कसैको लागि यो नदी होला
कसैको लागि सानो खहरे मात्र होला
तर यो चियाबारीको लागि त
भयावह वैतरणी हो
जहाँ आङमा घाम लाग्ला कि भनी
साँझ परिसक्दा पनि
प्रतीक्षामा बाटो कुरिरहनेहरूका
निर्बल जिन्दगीहरू छन्
जहाँ आफ्नै पसिना
आफैँले स्पर्शसम्म गर्न नपाएका
असंख्य हतभागीहरूका छन्
जहाँ हत्केलाको रेखा र निधार छाम्दै
आफ्नै भाग्यलाई कोस्दै
विवशताले निथ्रुक्क भिजेकाहरू छन्
यो वैतरणी तारिदिन्छु भन्दै
प्रपञ्चहरू हतारिन्छन्
सपना खरीद बिक्रीको
मण्डी लागाउँछन्
लिलाम हुन्छन् सपनाहरू
कतै बन्धकीमा राखिन्छन्
रमिताजस्तो चहलपहल सल्बलाउँछ
सुखा स्तन शिशुलाई चुसाइरहेकी
रोगी आमाहरूलाई
चियाको गाछलाई स्याहार्दा-स्याहार्दा
हात नै पटपटी फुटेका धने र वीरेलाई
आत्मियता उधारो दिँदै
साइनो केलाउनेहरू
माइक्रोफोनमा प्रेमको हात बढाउँछन्
शब्दहरू फूल भएर फुल्छन्
बलेंसी बलेंसीमा
एकक्षण टलक्क इन्द्रेणी लाग्छ
कागजको फूलको सुगन्धले मात्तिएका
यी हतभागीहरू
फेरि जमिन र आसमान बिर्सन्छन्
पार्थक्य भुल्छन्
फेरि थाहै नपाई दिवास्वप्न भङ्ग हुन्छ
निर्निमेष हेर्छन् फेरि चिसो चुल्हो
एकक्षण टल्केको ईन्द्रेणी खै कता गयो ?
फेरि एक्लिन्छ यो बस्ती
अनुहारमा शरदको उही नियास्रो छाउँछ
थाहै नपाई पसलहरू उठेपछि
फेरि उदराठलाग्दो सन्नाटा छाउँछ
हिज साँझ पिँढ़ीमा बास दिएको बटुवा
बिहान चालै नपाई हिँड़िसकेको जस्तो
खालीपन व्याप्त हुन्छ सर्वत्र
खै सपनाहरू कहाँ विस्थापित भए ?
यो बस्ती बेखबर छ
मनको धोको कसरी अपहरणमा पऱ्यो ?
यो बस्ती अनभिज्ञ छ
कसले लुट्यो ?
कसले थुत्यो ?
केही बुझ्न सक्दैनन्
फेरि ग्यास सकिएको सिलिण्डरको
उपहास र परिहास सहन नसकेर
पसल र चुल्होको बीचको साँघुरो गल्लीमा
टेक्ने ठाउँसम्म नपाएर
आफूले आफैँसित
एक मुठी स्वासको भीख माग्दै
फेरि अभाव र मर्का नै
खोकिलामा च्यापेर
यो बस्ती पुरानो वैसाखीमा
जिन्दगी घसारिरहन्छ
पत्तै हुँदैन कसैलाई
तर कसैले विवशताको काँधमा चढ़ेर
मानवता निचोर्दै
मौका छोपी छोपी
आँशुको थोपा हत्केलामा थापेर
तिर्खा मेटिरहेछ मेटिरहेछ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 









