गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ कविता, गीत, कथा, उपन्यास, बालसाहित्यका अविश्रान्त स्रष्टा हुन् । पूर्वीय दर्शन र नीतिबाट प्रभावित–दीक्षित वेदमणिका सिर्जनामा नीति, नैतिकता र निष्ठालाई बोक्दै आएको छ । पूर्वीय चिन्तन आत्मचिन्तन र ब्रह्मचिन्तन हो, धर्म, आदर्श, अध्यात्म र कर्मसँग जीवनलाई उभ्याउने चेष्ठा वेदमणिका स्थायी विषय हुन् । उनको उपन्यास ‘परिणति’ एक सांस्कृतिक उपन्यास हो । यसले मूलतः १९६० देखि २०२० सम्मको काठमार्डौ, काठमाडौंको काँठ क्षेत्रको रितिथितिलाई प्रतिनिधिमूलक रूपमा उठाएको छ । उपन्यासको केन्द्रीयभूमिमा गोकर्ण क्षेत्र रहेको छ ।
सांस्कृतिक आख्यानमा समयको गतिसँग समाज बग्छ, समाज र समयको लयसाथ आख्यान गतिवान् हुन्छ । समाजका आनीबानी, रितिथिति, संस्कार, बानीबेहोरा, मूल्यमानकहरू परिवर्तनका लयमा हुन्छन् । पहिचान र स्वत्व केन्द्रमा हुन्छ । ठूलो समाजलाई सांस्कृतिक परिवेशमा आख्यानीकरण गर्न निकै असजिलो हुन्छ । किनकि, समाजमा धेरै पात्र–प्रवृत्ति र संस्कार–सनातनहरू हुन्छन् । सांस्कृतिक कुराको आलेख, अनुसन्धान र अन्वेषण गर्न सजिलो हुन्छ तर उपन्यास आख्यामना उतार्न असजिलो हुन्छ । ‘परिणति’ दुई पुस्ताको गोकर्ण हो । जसमा समाज, शासन, रीतिथिति, धर्म संस्कार, देखिएका नदेखिएका सबै कुराहरूको आख्यानीकरण हो । त्यसो गर्नु सजिलो छैन ।
उपन्यास कथाभन्दा बढी र विस्तृत हुन्छ । त्यो मन र मष्तिष्कको ढोका भैकन समाजको एउटा परिवर्तित लय बोक्नुपर्छ । सामाजिक मूल्य मानकहरू सामाजिक समयक्रममा फेरिँदै जान्छन्, त्यो देखाउनु सांस्कृतिक उपन्यासको पहिलो विशेषता हो ।
विश्वमा सांस्कृतिक उपन्यास अन्य भन्दा कम लेखिएका छन् । चिनियाँहरू चौधौँ शताब्दीदेखि सांस्कृतिक आख्यानमा देखिन्छन् । मेगी सीन किङको ‘एन एक्सेस मेल’, नियोन याङको ‘दी ब्ल्याक टाइड अफ हेभेन’ जस्ता समाज र संस्कृति देखाउने राम्रा उपन्यासहरू लेखिएका छन् । चिनियाँ सांस्कृतिक उपन्यासमा समाज र धर्मका विषयहरू समेटिएका हुन्थे । पछिल्ला समय सांकृतिक उपन्यासले पहिचान, अस्तित्व र मोक्षका मुद्दाहरू देखाउन थालेका छन् । खालिद हुसेनीको ‘दी काइट रनर’ र ‘ए थाउजेण्ड स्प्लेण्डिड सन’मा अफगानी संस्कृतिको महत्त्व साथ सामाजिक पहिचानको आग्रह छ । अरुन्धती रोयको ‘द गड अफ स्मल थिङ्गस’मा भारतीय समाजमा रहेको सामाजिक तहसोपान र जातीय प्रथालाई देखाइएको छ । त्यस्तै इमी पोई इनले ‘ह्वेन स्लिपिङ ओमन ओएक’ र नाओमी हिराकाराको ‘एभरग्रीन’, सिए भेलेन्टाइनको ‘ओके डोके सेन्सेइ’ ले आआफ्नो सामाजिक