साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई नेपालबाहिरको नेपाली साहित्यको अध्ययनमा होमिएका लेखक दीपक सुवेदीको नवौं कृति “हङ्कङको नेपाली साहित्य र अन्य समालोचना” प्राप्त भएकाे छ ।

२ सय २८ पृष्ठमा बुनिएको प्रस्तुत खोज–अनुसन्धानमूलक कृतिमा ‘हङ्कङको पृष्ठभूमिमा नेपाली साहित्य र स्रष्टा’, ‘कथा तत्त्वको आधारमा ‘माछाको मोल’ कथाको विश्लेषण’, ‘सङ्कथन विश्लेषण र युरेसियाको स्पर्श’, ‘हङ्कङ, नेपाली डायस्पोरा र टाँकीका फूलहरू’, ‘डायस्पोरा र परदेशी साहित्यको सीमाङ्कनमा बहस’, ‘युग्मकको इतिहास, सैद्धान्तिक रूपरेखा र मनका पाहुना’, ‘कथाकार बाँस्कोटा धनञ्जयका कथागत प्रवृत्तिको निरूपण’, ‘नाट्य तत्त्व र मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ नाटक’, ‘कृष्ण अविरलको ‘करिया’ उपन्यासमा ऐतिहासिकता’, ‘लैनसिंह बाङ्देलको ‘लङ्गडाको साथी’ उपन्यासमा पर्यावरण’, ‘’तरुण तपसी’ मा पूर्वीय दर्शनको प्रभाव’, ‘‘समयका रेखाहरू’ कथामा करुण रस’ १२ थान आलेख समाविष्ट छन् ।

“बसोवास बाक्लिन थालेपछि आफ्नो अस्तित्वको लागि भाषा, साहित्य तथा अन्य गतिविधिहरूमा नेपालीहरू यहाँ आफू कसरी स्थापित हुने भन्नेतर्फ केन्द्रित हुँदै गए। सन् १९९७/९८ मा नेपाली स्रष्टाहरूले साहित्यिक संस्थाको आवश्यकता महसुस गरी हङ्कङको मिनीचुङ्किङ अगाडि भएको एक भेलाले नेपाली साहित्य प्रतिष्ठान बनाउने निर्णय गरेपछि यहाँको नेपाली साहित्य संस्थागत रूपले अगाडि बढेको पाइन्छ ।” नेपाली साहित्यको प्रारम्भमा लेखिएको छ, ‘बेलायत र चीनको सम्झौता मुताबिक कयौँ वर्षदेखि बस्दै आएका ब्रिटिस सेनाहरू इ. सं. १९९७ जुलाई १ देखि पूर्णरूपले हङ्कङलाई छोडेर गएपछि नेपाली बेलायती लाहुरेद्वारा प्रकाशित ‘पर्वते’ पत्रिका पनि बेलायत नै गए पनि इ.सं. १९९४ जतिखेर नेपालीहरू हङ्कङ भित्रन थाले, त्यसै समयदेखि नेपाली साहित्य हङ्कङको पृष्ठभूमिमा प्रवेश गरेको पाइन्छ ।”

विश्वसाहित्यको अध्ययन गर्दा धेरै मुलुकका विकसित भाषामा सिर्जनाको भन्दा समालोचनाको विकास पछिमात्र भएको पाइन्छ तापनि यसको थालनीको इतिहास संस्कृत र ग्रिसेली परम्परामा दुई हजार वर्षभन्दा प्राचीन देखिन्छ । संसारका विकसित भाषाका समालोचनाका सापेक्षतामा नेपाली समालोचनाको इतिहास त्यति पुरानो नदेखिए पनि यसले सवासय वर्षभन्दा बढी व्यतीत गरिसकेको छ। यस अवधिमा यसका अनेक प्रकार, पद्धति र प्रवृत्ति विकसित भएका छन्।

“नेपाली समालोचनाको थालनी मोतीराम भट्टकृत कवि भानुभक्त आचार्यको जीवन चरित्र (१९४८) देखि भएको मानिएको छ। सूर्यविक्रम ज्ञवालीको नैवेद्य समालोचना प्रकाशनपछि जीवनीपरक, ऐतिहासिक, मनोविश्लेषणात्मक, प्रगतिवादी, शैलीवैज्ञानिक इत्यादि प्रकारका पूर्वाधुनिक तथा आधुनिक समालोचनाका साथै उत्तर आधुनिकतावादी प्रवृत्तिका समालोचनासमेत लेखिएका छन् । यसरी नेपाली साहित्यमा समालोचनाको कमी छैन। यो आफ्नै गतिमा अगाडि बढ्दै गएको छ ।” दीपक सुवेदी उल्लेख गर्छन्, “समालोचना पाठक र कृतिबिचको सम्बन्ध सोपान हो। यसमा एउटै व्यक्तिले लेखेर सबै विषय समेटिन सक्दैन वा विधा र क्षेत्रको प्रतिनिधित्व हुन सक्दैन । मैले यससङ्ग्रहमा मनमा लागेका भावनाहरू टिप्पणीको रूपमा मात्र प्रस्तुत गरे जस्तो लाग्दैन । प्रस्तुत पुस्तकका लेखहरू फरक समयमा फरक प्रयोजनमा लेखिए तापनि प्राज्ञिक रूपले अध्ययन र विश्लेषण गर्न पनि सहयोग पुग्ने उद्देश्यले यहाँ प्र प्रयास गरेको छु ।”