दैलेखको दुल्लू लोकवार्ताका क्रममा संगीतमय भएकाे छ । कर्णाली केन्द्रित लोकवार्ता परिषद् नेपालको १३ औं संगोष्ठीको दोस्रो दिन (कार्तिक ४ गते) दैलेखको दुल्लूस्थित द्रोणाचार्य क्याम्पस परिसर संगीतमय भएको हो ।

दीपक वि.क.सहितको टोलीबाट स्वागत गीत पस्किदै शुरु भएको कार्यक्रममा कमल नेपालीको नेतृत्वमा पञ्चैबाजा, मारुनी नाचको प्रस्तुतिले स्रोताहरूलाई मन्त्रमुग्ध पारेको थियो । त्यस्तै, कार्यक्रममा विवाहको अवसरमा गाइने माँगल गीतदेखि झोडा गीत, दैलेखी ठाडी भाका अनि श्रम खेलदेखि हुड्के नाचको पनि प्रस्तुति रहेको थियो । श्रम खेल नृत्यमा बाहुन, क्षेत्रीदेखि मुसलमानसम्मले ढोलको आवाजमा तरवारको कलाबाजी देखाएका थिए ।

संगीतमय कार्यक्रमपछि शुभकामना मन्तव्य दिने क्रममा दुल्लू नगरपालिकाका मेयर भरत रिजालले लोकवार्ता परिषद्को संगोष्ठीमा भाग लिन बाहिरबाट आएका लेखकहरूले दुल्लू क्षेत्रलाई चिनाउन कलम चलाइदिन आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले लोकवार्ता परिषद् नेपालको कर्णाली केन्द्रित करीब ८० वटा कार्यपत्रको प्रकाशनमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सघाउने वचनबद्धता व्यक्त गर्नुभयो । उहाँले समग्र नेपाल तथा कर्णाली क्षेत्रलाई चिनाउन महत्त्वपूर्ण योगदान दिने योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गराउन सबैको सहयोग जरुरी रहेको धारणा राख्नुभयो ।

कार्तिक ५ गते लोकवार्ता परिषद् नेपालको संगोष्ठीमा बाहिरबाट भाग लिन आउनुभएका अतिथिहरूले दैलेखको कीर्तिस्तम्भ, विजय उद्यान, धुलेश्वर मन्दिर, शिरस्थान, नाभीस्थानलगायत ऐतिहासिक स्थलको अवलोकन गर्नुभएकाे थियो ।

अवलोकन भ्रमणपछि कार्यपत्र प्रस्तुतिको कार्यक्रम रहेको थियो । यस क्रममा बालकृष्ण शर्माले सल्यानमा प्रचलित ठाडी भाकाका लोकगीत, डा. गणेश घिमिरेले लोकदोहरी गीतमा दोष, प्राडा. कुसुमाकर न्यौपानेले कर्णाली प्रदेशमा प्रचलित लोकसंगीत, डा. कृष्णराज सर्वहारीले थारू समुदायमा हरेरी पूजाको महत्त्व शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, गायत्री पराजुलीले दैलेख दुल्लूको बालराजा काशीरामको भारत, प्रा. हुमकान्त पाण्डेले कर्णाली प्रदेशका केही धार्मिक स्थलको चिनारी, राजेन्द्र आचार्यले देउडामा पाइने ऐतिहासिक विषयवस्तु, डा. मुुकुन्द शर्माले रुपन्देहीका थारू समुदायमा प्रचलित सीता विवाहको प्रस्तुतिकला तथा गणेशप्रसाद उपाध्यायले दुल्लूको परिचय विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुतिको अध्यक्षता गर्नुभएका प्राडा. कपिल लामिछानेले केही कार्यपत्र मात्र पुस्तकालय अध्ययन अनि यूट्युबका गीतको प्रसंगमा सीमित रहेकाले लोकवार्ता अध्यताले गाउँघरमै पुगेर अध्ययन गर्न सुझाव दिनुभयो । कार्यक्रममा डेउडा गायक रुद्र तिमिल्सिनाले देउडा गीत, दीपक वि.क.ले लोकगीत तथा दुल्लू नगरपालिकाकी उपमेयर विना कार्कीले न्याउला गीत गाएर मनोरञ्जन दिलाउनुभएको थियो ।

कार्तिक ६ गते कालिकोटको मान्ममा अर्को कार्यक्रम रहेको छ । कार्यक्रम कार्तिक १२ गते रारा घोषणापत्र जारी गर्दै समापन हुनेछ ।