१७.  सृजनात्मक मार्ग

भाइ ! के तिमी एकान्तमा जान चाहन्छौ ? के तिमी आफैँसम्मको मार्ग खोज्न चाहन्छौ ? एकैछिन पर्ख र मेरो कुरा सुन ।

“जो खोज्छ, ऊ सजिलै आफैँ हराउन सक्छ । सबै प्रकारको एक्लोपन गलत हो,” भन्छ भीड । र लामो समयसम्म तिमी भीडको हिस्सा थियौ ।

भीडको आवाज अझै तिमीभित्र गुञ्जनेछ । जब तिमी भन्छौ, “अब तिमी हामीसँग साझा अन्तरात्मा छैन,” अन्ततः त्यो एक गुनासो र पीडा हुनेछ ।

हेर, त्यो पीडालाई पनि उही अन्तरात्माले सिर्जना गरेको हो । र त्यस अन्तरात्माको अन्तिम झिल्को अझै तिम्रो दुःखमा चम्किरहेको छ ।

तर के तिमी आफ्नो दुःखको मार्गमा (जो आफैँमा पुग्ने मार्ग हो) जान चाहन्छौ ? तब मलाई तिम्रो अधिकार र सामर्थ्य देखाऊ !

के तिमी नव सामर्थ्य र अधिकार हौ ? पहिलो गति हौ ? आफैँ गुड्ने पाङ्ग्रा हौ ? के तिमी ताराहरूलाई पनि तिम्रो वरिपरि घुम्न बाध्य पार्न सक्छौ ?

दुर्भाग्यवश ! कति धेरैले उचाइको कामना राख्छन् ! कति धेरै महत्वाकांक्षाको सङ्कटहरू छन् ! मलाई देखाऊ कि के तिमी कुनै चीजको कामना राख्ने महत्वाकांक्षी व्यक्ति होइनौ !

दुर्भाग्यवश ! यहाँ नीकै ठूला विचारकहरू छन् । जसले कुनै काम गर्दैनन् । तिनीहरू भाँडा मात्र भर्छन । र त्यसलाई अझ बढी खाली बनाउँछन् ।

स्वतन्त्र ! के तिमी आफैँलाई स्वतन्त्र भन्छौ ? तिम्रो मुख्य विचार म सुन्न चाहन्छु, त्यो होइन कि तिमी कुनै जुवाबाट छुटाइयौ ।

के तिमी कुनै जुवाबाट छुट्न योग्य छौ ? धेरैले आफ्नो अन्तिम मूल्य त्यागेका छन्, जब कि तिनीहरूले आफ्नो दासत्व त्यागेका छन् ।

केबाट स्वतन्त्र ? त्यसको मतलब जराथुस्त्रका लागि के छ र ! तैपनि तिम्रो आँखाले मलाई प्रष्ट देखाओस् । स्वतन्त्र केका लागि ?

के तिमी आफैँलाई आफ्नो खराबी र नम्रता दिन सक्छौ । र तिम्रो कामनामाथि कानुन थोपर्न सक्छौ ? के तिमी आफैँका लागि न्यायाधीश बन्न सक्छौ, आफ्नो कानुनको बदला लिने व्यक्ति बन्न सक्छौ ?

आफ्नै कानुनको न्यायाधीश बन्ने र बदला लिने व्यक्तिसँग एक्लो हुनु दुःखद् छ । यसरी नै एउटा तारा उजाड ठाउँमा फालिन्छ । हिउँदमासको एक्लोपनमा ।

आज पनि तिमी एक्लो छौ । भीडको पीडा सहिरहेछौ । अझै पनि तिमीभित्रको साहस अबोध छ । तिम्रा आशाहरू बलवान छन् ।

तर कुनै दिन एकान्तले तिमीलाई थकाउनेछ । कुनै दिन तिम्रो घमण्ड झुक्नेछ । र तिम्रो साहस थाक्नेछ । तिमी एक दिन चिच्याउनेछौ, “म एक्लो छु !”

कुनै दिन तिमी आफ्नो उचाइ देख्न सक्दैनौ । बरु आफ्नो नीचतालाई नजिकबाट देख्नेछौ । तिम्रो महानता समेत भूतझैं डरलाग्दो हुनेछ । तिमी चिच्याउनेछौ, “सबै झूट हो !”

