बिम्ब विधान समकालीन कविताले परम्परागत, निश्चित मान्यता अनि सीमाहरूबाट मुक्ति खोजिरहेछ । पुराण र वेदले निर्माण गरेको मिथहरूले कवितामा बिम्बको रूपमा कति स्थान पाए कति ! अब उपेक्षित, तिरस्कृत र सीमान्तकृत समुदायमा प्रचलित मूल्य र मिथहरूले पनि कवितामा बिम्बका रूपमा आफ्नो स्थान खोजिरहेछन् । यस्तो बिम्ब विधानमा निक्कै परिपक्व र पोख्त हैसियतका साथ समकालीन काव्य क्षितिजमा आफ्नो स्पेस बनाइरहेका छन्, कतिपय कविहरू । उनको यस्तो हस्तक्षेपकारी काव्यिक उपस्थितिले सीमान्तकृतहरूको अनुहारमा एक झुल्को उज्यालो देखा परेको छ । चनाखा भएका छन्, आशावादी आँखाहरू ।
इतिहासको एक कालखण्डमा लिम्बुवानमा पोमुहाङ नामका राजा थिए । एकपटक सान्थाक्रा क्षेत्रका राजा सेरेङहाङलाई उनका शत्रुहरूले चुनौती दिँदा सेरेङहाङ पोमुहाङकहाँ सहयोग माग्न पुगेका थिए । पोमुहाङले थाक्मिया र मुरेगन नामका दुई सुरवीरको नाम सिफारिस गरेर उनीहरूको सहयोग प्राप्त भए युद्ध सजिलै जितिनेछ भन्ने सल्लाह दिए । अन्ततः थाक्मिया र मुरेगनको सहयोगमा सेरेङहाङले आफ्नो शत्रुको सर्वनाश गराए ।
आज समय बदलिएको छ । हिजो धनुकाँड, ढाल तरबार बोकेर राज्यको रक्षाका लागि हिँड्ने उनै पोमुहाङका सन्तान पराजित पोमु कलम बोकेर काव्यिक क्षितिजमा आशा र भरोसाको किरणका रूपमा चम्किरहेका छन् भने थाक्मिया र मुरेगनका सन्तति यो लेखक कवि पोमुको आशालाग्दो काव्यिक उपस्थितिमा उकेरा लगाउने उद्देश्यका साथ उत्साहित हुँदै आज चर्चाको चोत्लुङ उठाइरहेछ ।
कवि पोमुको कविताका लयहरूमा भेटिने सर्वोत्तम वैशिष्ट्य भनेको लिम्बूहरूको मुन्धुमी बिम्बहरू नै हो । यस्ता बिम्ब विधानको परिपक्व प्रस्तुतिले पोमुलाई एक अपराजित कविका रूपमा स्थापित गरेको छ । तर यी कविको न्वारान चाहिँ कसरी ‘पराजित’ हुन पुग्यो ? यो प्रश्न अहिलेसम्म अनुत्तरित छ ।
० ० ० ०
राती १ बजे खुलेको निद्रा
पराजित पोमुको जन्म अर्ग्यानिक लिम्बुवानी गाउँ ताप्लेजुङको नेग्रादेनमा भयो । सुवाङ्गी परम्पराले गाउँ सजाउँदै मुन्धुमी लयमा माङ्गेना जगाउँदै हाक्पारे, ख्याली, पालामको भाकासँगै माया पिरती साट्दै अनि च्याब्रुङ र धाननाचको तालमा उन्मुक्त रमाउँदै रस्ती रसाउने र बस्ती बसाउने आदिवासीहरू हुन्, लिम्बूहरू । तर समयले मौलिकताको लयलाई तितरबितर बनाइरहेछ । उनीहरूलाई आफ्नो आदि थातथलोबाट अलगथलग बनाइरहेछ । कवि पराजित पोमुलाई पनि समयको हुरीले नेग्रादेनबाट हुत्त्याएर लामै समय परदेशी बनायो ।
