार हात पारेँ । त्यही रकमबाट मैले काठमाडौं राजधानीको पनि अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सिनामंगलमा घरको जग हालेँ । घर भविष्यमा बनाउँदै गरौँला, हाललाई जगमाथि जस्ताले छेकेर टहरो हाल्ने भन्ने हाम्रो योजना बन्यो ।
जग हाल्दै गर्दा अगाडिको खहरेमा ढल हालेर पुरियो र फराकिलो सडक निर्माण भयो । घरको जग बनाउन ठेक्का दिएका भारतीय दाइ थिए झरीलाल । जग बनाउन सकिँदै गएपछि उनले भने, ‘सर, भलाद्मी मान्छेलाई भगवानले सघाउँछन्, यसलाई एकतले घर नै बनाउने बारेमा सोच्नुस् ।’ नभन्दै अचम्मसँग साथीभाइ र आफन्तहरूको सहयोग प्राप्त भयो । लटरपटर गरेर एक तले घर बन्यो, फिनिसिङका काम पछि गर्दै गरौँला भन्दै २०६० सालको सरस्वती पूजाका दिन हामी घरमा प्रवेश गर्यौँ ।
टहराको कुरा टुङ्गिएर तीन कोठा र एक सटर हालेको घर बनेपछि सटर भाडामा लागेर भाडा पनि पो खान थालियो । केही वर्षपछि हाम्रो घर अगाडिको तिलगङ्गाको खालि क्षेत्रमा पशुपति क्षेत्रबाट उठाइएका मान्छेहरूका घर बन्न थाले । हेर्दाहेर्दै त्यहाँ बजार बन्यो । एअरपोर्टको नजिक भएकाले होटलहरू खुले । म्यानपावर कम्पनीहरूको ओइरो लाग्यो । भाडामा घर माग्नेको लाइन लाग्न थालेपछि हामी पनि घर थप्ने उपाय खोज्न थाल्यौं । सिस्नुपानी नेपालका उपाध्यक्ष कवि गोविन्दबाबु तिवारी बङ्गलादेश बैंकको उपल्लो तहमा हुनुहुन्थ्यो, पछि सिइओ हुनुभयो । उहाँसँग हामीले केही उपाय लाग्छ कि भनेर सोध्यौँ । हाम्रो घर गुठीको जग्गामा थियो, बैंकले धितो लिँदैनथ्यो । अचम्मको संयोग, एक दिन अघि मात्रै गुठीको जग्गा पनि धितोमा लिन सकिने भनेर बैंकमा निर्णय भएको रहेछ । तिवारी सरले आवश्यक डकुमेन्ट लिई आउन भन्नुभयो । मूल कुरा धितो राख्ने चिज थिएन । घर दूरसञ्चारमा बन्दी थियो ।
अनि म झापा गएँ र बुबासँग खेतीपातीको जग्गा दूरसञ्चारमा धितो राख्न मिल्छ कि भनेर सोधेँ । बुबाले सानो कामका लागि सिङ्गै जग्गा किन धितोमा राख्नु भन्दै नापी र मालपोत गएर केही दिनमै सात कट्ठा जमीन मेरा नाममा पास गरिदिनुभयो । मैले त्यसलाई दूरसञ्चारमा राखेर घरलाई मुक्त गराएँ, र बङ्गलादेश बैंकमा सारेर बाह्र लाख रुपैयाँ ऋण प्राप्त गरेँ । पछि तिर्न गाह्रो पर्ला भनेर बैंकले दिनेभन्दा कम ऋण लियौँ हामीले । त्यसमा अनेक तानतुन गरेर हामीले घरलाई तीन तले बनाइदियौँ । पैसा सकिएर अलपत्र परेका दुईवटा कोठा कवि देवी नेपालजीले आफैं पैसा हालेर बनाएको कुरा हामी दुवै परिवारका लागि अविस्मरणीय रहेको छ ।
घर बनाइसक्दा नसक्दै दुई तला भाडामा लगाएर हामी छक्क पर्न थाल्यौँ । महीनाको ६० रुपैंयाको कोठा लिएर, मासिक ४०० रुपैया तलब खाएर भाडामा बस्न काठमाडौं छिरेको मान्छे क्रमशः मासिक ३०, ३५, ४०, ५० हुँदै २०७७ तिर आइपुग्दा महीनाको ७५ हजार भाडा खाने साहुमा परिणत भएँ । आनाको एक लाख बीस हजारका दरले किनेको जग्गाको भाउ एक करोड छेउछाउ पुग्यो ।
