मौखिक र परम्परागत रूपमा प्रचलित उनका वचनको समयका बारेमा प्रमाणिकताको अभाव देखिए पनि दिशावोध गरिरहेको छ, वस्तुतः उनको वचनमा अर्थ परिवहन, क्षमता, विचार, दर्शन, कला कौशल, व्यवहार वोधदेखि लिएर नीतिशास्त्रीय गरिमाको प्रत्याङ्कन पाइन्छ ।

मिथिला भूमि प्राचीनतामा अग्रणी छ । यहाँको माटो पवित्र भए झैं वातावरण पनि पवित्र छ । राजर्षि जनकले जनकल्याणका लागि हलो जोतेको माटो उर्वरा छ र विचार पनि उत्पादनशील छ । प्रत्येक कारोवार र कुराकानीलाई पौराणिक उखानले प्रमाणित गर्नु यहाँको सामाजिक विशेषता हो । मिथिलामा समय सन्दर्भलाई सूत्र रूपमा भविष्यवाणी गर्ने परम्परासमेत विद्यमान छ । स–साना आकारमा सूत्रबद्ध उखानले जीवनका बारेमा अनेकौं जानकारी गराउँछन्, त्यसैले कतिपयले उखानलाई गागरमा सागर अटाउने भनि परिभाषित गरेका छन् । यसै भावभूमिमा मिथिलामा डाकका मौसम सम्बन्धी विचार, भविष्यवाणी आज पनि  वर्तमान हुने गरेको देखिएको छ ।

मैथिली साहित्यमा कविकोकिल विद्यापति जस्तै कृषि क्षेत्रको डाक भविष्य द्रष्टा थिए । उनको नाम नै डाक रहेको तथा उनका वचनलाई विशेष गरी कृषकहरू रामवाण मान्दछन् र अझै पनि उनकै वचनमा खेतीपाती गर्ने चलन छ । डाक जीवन द्रष्टा थिए, उनले जीवनका गुढ वस्तुलाई उजागर गरी समाजलाई प्रभावित गरेका छन्, जसमा सत्यता मुखरित छ । उपदेशात्मक वाक्यमार्फत समाजलाई मार्ग दर्शन गरिएका कृषि, ज्योतिष र व्यवहार सम्बन्धी वचन जीवनका हरेक पाइलामा मनन योग्य बनेको छ । डाकका वचनको सत्यता सतहबाट हुँदैन, गहिराइमा पुगी डुबुल्की मारेमा परिणति देखिन्छ । परिवेश, जीवन तथा समाजप्रति सचेत डाकका वचनमा हितसाधना, कल्याण कामना, मानवीय सुखको वृद्धि, मानवसमाजको परस्परको मेलमिलाप र सहनुभूतिको चेत विकासका सन्देश अधिक रहेको छ ।

मानव संवेदनशील र मननशील मस्तिष्क भएका विकासशील जीवात्मा हो । यसैले जीवनका प्रतिपदमा देखेका, सुनेका र अनुभव गरेका घात प्रतिघात, संघर्ष, प्रतिस्पर्धा, क्रन्दन, उपहास आदि मानसिक प्रतिकूलताबाट कहिले व्यक्ति भग्नाश, निरूत्साह र लक्ष्यहीन जस्तो बन्दछ त कहिले असधारण । डाकका वचन यस पृष्ठभूमिमा सूर्यको प्रकाश जस्तो बौद्धिक प्रकाश हो जसले जनभाषामा भविष्यवाणीको रूप लिएको देखिन्छ । उनको वचन परिवेश, जीवन तथा समाजप्रति सचेत छ, प्रतिनिधि छ । समाजको सापेक्षतामा नै उनी  उनको वचन पारख गर्न सकिन्छ । डाकले अवचेतनमा होइन सचेतन रूपमा साधना गरेको देखिन्छ । वर्तमानका व्याप्तिहरूलाई अटाउनु नै उनको समष्टिगत मूल्य हो ।

