दोहा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संस्थापक अध्यक्ष तथा साहित्यकार होमनाथ सुवेदीलाई कतारमा अभिनन्दन गरिएको छ।

अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा बुधबार साँझ दोहाको गोरखाली रेस्टुरेन्टमा आयोजित कार्यक्रममा सुवेदीलाई सम्मान गरिएको हो। कार्यक्रम अनेसासको एक सय ५८ औं डबली तथा ८९ औं पारिजात जयन्तीको अवसर पारेर आयोजना गरिएको थियो।

ट्रान्जिटमा कतार आइपुग्नुभएका सुवेदीलाई नेपाली दूतावास दोहाका प्रथम सचिव कृशु क्षेत्री, यादव रेग्मी र सानु थपलियाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा दर्जनौँ साहित्यकार र विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नेपाली दूतावासका प्रथम सचिव क्षेत्रीले सुवेदीद्वारा रचित ‘नन्दादेवी सुवेदी’ विषयक कृतिको बारेमा संक्षिप्त जानकारी दिँदै उक्त गजल खण्डकाव्यको भूमिका लेख्न पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो । उहाँले कृति ‘नन्दनी’ पठनीय रहेको पनि उल्लेख गर्नुभयो ।

प्रमुख अतिथि सुवेदीले नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रियकरणमा नेपाली दूतावासले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले कतार डायस्पोरा गजलकारहरूको लागि उत्कृष्ट उद्गमस्थल भएको बताउँदै गजल, कविता र मुक्तक सुनाउनु मात्र नभई संस्थागत सहयोगमा पालैपालो साहित्यकारहरूको कृति प्रकाशन गर्दै जानुपर्ने सुझाव दिनुभयो ।