यौटा समय
तिमी मलाई असाध्य मन पर्यौ
सपनाजस्तो लाग्दैछ आज
रुमानी विगतको सम्झना
त्यो उषाकाल थियो
मनमनै ठान्थेँ
चाँद हेर्दैगरेको कोपिला
धर्ती बेर्दै गरेको आदर्श
फक्रेपछिको सौन्दर्य
र हरर्र आउने बासना
धर्ती रङ्गाउन मनग्गे पुग्छ
अरूहरूले अड्कल काट्थे
म आफैँलाई पत्तो हुँदैनथ्यो
तिम्रो छायामा म टाँस्सिएको कुरा
जब म तिमीभित्र हराउँथेँ
तिमीलाई छाम्दा
स्निग्ध सगरमाथा
निर्मल रारा
पवित्र शालकग्राम
अखण्ड शान्तिदीप
जीवन्त इन्द्रेणी
पालैपालो सबै भेट्थे बरोबर
हो,जतिबेलासम्म
सध्दे आँखा
टाठा कान
अदम्य साहस
अभय विवेक
अटुट आस्था
तिमीसँगै थिए
वा तिमीलाई साथ दिए
निर्विकल्प जस्तै लाग्थ्यो
तिम्रो उपस्थिति
मेरो प्रेम
तर
हेर्दाहेर्दै
आस्था ढले
निष्ठा गले
यामहरू फेरिए
आयामहरू थपिए
शीतल चौतारी
मनचिन्ते गुढ
सिख्रै भयो बास
शिताङ्ग भयो प्रणय सहवास
र अझै पनि
गर्दैछन् कोही बुध्दिविलाश
र ठोक्काउँदै छन् गिलासहरू
र भन्दैछन्
हाम्रो प्रेम अमर रहोस्।
अर्घाखाँची



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