त्यस्ता पनि भावना हुन्छन्, जसले एक्लो व्यक्तिलाई मार्न खोज्छन् । यदि ती सफल हुन सकेनन् भने तिनले आफैं मर्नुपर्ने हुन्छ । के तिमी त्यसका लागि सक्षम छौ ! एउटा हत्यारा बन्न ?

भाइ ! के तिमीले कहिल्यै “तिरस्कार” भन्ने शब्दको अर्थ बुझेका छौ ? अनि तिम्रो न्यायको पीडा ! तिनीहरूलाई न्याय गर्छौ, जो तिम्रो तिरस्कार गर्छन् ?

प्रायःलाई आफ्नोबारे फरक सोच्न बाध्य बनायौ । उनीहरूले त्यो कुरालाई तिमीमाथि लागेको गम्भीर आरोपको रूपमा लिएका छन् । तिमी उनीहरूसँगै नजिक पुग्यौ, तर फेरि अघि बढ्यौ । उनीहरू त्यसलाई कहिल्यै माफ गर्दैनन् ।

तिमी उनीहरू भन्दा माथि जान्छौ । तर जति माथि तिमी पुग्छौ, ईर्ष्याको आँखाले तिमीलाई त्यति नै सानो देख्छ । उड्ने मान्छेलाई नै अत्याधिक घृणा गरिन्छ ।

“तिमीहरू कसरी मप्रति न्यायसंगत हुन सक्छौ !” तिमीले भन्नुपर्ने हुन्छ- “तिम्रो अन्यायलाई म आफ्नै भाग्यको रूपमा स्वीकार्छु ।”

अन्याय र फोहोर तिनीहरूले एक्लो व्यक्तिमा फ्याँक्छन् । भाइ ! यदि तिमी तारा नै बन्न चाहन्छौ भने, त्यसका लागि तिनीहरूसामु चम्किनैपर्छ !

र तिमी नम्रता र न्यायीहरूसँग सावधान रह ! जसले आफ्नै नैतिकता बनाउँछ, उनीहरूलाई तिनीहरू क्रूसमा चढाउन चाहन्छन् । एक्ला व्यक्तिलाई उनीहरू घृणा गर्छन् ।

पवित्रता र सरलतासँग पनि सावधान रह ! जसका लागि सरलता बाहिर सबै कुरा अपवित्र हुन्छ, त्यो पनि आगोसँग खेल्न चाहन्छ । खम्बाको आगोसँग ।

र तिम्रा प्रेमका दुस्मनहरूसँग पनि सावधान रह ! एकान्तवासले अरू कसैलाई भेट्दा बडो सजिलै हात अघि बढाउँछ ।

प्रायःलाई तिमीले आफ्नो हात दिनुहुन्न । केवल तिम्रो पञ्जा देऊ । र म चाहन्छु कि तिम्रो पञ्जामा पनि नङ्ग्राहरू होस् ।

तर सबैभन्दा महान शत्रु ! जसलाई तिमी भेट्नेछौ, त्यो सधैं तिमी आफैं हुनेछौ । तिमी आफैंलाई गुफा र जंगलहरूमा थुनेर राख्छौ ।

ए एक्लो मान्छे ! तिमी आफैंतिरको बाटोमा हिँडिरहेछौ ! त्यो बाटो तिमी र तिम्रै सातओटा पिशाचहरूलाई पार गर्दै अघि बढ्छ ।

तिमी आफैंका लागि विधर्मी बन्नेछौ । एउटा जादूगर, एउटा भविष्यवक्ता, एउटा मूर्ख, एउटा शङ्कालु, एउटा पतित र एउटा खलनायक !

तिमी आफैंलाई आफ्नै ज्वालामा जलाउन तयार हुनुपर्छ । यदि पहिले खरानी भएको थिएनौ भने, अब नयाँ कसरी बन्न सक्छौ ?

