वसन्तको बहाव
विश्वविमोहन श्रेष्ठ
वसन्त दाइको साथ र साहचर्यले मेरो जीवनमा धेरै ठुलो अर्थ राख्दछ । ‘एउटा मान्छेको मायाले कति …’ गीतका भावहरू झैं उहाँको असीमित प्रेमको वर्षा ममा भएको म अनुभूत गरिरहेको हुन्छु ।
थोरै पूर्वस्मृतमा हेलिन चाहें म । मैले विसं २०२८ सालमा तेह्रथुमकै स्कुलबाट एसएलसी दिएँ । त्यो आफैमा एउटा बलियो र महत्त्वपूर्ण खुड्किलो थियो, जीवनयात्राको । परीक्षापछि नतिजाको पर्खाइ रह्यो ।
त्यसको नतिजा २०२९ सालमा आयो । र, यहीँबाट मेरो बाटो पनि अर्को मोडमा मोडिन गयो । अर्थात्, उच्च शिक्षा अध्ययनका लागि म त्यस उप्रान्त राजधानीतर्फ लागें । म अर्को उचाइतिर उक्लिएँ ।
काठमाडौंमा मेरा काकाका छोराहरू बस्नु हुन्थ्यो । दाइहरूको बसोबास तिनताक क्षेत्रपाटीमा थियो । त्यस बखत बाहिरबाट नेपाल (त्यसबेला काठमाडौंलाई नेपाल भनिन्थ्यो) भित्रिएका व्यक्ति शहरबजारमै बस्न रुचाउँथेँ ।
सम्भवतः त्यसै कारण पनि दाइहरू ईश्वरमान श्रेष्ठ, बिश्वेस्वरमान श्रेष्ठ र वसन्तमान श्रेष्ठ नयाँ सडकदेखि नजिक रहेको क्षेत्रपाटीमा डेरा लिएर बस्नु भएको थियो ।
त्यसो त काठमाडौंमा मेरो मामाघर पनि थियो । तथापि, म केही समय मामाघर नबसेर दाइहरूसँग नै बसें । काठमाडौं झरेपछि क्षेत्रपाटीमा बस्नु भएका मेरा दाइहरूले मलाई पहिलो पल्ट काठमाडौं घुमाउनु भयो । विशेषगरि वसन्त दाइले । किनभने उहाँ म भन्दा एक डेढ वर्ष मात्र जेठो हुनुहुन्थ्यो । अर्थात् एक किसिमले हामी समवयी थियौं ।हाम्रो बाजेको नाम लोकमान श्रेष्ठ हो । उहाँका सात छोरा र एक छोरी मध्ये एकका छोरा वसन्त दाइहरू र एकका छोरा म हुँ । म माहिलोको कान्छो छोरा र उहाँ छैंठौ काकाको जेठो छोरो ।
केही वर्ष जेठो वसन्त दाइ मेरा दाजु भए पनि हामीबीच तेह्रथुम हुँदादेखि नै हिमचिम थियो । सायद यो उमेरको धेरै लामो ग्याप नभएकोले गर्दा पनि होस् ।

वसन्त श्रेष्ठ
काठमाडौं आएको भोलि पल्ट वसन्त दाइले पहिलो दिन नै नयाँ सडक लग्नु भयो । उहाँले क्षेत्रपाटीबाट किल्लागल, भेडासिंह, असन, इन्द्रचौक, मसाङ्ग गल्ली हुँदै न्युरोड पिपलबोट पुर्याउनु भयो ।
म यति आह्लादित भएँ, त्यसको बयान म गर्न सक्दिन पाँच दसक पूर्वको त्यो प्रसङ्ग !
एक त मैले सधैँ सुनिरहेको ठाउँ, तर मेरा लागि नितान्त नयाँ र नौलो ठाउँ । त्यसमाथि काठमाडौंको पुरानो बजार र तिनका गल्लीहरूको जोड र मोड । शायद रमाउने उमेर थियो मेरो । म औधी रमाएँ । आज पनि ती दृश्यहरू मेरो मानसपटलमा तरोताजा रहेको म पाउँछु ।
काठमाडौंका गल्लीहरू हुँदै म दाइसँग न्युरोड गेट आइपुगें । अत्यन्तै खुशी लाग्यो ।
न्युरोड गेटमै रहेछ गुँदपाक पसल । त्यहाँको गुदपाक आज पनि प्रसिद्ध छ । त्यो समयमा झन् कस्तो होला । काठमाडौंबाट मानिस बाहिर जान पर्यो कि कोसेली भनेको गुदपाक नै हुन्थ्यो । त्यही लग्दथे । काठमाडौंको प्रिय कोसेली जो थियो त्यो ।
त्यही स्वादिष्ट गुदपाक वसन्तदाइले मलाई खुवाउनु भयो । त्यसपछि मलाई घुमाउँदै रन्जना सिनेमा हल छेउ लिएर जानु भयो । रन्जना सिनेमा हलको प्रसिद्धिका बीच अर्को प्रसिद्ध पसल त्यहीँ थियो, आरसी ममचा सेन्टर । यो यति प्रसिद्ध थियो कि न्युरोड पुगेका अधिकांश मानिस त्यहाँ मम खान पुग्थे ।
वसन्त दाइ र मैले त्यहाँ मम खायौं । वसन्तदाइले गर्दा मेरो जिब्रोले एउटा नौलो स्वाद पाएको थियो । मैले मेरो जीवनमै जानेर खाएको ममचा त्यही नै पहिलो पटक थियो । पछि काठमाडौंमा रहँदै बस्दै जाँदा म एक्लै भए पनि अथवा साथी भाइसँग भए पनि आरसी मम खान थालें । यसरी ममसँग मेरो प्रेम बस्यो भन्न सकिन्छ ।
