“हैन अब के कुरामा चित्त बुझेन तेरो ? ” बेलुका घरभित्र छिर्न नपाउँदै आमाले झर्कंदै सोधिन् । उसले केही जवाफ दिएन , चुपचाप आफ्नो कोठातिर लम्कियो ।
“एक दर्जन पुगिसक्यो । बुढौतीमा लौरो टेकेर जग्गेमा बस्ने विचार छ कि के हो ?” उसले जवाफ नफर्काएकोमा आमा झन् मुरमुरिन थालिन् ।
“गत्त न पत्तको देखाउँछन् , मनले पनि खानु पर्यो नि ?” ऊ पनि भुतभुताउँदै कोठाभित्र छिर्यो । लुगा पनि नफेरी ओछ्यानमा पल्टियो ।
सधैँ ऊ हेर्न धाउँथ्यो , आज उसलाई हेर्न आएका थिए । उसको सामु दुई नारी आकृति थिए । केही समय निहारे पछि पहिलो नारीले साउती गरी-
“आँखा त बदामे देखिन्छ । “
“कहाँ हुनु अलि टेढो छ । “ दोस्री नारीको जवाफ आयो
“हाँस्दा त सेता दन्तलहर देखिँदा रहेछन् ।” – पहिलो नारी
“खै तिमीले के देख्यौ । मैले त खरायो दाँते देखेँ ।” -दोस्रो नारी
“उचाइ अलि बढी हो कि ?“ – पहिलो नारी
“त्यसैले त मार खायो नि । एउटा बाँस जस्तो अर्को निगालो जस्तो । हाम्री कान्छीलाई जोडा पटक्कै मिल्दैन ।” – दोस्रो नारी
“नमिल्ने भए कुरालाई बिट मारौं न त । किन समय खेर फाल्ने ।“ – पहिलो नारी
उनीहरू टकटकिँदै निस्के । दुवैको कुराले उसलाई चिटचिट पसिना आयो ।
‘हैट ! बिहानीपखको सपना सत्य हुन्छ भन्छन् कतै…’ पसिनाले लतपत अनुहार पुछ्दै हत्त न पत्त उठेर ऐना हेर्न पुग्यो । लमिनीहरूले लगाएको जस्तो खोट त देखेन तर अरूलाई खोट लगाउने उसका ओठ थरथराइ रहेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