जीवनको बाजी मार्न परदेशमा पसिनाको गीत गाउँदै दुःख बेसाएरै पनि थातथलोलाई आफ्नो हृदयको अन्तरकुन्तरबाट विस्मृत नबनाउनु नै कवि पोमुको काव्यिक विशेषता हो । आफ्नो आदि थातथलो छाडेर निक्कै लामो समयसम्म परदेशी जीवन बिताए पनि कवि पोमुले आफ्नो पूर्वजले भस्मे फाँडेर मलिलो बनाएको माटोको सम्झनाले उनलाई एक ऊर्जाशील कवि बनायो । मुन्धुमको लयले सिर्जनाको माङ्गेना उठ्यो ।
आखिर उनको छातीभित्र कहाँ हल्लिरहेछ र धातुको टुक्रा । उनले आफूभित्रको मानवीय संवेदनशीलता रत्तीभर तलमाथि हुन दिएनन्, परदेशी जीवनको दुष्चक्रले निम्त्याएको यान्त्रिक बाध्यताहरूमा पनि ।
त्यो हृदय सामान्य हृदय पनि होइन, कवि हृदय हो । अझ कवि पोमुको हृदयमा सलबलाएका कविताहरूमा रैथाने दार्शनिक र ऐतिहासिक बिम्बहरू बिम्बित हुनुले कवि पोमु कर्तव्यबोधको प्रमाणप्रमेय लेखनमा अभ्यस्त छन् । यो त हामी आफ्नो छातीमा दाहिने हात राखेर दाबी गर्न सक्छौँ ।
कवि पोमुको कविताको एउटा वैशिष्ट्य मुन्धुमी बिम्ब हो भन्ने चर्चा उनको यो चोत्लुङमा गरिनेछ ।
वास्तवमा फेदाङ्मा, येवा, येमा तथा साम्वा लिम्बू समाजका कविहरू नै हुन् । त्यसैले लिम्बू समाजमा कविताको परम्परा त उहिल्यैदेखि सुरु भएको रहेछ भन्नलाई कुनै आनीकानी गर्नै पर्दैन । तर मुन्धुमले गेयात्मक श्रुतिशास्त्रका रूपमा युगौँयुग गुजार्यो ।
यसलाई बिम्बका रूपमा टपक्क टिपेर थपक्क आफ्नो काव्य सिर्जनामा राख्नु पनि कहाँ सजिलो छ र ? तर अग्रज मुन्धुमविद् वैरागी काइँलाहरूले समकालीन पुस्ताका लागि सजिलो बनाइदिए । मुन्धुम सङ्कलन गरिदिएर, अझ त्यसलाई लिप्यान्तर मात्र नभई आवश्यक व्याख्या समेत गरिदिएर । मुन्धुमी बिम्बहरूको उज्यालोले सप्तरङ्गी इन्द्रधनुषी नेपाली समाजलाई सम्बोधन गर्ने कवि पराजित पोमुको चर्चाको चोत्लुङ उठाइरहँदा अलिकति वैरागी काइँला र पद्यात्मक गेयरुपी मुन्धुम सङ्कलन, अभिलेखीकरण र लिप्यन्तरको ऐतिहासिक पृष्ठभूमिको पेटारो किन नखोल्ने ? अलिकति त्यसतर्फ पनि चर्चा गरौँ ।
प्रसङ्ग वैरागी काइँलाको पाँचथर, सारतापस्थित जन्मघरबाट सुरु गरौँ ।
