हिजो सर्वहारा मुक्तिको
मीठो सपना बाँडेर
जनवादी क्रान्तिका साइत हेर्नेहरू
आज कुन खोपीमा लुकेका होलान्
आधा घेरा फाटेको टोपी लगाउँदै
चप्पल पडकाउँदै हिँड्नेहरू
आज गणतन्त्रमा सलामी खाँदै
भीआईपी सोच पालिराख्या छन्
हिजो सडकमा टायर बाल्नेहरू
आज माफियाको बुई चढेर
शासन लगाउँछन् जनतामाथि
हिजो नौलो सपना बोकेर
जनवादको जङ्गली क्रान्ति गर्नेहरू
आज काठमाडौँको सिंहदरबारमा
दलाल पूँजीवादको चाकडी गरेका छन्।
…
अचेल देशमा लोकतन्त्र, संघीयता
अनि खै के के तन्त्र आएको छ
सुविधा भोगिरहेका छन् नेताहरू
नेताका भजन गाइरहे छन् युवाहरू
तर अफसोच
खुट्टामा गोलीको छर्रा बोकेर
भजन मण्डलीमा सामेल भएका छन्
क्रान्तिकारी योध्दाहरू अझ पनि
भोक र रोगसँग लड्नुपर्ने बाध्यता छ ।
…
ऊसँग छ त केवल
विगतका भयानक युद्धकथाहरू
भरिँदोरहेन छ वर्तमानमा पेट
विगतमा सपना थिए
संसार जित्ने दृढ सङ्कल्प थियो
विवश छ वर्तमान
सत्तासँग साटिएको सम्झौताले
तुहाइदिएको छ सबै सङ्कल्प
मृत्यु कुरेर बसिरहेछ योध्दा ।
…
कोसँग न्यायको भिख माग्ने
नातागोताले घेरिएर बसेका छन्
आफूले आदर्श ठानेका कमाण्डरहरू
शरीरमा भित्र रहेका गोलीका छर्राले
भतभति पोल्छ शरीर
हिजो आफैँले मच्चाएका विध्वंश सम्झँदा
बेस्सरी पोल्छ मन
आज आफ्नो हालत देख्दा
भक्कानिन्छ मन
हिजो जनअदालतमा बसेर
न्यायका डण्डा चलाउनेहरू
लौन, भनिदेऊ कहाँ छ न्याय ?
यस्तो पनि के जिन्दगी ?
दास भएर बाँच्नुपर्ने
वेवारिस भै मर्नुपर्ने
टीठ लाग्छ एउटा निरीह जिन्दगी ।
…
सर्वोच्चले न्याय दिन्छ
यो त नजीर र सेटीङमा चल्छ
सरकार छ सुन्दैन, मान्दैन
डनको भाषा बोल्छ सरकार
यो हो त ‘जनताको सरकार’ ?
जहाँ जनताको कुरा सुन्दैनन् ।
…
चाप्लुस बाजहरू नियुक्ति पाउँछन्
जति सीमा मिचियोस् देशको
मतलब छैन, बोल्न हुँदैन
ठूल्दाइ रिसाउँछन् रे ?
देश चलाउने रेमिट्यास भित्र्याउने
युवा बाकसमा फर्कन्छ
सरकार लाससँग कर असुल्छ
यस्तो देश के देश ?
…
हिजोको बलिदानले
सधैं सोध्ने गर्छ खै त गणतन्त्र ?
खै त जनताको समाजवाद ?
खै वर्ग उत्थानका राष्ट्रिय नीति ?
अनि हिजो लर्बरिएको जिब्रोले
जे पायो त्यही बोलेर नयाँ सपनाहरू बाँड्यौ
अनि आफैँले आ–आफ्नैलाई
नारायणहिटीलाई सङ्ग्रहालय र
शीतलनिवास नामसारी गराएर
नवधनाढ्य बनायौ र दियौ तिमीले
उनको नाम राष्ट्रिय पूँजीपति
यसरी तिमीले झुन्ड्याइदिएको
ताजहरू देखेर सोध्न मन लागिरहेछ
के यो गणतन्त्र हो ?
के गणतन्त्र यही हो ?
जनताको शासन यही हो ?
खै त समाजवाद कमरेड ?
