झण्डै एक शताब्दी पुरानो, अगाडिको गाह्रो दुवैतिर लामालामा अग्राखका दलिनले अडाएको, कार्नेसमाथि बुद्धको जीवनी चित्रित, तर रङ्ग उडेर ज्यादै अस्पष्ट भएको, मूलढोकाको दुवै खापामा पञ्चरङ्गले ठूलाठूला नेत्राकार लेखेको, त्यहीँ दुईतिर खोपामा गणेश र कुमारको सानोसानो मूर्ति भएको घर थियो कुलनारानको ।
दर्सनढुङ्गामा मूर्ति कुँदेर बिक्रीबाट आएको मुनाफाले ऊ आफ्नो जीवन यापन गर्थ्यो । सानो परिवार ! एउटी बुढिया, छब्बीस वर्षकी एउटी छोरी जसको आजसम्म उसले विवाह गर्न सकेको थिएन, किनभने ‘श्राद्ध गर्न त सजिलो छ, तर सिधा पुऱ्याउन गाह्रो’ भनेझैँ विवाह गर्नुभन्दा भोज खुवाउन मुश्किल भएकोले उसले आन्तरिक बाधा अन्तरङ्गमै लुकाएर राखिछोडेको थियो ।
करीब साठीको कुलनारान, खेसको दौरा, सुरुवाल र मोटो पटुका, कानेटोपी, नाकको डाँडीमा चाँदीको फ्रेमवाल पुरानो चश्मा । बिहान पूर्व उज्यालो भएदेखि बेलुका सन्ध्यासम्म एकचित्त, एक वृत्तिले पत्थरलाई सजीव तुल्याउनमा व्यस्त रहन्थ्यो । कस्तो स्थिर मन ! कस्तो स्थिर आसन । निरन्तर ट्याकट्याक-ट्याकट्याक !
पाटनको ओमबहालको त्यो घर प्रख्यात थियो भावपूर्ण मूर्तिनिर्माणमा- पुर्खादेखि त्यही कलामा जीवन भिजाइआइएकोले ।
आफ्नी स्वास्नीका कानमा लाएको सुनको टुकिचा हीराकाजी तमौटेकहाँ बन्धकी राखेर उसले गोदावरीमा आफैँ गई सिङ्गमरमर ढुङ्गाको एक ढिका छानेर ल्याएको थियो– भगवान् बुद्धको मूर्ति बनाउनको निमित्त । ऊ आजकाल त्यसैमा मस्त थियो, व्यस्त थियो । पत्थरको ढिकामा मूर्तिको खाकासम्म मात्र आएकोले अरू धेरै हप्ताको अनवरत परिश्रमको आवश्यकता देखिन्थ्यो- त्यसमा भाव भर्नलाई, जीवनदान दिनलाई । ऊ शान्त चेहराले पत्थरको अनावश्यक भाग चोइटाइरहन्थ्यो ट्याकट्याक ट्याकट्याक !
प्रतिभालाई त परिश्रमले उपार्जन गर्छ । कुलनारानले आफ्नो बाबु अष्टनारानको अधीनमा रहेर सात वर्षको उमेरदेखि ज्यावल चलाउन थालेको आज सन्ताउन्न वर्षसम्म पनि चलाइरहेकै थियो । पचास वर्षको लगातार परिश्रमले उसको प्रतिभा यति परिष्कृत र विकसित भएको थियो सूक्ष्म, अति सूक्ष्म, सूक्ष्मातिसूक्ष्म कुराको अनुभव पनि उसले हासिल गरिसकेको । पत्थरको यो भागमा यो ज्यावलले यति जोडसित हान्यो भने यत्रो चोइटा खस्छ अनि त्यसबाट यस्तो भाव झल्कन्छ इत्यादि ।
कुलनारानले एकदिन मात्र काम गरिदिएन भने पनि उसका घरसँग जोडिएका दायाँबायाँ घरका मानिसहरूलाई त्यो दिन नै शून्य जस्तो लाग्थ्यो उनीहरू उसकी स्वास्नी तरीमालाई सोध्दथे, “आज कुलनारान भाजू कहाँ जानुभो ?”