बुद्धिमानलाई इशारा काफीझैं डाकले उखानका माध्यमले ज्ञान र समझदारी अभिवृद्धि गर्ने ध्येयले मैथिली भाषाको विशाल सागर, त्यसमा समस्या र समाधानका अनन्त लहरलाई सूत्र रूपमा आदानप्रदान गरेका छन् । डाकका वचन मौखिक र परम्परागत रूपमा रहेकाले उनको समय सन्दर्भमा अध्येता बीच मतभेद देखिए पनि समाजमा प्रमाणिक र स्वीकार्य रहेको छ । अध्येताहरूले चौरासी सिद्धहरूकै श्रेणीमा उनलाई राखेका छन् । मैथिली भाषाका प्रथम ग्रन्थ “वर्ण रत्नार ” मा ज्योतिश्वर ठाकृरले १३ औं शताब्दीमा चौरासी सिद्धहरूको सूचीमा डाकलाई चर्चा गर्दै डाकका वचनलाई अत्यन्त प्राचीन भनी उल्लेख गरेको पाइन्छ । त्यस्तै महाकवि विद्यापतिका छोरा हरपति ठाकुरले डाकको नाउँ १४ औं शताब्दीमा चर्चा गरेका छन् । डाकको वचन आसाम, बंगाल र उडिसातिर पनि प्रचलित रहेको र भाषा छैठौं शताब्दीको अपभ्रंशसँग मिल्ने गरेको भनी कतिपय अध्येताले डाकको जन्म आसामको कामरूप जिल्लामा अनुमान गरे पनि अधिकांशले डाक वचनको भाषा मैथिली रहेका कारण डाकलाई मैथिल भएको प्रमाणअघि सारेका छन् ।

डाकका एक लाखभन्दा बढी रचनाको सङ्कलन बीसौं शताब्दीका अध्येताहरूले गरेको पाइन्छ । डाकका जीवनोपयोगी उखान समाजमा प्रचलित र मान्यता प्राप्त भए पनि त्यस बेलाका विद्वानहरूले सङ्लन नगरेका कारण डाकको जन्म, जातिका बारेमा पनि मतभेद देखिएको छ । डाकका ज्योतिष सम्बन्धी वचनलाई ध्यानमा राख्दै उहाँलाई ब्राह्मण मान्ने पनि छन् तर स्वयम् डाकका वचनहरूमा उल्लेख परिचयले ग्वाला, यादव मान्नेहरूको सङ्ख्या पनि अधिक देखिन्छ । जन्म र जातको मतमा भिन्नता देखिए पनि मिथिलावासी डाकका वचनलाई जीवन सूत्र मानेको देखिन्छ । कुनै कार्यको थालनी गर्नु पूर्व ग्रामीण क्षेत्रमा अहिले पनि डाकका वचनको निर्देशनलाई पालन गर्ने चलन विद्यमान छ । अतः कुन परिस्थितिमा कार्य गर्ने र कुन परिस्थितिको के परिणाम हुन सक्छ भन्ने सन्दर्भमा डाक वचनको चिरन्तन सत्य रहेको पाइन्छ । डाकका केही प्रमुख वचन यस प्रकारका छन् :

सुन्दर शिशु युत युवती नारि

भरल कुम्भ युत हो पनिहारि

दधि कोकिल पुनि लावामीन

ई सब थिक नहि यात्रा हीन

अर्थात् यात्राका बेला सुन्दर शिशुसँग स्त्री, पानीले भरिएको गाग्री बोकेकी महिला, कोयली, ताजा माछा र बाछा–बाछीलाई दूध खुवाउँदै गाईको दर्शनले यात्रा शुभ हुन्छ ।

मंगलक उषा बुधक प्रात

यात्रा करी डाकक बात

मङ्गलवार र बुधवारका दिन विहानका समयमा यात्राका लागि शुभ हुन्छ ।

सोमेर–शुक्रेर बुधेर उषा

छोड़ह पण्डित लेखा जोखा

सोमवार,बुधवार र शुक्रवारका दिन विहानै यात्रा गर्ने हो भने ज्योतिषसँग लेखा–जोखा गराउने प्रयोजन हुँदैन् ।