त्यति बेलासम्म वैरागी काइँलाको उपस्थिति आयामेली कविका रूपमा देखा परेकै थिएन । उनको ओठमा जुँगाको रेखी पलाउँदै गर्दा २०१२ सालमा लन्डन युिनभर्सिर्टीको स्कूल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टिडजका प्राध्यापक आर. के. स्प्रिग अध्ययनका क्रममा नेपाल आएका थिए । उनी वैरागी काइँलाकै घरमा एक महिना जति आफ्नी श्रीमतीसहित पाहुना लागेका थिए । उनले तत्कालीन इन्डिया अफिस लाइब्रेरीमा बी. एच. हज्सनले सन् १८६४ तिर सङ्गृहीत गराएका लिम्बू लिपि, भाषा, मुन्धुम, संस्कृति, इतिहाससम्बन्धी लिम्बू लिपिमा लिपिबद्ध हस्तलिखित पाण्डुलिपिको छायाप्रति पनि आफ्नो साथमा लिएर आएका थिए । प्रा. स्प्रिगले ती कागज देखाउँदै वैरागी काइँलाको ध्यान तान्न खोजे, तर उनको ध्यान त्यसतर्फ खिचिँदै खिचिएन । उनी त त्यस बेला खस नेपाली भाषामा लेखिने कविताको मोहले थिचिएका थिए ।
पछि २०१८ सालमा इमानसिंह चेम्जोङले प्रकाशमा ल्याएको किरात मुन्धुम (‘किरातको वेद’) मा उनको आँखा पर्यो अनि पो घैँटोमा घाम पर्यो वैरागी काइँलाको । त्यसपछि माइलस्टोन सावित भयो, येवा दलबीर नायम फागुसँगको भेट वैरागी काइँलाको लागि ।
० ० ० ०
कुरा पर्यो, २०३३ सालको
वैरागी काइँला झापाको खुदुनाबारीबाट आफ्नो घरगाउँ पाँचथरको सारताप हिँडेका थिए । बेलुकी इलाम बजार, सुन्तलाबारीस्थित आफ्नी साइँली छेमाको घरमा उनको बास पर्यो । थकित भएर उनी सुतिरहेको बेला अचानक रातको एक बजेतिर कसैले गाउँदै गरेको मीठो आवाजले उनको कानलाई स्पर्श गरेपछि उनी ब्युँझे । उनको त्यहीँ रातको ब्युँझ्याइले मुन्धुमी ज्ञानको क्षितिजलाई गम्भीरतापूर्वक नियाल्न कैयौँलाई आज तोङ्वाले लगाएको निद्रा खोलिदिएको छ । मुन्धुमी चेतनाको झर्के थाल बज्न पुग्दा उनीहरूको मस्तिष्कको तन्तु हल्लन पुगेको छ । सांस्कृतिक पुनर्जागरणको युगमा छ, यतिखेर लिम्बू समाज ।
त्यो रातको चकमन्नतामा येवाले गाएको मीठो लयबाट निद्रा खुल्न पुग्दा वैरागी काइँला केही तलको मामाको घरमा झरे । त्यहाँ चलिरहेको थियो, एक राते तङसिङ । साह्रै मीठो स्वरले मुन्धुम गाउँदै थिए, ती येबा । उनले बिहानसम्म बसेर येबाले गाएको मुन्धुमलाई धमाधम टेप रेकर्ड गराए ।
मुन्धुमको अध्ययनको सिलसिलामा आफ्नो घर झापाको खुदुनाबारीमा २०३४ साल मंसिर ८ देखि ११ गतेसम्म तीन राते तङ्सिङ्को आयोजना गरे । वि.सं. १९६० भदौ २९ गते जन्मेका येबा दलबीरको जन्मस्थल मैवाखोला इलाका थादिङ् गाउँ चैनपुर हो । पछि उनी इलाम जिल्लाको नाम्सेलिङ गाउँमा बसाइँ सरेका थिए । उनको यगाप्ची रामप्रसाद याक्खा थिए । येबा दलबीरले गाएको मुन्धुम सो अवसरमा टेप गरेर पछिबाट आलेखन गरी सम्पादन गर्ने सिलसिलामा उनीसँग काइँलाले पटक पटक भेट र छलफल गर्ने काम पनि गरे ।