त्यो टोलको ऊ एउटा गहना नै थियो । कति कलामर्मज्ञहरू उसको घरको थोत्रो सुकुलमा गएर बसेका र कति अनुसन्धाता विदेशीहरूले ऊसित भेटघाट गरेर कलाको बारेमा विचारविमर्श गरेका थिए । उसको जीवनको अनुभव, उसको हस्तकौशल अर्काले लगे तापनि उसको दुःखचाहिं घाँटीमा झुण्डेको मूँगाको जन्तर जस्तो उसकै साथमा हमेशा थियो । कहिले हकुवा रातो चामलको भात, कहिले सुकेको कर्कलोको झोलमा दुई मूठी पीठो हालेर बनाएको भ्यात्तल !
ऊ बिहान दश बजेतिर सन्झ्यालको बीचमा बसेर तमाखू टुर्रटुर्र तान्थ्यो । अनि टोलेहरू उसलाई सोध्थे-
“कुलनाराँ भाजु !”
“ज्यो ।”
“भान्सा गर्नुभो ?”
“खाएँ ।”
कस्तो निर्दोष । कस्तो सन्तोष !
—
उसकी स्वास्नी तरीमा यो वर्ष कुनै दिन पनि मछिन्द्रको रथ तान्ने जात्रा हेर्न गएकी थिइन्, नरिवल खसाल्ने जात्रामा पनि कानमा टुकिचा नभएकोले । यस कारण भोटो देखाउने जात्रासम्ममा त कुलनारानले जसरी भए पनि त्यो बुद्धको मूर्ति तैयार पारिसकेर बिक्रीबाट आएको रुपियाँले उसले सबैभन्दा पहिले बुढियाको टुकिचा निखनिदिनु परेको थियो । त्यस कारण ऊ बिहान
कागको बोलीमा उठेर सन्ध्यामा लाटोकोसेरोको बोलीमा कामबाट फुर्सत लिन्थ्यो ।
अल्छीलाई दिन जति लामो हुन्छ कलाकारलाई उति छोटो हुन्छ कुलनारानलाई होशै हुँदैनथ्यो त्यति लामो चौंतीस घडीको दिन बितेको । ऊ एकदुई घण्टा बिराएर जब मुख र घाँटी सुकेर आउँथ्यो अमलाको तितौरा सुकुलबाट टपक्क टिपेर मुखमा हाल्थ्यो अनि फेरि उही ट्याकट्याक- ट्याकट्याक !
आजकाल कुलनारान भाजु सिङ्गमरमरमा भगवान् बुद्धको मूर्ति निर्माण गर्न लागेका छन् भन्ने कुरा पाटनभरिका सबै बाँडा, उदासहरूलाई थाहा भयो । उनीहरू बराबर त्यहाँ आएर त्यो मूर्तिको भाव, कला निरीक्षण गरेर आफ्नो आफ्नो मूल्य आँक्तथे । यस्तो प्रकारले त्यो मूर्तिमा जतिजति सूक्ष्म भाव, गम्भीर सौन्दर्यको वृद्धि हुँदै जान्थ्यो, उतिउति उनीहरू पनि त्यसको मोल प्रतिद्वन्द्विताको साथ बढाउँदै जान्थे ।
यस्तै प्रकारले मोलको वृद्धि हुँदाहुँदा दुई सय रुपियाँसम्म पुगिसकेको थियो, तर कुलनारानचाहिं तीन सयमा एक पैसा पनि कम गरेर दिन्नँ भनेर कलाकारको धाकमा, रबाफमा सफासफी जबाफ दिने गर्थ्यो । मूर्ति पूर्णतया समाप्त हुनलाई सम्भवतः अझ बाह्रपन्ध्र दिन लाग्दथ्यो होला ।
यदाकदा राति सुत्ने बेलामा बत्ती पनि निभाइसकेपछि ऊ त्यो मूर्तिको बिक्रीबाट आउने तीन सय रुपियाँको हिसाब यस्तो प्रकारले कल्पनाउँथ्यो- चालीस रुपियाँ हीराकाजीलाई तिरेर बुढियाको टुकिचा निखनिदिन्छु, चालीस रुपियाँ खर्च गरेर भोटो देखाउने जात्राका दिन एउटा भेडो काटेर पारिवारिक भोज गर्छु, बीस रुपियाँ चानचुन खर्च गर्नलाई राख्छु । सय रुपियाँ गइहाल्यो । बाँकी दुई सय चाहिं छोरीको विवाहमा खर्च गर्छु । छोरी पनि खुशी भएर घर गइहाल्छे । मलाई पनि एकजनाको अन्नको किफायतीले केही सुबिस्ता हुन्छ, इत्यादि ।
