शहरको मुटुमा, उज्यालो कम छ
गरिवी र अभावको पीडा र व्यथा
भोगेका मानिसहरू, तिरस्कृतहरू
(मुर्झाएर सधैँ ओझेल परेकाहरू)
भोग्दैछन् दुर्दशा, अनि जिउँदैछन्
एक जर्जर कठिनाइपूर्ण जीवन
किनाराका यत्रतत्र बस्तीहरूमा
नदी किनारै किनार बस्ती र कटेरा
गरिवी र दुःखका सधैँ बनी शिकार
जाडो र गर्मी वर्षा र बाढी खेपेर
कट्छ रात धेरैको आँखा नचिम्लेर
भत्किन्छ विपना र तुहिन्छ सपना
कुनै दिन पक्कै मानव बन्ने चाहना
वञ्चित आधारभूत सेवासुविधाबाट
नभएको पहुँच, तिनीहरूको दुर्दशा
सबैको बेवास्ता र निम्छरो आवाज
यस्तै घोर निराशायुक्त जिजीविषा
चुनावताका बाँडिन्छन् ठूला ठूला
रंगीन सपना र उडानका पुलिन्दा
चुनाव सकिन्छ, सूचना टाँसिन्छ
मानव कोलाहल, डोजर सोझिन्छ
बन्छ अशान्त बस्ती, बस्तीभित्र
एक बोली र सोचाइ छैन कसैको
वाह्य लडाईँ – उठाउने र बसाउनेको
नियति जस्तै खेलिने र खेलाउनेको
आशा मरेको छैन, पर्खंदै उज्यालो
खोजी हुँदैछ बाटो समृद्धि तर्फको
खाँचो छ इमान्दार सबल नेतृत्वको
आशाजनक र सुन्दर सुरुवातको
साँचो लडाईं प्रतिकूलता विरूद्ध
यात्रा सुन्दर र सुखी भविष्यतर्फ
बस्तीले अब नवीन भोलि खोज्नेछ
साहसी र लचक प्रयासहरू गर्नेछ
एकताको शक्ति र बोली रोज्नेछ
प्रत्येक बस्तीवाल अब एक हुनेछ
मान्छे भई बाँच्ने रहर पूरा गर्नेछ
किनाराको बस्ती अब फेरिनेछ
प्रत्येक बस्तीवाल सुयोग्य छ
सुखी र खुशीको यात्राका लागि
विपना बाँच्न, सपना देख्न लागि
आफ्नो भविष्य आफैं सजाउन
आऊ हाम्रा हात बढाओैं बस्तीसँगै
बस्तीवाललाई उच्चोमा उठाउन।
कोटेश्वर, काठमाडौँ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