येबा दलबीर बाहेक अन्य जानकार येबाहरूको खोजी गर्दा याङ्रोक निवासी हाल झापाको खुदुनाबारीमा बस्ने वीरबहादुर खेवाङ लिम्बूसँग भेट भयो, उनको । यिनै वीरबहादुर नै पछिबाट वैरागीका माइला दाजु डिल्लीविक्रम नेम्वाङको घर झापाको खुदुनाबारीमा वि.सं. २०४९ माघ १६ देखि १९ गतेसम्म तीन राते तङसिङको आयोजना गर्दा मुख्य येबा थिए । येबा वीरबहादुरसँग येबा दलबीरले गाएको मुन्धुमको पाण्डुलिपि र उनी आफैले गाएको मुन्धुमको पाण्डुलिपिमाथि व्यापक छलफल भई तुलनात्मक अध्ययनका साथ संशोधन तथा सम्पादन गर्ने कार्य वैरागी काइँलाले गरे । यी अमूल्य सम्पदाहरूलाई वैरागी काइँलाले बडो मेहनतसाथ सिरिजङ्गा लिपिमा लिप्यन्तर गरे । आज वैरागी काइँलाको हातबाट ठेलीका ठेली मुन्धुमी किताब त्यतिकै निस्केका होइनन् । सानो मेहनतले मुन्धुमविद बनेका होइनन्, वैरागी काइँला । आज उनै आस्थाका फक्ताङलुङ वैरागी काइँलाका प्रेरणादायी बुद्धि र मेहनतसामु नतमस्तकपूर्वक सेवाढोग गर्दै समकालीन कविहरूलाई मुन्धुमी बिम्बहरू टिप्न काफलगेडीसरह सहज हुन पुगेको छ । यो उत्साह अभूतपूर्व छ, अनि स्वागत योग्य पनि ।
यसै सेरोफेरोमा मुन्धुमी बिम्बहरूसँग खेल्दै समकालीन काव्य जगतमा कवि पराजित पोमुको हस्तक्षेपकारी उपस्थिति देखा परेको छ । यस्ता बिम्ब विधानका कविताहरूले नै सप्तरङ्गी इन्द्रधनुषी नेपाली समाजको सजावटमा आयाम थप्छ । अब मखमली र सयपत्री मात्रै फुलेर पुग्दैन, नेपाली समाजमा बेली र चमेलीहरूले पनि आफ्नो महक छर्न पाउनुपर्छ । यसले समाजको आयतन बढाउँदै लैजान्छ ।
० ० ० ०
यो समय कसको हो ?
समकालीन नेपाली तन्नेरी पुस्ताले मरिहत्ते गरेर आँखामा सजाउने औसत सपना हो, परदेश । यस्तो लाग्छ, परदेशी माटोमा झाँगिएका बोटहरूमा पहेँलपुर ऐसेलु झाँगिए झैँ पैसा फल्छ, जसलाई टप्प टप्प टिप्न सकियोस् । यस्तै अवसरको ऐसेलु टिप्न पराजित पनि लामै समय दक्षिण कोरियामा बसे । उनले त्यहाँ कति ऐसेलु टिप्न भ्याए, कसरी फलाउने यस्तो जिज्ञासाको झोली उनीसमक्ष ? यो त प्रसङ्ग बाहिरको कुरा भयो ।
तर सबैले देख्ने गरी कोसेलीका रूपमा उनी र उनका सर्जक साथीहरूले तीन वटा महत्त्वपूर्ण साझा काव्यकृति हामी पाठकसमक्ष समर्पित गरे, “यो मेसिनको सहर हो”, “भुइँमान्छेको आवाज” र “इतर आवाज” ।
ल्यू सुन भन्छन्, “कामदार वर्गले उत्कृष्ट लेखन गर्न सक्दैन । किनकि उनीहरूलाई कामकै चिन्ता बढी हुने र उनीहरूको शरीर पनि थकित हुने हुनाले उत्कृष्ट सिर्जनाका लागि उनीहरूलाई न सोच्ने समय हुन्छ, न लेख्ने फुर्ती !”