सांस्कृतिक परिवेशलाई फराकिलो दृष्टिकोण राखेका छन् । गतिशील सामाजिक परिवेशमा संस्कृति पनि बदलिँदै गएको छ, सांस्कृतिक उपन्यासहरू पनि यही लयमा गतिशील छन् । नेपालको सन्दर्भमा द्रौपदी अबदेश, सुकरातको डायरी, ख्वपदेश जस्ता सांस्कृतिक परिवेशलाई बोक्ने उपन्यासहरू परिणति अघि लेखिएका छन् । तर संस्कृति र समाजलाई आख्यानभूमिमा राखेर पुस्ताको चित्र उतारिएका निकै थोरै मात्र उपन्यास छन् परिणति त्यसमध्ये एक भएको छ ।
सांस्कृतिक उपन्यासले समाजभित्रको मनोविज्ञानको जटिलता, व्यवहारजन्य असहजता र बेथितिलाई उधिनिदिन्छ र सुसंस्कृतिको अभिष्ट राख्दछ । नेपाली समाजको सन्दर्भमा कुरा गर्दा लैङ्गिक भूमिकाको सीमाङ्कन (जेण्डर डिकोटोमी), जातीय तहसोपान (सोसल हाइरार्की), धार्मिक अन्धता, पितृसत्तात्मक सोच–व्यवहार, द्वेषपूर्ण साम्पत्तिक सोच र अरु यस्तै भित्रभित्र गुम्सिएका असजिला व्यवहारहरू छन् । धर्मको भयमा, कर्मकाण्डको भयमा समाजलाई त्रासमा राख्न खोजिन्छ । ठालूका अपराधहरू गुम्सिएर रहेका छन् । राज्य नरम छ, समाज बेथितिमा पनि सहनशील छ । परिवारिक सम्बन्ध अहम्कारी छ । महिला, सीमान्तकृत, गरीबहरू उत्पीडनमा दबिए–दबाइएका छन् । ती गम्फाइ, बेफाइहरू उदिन्न समाजले दिँदैन । समाजमा फर्मलभन्दा फेक नर्म्सले सामाजिक सत्ता चलाइरहेको छ । शासकीय सत्तामा त्यसको प्रतिविम्बन छ । ठूलो वर्ग बहिस्कृत, पीडित र शोषित छ । उदाहरणका लागि विवाहलाई आत्मीक–हार्दिक सम्बन्धभन्दा अनपेक्षित सौदामा अभिभावकीय निर्णय गरिन्छ । दाइजो र लेनदेनले विवाह कुरूप छ । राज्यका विधिभन्दा समाजका अघोषित कुरितिहरू शक्तिवान छन् । सांस्कृतिक उपन्यासले तोड्नुपर्ने रीति, बोक्नुपर्ने वृत्ति यिनै हुन् । सांस्कृतिक उपन्यासले समाजलाई यही नदेखाइएको, नसुनिएको, दबाइएको यही विकृतिको विषयलाई देखाउनु पर्छ । यस्ता उपन्यास नीति निष्ठा र समाज शिक्षाका भाग हुन्छन् । अर्को अर्थमा सामाजिक प्रजननशीलता बोक्नु नै सांस्कृतिक उपन्यासको कर्म हो । परिणति उपन्यासले यसो गरेकोले यसलाई सांस्कृतिक उपन्यासको नजरियाले विश्लेषण गरिएको हो ।
परिणति उपन्यासको विषयबस्तु सामाजिक हो, जसलाई सांस्कृतिक रितिथितिले गाँजेको छ । पृष्ठभूमिमा गोकर्ण (काठमाडौंको काँठ) छ । जहाँ कैयन बेथितिहरूले घरपरिवारदेखि सामाजिक हुँदै शासकीय संरचनालाई गाँजेको छ । शहर बजारले काँठलाई स्वीकार्दैन, हेप्छ तर स्वयम् काँठे जीवन आफैँमा स्वच्छ, मानवीय र हार्दिक छैन । उपन्यासकार यी बेथितिहरूलाई बताउन वत्सलेश्वरीलाई कथावाचकमा उतारेका छन् र कथा सुन्ने अदृश्य शाक्ति नायक