यतिबेला
म विमान स्थलमा छु
मैले आँगन छोडेँ
टोल छोडेँ
गाउँ छोडेँ
धेरै थोक पो छोडेँ !
यहाँसम्म आइपुग्नका लागि
यो विमानस्थल कहिले देखि कुर्दै थियो मलाई ?
शायद यो जन्मेकै मेरो बाटो हेर्न हो
म यहाँ आइपुग्नु मेरो नियति हैन
यो रामको नीति हो
मेरो नियति त्यहीँ देशको जस्तो छ
जहाँ रामराज्यको परिकल्पना बाँडिन्छ
र, हरेकलाई राम बन्न प्रेरित गर्छ
उस्को घर
उस्को गाउँशहर
उस्को सरकार
म लाचार सीताको देशको मान्छे हुँ
म राज्य बचाउन हिँडेकी भृकुटीको देशको मान्छे हुँ
म मदन हुँ
यता रुन्छु
राज्य बचाउन हिँड्छु
प्रेम जोगाउन हिँड्छु
तर मलाई
हिजैदेखि डर थियो
रुन्छ कि कतै यो यथार्थ
को यथार्थ ?
देशको यथार्थ
बालखै छ
बालक ईश्वरको रूप हो भन्छन्
थाहा पायो कि त कतै ?
विमान पर पर, धेरै परसम्म लैजान्छ
रोई त हाल्यो नि यथार्थ
बालखै छ
प्रियसी रोइन्न भनौँ भने
म सँगसँगै थाहा पाएकी हुन्
पैसा बिना त, नबाँच्ने रैछ प्रेम पनि
म पनि रुन्नँ, मलाई थाहा छ
प्रेम जोगाउन पैसा चाहिन्छ
म सँग त रैनछ कुनै यस्तो प्रिय !
जो नबोली बुझ्थ्यो मनको कुरा
निकालोस् गोजीबाट बुट्टेदार रुमाल
पुछोस् आँशू
बिस्तारै थाहा पाउन
सबैले एकै साथ
अनि आँउथे कि
मेरा आँखाबाट आँशू
त्यस्तो कोही त छैन ?
रुनै पर्ने पनि जरुरी छैन
हुन त त्यहाँ नभेटिएला है ?
त्यस्तो कुनै धारो
जो पैसा नतिरी दिनसक्छ पानी
भेटियो भने
व्यस्तताबाट समय निकालेर रुनु पर्ला
पानीको आवाजसँगै मेरो रुवाई मिसाएर
भेटियो भने कुनै चौतारो
जो सुनाऊँला अर्ति
पल्टिएर चौतारीमा
हालेर उपरखुट्टी
गन्दै पात
म पनि रुने छु
ओ Hello
“Turn off the selfie mode.”
खादा ओडाउन आएको साथी
माला पहिरिन आएको साथी
आफ्नो पालो कुरी बसेको साथी
एक्सक्युज मी !
जुन दिन
देश र आमा सम्झेर देश फर्किन्छु
त्यही दिन आउनु साथी
यही विमानस्थलमा
माघीको जाड
होलीको रङ
तिहारको रमझम
दशैंको उमङ्ग लिएर
अहिले म अरब हिँडे
नो फूलमाला, नो खादामाला
म एक्लै रुदै हिँडेको छु
अरब हिँडेको छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२२ असार २०८३, सोमबार 