तर ल्यू सुन महोदयको समय होइन यो । यो त पराजित पोमुहरूको समय हो ।
समयले नेटो काटिसकेको छ । बाध्यताले अवसरको ऐसेलु टिप्न विदेशमा खोलाका खोला पसिना बगाइरहेका पराजित पोमुहरूले विदेशमा पसिनाको गीत मात्रै गाएनन्, सिर्जनाका रङहरूले आफ्ना अमूल्य क्षणहरूलाई उत्सवमय पनि बनाए । मेसिनसँग खेल्दै मेसिनमय भएको आफ्नो भौतिक काया एकैछिन आरामको खोजीमा निस्कँदा सिमलको भुवाजस्तै हावामा उडिरहेका आफ्ना अनुभूतिहरूमा बडो महत्त्वका बिम्ब र प्रतीकका रूपमा फेला पारे । उड्दै उड्दै कतै बास खोज्न निस्किएका सिमलका भुवारुपी आफ्ना अनुभूतिहरूलाई आफैसँग समालेर राखे । अनि त उनीहरूको समवेत स्वर गुञ्जियो, “यो मेसिनको सहर हो” (२०७८) ।
त्यसैले भन्न सकिन्छ, यो ल्यू सुन महोदयको समय होइन, यो त पराजित पोमुहरूको समय हो ।
राज्यसत्तामा छन्, बारुला र अरिङ्गलहरू । महको खोजीमा मौरीहरू परदेसिएका छन् । पराजित पोमुहरूलाई देशले धकेल्दै धकेल्दै लगेर सीमान्तमा पुर्याएको दृश्य कतै छुपेको छैन । यो दृश्य त हाम्रो दृष्टिविन्दुले सतहमा देख्ने अवसर पाएकै छ । हुँदा हुँदा उनीहरू देशको सिमाना कटेर परदेशी हुन पुगे र परदेशमा उनीहरूलाई मेसिनमय जिन्दगी बाच्न विवश बनायो ।
तर कविहरूलाई अन्याय मान्य हुन सक्दैन । कविहरूलाई अत्याचार सहृदय हुन सक्दैन । यस्ता दलन मलनप्रति शून्य-सहनशील कविहरूको हृदयको अन्तरकुन्तरबाट गुञ्जिने ध्वनीहरू मार्फत् उनीहरू भागवतमा निर्भीकतापूर्वक उभिन्छन् । परिणामतः “इतर आवाज” (२०७६) जस्ता सिर्जनाका अमूल्य काव्यकृतिले प्रकाश पाउँछ ।
यस्तो लाग्छ, पराजित पोमुहरूको शब्दकोशमा “थकाइ” भन्ने शब्द नै छैन । अवसादमुक्त छन् उनीहरू, र त उचालिन्छन् उत्साहले पाइलाहरू । तथाकथित मूलधारबाट मूल्य नपाएका स्रष्टाहरू हुन्, कवि पराजित पोमुहरू । याम्विरी यङधङजस्तै कञ्चन र पवित्र प्रवाह बग्ने उनीहरूको सिर्जनात्मक प्रस्फुटनलाई बागमती र विष्णुमतीको जस्तो हरक आउने तथाकथित मूलधारले मूल्य नदिएकै उत्तम लाग्छ । यहीँ मूल्यको कसीमा कवि पराजित पोमुहरूले “भुइँमान्छेको आवाज” (२०७९) आफ्ना प्रिय पाठकहरूको हातमा पाहुर थमाए ।
त्यसैले यो पृथ्वीनारायण साहकालीन भाट कवि ललिता वल्लभको समय त हुँदै होइन, यो समय त दलन मलनप्रति शून्यसहनशील कवि पराजित पोमुहरूको समय हो ।
यी अर्थपूर्ण कविताकृति प्रकाशनका लागि उनीसँग काँधमा काँध मिलाउने कविहरू हुन्, उत्तम खजुम, मातृका नेम्वाङ, सुरेशसिंह सम्बाहाम्फे, सुष्मा रानाहाँमा, कृष्ण किरात, डम्बर सुब्बा, दिपा मेवााहाङ, खोम गुरुङ, बलिन्द्र योङहाङ, खेम पुन मगर, शकुन आँसु, दिलिप बान्तवा, सेसेफुङ सेर्मा, हाङसेम गणेश, जीवन खत्रीलगायत ।
कवि पराजित पोमु र उनका समवयी र सहकर्मी स्रष्टाहरू वास्तवमा भुइँमान्छेहरू नै हुन् ।
यहाँनेर गौतम बुद्धको एउटा प्रसङ्ग जोड्न आवश्यक ठानियो । एक दिन बुद्ध आफ्ना भक्तहरुलाई उपदेश दिइरहेका थिए । उनीहरूमध्ये एक जनाले सोधे,“तथागत, तपाईँ किन आसनमा नबसी भुइँमा बसेर उपदेश दिनुहुन्छ ?”