उसकी छोरी मनमाया वर्ष छब्बीसकी भए तापनि झलक्क हेर्दा तीसबत्तिस वर्षकी जस्ती देखिन्थी । रूप बेसै थियो । बनोट सबै मिलेकै थियो । वर्ण गोरी तैपनि चेहरा उति आकर्षक थिएन । हावभाव, छनकमनक केही नभएको लाटो सौन्दर्य थियो उसको । त्यसैले टोलका ठिटाहरूका आँखा त्यतातिर गएका थिएनन् । ऊ कन्या कुमारी नै थिई, तर विवाहको रहर भने उसलाई चौपट्ट थियो- प्रातःकाल, कुस्ले बाजाको पछि ताशको ओढ्नेले छोपेको डोली चढेर पछाडिपछाडि एउटी बाख्री र चर्खा, उइँटा लगाएर दुल्है बनेर घर जान ।
एकदिन उसको बाबुले कुरैकुरामा यो मूर्ति तैयार भएपछि धेरै रुपियाँ आउँछ अनि त्यसैबाट तेरो विवाह पनि गरिदिउँला भनेको थियो । अतः ऊ त्यो मूर्ति कहिले बनिसक्ला भनेर बराबर हेर्ने गर्थी ।
उसकी आमा, बुढिया चाहिं छोरीको विवाहको कुरा चल्यो कि मुटु ढुक्क पारेर फुलाउँथी- बिछोडको डरले, स्नेहले, फेरि उसले घरको सब कामकाजमा गरेको सहायताको लोभले पनि ।
त्यस्तै चार बजेको समय थियो होला, बुढियाले कपूरपाती ल्याएर बूढाको हातमा दिंदै भनी-
“लौ पर्साद ।”
“केको ?”
“कुन्नि के देउता लगेको थियो अहिले हाम्रो घरमुनिबाट । त्यसैको ।”
“हाम्रो घरमुनिबाट ?” उसले प्रसाद लाउँदै सोध्यो ।
“हो ।” बूढीले दुवै हातले कपाल कन्याउँदै भनी ।
“मैले त थाहा पाइनँ त ।” कामबाट एकछिन विश्राम लिन खोजेको आङ्गिक चेष्टाले उसले भन्यो, “एक चिलिम तमाखु भर् न ।”
“ओहो ! मान्छेहरूको त्यत्रो हूल गएको थियो- ढेमा, भ्याली बजाएर, भजनहरू गाए र। सुन्नुभएन तपाईंले ?” बुढियाले आश्चर्यित भएर सोधी ।
“कहाँ ? के कुरा गर्छे यो । मैले त केही पनि सुनिनँ, थाहा पाइनँ त ।” कुलनारान पनि विस्मित भयो । के भएको त एः यस्तो !
सत्यतः कुलनारानको एकाग्रता, तल्लीनता मानो तुरीयमा पुगेको साधुको झैं थियो । यहाँसम्म कि मूर्ति निर्माण गर्दा सानो चोइटा उछिट्टिएर निदारमा काटेको, रगत फुटेको र त्यहीँ अख्रेर सुकेको समेत ऊ थाहा पाउँदैनथ्यो, कसैले भनिदियो भने अथवा भोलिपल्ट मुख धुने बेलामा याद पाउँथ्यो । उसका निदारभरि सानासाना साधारण खतहरू प्रशस्त नै थिए। तिनैमा उसको मानो कलाको मूल्य, स्वर्णपदक अङ्कित भएको थियो ।
थाहा छैन, कुनै हिसाब छैन, उसले आफ्नो जीवनमा कति गणेश बनायो, कति कुमार, कति सरस्वती, कति देवी, काली, शिव, विष्णु, राम, कृष्ण, बुद्ध । ती सबै मूर्तिहरू स्थानस्थानमा स्थापित भएर ठूलो सम्मानका साथ, पूजनको साथ राखिएका थिए । तर तिनीहरूकै निर्माता, पिता कुलनारानलाई पुछोस् कसले ? ऊ एउटा गल्लीको थोत्रो घरको नाङ्गो चोटामा फ्याँकिइरहेको थियो । आजसम्म संसारमा कहीँ पनि नवजात शिशुलाई च्यापेर प्रसूतालाई फ्याँकेको हामीले सुनेका छैनौँ । बिचरा कुलनारान नै अपवादमा पर्न आयो ।
पहेंलो, अलि भड्किलो, उसको बाजेका पालाको रेशमी पछ्यौरा ओढेर जब कुलनारान यताउति हिंड्थ्यो ठाउँठाउँमा ऊ आफ्नो घरबाट तैयार भएर
निस्केका देवताका मूर्तिहरू देखेर मनमनै हाँस्थ्यो- यसलाई मेरा बाबुले अथवा मैले यो बेलामा यसरी बनाएका हौं । नघुमीकन, नढोगीकन मुसुक्क हाँसेर अघि बढ्दथ्यो । जस्तो कि आफ्नो छोरा या नातिको उच्चपद, सम्मान देखेर उसका बाबु या बाजे मनमनै हाँस्छन्- अस्तिको यो थाङ्ने सिँगाने बालक आज अहिले यस्तो !
