श्राप थियो कि वरदान ?
पाँच टुक्रामा चुँडिएको,
द्रौपदीको सग्लो हृदय,
कुनै टुक्राले पूर्णता देख्न पाएन ।
द्रौपदी – ईन्द्रप्रस्थ कि महारानी ?
उनी थिइन् प्रतिज्ञाको छाया
दृढता र धर्मको परिभाषा पनि,
तर उनको मनको गहिराइभित्र
शून्यताले कहिल्यै बास छाडेन।
युधिष्ठिर, न्याय र धर्मको मूर्ति,
तर प्रेम थियो केवल प्रतिष्ठा ।
भीम, क्रोधको ज्वालाजस्तो,
तर स्नेह, वासनामात्रै थियो ।
अर्जुन, विजेता तर टाढा,
मन जितेर पनि सधैँ परत्र ।
सहदेव, मौन भविष्यवक्ता,
प्रेम थियो, सम्मानमै सीमित,
प्रेमापेक्षी द्रौपदी सधैँ अतृप्त ।
नहकुल – सौन्दर्यको प्रतीक,
मौन प्रेमको सजीव दस्तावेज ।
नजरा गढ्थे, आँखाहरू बोल्थे,
बिना स्पर्श, मनोभाव पढिन्थे ।
युद्धको तयारीमा पर बस्थे,
मरुभूमिमा घोडा सजाइरहन्थे,
द्रौपदी कुटीको पटांगिनीबाट
चन्द्रमा हेरेर आफू हराउँथिन्
जूनभित्र उनी नहकुल पाउँथिन् ।
चन्द्रमाजस्तो शीतल दृष्टि,
मौनताभित्र स्नेहको वृष्टि,
तर नियतिले सधैँ द्रौपदीलाई
अरूको बाहुभित्रै कैद गरिरह्यो।
नहकुलले उनका घाउ बुझ्थे,
तर मल्हमपट्टि गर्न पाएनन् ।
द्रौपदीले उनका भाव पढिन्,
तर सहर्ष स्वीकार्न सकिनन्,
कर्तव्यले रोकिएकी थिइन्।
अग्निपरीक्षामा द्रौपदी जल्दा,
नहकुल शीतल वायुझैँ बने,
सौम्य नजर, न्यानो मौनता,
प्रेम र मायाको अप्रकट रूप।
स्व-पालो र समयले जुटाएको
एकान्त र नीरव रातका ‘साथ’
उनीहरूसँगै ‘लुकेका सत्य थिए’,
जसलाई केवल दूईले मात्र चिन्थे
सधैँ मौन, गहिरो र अव्यक्त।
हिमाल चढ्ने अन्तिम यात्रा,
पाण्डवहरू अघि बढ्दै थिए,
द्रौपदी लडिन् नहकुलले देखे,
उठाउन खोजे, तर द्रौपदी मौन,
खुसुक्क उनले भने, ‘म प्रेम गर्थें’
युधिष्ठिरले हिँड्ने संकेत गरे,
नहकुल चुपचाप अघि बढे,
तर टाढा पुग्न सकेनन् धेरै,
केही पाइला पछि, आफैँ ढले।
शरीर मर्यो, तर उनीहरूको प्रेम ?
स्वर्गको द्वारमा दूईको भेट भयो,
फर्केर पछि हेरे, दाज्युहरू देखेनन्
हाँसोसँगै दुवैको एकै स्वर निस्क्यो,
‘यो त स्वर्ग हो, प्रेम बाँड्न पर्दैन’
पृथ्वीमा नफुलेको, स्वर्गमा फुल्यो
नहकुल र द्रौपदीको अव्यक्त प्रेम,
कतै कसैले नबोलेको, नलेखेको,
महाभारत कथामा नअँटेको प्रेम ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 










