पोखरा । साहित्यकार भीम रानाभाटको संस्मरण सङ्ग्रह ‘सम्झनाको सेरोफेरो’ माथि पोखरामा परिचर्चा गरिएको छ। विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको घनश्याम कक्षमा आयोजित कार्यक्रममा प्राज्ञ डा. कृष्णराज अधिकारी लगायतका साहित्यकारहरूले कृतिको समीक्षा गर्दै यसले समाजको यथार्थलाई सरल र इमान्दार ढङ्गले चित्रण गरेको बताउनुभएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. अधिकारीले रानाभाटको सरल व्यक्तित्व र समाजप्रतिको सरोकारलाई कृतिले प्रतिबिम्बित गरेको उल्लेख गर्नुभयो । उहाँले रानाभाटको लेखन शैलीको प्रशंसा गर्दै यसले समाज रूपान्तरणको मार्गमा पाठकलाई प्रेरित गर्ने धारणा राख्नुभयो। साहित्यकार रुपिन्द्र प्रभावी ‘कटु’ र लोकबहादुर थापा मगरले कृतिमा समेटिएका १९ वटा संस्मरणले पुस्तकलाई गहन र भावुक बनाएको बताउनुभयो।

परिचर्चामा रामराज रेग्मी, डा. श्रीकान्त शर्मा खतिवडा, नारायणकैलाश सिग्देल, परशुराम कोइराला, डोलराज पाण्डे, र झलकपाणी तिवारी लगायतका वक्ताहरूले रानाभाटको साहित्यिक यात्रा र योगदानको चर्चा गर्नुभयो। उहाँहरूले रानाभाटको लेखनले नेपाली साहित्यमा प्रगतिशील चेतनाको प्रवाहमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँको भावी साहित्यिक यात्राको शुभकामना दिनुभयो।

तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकामा जन्मिएका रानाभाट हाल पोखरामा बसोबास गर्नुहुन्छ। ‘रगतका छिर्का’, ‘रङ, रगत र मान्छे’, ‘यही हो मेरो देश’, ‘आँसुको छाल’, ‘पग्लिँदैन सगरमाथा’ जस्ता कृतिहरू प्रकाशित गरिसकेका रानाभाट ‘मितेरी’, ‘प्रयोग’, ‘गण्डकी सङ्गम’, ‘साहित्य प्रभा’, ‘निगालो’, ‘ज्याग्दीखोलाको तरङ्ग’ लगायतका पत्रिकामा सम्पादक, व्यवस्थापक र प्रतिनिधिको भूमिकामा पनि सक्रिय रहनुभएको छ । ‘साहित्य शृङ्खला’, ‘गण्डकी साहित्य सङ्गम’, ‘प्रगतिशील लेखक सङ्घ’, ‘अखिल नेपाल लेखक सङ्घ’ जस्ता दर्जनौं साहित्यिक संस्थामा उहाँको सक्रियता देखिन्छ।

गण्डकी साहित्य सङ्गमका अध्यक्ष रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङ्गम साँस्कृतिक मञ्चका काजी गाउँले र विकास लुङ्गेलीले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो। गण्डकी साहित्य सङ्गमका उपाध्यक्ष पद्मराज ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव प्राज्ञ नारायण मरासिनीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।