चितवन । अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा सर्वसम्मतिले चयन हुनुभएको छ ।
गैंडाकोटको द नारायणी रिसोर्टमा सम्पन्न समूहको सातौँ अधिवेशनले सापकोटाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

गैंडाकोट घर भएका सापकोटा सम्पूर्ण किताब नारायणगढका सञ्चालक तथा कायाकैरन मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ। पत्रकारिता, साहित्य सेवा र सिर्जनामा सक्रिय सापकोटा अघिल्लो कार्यकालमा अक्षर समूहको सचिव हुनुहुन्थ्यो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सूर्यप्रकाश कँडेल, सचिवमा विनोदबाबु रिजाल, कोषाध्यक्षमा गायत्री अधिकारी र सहसचिवमा सामना पहाड चयन हुनुभएको छ । सदस्यहरूमा उपेन्द्र त्रिपाठी, प्रकाश थापा प्रथा, विद्या भण्डारी चिराग, आकाश पौडेल, अञ्जान प्रदीप र गीता पौडेल ढकाल रहनुभएको छ ।

समितिको पहिलो बैठकले भूपिन, रमेश प्रभात, ईश्वर कँडेल र प्रभाकर पण्डितलाई सल्लाहकारमा मनोनयन गरेको छ । २०६२ सालमा भूपिनको नेतृत्वमा स्थापित अक्षर समूहले यसअघि ‘पर्खालमा कला’, ‘समयको मेचमाथि भूपि शेरचन’, ‘पाठकको अदालतमा लेखक’, ‘विश्व कविता दिवस’, ‘अक्षर वृत्त’ र ‘एक कविका एक दर्जन कविता’ जस्ता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

नयाँ कार्यसमितिको पहिलो कार्यक्रमका रूपमा यही वैशाख महिनामा भरतपुरमा ‘अक्षर वृत्त’ कार्यक्रम आयोजना गर्ने निर्णय भएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ”यो कार्यक्रममा सहभागीहरूले आफूले पढेको पछिल्लो पुस्तकको टिप्पणी राख्नेछन् ।” नवनिर्वाचित पदाधिकारीहरूले साहित्यिक क्षेत्रको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।