महादेव छन्, जो वत्सलेश्वरीको प्रेमी हुन् । दुवै प्रतीकका रूपमा देखिएका छन्, दृश्यमा उनीहरूको भूमिका छैन, खाली कथा सुनाउन र सुन्न नेपथ्यमा छन् । कथा सुनाउने मिथक हुन्, कथा सुन्ने शीला हुन् । करीब ७५ वर्षको कथा वस्लेश्वरीले धारावाहिक रूपमा बताएकी छन् तर कथाको पृष्ठभूमिमा थुप्रै वैदिक–पौराणिक कुराहरू,स्मृति–श्रुति, नीति, मिथक, कहावत, कथाहरू छन् । त्यसैले यो सिङ्गै दुई पुस्ताको सांस्कृतिक उतार चढाव, पीडा र परिस्कारको श्रृङ्खला हो । समाजभित्र कुरीतिहरू भुसको आगोको रूपमा रहेका छन् । उपन्यासकारले वत्सलेश्वरीका माध्यमबाट बताए अनुसार उपन्यास प्राचीन तथा अर्वाचीन कालको उपत्यकाको काँठ संस्कृति, उपत्यकाको काँठमा केवल सन्तान जन्माउने, भोग्याका रूपमा नारीलाई लिने र विदेशमा बहुविवाहले विकृत बनाएको (दोहोरो विकृति) समाज र अरु धेरै कथाहरूको मालाग्रन्थ हो ।
वत्सलेश्वरीले कथा वाचन गर्दा प्रमुख पात्रका रूपमा गोपाललाई लिएकी छन्, जो डल्ले जैशीको छोरो हो । डल्ले जैशीकी आमा कोर (कुष्ठरोग) लागेकी महिला हुन् र सुकेनास जन्मेपछि कोर लागेको कारणले घर समाजले बहिष्कार गर्छ । मातृशक्तिलाई जघन्य अपराध गर्दा अन्य महिलाले पनि न्याय गर्दैनन्, बरु होमा हो मिलाउँछन् ।
डल्लेका पिता साइलो जैशीका हजुरबुवा पद्यधर उपाध्यायले एकदिन हलो जोतेकाले उपाध्याय सभाले उनलाई दोस्रो दर्जामा झारिदिएको छ । अब ऊ जैशी भयो र दोस्रो दर्जाको ब्राम्हण भयो । सबैभन्दा ठूलो विकृति नै जातीयतामा छ । जातीयताले व्यवसाय र कर्म निर्धारण गर्छ । घिउ पोल्ने उपाध्याय र घिउ खाने जैशी, जैशीलाई कर्मकाण्डबाट झारिएको छ । नेपालको अन्य स्थानमा पनि देखिएको सामाजिक ऐँजेरु काँठमा निकै जघन्य छ । त्यसैले काँठ विभाजित र विकृत छ ।
कैलीलाई परिवार–समाजबाट कोर लागेकै निहुमा बहिष्कार, उनको निधन र डल्ले जैशीको दुःखबाट उपन्यासले गति लिन्छ । समाजले दोस्रो दर्जाको ब्राम्हण बनाएपछि पनि जैशी परिवारका दाजुभाइमा आपसी ईष्र्या, षड्यन्त्र, लोभ, ठग, अंशमारा प्रवृत्तिले पारिवारिक स्थिति बिग्रेको छ । डल्लेले पढ्न पाएन, कसैगरी अक्षर चिन्ने र ज्योतिष बन्ने उसको सपना थियो । पढेकाले ज्योतिष बन्ने भएकाले डल्ले मनिरामसँग पढेर ज्योतिष बन्यो । छोरो गोपालले भने केही पढेको छ । ३८ वर्षदेखि पत्नीविहीन बनेर डल्लेको हेरचाह र दाजुको आज्ञापालनमा डल्लेको जीवनकथा अघि बढेको छ ।
