चेतना र गौरवको
अर्थपूर्ण संयोजन गरी
सन्तानका लागि
ब्रम्माण्डझैँ फराकिलो
भावात्मक शब्दबिम्ब बनेका छन्
‘बा’
सन्ततिका लागि ‘बा’
सुरक्षाकवच हुन्
बोली वचन र लवज हुन्
भरोसाका आधार हुन्
सिँचाइका जलाधार हुन्
अभावका पूर्ति हुन्
विश्वासका प्रतिमूर्ति हुन्
शीतलताका छहारी हुन्
हिम्मतिला प्रहरी हुन्
चेतनाका मूल हुन्
सिर्जनाका फूल हुन्
‘बा’
सदैव–
कष्ट छेक्ने छाता हुन्
परिचयका खाता हुन्
श्रमका खानी हुन्
संस्कार, संस्कृतिका खानी हुन्
ऊर्जा र हौसला
सीप र कला
सबैसबैभित्रका
मूल रसायन हुन्
‘बा’
आकाशको उचाइ
समुद्रको गहिराइ
ब्रह्माण्डको चौडाइ
वा जस्तोसुकै उपमा पनि
सजिलै सुहाउने
‘बा’
हिमालझैँ अग्लन
हिउँझैँ पग्लन
नदीझैँ बग्न र
सागरझैँ जम्न सक्छन्
‘बा’
प्रकृतिमा चेतनाबीज छरी
सृष्टिको बिजारोपण गर्ने
जीवनकै सृष्टिकर्ता
बिघ्नहर्ता,
पालन, पोषण
र भविष्य निर्माणकर्ता हुन्
‘बा’
खाना, छाना र नानामात्र कहाँ हुन् र
जीवनका पानापाना हुन् ‘बा’
मात्रै एक अक्षरले बनेका
अमर महाकाव्य हुन् ‘बा’
अजर, अमर महाकाव्य हुन्
‘बा’ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२० असार २०८३, शनिबार 










