
श्वरीफा खातुन चौधुरी
नदीहरूका मृत्यु भएका कथाहरू
अति हृदयविदारक छन्
कतिपय नदीका बाटा
परिवर्तन गरिदिए मानिसले
दुवै किनारमा बाँध बाँधे
बग्दो नदीको पानीलाई कैद गरिदिए
नदीहरू शीर्णबाट अझ शीर्ण भए
अनि एक दिन मानिसले नै
नदीहरूलाई मृत घोषणा गरिदिए
तर नदीहरूको मृत्यु भएकै थिएन
जुन नदी युगौँयुग बगिरहेको थियो
त्यसको छातीमा राता नीला ढुङ्गाहरू
बालुवा–अभ्रखहरू चम्किन्थे
रुपौला माछाले ठुङ्थे
ढुङ्गाका छातीमा बसेका लेउलाई
यतिबेला त्यो नदी छैन
छ त केवल ढुङ्गाहरूको बिचबाट बग्ने
आँशूको एउटा एकवित्ते धारा
ढुङ्गाहरूको प्यासले भरिएको कर्कश आवाजमा
जिरिङ्ग भएको थियो समय
नदीको दु:खको कथा नजानिकनै एक दिन
मानिसले नदीको मृत्यु घोषणा गरिदिए
तर नदीको मृत्यु भएकै थिएन
अर्को एक नदीको कथा
कति निष्ठुरतापूर्वक
हत्या गरिएको थियो त्यसलाई
महामारीमा मृत्यु भएका मानिसहरूलाई
नदीको छातीमा बगाइदिए
किनारमा गाडिएका मृत शरीरहरू
बोक्दा बोक्दा नदीका करङ फुस्किसकेका थिए
सहर–नगर सफा-चम्किलो बनाउने नाउँमा
जनावरहरूका सडिगलेका शवहरू,
दुर्गन्धमय फोहोरहरू नदीको स्रोतमा बेवास्ता छोडिदिए
अर्कोतर्फ, मानिसहरू नदीको प्रेममा पनि परे
पूजा–अर्चना पनि गरे
र मानिसले नै नदीलाई मृत घोषणा गरिदिए,
तर नदीको मृत्यु भएकै थिएन।
——————–
मूल असमिया पर्याकविता: श्वरीफा खातुन चौधुरी
अनुवाद: डा. देवेन सापकोटा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










