२२ वर्षे फ्रान्सेली युट्युबर इनेस बेनेजजका कारण यतिबेला नेपालको सगरमाथा पुनः चर्चामा आएको छ । उनले बनाएको फिल्म ‘काइजेन’ले युट्युबमा चर्चा त बटुल्यो नै कसैले नसोचेको सिनेमा हलमा ठाउँ पाएर लोकप्रियतासमेत हासिल गर्न भ्याएको छ ।
अहिले यो फिल्म युट्युबमा यो फिल्म दुई करोड ५० लाख पटक हेरिसकिएको छ भने सिनेमा हलमा दुई दिनभित्रै तीन लाख १० हजारभन्दा बढीले हेरिसकेका छन् ।
जबकि त्यहाँका चर्चित कलाकार ड्यानियल आउटेल अभिनित चलचित्र ले फिलले प्रदर्शनीको पहिलो सातामा जम्मा २ लाख १२ हजार दर्शक आकर्षित गरेको थियो ।
फ्रान्स र अल्जेरियाको सहनिर्माणमा तयार भएको अढाई घण्टे यो डकुमेन्ट्री फिल्मले सगरमाथा चढ्नुका समस्यामाथि केन्द्रित रहेको छ ।
यो फिल्म फ्रान्सेली हलमा निकै रुचाइएको कारण खोतल्दै लोरेन विश्वविद्यालयकी सूचना तथा सञ्चार विज्ञानकी प्राध्यापक एनी कोर्डियर भन्छिन्, ‘फ्रान्सले ओलम्पिक खेलमा उति राम्रो प्रदर्शन गर्न सकेन । यसबाट दुःखी फ्रान्सेली जनताले आफ्नो पीडा बिर्सन यो फिल्मलाई अँगाले । उनीहरुले एउटा फ्रान्सेली के
टोको साहसलाई सिनेमा हलमा गएर मज्जाले हेरिदिए । उनीहरुले ओलम्पिकको पीडा यही सिनेमा हेरेर बिर्सिए ।’
चर्चित अखबार ले मोन्डेले इनेसले हिमाल चढ्ने कुनै पनि पूर्व अभ्यास बिना नै सगरमाथा आरोहण मात्र गरेनन्, त्यो चुनौतीलाई उनले जम्माजम्मी एक वर्षे अभियानमै सफल पारे भनी प्रशंसा गरेको छ ।
फिल्म र इनेसको जति चर्चा भइरहेको छ, उति नै आलोचना पनि भइरहेको छ । फिल्मले यहाँ पर्यटकहरुको भिड लागेको भनेर चर्को आलोचना गरिरहेका छन् । उनीहरुले जताततै फोहोर पारेकामा उनले पर्यटकलाई नराम्रोसँग गाली पनि गरेका छन् । तर उनी स्वयं भने त्यही ‘ओभरटुरिजम’को हिस्सा हुँदै अरुलाई गाली गरेको सुहाएन भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । ‘उनको यो फिल्मले उनलेजस्तै बेवकुफी गर्न उक्साउने पक्का छ,’ आरोही तथा फोटोग्राफर पास्कल टुर्नरले द टाइम्स पत्रिकालाई बताए ।
टुर्नर भन्छन्, ‘जब सगरमाथा जस्तो दुरुह पहाड चढ्न तपार्इंले कुनै फिल्ममार्फत अरुलाई उक्साउनु हुन्छ, त्यहाँ बढ्ने भनेको भिड नै हो । उनले सगरमाथा मज्जैले, बिना कुनै दुःख नै चढ्न सकिन्छ भन्ने सन्देश यो फिल्ममार्फत दिएका छन्, जुन गलत हो । हरकोहीका लागि सगरमाथा उनले जस्तै सहजै आरोहण गर्न सक्तैनन् ।’
फिल्ममा एक ठाउँमा इनेस भन्छन्, ‘अक्सिजन लिएर सगरमाथा चढ्नु भनेको टूर डी फ्रान्सजस्तो प्रतिस्पर्धात्मक खेलमा इलेक्ट्रिक बाइकले सहभागी जनाउनु जस्तै हो ।’
टुर्नर भन्छन्, ‘कहाँको टूर डी फ्रान्स र कहाँको सगरमाथा आरोहण, यी दुईबीच तुलना नै हुन सक्तैन ।’
इनेसले आरोहीहरुलाई मात्र रिस उठाएका छैनन्, फिल्म उद्योगका नामी मानिसहरुलाई पनि चिढ्याएका छन् । उनले आफ्नो फिल्मलाई युट्युब र सिनेमाहल दुवैमा एक साथ रिलिज गरेकामा फ्रान्सेली फिल्म निर्माताहरु क्रुद्ध छन् । फ्रान्सले आफ्नो स्थानीय फिल्मलाई जोगाउन ठूलो मात्रामा कर छूट दिने गरेको छ ।
इन्टरनेटमा फिल्म रिलिज गर्नका लागि कम्तीमा पनि चार महिनादेखि २२ महिना कुर्नुपर्छ । त्यसअघि सिनेमा हलमा रिलिज गर्नुपर्ने हुन्छ । सो नियमका विपरीत इनेसले भने आफ्नो फिल्मलाई हल र युट्युबमा एकसाथ रिलिज गरेका छन् ।
‘इनेसले नियम मानेनन् र उल्लंघन गरेका छन्,’ फेडरेसन अफ फ्रेन्च सिनेमाका अध्यक्ष रिचर्ड पार्टी भन्छन्, ‘उनलाई यसका लागि दण्डित गरिनुपर्छ ।’ यो डुकेन्ट्रीको सफलताले भने मुख्य धाराका फिल्ममेकरहरुलाई भने गिज्जाएको केहीको धारणा छ ।
आउनोस्, आज हामी यही फिल्म हेरौँ । यो फिल्म साँच्चिकै गज्जब छ । हेरून्जेल तपाइँलाइ मज्जा आउने छः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 