त्यतिखेर बुद्धले भने, “भुइँमा बसेपछि त्यहाँभन्दा तल झर्नुपर्दैन ।”
हो, यसै प्रसङ्गमा पराजित पोमुहरूले प्रकाशमा ल्याएको “भुँइमान्छेका आवाज” (२०७९)लाई सार्थकतापूर्ण सिर्जना मान्न सकिन्छ ।
० ० ० ०
“अप्पो दीपो भवः” को मूल्य
कवि पोमुका आफ्ना कोही पनि पूर्वजले खस नेपाली भाषाबाट सिर्जनाको संसार चियाउने कर्म गरेनन् । तर उनीहरू मातृभाषाबाट मुन्धुम, हाक्पारे, ख्याली र पालामजस्ता पद्यात्मक गेय निकाल्ने आशुस्रष्टाहरू थिए । यद्यपि मातृभाषाका लागि शासन सत्ताबाट क्रमैसँग समर्थन र सहानुभूति दुरूह बनिदिँदा कवि पराजित पोमु खस नेपाली भाषाको अनुसरणमा पर्नु पर्यो । यहीँ भाषाबाट उनले सिर्जनाको संसार चियाउँदाखेरि मातृभाषा र मुन्धुमी बिम्बहरूलाई आफ्नो कविताको आत्मा बनाए । परिणामतः परदेशमै बसेर उनले दुई मौलिक कृतिहरू पाठकसमक्ष प्रस्तुत गरे, “लेप्मुहाङको डुङ्गा” (२०७३) र “मद्वारा मेरो निर्माण” (२०७९) ।
लिम्बू मुन्धुममा सोधुगेन लेप्मुहाङको स्थान उच्च छ । उनले पृथ्वीमा भयङ्कर जलप्रलय हुँदा एउटा डुङ्गा निर्माण गरी त्यसलाई फक्ताङलुङको टुप्पामा बाँधेर अड्याई मानिसहरूलाई उद्धार गरेको प्रसङ्ग मुन्धुममा आउँछ । यसरी सोधुगेन लेप्मुहाङलाई केन्द्रमा राखेर उनले पहिलो कविता सङ्ग्रह पाठकसमक्ष प्रस्तुत गरे ।
यहाँ सागर तर्ने ज्ञान नहुनेलाई
डुङ्गा चलाउन दिइएर
दलदलमा फस्दैछन् हाम्रो मूल्य
डुबिरहेछ हाम्रो आँगन इक्सागेन खाम्बेक
आऊ लेप्मुहाङ
नयाँ सपनाका डुङ्गाहरू बनाऊ
अ–मान्छेहरूलाई त्यहीँ फालेर
सुन्दर, सचेत मानिसहरूलाई उद्धार गरिदेऊ ।
(लेप्मुहाङको डुङ्गा)
जस्तोसुकै भीडबीचमा पनि त्यो नितान्त मानिस एक्लो हुन्छ, जब उनले आफूमा आफैलाई पाउँदैन । गौतम बुद्धले भनेका छन्, “अप्पो दीपो भवः” अर्थात् आफ्नो दीपक आफै बन । पराजितले भनेजस्तै आफ्नो निर्माण त आफैले गर्ने हो । आफ्नो अवरोध त आफैले पन्छाउने हो । उनी लेख्छन्,
साँघुरा छन् हिँड्ने बाटाहरू उसै
वासाङ भिरेर
तीन तियाली तीन वाचा कसेर