वत्सलेश्वरी आफ्ना पतिपरमेश्वर शिवलाई आराध्यदेव मानेको देशमा मानिसको अकाल मृत्यु, अपराध, ईष्र्या, षड्यन्त्रको वर्णनमार्फत परिवर्तन र न्यायको माग गरिरहेकी छन् । उनको माग लाक्ष्यणिक छ । वैदकि सनातन धर्ममाथि भएको थिचोमिचोको उल्लेख पनि छ, यही धर्मको नाममा भएको अतिव्यवहारको लाक्ष्यणिक विरोध पनि छ । लैङ्गिक मानक परिर्तन र सामाजिक अत्याचारको नियन्त्रणका लागि महादेवसँग गुनासो छ । मूर्तिवत शिवलिङ्ग सुनिमात्र रहेका छन् । त्यो सनाइ पनि लाक्ष्यणिक हो । पशुपतिनाथ मूर्ति वा शीला सुखदुःख सहन गर्ने, समयको गति–विसङ्गति पात्रका रूपमा लिइएको छ । कथासमाख्याता वत्सलेश्वरी भए पनि उपन्यासकार वत्सलेश्वरीका विषयमा पनि कथा हाल्छन् र उनलाई खास कथा भन्न सुझाउछन् ।
गोकर्ण–उत्तरगया क्षेत्रलाई सनातन संस्कृतिको केन्द्र मानिएको छ । मानवदेवले स्थापना गरेको राजधानी देशे गाउँ र बौद्धसंस्कृतिको धरोहर बौद्धनाथ महाचैत्यको महिमाले यो काँठक क्षेत्रको सांस्कृतिक अर्थवत्ता देखाइएको छ । इतिहासको अर्को लुकेको कुरा पनि परिणतिले देखाएको छ । शंखधर साख्वा आफैँ ब्याजमा पैसा लगाउने मानिस थिए, अहिले भए मिटरब्याजी भन्न सकिन्छ । तर पछि आत्मचेत भएपछि भने सबैको ऋण मिनाह मात्र गरेनन्, अरुको ऋण पनि तिरिदिए । त्यतिखेरको काठमाडौँ उपत्यका स्वाबलम्वी पनि थियो भन्ने तीर्थनाथ जैशीले आफैँ इँट्टा बनाइ घर बनाएको प्रसंगबाट देखाइएको छ । राणाकालीन न्याय प्रशासन, आर्थिक प्रशासन र शासनको प्रसङ्ग ठाउँ ठाउँमा छन् ।
पारिवारिक र जातीय थिचोमिचोको कथा उपन्यासले बोकेको सबैभन्दा ठूलो कथा हो । अरुबाट शोषित–पीडित दाजुभाइ एक आपसमा ईर्ष्या र अपराधको मनोविज्ञानमा छन् । डल्ले भाइ सुकेनासलाई माया गर्छ, तर सुकेनास डल्लेप्रति ईर्ष्या राख्छ । जग्गा मिच्ने, आली भत्काउने, पानी सुकाउने जस्ता ससाना सामाजिक कुरीतिमा समाज थलिएको छ ।
नारी शोषणको धेरै प्रसङ्ग उपन्यासले देखाएको छ । मनुस्मृतिले नारी शोषणलाई मान्यता दिएको छ । नारीलाई आधिकारिक पुरुषले बाहेक अरुले भोग गर्नुहुन्न । भोग्यबाहेक चैतन्य आत्मा नारीको अस्तित्वमा रहँदैन । नारीमाथिको सामाजिक शोषण गरेर समाजले मनोरञ्जन गर्छ । कैली, सुकन्या, मखमली, सुन्तली, डेब्री, बसन्ती, बर्षान्ती, मट्याद्व्ग्री लगायतका नारीहरू भोग्य पात्र (आइमाई) हुन्, समान चेतनाका मानिस होइनन् । बालविधवा सुकन्यामा यौनचेतपछि डिप्रेसन भएको छ । उसलाई मतृवात्सल्यको उत्कट इच्छा छ, यौनको भोक पनि छ । तर त्यो वर्जित छ । मुसुमुन्द्रेले सुन्तलीजस्ती केटीलाई अवैध व्यवहार गरेर गरीब महिलालाई बर्बाद गर्छ । रणवीरकी पत्नी गोमावतीलाई आफ्नै देवर पर्ने कलवीरले बलात्कार गर्छ । बलात्कारको समाना गर्न नसकी शिशु बलवीरलाई छाडेर आत्महत्या गर्छिन् । मट्याङ्ग्री र उसकी सौता देवर, ससुरा, जेठाजुबाट शोषित छन् । तर समाजले महिलाई सहेर बस्नु, कुनै कुरा हल्ला नगर्न ह्वीप लगाएको छ । भित्रिभित्रै कुहिएको समाज बाहिर सुकिलो देखिन खोज्छ । एउटा पुरुषले धेरै महिलालाई पालैपाले बलत्कार गर्छ, महिलाहरू प्रतिकार गर्ने चेतना र सामर्थ्यमा छैनन् ।
