देशले रगत माग्यो
रगत दिएँ
देशले मुटु पनि माग्यो
मुटु पनि दिएँ
तर देशले मलाई मानचित्र भित्र राख्न मानेन
एउटा अभागी आमा जहिल्यै
मलाई देशको मानचित्र सोधिबस्छिन्
बिडम्बना म आफ्नै देशभित्र आफ्नै देशको
मानचित्र खोजी रहन्छु
कोही बेला म
मेरो बूढो बाउको
खुइलिएको तालुमा
देशको मानचित्र देख्छु
कोही बेला म
विधवा आइमाईको भत्किएको सिउँदोमा
देशको मानचित्र देख्छु
कोही बेला म
देशको निम्ति बलिदान हुने शहीदहरूको उत्सर्गमा
देशको मानचित्र देख्छु
तर
चिनेन देशले मेरो बूढो बाउलाई
चिनेन देशले विधुवीको भत्किएको सिउँदोलाई
चिनेन देशले बलिदान हुने शहीदहरूलाई
आज देशको मान चित्रमा हराइरहेको छ मेरो गाउँ
गाउँलाई उज्यालो पार्ने बाजेको अनुहार
पुर्खाहरूलाई सम्झने लोक गीत र लोक कथाहरू
साइनोहरू समाल्ने मातृभाषाहरू
हराएको मानचित्र जस्तै भइसक्यो मेरो अनुहार
यो देशभित्र देशले नै चिन्दैन
शरणार्थीको डामहरू बोकेर
आफ्नै देशभित्रै आफैँलाई चिनाउनु पर्ने
बाध्यताको पहाड बोकेर
अझै पनि मेरो मानचित्र हराएको देशमा
म हराएको मानचित्र खोजिरहेको छु।
दार्जिलिङ, भारत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 