झर्के थालले चिर्नुछ, सम्याउनुछ अवरोधहरू ।
(मद्वारा मेरो निर्माण)
औचित्य सकिसकेको छ भने त्यसलाई भत्काउने र नयाँ निर्माण गर्ने हो । बलजफ्ती लादिएको छ भने त ऐजेरुरुपी त्यस्ता मान्यतालाई पनि भत्काउने हो । डेरिडाको विनिर्माणवादी मूल्यमा पनि मुन्धुमी बिम्ब स्थापनार्थ कवि पोमुको कलम दौडेको पाइन्छ,
उहिले–उहिले
पाम्ना भाषा पढ्न–लेख्न जान्नेहरू
महाकवि, आदिकवि, आशुकवि भए
अलिअलि मिक्फुला भाषा जान्नेहरू
कविसम्म भए
दुवै भाषा नबुझ्ने–आफ्नै भाषाका मानक हामी
दुधिलोको हाँगामाथि चढेर पिपिरी बजाउँदै
विचारका अनेक रङ्ग घोलेर
विनिर्मित पूर्ण चित्र कोरिरहेछौ–मौलिकताको !
(शालिक)
परदेशमा बस्दा घरदेशको सम्झनाले भुतुक्कै हुनु र यस्ता सम्झनाका तरेलीहरूलाई कविताको बान्कीमा सजाउनुले आफ्नो माटोप्रति स्नेहको प्रकटीकरणलाई सहज बनाउँछ । र त त्यस्ता कविहरू अवसादमुक्त भएर कवितामा सलल बग्न सक्छन् । कवि पोमुले घरदेशप्रेमका साथ उठाएको मायाको माङ्गेना यस्तो छ,
म भिर्छु काँधमा धनुकाँड
मट्याङ्ग्रा तिमी बोक
सिकार खेल्दै बँदेलको
सेकुवा पोली खाऔँ ढुङ्गाको ताप्केमा
तिम्रो हातले छानेको तीनपाने रक्सी स्वाट्टै पारेर
मेन्छ्यायेम डाँडाको चुच्चोमा निस्कूँ
पर परे…सम्म फैलिएको पृथ्वी फैलिएर दृष्टिभरि
तुत्तुतुम्याङ सावा यत्हाङ साक्षी राखेर
प्रेमको तङ्सिङ गरौँ
मायाको माङगेन्ना उठाऔँ-नसोचेको कहाँ हो र नायुमा
खै के–केले अल्झाई बस्छ यो परदेशमा ।
(नायुमा)
उनका यी सबैजसो सिर्जनाहरू परदेशमै बसेर सिर्जित भएका हुन् । परदेशमा बसेर गरिएका भए पनि यी सिर्जनाहरूमार्फत् कवि पराजित पोमु इम्विरी यङधङको गतिमान र पवित्र प्रवाहजस्तै सिर्जनाको लयमा बगिरहेका देखिन्छन्, कहिले गडगडाउँदै, कहिले सुशान्त । मुन्धुमी बिम्बहरूका जगमगाउँछन्, त्यसैले त उनी उक्लँदा पनि आफ्नै माटोको उकालीमा, ओर्लँदा पनि आफ्नै माटोको ओरालीमा भेटिन्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 










