नो फोटो

बाहिर सेतो हिउँ छ, सुन्दर छ
रमणीय देखिन्छ सारा जगत
रूखका हाँगापात हिँउले सजिएका छन्
जमीन मुस्कुराएको छ, आकाश न्यानो
सिवाय यो न्यासिएको एक्लो मन
जो हर पल हामीलाई नै याद गरिरहन्छ
पोहोर सालको याद आउँछ, झन् अझ परारको
सेता हिउँका फूलका गुच्छाहरू
सेतै हिउँका हरिणका बाच्छाहरू
तस्वीरहरू म कति खिच्थेँ
तिमीलाई पठाएर अति रमाउँथेँ
तिमी छक्क पर्दै मुसुक्क हाँस्थ्यौ
तिम्रा जिज्ञासाले मलाई सन्तुष्ट पार्थ्यो
खुसी ती सेता हिउँसँग थिएन
खुसी त तिमीसँग थियो
मेरो खुसीको कारण एउटै थियो
कारण एउटै थियौ – तिमी
खुसीहरू हिउँबाट थिइनँ, तिमीबाट थियो
खुसीहरू चिसा हिउँका स्फटिक कणमा थिएन
खुसी त तिम्रो न्यानो निर्दोष हेराइमा थियो
मेरो सुख हिउँले सजिएको पातमा थिएन
ती पातको तस्वीर हेरर मुस्कुराउने तिम्रा आँखामा थिए
त्यसैले यो साल
मेरो क्यामेरामा हिउँको फोटो छैन
जब तिमी छैनौ, खुसी छैन
आज हिउँ पर्नु र घाम लाग्नुमा केही अन्तर छैन
जब तिमी हुन्नै, रहरहरू हुन्नन्
रात र दिनमा के फरक ?
बगैंचा र बगरमा के अन्तर ?
त्यसैले यो साल “नो फोटो”
नो
नो
नो फोटो
सेता हिउँका रित्ता फोटाहरू
खिच्दै, तिमीलाई पठाउँदै, मैले यो साल गरिनँ
नो नो नो फोटो
यो साल, नो फोटो ।