ए एक्लो मान्छे ! तिमी सिर्जनाको बाटोमा हिंडिरहेका छौ । तिनै सातवटा पिशाचहरूबाट आफ्ना लागि देवता सिर्जना गर्नेछौ ।

ए एक्लो मान्छे ! तिमी प्रेमको बाटोमा हिँडिरहेका छौ । तिमी आफैंलाई प्रेम गर्छौ । र त्यसै कारण आफैंलाई घृणा गर्छौ । केवल प्रेम गर्नेहरूले घृणा गर्छन् ।

प्रेम गर्ने व्यक्ति सिर्जना गर्न चाहन्छ । किनकि ऊ तिरस्कार गर्छ ! के उसले प्रेमको कुरा बुझ्न सक्छ, जसले आफैंलाई प्रेम गरेर तिरस्कार गर्न बाध्य भएको छैन ?

मेरो भाइ ! आफ्नो प्रेम र सिर्जनासँगै तिमी आफ्नो एकान्तमा जाऊ । न्यायले तिमीलाई निकै ढिलो पछ्याउनेछ ।

मेरो भाइ ! मेरो आँसु लेऊ र आफ्नो एकान्तमा जाऊ । म उसलाई प्रेम गर्छु, जो आफूभन्दा परको चीज सिर्जना गर्न खोज्छ । र त्यसैमा पराजित हुन्छ ।

जराथुस्त्रले यसो भने ।

१८. बूढी र जवान नारीहरू

“साँझमा हतारिँदै लुकिछिपी हिँड्दैछौ, किन जराथुस्त्र ? अनि आफ्नो मनभित्र यसरी के लुकाउँदैछौ ?

के त्यो कुनै खजाना हो, जुन तिमीलाई दिइएको छ ? वा कुनै बच्चा हो, जुन तिमीले जन्माएका छौ ? वा तिमी आफैं कुनै चोरीको काममा निस्किएका हौ, ओ दुष्टका मित्र ?”

“सत्य मेरो भाइ,” जरथुस्त्रले भन्यो, “यो एउटा खजाना हो, जुन मलाई दिइएको छ । यो एउटा सानो सत्य हो, जसलाई मैले बोकेको छु ।

तर यो सानो बालकजस्तो छ । दुष्ट र चञ्चल छ । यदि मैले यसको मुख थुनिनँ भने, यो निकै ठूलो स्वरले चिच्याउँछ ।

जब आज म एक्लै हिँडिरहेको थिएँ, घाम अस्ताउँदै गर्दा एउटा बूढी आमैले मलाई भेटिन् । अन्ततः उनले मेरो आत्मालाई यसो भनिन्,

‘जराथुस्त्रले हामीसँग निकै धेरै कुरा गर्यो । तर नारीको विषयमा भने कहिल्यै बोलेन ।’

र मैले उनलाई जवाफ दिएँ, “नारीको विषयमा त केवल पुरुषहरूसँग मात्र कुरा गर्नुपर्छ ।”

“मेरो साथमा तिमी आफ्नै बारेमा कुरा गर,” उनले भनिन्, “म केही सम्झन सक्दिनँ । नीकै बूढी भइसकेकी छु ।”

र ती बूढी आमैलाई खुसी पार्नका लागि यसो भनेँ,

नारीको समस्त चीज एउटा भ्रम हो । र नारीको सबै कुरा समाधान गर्न सकिने एउटै उत्तर छ, त्यो हो गर्भधारण ।

पुरुष नारीका लागि एउटा साधन मात्र हो । तर उद्देश्य चाहिँ बच्चा नै हो । तर नारी पुरुषका लागि के हो ?

सच्चा पुरुष दुई फरक कुरा चाहन्छ । खतरा र मनोरञ्जन । त्यसैले पुरुषलाई नारी चाहिन्छ । कारण यो कि नारी उसको लागि सबैभन्दा खतरनाक खेलौना हो ।

पुरुषले युद्धको लागि तालिम पाउनुपर्छ । र नारीले योद्धाको मनोरञ्जनको लागि । बाँकी सबै मूर्खता हो ।

बडो मीठो फल पनि योद्धालाई मनपर्दैन । त्यसैले ऊ नारीलाई मन पराउँछ । सबैभन्दा मीठो नारी पनि अलिकति तितो हुन्छे ।

पुरुषलेभन्दा नारीले बच्चाहरूलाई राम्रोसँग बुझ्छे । तर पुरुष भने नारीसामु निकै सानो बालक हुन चाहन्छ ।”

सच्चा पुरुषमा एउटा बालक लुकेको हुन्छ । त्यो खेल्न चाहन्छ । त्यसैले ए नारी हो ! पुरुषमा लुकेको बालक पत्ता लगाऊ !