हिजो त श्रमजीवी र सर्वहाराको
मजदूर र किसानको प्रश्न उठाउँथ्यौ
अचेल भन्दैछौ–
गठबन्धनले दलीय व्यवस्था सङ्कटमा पा-यो
दलाल व्यवस्थाको लागि यत्रो चिन्ता
जनमारा दलालतन्त्रको यत्रो चिन्ता ?
भ्रष्ट लोकतन्त्रका भ्रष्ट शासक
तिमीलाई देशको पो के चिन्ता ?
जनता मरून् कि बाँचून् के मतलब ?
सांसद किन्यो, सरकार बनायो
पैसाको बिटो बुझायो, मन्त्री खायो
उफ ! किसानले
उचित मूल्य नपाएर
ऋणमा डुबेर आत्मदाह गर्नु परेको
कथा अचेल न सुन्न चाहन्छौ
न सुनाउँछौ, खै मल ल्यायौ त ?
खै त सुकुम्बासीले जग्गा पाएको ?
खै देशमा रोजगारी ?
कहिले खोल्छै त बन्द कारखानाहरू ?
…
आज एक्काइसौं शताब्दीको
चरम विकासको समयमा पनि
रजगज छ भ्रष्टाचारीहरूकै
खिएर दुब्ला पातला भए जनअपेक्षा
अनि खिया लागेर निकम्मा भए
सुन्दर सपना र आशाहरू !
शैक्षिक योग्यताका प्रमाणपत्रहरू
प्लास्टिकको झोलामा कोचेर
विदेश पलायन भएका
लक्का जवान युवाहरूलाई सोध
कहाँ आयो गणतन्त्र ?
वैशालु जोवन विदेशी भूमिमा खर्चेर
चालीस कटेसी रमाउँला भन्दै
खाडी मुलुक हिँडेको
विवाहित लोग्नेहरूलाई सोध
कहाँ आयो गणतन्त्र ?
समयले रङ बदल्यो
तर मान्छेको पसिनाको मोल बद्लेन
यसैले हरेक साल
भविष्य निर्माणको सपना बोक्ने
कथा मात्र बनेर आयो गणतन्त्र
टुहुरा र विधवाहरूको नारा बोक्ने
मीठो भाषण बनेर आयो गणतन्त्र
भाषण बनेर आयो गणतन्त्र
…
आज योद्धाहरू
न त लोकतन्त्र भन्छन्
न त समाजवाद
खै कहाँ छन् साम्यवाद ?
निराशै–निराशाको राजनीतिक
आन्दोलनमा खटिएका
ती शहीदहरूको
आस्था मेटिँदैछ यहाँ
आशाको किरण छर्ने युवाहरू
राजनीतिक बन्दी जस्तै भएका छन्
मुक्ति, स्वतन्त्रता, समानता भन्दाभन्दै
कयौं पुस्ता बितिसक्यो यहाँ
लोकतन्त्रको नारा लगाउने
राजनीतिक दलहरू
जहानियाभन्दा कडा हुँदैछन्
राजनीतिक विचार
जे भए नि यहाँ
फरक पर्दैन युवाहरूलाई
न त देश हाँक्न दिन्छन्
न त पार्टी नै हाँक्न
केवल युवालाई
भर्याङ बनाइरहेछन् यहाँ
राजनीतिक परिवर्तनका लागि
कर्मठ युवालाई
कलिलै छन् भन्दै
नेतृत्व दिन आनाकानी हुन्छ
केवल पुस्ता फेरिन्छ
विचार फेरिँदैन यहाँ
आमूल परिवर्तनको खातिर
युवामैत्री बनाऊ राजनीति
अनि बन्छ देश यहाँ
फेरि पनि विद्रोहको
राँको बल्न सक्छ
लोकतन्त्र, समाजवाद
अनि साम्यवादका नाराहरू
गुञ्जयमान हुँदै यहाँ
दुनियाँ बदल्न सक्ने
युवाको खाँचो छ यहाँ
परिवर्तनको दौरानमा रहेको
मेरो देशमा अन्याय र अत्याचारको
विरुद्धमा लड्न सक्ने ।
भरतपुर १९, चितवन



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