थोरै पछि फर्किँदा २०७२ सालमा दूरसञ्चार कम्पनीले पुराना कर्मचारी छाँट्ने स्वेच्छिक अवकास योजना (भिआरएस) ल्यायो । अवकाशमा जानेलाई राम्रै रकम दिने लोभ देखायो । अझै आठ वर्ष जागिर खाएर अझ माथिल्लो तहमा पुगेर मासिक पेन्सन लिएर निस्कने पनि विकल्प थियो तर मनको देउताले भन्यो, ‘छाड्दे केटा ! त्यति रकम एकमुस्ट समात्न तैंले यो जुनीमा कहिल्यै पाउने छैनस् । पैसा समात्, घडेरी सडेरीमा लगानी गर्, बढ्दै गर्छ । श्रीमतीजीको जागिर छँदैछ, भोकले मर्दैनस् । जागिर छाडेर लेखपढ गर्, घुमघाम गर् । खा ।’
देउताको सिफारिसलाई पत्नीजी र पिताजीले पनि स्वीकृत गरेपछि वीरगञ्जको तातो छाडेर उडेर घर आएँ, जागिर छाडेँ र बैंकमा टन्न रकम जम्मा गरेँ । मेरा लागि त्यो रकम टन्न नै थियो । मेरो कल्पनाभन्दा बाहिरको रकम थियो । साँच्ची नै मैले जागिर नछाडेको भए त्यति रकम यो जुनीमा एकमुस्ट छुन पाउने थिइनँ । पक्का ।
अब के गर्ने त ? पैसा बैंकमा राखेर खाँदै बस्यो भने त केही वर्षमा सबै मल भएर सकिने नै छ । पैसो भएपछि मन पनि अलि चन्चल भइहाल्दो रहेछ । कसो गर्ने होला त भन्ने चिन्ताले निन्द्रा पनि पो हराउन थाल्यो । जागिर छाडिहालियो, अरु काम केही छैन ।
खासमा मलाई तिलगङ्गाको घरघडेरी चित्त बुझेको पनि थिएन । गुठीको जग्गा, ठाउँ साँगुरो, भिडभाड, अलि अग्लो ठाउँमा बनाएको हुँदा बाटोबाट हेर्दा साह्रै अग्लो जस्तो देखिने । साना खुट्टा, ठूलो भुँडी भएको मान्छे जस्तो । साह्रै दुःखले तला थपथाप गर्दै जेनतेन बनाएको हुँदा घर कमजोर होला जस्तो पनि लाग्थ्यो । त्यसमा पनि आमाले पहिलोपल्ट घर देख्नासाथ ‘यहाँ नबस, यो घर बलियो छैन’ भन्नुभयो । बेलाबेला यो कुरा दोहोर्याइरहनुभयो । अनि त मन झन् दोधारे भएकै थियो ।
७२ सालको भुइँचालोले घर हल्लाउनुसम्म हल्लायो । आफ्नै घरसँग त्राहीमाम भइयो । घर छाडेर चौरमा बास बसियो । केही दिनपछि घरै फिरियो । घर जस्तो सुरक्षित स्थल अन्त कहाँ हुन्थ्यो ! तर पनि यो घरसँग धेरै मोह भने थिएन ।
‘मौका यही हो बाबै, अब अन्तै कतै सर्’ भनेर मनका देउताले अह्राएपछि हामी धुइँपताल गरेर घडेरी खोज्नमा लाग्यौँ । काठमाडौं, ललितपुर, भक्तपुरका अनेक कुनामा पुग्यौँ । साथीहरू लिएर पनि कुद्यौँ । प्लटिङ भएका ठाउँ हेर्यौँ, दलालले देखाएका ठाउँ हेर्यौँ । कुरैकुरामा कवि अर्जुन पराजुलीजीसँग पनि मैले कुरा गरेँ । उहाँले अर्कै कुरा गर्नुभयो । भन्नुभयो, ‘म पनि त कतै फराकिलो उज्यालो शान्त ठाउँमा सर्ने योजनामा छु । मिलेर खोजौँ, मिलेर सरौँ, मिलेर बसौँ ।’ त्यसपछि घडेरी खोज्ने जिम्मा उहाँतिर सर्यो । कुरा अघि बढ्दै जाँदा हाम्रो संख्या पनि बढ्यो र छ पुग्यो । खोजेको भन्दा राम्रो, सोचेभन्दा सस्तो, हुनसम्मको ठाउँ पाइयो । खूब रमाइयो । गच्छेअनुसार भागबन्डा लगाएर त्यो किनियो ।
काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं ६, महवु फाँट (हामीले थपेको नामः शीतलपाखा) मा हामीले एउटा सानो बस्ती बनायौँ । तुलनात्मक रुपले सस्तैमा जमीन लिएकाले थोरै आय भएको मजस्ताले पनि त्यहाँ घुस्रिन पाएँ । तीनजनाले घर बनाएर बसिसक्यौँ । तीन जनाले बनाउने तरखर गर्दै हुनुहुन्छ । सिनामङ्गलको घर बेच्दा पनि यहाँ अलि फराकिलोसँग बस्न सहज भयो । बूढेसकाललाई एकअर्का बीच सहयोग आदानप्रदान हुन्छ, भरथेग हुन्छ भनेर पनि हामी एकै ठाउँ बसौँ भनेर यहाँ भेला भएका हौँ । एउटै पर्खालले घेरिएर एउटै मूल प्रवेशद्वार बनाएर भित्र खुला राखेका छौँ । सबैका घरका आँगन सबैका साझा छन् । ढलान गरेर एकदम पक्का र चिटिक्कको बाटो निकालेका छौँ । बाटोको दायाँबायाँ दूबोको हरियाली र विभिन्न रुख बिरुवा लगाएर ढकमक्क बनाउने योजना छ । बिरूवाहरू हुर्कँदै छन्, फूलहरू फुल्न थालेका छन् । बिहान चराको चिरबिर, पारिपट्टिका जङ्गलबाट आएको कुहुकुहु र काफल पाक्यो, बेलुका भ्यागुताको ट्वारट्वार, कीराको किरकिर सबैथोक उपलब्ध छ । एकदम आनन्द अनुभूति छ । सबैका घर बनिसकेपछिको सुन्दरता र भव्यता कल्पना गरेर हामी खुशीले दिनदिनै हुरूक्क हुने गछौँ । म जन्मेको स्याउलाको कटेरोका तुलनामा मेरो अहिलेको अढाइतले घर भव्य महल मान्नुपर्छ ।
‘भुक्के चप्पल पड्काउँदै आएको फलानाले कसरी यत्रो घर बनायो, गाडी किन्यो ?’ भनेको खूब सुनिन्छ । म पनि भुक्के चप्पल पड्काउँदै आएको हुँ, काँधमा एउटा खागीको झोलामा एसएलसीको सर्टिफिकेट र एउटा फेरफारे कट्टु बोकेर (त्यो पनि कुन्नि !) यो शहर पसेको हुँ । गरेँ त मैले । गरिनँ ? श्रम, उचित समयमा उचित निर्णय, साथीभाइसँगको प्रेमपूर्ण सम्बन्ध, पारिवारिक साथ र केही कागतालीहरू मिल्न जाँदा मैले यो जुनीमा नसोचेको घर बनाउन सकेँ । भ्रष्टाचार नगरी, अपुताली नखाई, पैत्रिक सम्पत्ति नलिई, कसैलाई नमारी, नचोरी, नढाँटी, नलुटी कसैलाई नकुटी, कुटाइ पनि नखाई ।
हाललाई घरको कथा यति नै हो । भविष्यको कुरा के थाहा, कुन दिन के झोँक चल्छ र फेरि अन्तै अर्कै घर बनाएर सरिने पो हो कि !
लु है, यो कुनै स्पष्टीकरण होइन, खुशीको प्रकटीकरण हो । सम्पत्ति विवरण होइन, प्रगति विवरण हो । अहम् प्रदर्शन होइन आफ्नै गौरवगान हो । साथीलाई जवाफ दिने बहानामा तपाईँलाई पनि गृहपुराण सुनाएँ । रिसानी माफ होला ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 