वन, पाखा, चौर, पर्वत जहाँ पनि महिलामाथि अन्याय छ । तर हरेक पुरुष आफ्ना छोरी र श्रीमती चोखा ठान्छन्, सबैको हलात एकै छ । अत्याचार बताउँदा नारी बिटुला वेश्या बन्ने तर पुरुषलाई केही नहुने पशुभन्दा तल्लो संस्कृतिले समाज कहिएको छ, गन्हाएको छ । सहनू कतै नकहनू नारीको बाध्यता हो । घरपरिवार, आफन्त, समाजका ठालूले नारीसत्तामाथि अत्याचार गरिरहेका छन् । नारीमाथिको अत्याचार शुद्धोदनको दरवारमा पनि भएको रहेछ । राजकुमार देवव्रतले काकाकी छोरी बहिनी राजकुमारी उत्पलवर्णलाई बलात्कार गरे, उनले उजुरी गरिन तर न्याय पाइनन्, उल्टो उनको सुन्दरता र यौवनलाई उनले दुरूपयाग गरेको पुष्टि भयो । फलामको काम गर्ने अति सुन्दरी क्षमा गरीब थिइन्, सुन्दर भएकै कारण धनी मानिसको छोरोले लखेट्यो । सधैँ लखेटेपछि क्षमाले सोधिन्, मलाई किन सधैँ लखेटेको ? उत्तरमा पुरुषले तिम्रो सुन्दर र तीखो आँखाले आफूलाई घायल बनाएको भनेपछि क्षमा आँखा झिकेर आफैँ कुरूप बनेकी थिइन् । सुन्दरता पनि नारीको शत्रु, उमेर पनि शत्रु, घरपरिवार, मोलापात सबै स्थानमा शत्रु नै शत्रु । यस्ता सुन्दरी शोषितलाई त्यतिवेला सिद्धार्थ बुद्धले भिक्षुणी बनाएर मोक्ष दिएका रहेछन् । उपन्यास प्रश्न गर्छ, अहिले यस्ता सिद्धार्थ कहाँ छन् ?
उपन्यासले देखाएको अर्को कुरा महिला उद्धार र बाल हेरचाह केन्द्रका नाममा काम गर्ने संस्था छ्यासछ्यास्ती खुले पनि ती आफैँ शिशु व्यापारमा लागेको छन् । नाम एक काम अर्को समाजको अर्को पाटो हो । बृद्ध एडमण्ड र विल्सनले पैसामा नेपाली शिशु वर्षन्तीलाई किनेर विदेश लगी आफ्ना छोरी चिलिया बनाए । कर्म पितामाताको मृत्युपछि चिलिया नेपाली मन लिएर मातृभूमि फर्किइन् । माता र पिता चिन्ने उनको इरादा थियो तर आफूलाई जन्मदिने आमा बसन्तीलाई भेट्टाउन सकिनन् ।
उपन्यासले ग्रहदशा, झारफुक, ज्योतिषी प्रथाको बिगबिगीले गाँजेको समाजलाई देखाएको छ । मानिसलाई उपचारका लागि वीर अस्पताल होइन, झारफुक र वैद्य कहाँ लैजाने गर्छन् । पशूहरू बिमारी पर्दा पनि उपचारभन्दा धामी झाँक्री बोलाएर झारफुक गर्ने रीति छ ।