शनि मङ्गल भोजन कय चलि देब

गेलो लक्ष्मी पलटि कय लेब

शनिवार र मंगलवार खाना खाएर यात्रा गरेमा गुमेको धन पनि प्राप्त हुन्छ ।

भदवा के नहि जाति,ने पाति

दक्षिण उत्तर दुपहर राति

भदवाको कुनै जाति–पाति नहुने भएकाले  भदवाको बेला उत्तर र दक्षिणतर्फ बेलुका र राति यात्रा गर्नु हुँदैन् ।

कुज दुज दशमी बुध ओ हस्ता

उत्तर गमने मरण अवस्था

कहहि डाक गमनो नहि करी

नासे प्राण कोटि विधि परी

उत्तर दिशाामा गमन सन्दर्भमा मंगल,बुध, द्वितीया,दशमी र हथिया उपयुक्त हुँदैन्, डाकका मतमा यस्तो अवस्थामा गमन गरेमा मृत्यु हुन सक्छ ।

शनि कहय मोहि आदी भावय

सकल कार्य जीति घर आबय

 ने गुनी भदवा नै दिगशूल

कहथि डाक अमृत समतूल

शनिवार अदुवा खाएर यात्रा गरेमा विजय प्राप्त गरी घर फर्किने छ, डाकका अनुसार यस्तोमा भदवा र दिगशूल लाग्दैन, यो वाक्य अमृत सदृश रहेको छ ।

क्यो पूछय जे जायब कतय

भेलो काज बिनाशय ततय

यात्राका बेला कसैले कहाँ जाँदै हुनुहुन्छ भनी सोधेमा  कार्यमा विध्न उत्पन्न हुन्छ ।

रवि कय पान, सोम कय दर्पण

मंगल कय किछु धनियाँ चर्वण

बुधहि गूड़ वृहस्पति राइ

शुक्र कहय मोहि दही सोसाइ

आइतवार पान खाएर, सोमवार ऐना हेरेर, मंगलवार केही धनियाँ खाएर,बुधवार सखर, विहिवार राई र शुक्रवार दही खाएर यात्रा गरेमा दिगशूल लाग्दैन् ।

उत्तर छीकय मान समान

सर्वसिद्धि लय कोन इसान

पूरब छिक्का मृत्यु हकार

अग्नि कोनमे दुःखक भार

उत्तर दिशामा छिँक्का गर्दा मान–सम्मान, इसान कुनामा सर्वसिद्धि, पुर्वमा मृत्यु र अग्नि कुनामा दःखमा वृद्धि हुनेछ ।

आकाशक छिक्के जे नर जाय

पलटि अन्न मन्दिर नहि खाय

सबके छिक्का कहि गेल डाक

अप्पन छिक्के नहि करू काज

यात्राका बेला माथितर्फ छिँक्का गरेमा घर फर्किने सम्भावना क्षीण हुने भएकाले डाकको मतमा अरूको छिँक्कामा विचार नगरे पनि आफ्नो छिँक्कामा यात्रा गर्नु हुँदैन् ।

बुध हो राजा,मन्त्री कान

अन्नक सुखसँ चलब उतान

जुन वर्ष बुध राजा र  शुक्र मन्त्री हुन्छ,त्यो वर्ष अन्न उत्पादन धेरै हुन्छ ।

शानि हो राजा,मंगल मन्त्रीक

धान ने हो,नहि होबे यन्त्री

जुन वर्षमा राजा शनि र मन्त्री मंगल हुन्छ,त्यो वर्ष धान र जौ को उत्पादन हुँदैन् ।

एक राशि छओ गरहक योग

ताहि वर्ष बहु पीडा रोग

कहय डाक ई गोलक योग

युद्धक कारण इन्द्रहुकाँ झोल

जुन वर्षमा एउटै राशिमा ६ वटा ग्रहको आगमन हुन्छ, त्यो वर्ष झगडा, लडाइ र रोग व्याधि धेरै हुन्छ ।