नारी एउटा खेलौना जस्तो हुनु पर्छ । शुद्ध र असल । कीमती ढुङ्गा जस्तो । जुन अझ आउन लागेको संसारका गुणहरूले प्रकाशित हुन्छ ।

तिम्रो प्रेममा ताराको किरण चम्कोस् ! तिम्रो कामनाले भन्न थालोस्, “म महामानव जन्माउने छु !”

तिम्रो प्रेममा साहस हुनुपर्छ । आफ्नो प्रेमसँगै तिमीले त्यो व्यक्तिलाई चुनौती दिनुपर्छ, जसले तिमीलाई धम्क्याउँछ ।

तिम्रो प्रेममा तिम्रै सम्मान हुनुपर्छ । नारी सम्मानको बारेमा थोरै बुझ्छे । तर तिम्रो सम्मान यस्तो हुनुपर्छ कि तिमीले सधैँ प्रेम गर्दै आएको चीज त्यो भन्दा मूल्यवान हुनुपर्छ, जसले तिमीलाई प्रेम गर्छ । र कहिल्यै दोस्रो नहोऊ ।

पुरुष नारीसँग डराउनुपर्छ, जब उसले प्रेम गर्छे । त्यसपछि उसले सबै चीजको बली दिन्छ । र बाँकी सबै चीज बेकार मान्छ ।

पुरुष नारीसँग डराउनुपर्छ, जब उसले घृणा गर्छे । किनकि पुरुषको अन्तरात्मा मात्र दुष्ट हुन्छ । तर नारी पूरै तुच्छ छे ।

“नारी सबैभन्दा धेरै घृणा कसलाई गर्छिन् ?” यसरी फलामले चुम्बकलाई भन्यो, “म तिमीलाई सबैभन्दा धेरै घृणा गर्छु । किनकि तिमी आकर्षण मात्रै गर्छौ । मलाई आफ्नो नजिक तान्न भने त्यति बलियो छैनौ ।”

पुरुषको खुशी भनेको “म चाहन्छु” हो । नारीको खुशी भनेको “उहाँ चाहनुहुन्छ” हो ।

“हेर, अब संसार परिपूर्ण भएको छ !” हरेक नारी यसरी सोच्छिन् । जब उनी बडो प्रेमील भएर कसैको आज्ञापालन गर्छिन् ।

नारीले आज्ञा मान्नुपर्छ । आफ्नो सतहका लागि गहिराइ फेला पार्नुपर्छ । सतह नारीको आत्मा हो । छरितो र अशान्त पानीको सतहमा तैरिरहेको एउटा हलुङ्गो पात ।

तर पुरुषको आत्मा भने गहिरो हुन्छ । त्यसको धारा भूमिगत गुफामा बग्छ । नारीले यसको ऊर्जालाई अनुमान गर्छिन् । तर यसलाई बुझ्न भने सक्दिनन् ।

त्यसपछि बूढी आमैले मलाई जवाफ दिइन्, “जाराथुस्त्रले अति राम्रो कुरा भनेका छन् । विशेष गरी ती व्यक्तिहरूका लागि, जो तिनलाई बुझ्नका लागि साँच्चैको जवान छन् ।

अचम्मको कुरा ! जाराथुस्त्र नारीबारे त्यति धेरै जान्दैनन् । तैपनि नारीबारे सही छन् । के यो सम्भव छ, किनकि नारीसँग असम्भव भन्ने केही पनि छैन ?”

“अब धन्यवादस्वरूप एक सानो सत्य स्वीकार गर । म यसको लागि निकै बूढी भइसकेकी छु ।

“यसलाई छोपेर राख र मुख थुनिदेऊ । नत्र यो सानो सत्य निकै ठूलो स्वरले चिच्याउँछ ।”

“नारी, मलाई तिम्रो सानो सत्य देऊ !” मैले भनेँ ।

र अन्ततः बूढी आमैले भनिन्,

“तिमी नारीहरूकहाँ जाँदैछौ ? त्यसो हो भने आफ्नो चाबुक लैजान नबिर्स !”

जाराथुस्त्रले यसरी भने ।