आफ्नो सफलतामा खुशी हुनुभन्दा अरुको सफलतामा दुःखी हुने रोगले समाज ग्रसित छ र यसैको कारण काँठ क्षेत्र पछि परेको कुरा डल्ले जैशी र उसका छोरो गोपाल प्रति मुसुमुन्द्रेले गरेको व्यवहारबाट देखिन्छ । मुसुमुन्द्रेको दुई पुस्ता गोपालको दुई पुस्तालाई सिध्याएर आफैँ सिद्धिएको छ । डल्ले र गोपाललाई मार्न सुपारी दिएर हत्यारा पठायो, खेतबारी बिगारिदियो, पोशाकमा विशेष प्रहरीको नोट राखेर घुसको आरोपमा जागिरबाट अलग्याउने प्रयास गर्यो । यति धेरै प्रयास आफू सप्रिन गरेको भए आफू र गोपाल दुवैको परिवार कति माथि पर्थ्यो होला ? आफ्नो सुखका लागि गोरे र जगतेले आमा बुवालाई पनि अत्याचार गरे । बिमारीलाई हेर्ने दिन पाँच दिनमात्र हो भन्ने कुसोच पनि समाजमा रहेको छ ।
नेपालको राजनैतिक घटनाक्रम, राणा विरुद्धको आन्दोलन, मकै पर्व, नागरिक अधिकार समिति आर्य समाज, प्रजापरिषद्, पद्य शमशेरको सुधार अभियान, नेपाली राष्ट्रिय कांग्रेस, कम्युनिष्ट पार्टी स्थापना, त्रिभुवनको भारतीय दुतावासमा शरण, दिल्ली सम्झौता, प्रजातन्त्र स्थापना, विश्वेश्वरको लोकप्रिय कामहरू, महेन्द्रको महत्वाकांक्षा र प्रत्यक्ष शासनको शुरुवातका कतिपय लुकेका तथ्यहरूलाई उपन्यासले एउटा सिलसिलामा राखेको छ । वीपीलाई राजाले अपदस्थ गर्नुको एक कारण बिर्ता प्रथा उन्मूलन हो भन्ने देखाइएको छ । यो कति सत्य हो ? त्यसैले यो उपन्यास राजनैतिक इतिहास पनि हो ।
त्यसैले उपन्याससँग समाज, शासन, प्रशासन, संस्कृति, अर्थतन्त्र, जातिभाती, धर्म संस्कारका कुराहरूको पोया खोलिएको छ । उपन्यासकारको अध्यययन क्षेत्र व्यापक छ । उनमा इतिहास, संस्कृति, समाजशास्त्र, प्रशासन, देशदिवेश, दर्शन साहित्य, पुराण प्रथा सबै कुरा उनको अध्ययन क्षेत्र हो तर अभिमुखीकरण चाहिँ पूर्वीय सनातन चिन्तन हो । संस्कृतिको पोया खोल्दा पूर्वीय दर्शन र परम्पराले विषयलाई अधिनस्थ गर्छ र त्यसैको परिधिमा समाधान निकाल्ने चेष्ठा गर्छ ।
समाजमा सम्मान र पहिचान पाउन मर्नुपर्छ भन्ने डल्ले जैशीबाट देखाइएको छ । प्रजापरिषद् हुँदै नेपाली कांग्रेसको सदस्य बनेको डल्लेले मृत्युपछि मात्र मान पायो । आफ्ना पिताको समाजमा निकै नाम रहेछ, राजनीतिमा पनि नाम मान रहेछ तर त्यो उनको मृत्युपछि मात्र देखिएको उनको निष्कर्ष छ ।
उपन्यासमा धेरै पात्र छन्, धेरै कथा छन् । वत्सलेस्वरीले महादेवलाई ५५ बसाइमा कथा बताएकी छन् । सबैको केन्द्रविन्दुमा समाजको बेथिति छ । धेरै पात्रका कथा छन् । पात्रहरू आफ्ना कथा आफैँ पनि बताइरहेका छन्, यसका साथ समाज पनि बताइरहेका छन् । डल्ले, सकनासे, डिम्वे, गन्टे, मुसुमुन्द्रे, डुडुरे, मङ्गले, आइते, बाटुले, कलववीर, रणवीर, बलवीर, कुलमान, मखमली, सुकन्या, कैली, सुन्तली, डेव्री, किचकन्या