पाँच शनिच्चर पाँच रवि

पाँच मंगल जँ होय

छत्र टुटि परय, अन्नक महगी होय

एउटै महिनामा पाँचवटा शनिवार अथवा आइतवार वा मंगलवार परेमा अशुभ हुन्छ र अन्न महंगो समेत हुन सक्छ ।

एक बुन्द जल चेतहि होय

सहस बुन्द सावनमे खोय

चैतमा पानी भयो भने साउनमा अनिकाल पर्छ ।

चैत अन्हरिया पडि़बा देख

जौन वार ताकल फल पेख

रविवार जँ आँधी बहय, मंगल विग्रह युद्धहि कहय

बुधवार होय काल जनाबय, शनिवार बहु विपदा लाबय

सखर नदी कूप नहि पानी, मानुख चौपद मृत्यु बखानी

हाहाकार सकल दिशि जानो, शनिवारको फल मानो

चन्द्र शुक्र वृहस्पति वारा, दूध अन्न से भरे भण्डारा

चैत वदी पडि़बा फलयह, सुनिले राजा डाकहि कहय

चैत कृष्ण प्रतिपदा तिथिमा आइतवार परेमा आँधीबेरी, मंगल परेमा झगडा,बुधवार परेमा अनिकाल, शनिवार परेमा वर्षाको अभाव एवम् मृत्युको सम्भावना हुन्छ तर सोम, विहि र शुक्र परेमा शुभ हुन्छ ।

चैत्र त्रयोदशी शसनक योग

नहि हो अन्न डाक के भोग

चैत महिनाको त्रयोदशीमा शनिवार परेमा अन्न महंगो हुन्छ ।

चैत मास यदि तप्ते जाय

नहि मेघ नहि बिज्जु देखाय

बहय न वायु अन्धरो पाख

ताकर फल इमि डाकहि भाख

समय होय शुभ वर्षा होय

राजा प्रजा सुखी हो सोय

चैत महिनामा चर्को घाम भए पनि मेघको गर्जन र बिजुली नचम्केमा तथा कृष्ण पक्षमा तीव्र गतिमा बसात नचलेमा शुभ हुन्छ ।

बादर जँ बैशाखमे देखि पडय पचरंग

अथवा मेघा वर्षहिँ चमकि बिजुरिके संग

तँ चौमासा वर्षहिँ मेघ मही पर जान

सावनमे उपजे चनो नाज अनेक विधान

वैशाख महिनामा पाँच रंगको मेघ,बिजुली चम्किदै वर्षा भएमा पावस र शरद ऋतुमा पनि वर्षा हुनेछ र अन्न प्रशस्त उत्पादन हुनेछ ।

सूदि बैशाख एगारह अरू तेरह जँ बादर छारह

अरू बिजुरि चमकय बहुताहि

राज उपद्रव हो महि माहि

वैशाख शुक्ल एकादशी,द्वादशी र त्रयोदशी तिथिमा बादल मडारिने र बिजुली चम्केमा राज्यमा क्रान्तिको सम्भावना हुन्छ ।

जेठ पहिल पडिवा दिना बुधवासर जँ होइ

मूल अषाढी जँ मिलय पृथ्वी कम्पय सोइ

जेठ कृष्ण प्रतिपदामा बुधवार परेमा र मूल नक्षत्र असारे पूर्णिमा भएमा पृथ्वीमा कम्पन हुनेछ ।

जेठ सूदि अठमीसँ देखी

चारि दिना मन्द वायु विलोकि

गगन सुन्दर धन देखल

मेघमे गर्भकह डाक बुझाय

जेठ शुक्ल तिथि देखि चार दिनसम्म बादल मडारिने र सुस्तरी बसात चलिरहेमा डाकको मतमा त्यो नक्षत्रमा अधिक वर्षा हुनेछ ।