—-
श्रावणको महीना प्रातःकालको समय, भर्खर उदाएका बालसूर्यका रातो किरण कुलनारानको कोठाभित्र पसेर, त्यही भगवान् बुद्धको सिङ्गमरमरको मूर्तिमा परेर अद्वितीय सौन्दर्य प्रकाशित भइरहेको थियो । ऊचाहिं एक मनले बडो जतनले आँखामा शान्तिको भाव भर्न लागिरहेको । तल चोकमा, सडकमा मानिसहरू कुरा गरिरहेका, उसैको छानाको कुमपामा एउटा काग नजाने के सन्देश लिएर आएर ‘कागकाग’ कराइरहेको, तर उसले केही सुनेको थिएन । ऊ आज बिहानभरसम्ममा त्यो मूर्ति समाप्त गर्ने भएको थियो । एक प्रकारले समाप्त भइसकेको थियो भने पनि हुन्छ । केवल आँखाबाट इच्छा गरेकै जस्तो शान्तिको भाव निकाल्न मात्र बाँकी । ऊ सानो ज्यावल लिएर अति जतनले, बडो हलुका साथ आँखाको नानीमा शान्तिको ज्यान भर्न लागिरहेको थियो- ट्याक्क ! ट्याक्क !
भात पाकेको एक घण्टासम्म पनि बाबु खान नआएकोले उसकी छोरी मनमाया त्यहीँ आएर जहाँ ऊ आफ्नो शरीरलाई, इन्द्रियलाई समेत बिर्सेर काम गरिरहेको थियो ठूलो स्वरले कराएर भनी- “कति काम गरिराख्या ! भात चिसो भैसक्यो ।”
अकस्मात् छोरीले आएर त्यसरी चर्को स्वरमा कराइदिंदा ऊ झस्याङ्ग झस्क्यो । झस्कँदा, दुर्भाग्यवश सारा जीउ र काम गरिरहेको हात पनि काम्यो र ज्यावल हल्लिएर त्यो मूर्तिको दायाँ आँखाको नानीको चोइटा नै उप्काइदियो !!!
समाप्त भइसकेको मूर्ति, त्यसबाटको आयमा आफ्ना कति कामना भएको मूर्ति, कति परिश्रम, कला र भाव भरिएको मूर्ति अचानक त्यस्तो आकस्मिक घटनाले विरूप विकृत भएको देख्नासाथ उसको मुटु अनायास द्रुत गतिले बेतालमा भड्कन थाल्यो । सारा शरीर कम्पायमान भएर आयो र ऊ त्यहीँ मूर्तिमाथि घुप्लुक्क ढल्यो ! ढल्नासाथ उसकी छोरी जसलाई आफ्नो बाबुको त्यो हालत हुनाको कारण केही थाहा थिएन चिच्च्याएर रुन थाली । बुढिया पनि कहालिएर त्यहीँ आइपुगी । बिचरा कुलनारान चाहिं मुखभरि गजगज फीँज काढेर हिक्कहिक्क गरिरहेको थियो ।
भगवान्ले बचाऊन् त्यस्तो कलाकारलाई ।
भीमनिधि तिवारीका प्रतिनिधि कथाहरूबाट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