सैयौं पात्र र उनीहरूका आआफ्ना कथा, भोगाइ र अपेक्षा छन् । साझा साक्षीका रूपमा वाग्मती र पशुपति छन् । औपन्यासिक संरचनाको कथा विकास, उत्कर्ष, चरमोत्कर्ष र अवसानको क्रममा उपन्यासको यात्रा छैन, एकत्रित नभै छिरोलिएको छ, समाज त्यस्तै भएकाले यसो हुनु स्वाभाविक छ । वाग्मती जसरी नै लगातार बगेको छ, कथाहरू अन्य विषयमा ध्यान दिँदैनन् । उपन्यासकार भनौँ वा कथा वाचिका वत्सलेश्वरी लगातार मिलेनमिलेको समाज पढिरहेका छन् ।
उपन्यास कथामा सरल भए पनि अध्ययनमा जटिल छ । भाषा, शैली, कथन, मिथकहरूले गहिरिएर पढ्नुपर्छ । संस्कृत, पुराण, मनुस्मृति, इतिहास, राजनैतिक घटनाक्रमले पनि गहिरो अध्ययन माग गर्दछ । कहावतहरू धेरै छन् । उपन्यासको पचपन्न कथाले कथा र पात्रको भीड सिर्जना त गरेको होइन भन्ने देखाउँछ । तर करीब सात दशकको कथा भएकाले पुस्ता, समयक्रम र समाज उतार्दा ठूलो पृष्ठभूमिका कारण त्यस्तो देखिनु स्वाभाविक हो । उपन्यासकारले कथा भन्ने जिम्मेवारीमा वत्सलेश्वरीलाई दिएकाले एकलाप संवादमा कथा अघि बढ्छ । यो नौलो लाग्छ ।
उपन्यासले न्याय पाइन्छ तर ढिलागरी भन्ने देखाएको छ । उपन्यासको अन्त्यमा छुल्याहा मुसुमुन्द्रै सकियो । मानव तस्कर पलट र मङ्गलेले एकअर्कालाई एकै समय मारे । डगुरे कालीको बातमा जेल जानु पर्यो । गुन्टे, डिम्वे, गनेस सबै आफ्नै अपराधको आत्मग्लानीमा जलिरहेका छन्, प्रायश्चितमा पिल्सिएका छन् । आमालाई मातृ कर्तव्य नगर्ने गोरे पश्चातापको आगोमा भतभती पाकेको छ । पिता मार्ने गगने विक्षिप्त बन्यो । नारीलाई आइमाई भनेर अभद्र व्यवहार गर्ने मानबहादुर पनि मनमा जलेको छ । महिला शोषण गर्ने ठालू पद्यनाथको वास्तविक अनुहार कल्याणी र मट्याङ्ग्रीले उधारी दिए । अब उसको सामाजिक स्थान भस्याहा कूर समान बन्यो । शिशु वर्षन्ती बेच्ने गदाधर जोशी कारागार छन् । गोमावतीलाई बलात्कार गरेर आत्महत्या गर्न विवश पार्ने कलवीरलाई आफ्नै पत्नी र छोराले ग्राम साँढे सावित गरिदिए । यसर्थ परिणतिको परिणति अपारधी सधैँ उही रहँदैन, कि उसलाई समाजले सजाय दिन्छ वा आफ्नै आत्माले भन्ने हो । परिणतिले समय चक्रको परिणति देखाएको छ, जसरी फ्योदोर दोस्तोभ्स्कीले क्राइम एण्ड पनिसमेन्टमा देखाइको छ । त्यसैले शीर्षकीय दृष्टिमा सार्थक देखिएको छ ।
उपन्यासको अर्को सन्देश वत्सलेस्वरीले महादेवलाई बताएको कथाको सार हो लिङ्ग ज्योतिको रूपमा परमशक्ति हो र योनि सिर्जनाशक्ति प्रकृति हो । शक्ति र सिर्जनाको संयमित संस्कृति समाज हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