रातुक कागा दिनुक सियार

की झाडि बादर की उपटार

असार महिनामा राति काग र दिनमा स्याल कराएमा अशुभ हुन्छ ।

साउन पछबा बहय दिन चारि

चुल्हिक पाछाँ उपजय सारि

बरिसय रिमझिम निशिदिन वारि

कहि गय वचन डाक पर चारि

साउन महिनामा चार दिनसम्म पश्चिमी बतास चलेमा चौबीसौं घण्टा सिमसिम वर्षा भइ खाद्यान्न उत्पादन राम्रो हुनेछ ।

साओन वदी एकादशी, बादल उगय सूर

तो यौ भाखय भाडुरी, घर–घर बाजय तूर

साउन कृष्ण एकादशीमा सूर्योदयका बेला बादलभित्र सूर्य देखिएमा त्यो वर्ष  मंगलमय हुन्छ ।

मंगलवारी होय दिवारी

हँसय किसान रोबय व्यापारी

दीपावली मंगलवार परेमा गृहस्थ हँसिलो र व्यापारी रूने अवस्था उत्पन्न हुन्छ,

धन ओ राजा धन ओ देश

अगहन मास जँ बरिसय मेघ

वा जहाँ बरिसय अगहनक शेष

त्यो राजा र देश धन्य हुन्छ जुन देशमा मंसिरमा वर्षा हुन्छ ।

रविया रविसूत ओ अंगार

पुस अमावस कहल गोआर

अपन–अपन घर चेतहुँ जाय

रत्नक मोलेँ अन्न बिकाय

पुस महिनाको अमावश्या आइतवार, शनिवार अथवा मंगलवार परेमा डाकको मतमा खाद्यान्न महँगो हुनेछ ।

माघ मास जँ पडय न सीत

महँगा नाज जानियो मीत

माघ महिनामा शीत नपरेमा र जाडो अधिक नभएमा अन्न महँगो हुनेछ ।

कर्क राशिमे मंगलबारी

ग्रहण पडय दुर्भिक्ष विचारी

कर्क राशिमा मंगलवार र चन्द्रग्रहण परेमा दुर्भिक्ष हुनेछ ।

असमय बरिसय झर–झर बादर

समयसँ होय मेघबा कादर

सकल प्रजागण रोगेँ पूर

भयक कारणे डाक भेल चूर

असमयमा वर्षा भयो भने प्रजा रोगले पीडित भइ भयाक्रान्त रहनेछ ।

आगे मेघा पीछे भान

वर्षा होवे ओस समान

अगाडि बादल मडारिने पछाडि सूर्योदय हुने अवस्था देखिएमा अनिकाल पर्ने सम्भावना हुन्छ ।

साओन पछवा, भादव पुरिबा

आसिन बहय इसान

कार्तिक कन्ता सिकियो ने डोलय

कहाँक राखब धान

साउन महिनामा पश्चिमी, भदौ र असोजमा पूर्वी र उत्तरी दिशाको बीचको कोणबाट बतास चल्ने तर कार्तिकमा बसात नचल्ने अवस्था भएमा धान उत्पादन प्रशस्त हुनेछ ।

जँ साओनमे बह पुरबैया

बेचि बडदके कीनु गैया

साउन महिनामा पूर्वी दिशाबाट बतास चलेमा गोरू बेचेर गाई किन्नु बेश होला किनकि अनिकाल पर्नेछ । त्यस्तै फल,गोरू, कृषि, बच्चाको दाँत, देवमूर्तिका सम्बन्धमा डाक वचन मनन योग्य देखिएको छ ।

डाकको मतमाः

बडद लिहह कजरा

दाम दिहह अगरा

……..

बडसिंगा जनु लिअ मोल

कुपमे खसाउ रूपया खोल

कालो आँखा भएको गोरू किनेमा राम्रो हुन्छ भने ठूलो सिंग भएको गोरू किन्नु हुँदैन ।

माघ बरिसय तीन जाय

गहुँम गाय बेमाय

……….

बापे पुते करी चास, बापक मुइने भाइक आस

अनेक संगे नहि करी चास, नहि हो अन्न, नहि हो गामहि वास

माघ महिनामा वर्षा भएमा गेहुँ र गाईलाई क्षति पुर्याउँछ,पिता र पुत्रले संयुक्त रूपमा खेती गर्नु पर्दछ,पिताको निधन भएमा दाजुसंग खेती गर्नु पर्दछ,अरूसंग खेती गरेमा न त खाद्यान्न उत्पादन हन्छ न त गाउँमा वास हुन्छ ।

असार रोपि तान बितान

साओन रोपि लबिक धान

भादो रोपि कोडबा बान

तीनु काटी एक समान

असार महिनामा एक हातको दूरीमा, साउनमा एक वीतमा र भदौमा गंगटोको खुट्टा झैं नजिकको दरीमा धान रोप्नु पर्दछ ।

पहिलहि उपर जनमल दाँत, बापहि खेतहु अथवा मात

दाँत लेने जँ जनमय बाल, माय–बाप ओ डाकक काल

सबके खाय अपनो नहि बाँचए

कहथि डाक तोँ बूझह साँच

बच्चाको पहिलो दाँत माथि निस्केमा बुवा वा आमाको मृत्यु हसने र बच्चाको दाँत जन्मदेखि नै छ भने आमाबुबासँगै अन्यको मत्यु तथा आफू नबाँच्ने अवस्था आउँछ ।

डाकको एउटा अनौठो वचन पनि पाइन्छः

असमय तीनि दिनसँ उपर

जाहि देश वर्षा हो भू पर

देशक प्रधान होय मरण

कहथि डाक जाउ इशक शरण

………….

प्रतिमा हँसय ओ मुनय नयन

रोदन करय ओ बाजय बयन

धूआँ उठय ओ ज्वाला देख

अति भय होय देशमे लेख

सकल देव प्रतिमाको जान

कहथि डाक जे होय नहि आन

…………

बिनु कारण जँ अंगक भंग

प्रतिमा चल तनु घाम संग

नेत्र नोर जँ बुझना जाय

प्रतिमा बाजल सुनल जाय

कहय डाक निश्चय भूपाल

देशक राजा मरय ओहि साल

असमयमा अविरल रूपमा तीन दिनसम्म वर्षा भएमा डाकको मतमा देशको प्रमुखको मत्यु निश्चित छ । मन्दिरमा भएको देव मूर्ति हाँसेमा आँशु झरेमा, आवाज आएमा वा ज्वाला देखिएमा सो स्थानमा विशेष भय एवं उपद्रवको सम्भावना हुन्छ । अकारण देवमूर्तिको अंग भंग भएमा, स्थान परिवर्तन भएमा वा अंगमा पसिना आएमा त्यो देशको राजाको मृत्यु हुनेछ ।

यसरी लोककण्ठमा वास बस्दै आएका डाकका वचन अहिले पनि अध्येताका लागि महत्त्वपूर्ण रहेको छ । मौखिक र परम्परागत रूपमा प्रचलित उनका वचनको समयका बारेमा प्रमाणिकताको अभाव देखिए पनि दिशावोध गरिरहेको छ, वस्तुतः उनको वचनमा अर्थ परिवहन, क्षमता, विचार, दर्शन, कला कौशल, व्यवहार वोधदेखि लिएर नीतिशास्त्रीय गरिमाको प्रत्याङ्कन पाइन्छ । हामीलाई के लाग्छ भने साहित्य विधा नै कला हो, सामाजिक व्याप्ति र धरातलका सापेक्षतामा त्यसको मूल्याङ्कन भए यथार्थ बोध हुन्छ, यस अर्थमा डाकका वचनमा समाजको सग्लो चित्र प्रस्तुत भएको पाइन्छ । देश काल, परिस्थिति, व्यक्ति मर्यादामा विचार पुर्याएर मात्र सत्योक्ति बोल्न सक्ने अनुभूति उनको वचनले प्रक्षेपण गरेको छ ।