मैले रन्जना हलमै पहिलो पटक सिनेमा पनि हेरें । वसन्तदाइले सिनेमा देखाउनु भएको थियो एक दिन । यी सबै घटना प्रसङ्गहरू आज पनि मेरो मानसमा, स्मृतिमा जस्ताको तस्तै छ । थोरै पनि धमिलिएको छैन । स्वाभाविक हो, वसन्त दाइसँगको सङ्गत पनि ताजा नै रहनु ।
वसन्त दाइले बि.सं. २०२६ सालमा एसएलसी दिनु भयो । उप्रान्त उहाँ काठमाडौँ आउनुभयो । मैले २०२८ सालमा एसएलसी दिएँ । र नतिजा आइसकेपछि काठमाडौँ तिर हिंडेको हुँ ।
केही दिन वसन्त दाइहरूसँगै क्षेत्रपाटीमा बसेपछि म मामाघर तिर लागें । मेरो मामाघर काठमाडौँ नै भएकोले मेरो बसोबास त्यहीँ भयो र कलेजको पढाई सुरु गरें ।
कालान्तरमा उच्च शिक्षा अध्ययनकै क्रममा भारततिर गएँ । वसन्त दाइ भने काठमाडौंमै रहेर पढाइ सिध्याउन तिर लाग्नु भयो ।
केही वर्षको अन्तरालपछि म आफ्नो काम गर्न थालें । वसन्त दाइ पनि आफ्नो काममा लाग्नु भयो । हामी दुईको जीवनयात्रा यसरी नै आफ्नै गतिमा अगाडि बढिरह्यो ।
अन्ततः हामी दुवै काठमाडौंमै बसोबास गर्न थाल्यौं । तर अवस्था जेजस्तो भए पनि, तेह्रथुम होस् वा राजधानी, साहित्यप्रतिको अनुरागमा रत्ती पनि कमी आएन । हामी दुवै साहित्य कर्ममा लछप्पै भिजी रह्यौं ।
राजधानी बसाइँकै क्रममा वसन्तदाइले “पूर्वेली धुन” नामको साहित्यिक पत्रिकाको प्रकाशन थाल्नु भयो । त्यतिखेर क्रान्तिकारी, परिवर्तनकारी कवि लेखकहरूको समूह ठुलो थियो । त्यसमा उहाँको पनि विशेष भूमिका थियो ।
कतिपय समयमा वसन्त दाइले यस्ता समूहहरूमा नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नु भएको थियो । अर्थात् काठमाडौंमा पनि वसन्त दाइको साहित्यिक क्रियाशीलता निरन्तर रहिरह्यो ।
जबकि उहाँले तेह्रथुममै हुँदा साहित्यिक पत्रिकाको काम गर्न थाल्नु भएको थियो ।
मलाई सम्झना छ, तेह्रथुमकै स्कुलमा सात आठ कक्षामा पढ्दा वसन्त दाइ र मैले “तीनजुरे” हस्तलिखित साहित्यिक पत्रिका प्रकाशन गरेका थियौं । यस पत्रिकामा हामी संयुक्त सम्पादक थियौं । हस्तलिखित रूपमै भए पनि आकारका हिसाबले मोटो पत्रिका थियो तीनजुरे ।
विडम्बना, स्थानीय पुस्तकालयमा रहेको उक्त इतिहास २०५९ सालको म्याङ्लुङ बजारमा लागेको अग्निकाण्डले ध्वस्त भयो । त्यो अग्नि ताण्डवमा त्यहाँको श्रीकृष्ण पुस्तकालय पनि पर्यो र सारा सामग्री डढेर सखाप भयो । त्यसैमा हस्तलिखित पत्रिका “तीनजुरे” को अंक पनि जल्यो ।
यसरी स्कुले जीवनमै ‘तीनजुरे’को सम्पादन गरिसकेका वसन्त दाइले त्यसपछि पनि विभिन्न साहित्यिक पत्रिकाहरूको प्रकाशन गरिरहनु भयो । पत्रिका निकालिरहनु पर्छ, लेखिरहनुपर्छ भन्ने अवधारणा उहाँमा बलियोसँग बसेको थियो । त्यसैले त साहित्य र साहित्यिक पत्रकारिता उहाँको जीवनको एक अंग नै बनेको थियो ।
तेह्रथुममा हुँदा अरू पत्रिकाहरू पनि प्रकाशनमा आएको थियो । जे होस्, तेह्रथुम म्याङ्ग्लुङ्का विद्यार्थीहरूलाई साहित्यमा लाग्न उत्प्रेरणा दिने स्रोतहरू प्रशस्त नै थियो । कतिपय शिक्षक र विद्यार्थीहरू निरन्तर साहित्यिक क्रियाकलापमा लागेका थिए ।
यहाँ वसन्त दाइको योगदानलाई नजरअन्दाज गर्न सकिँदैन नै ।
वसन्तदाइको साहित्यिक सोच र सक्रियताले उहाँलाई काठमाडौंमा पनि व्यस्त बनाएको थियो । त्यसैले कविता लेखन, साहित्यिक संगठन विस्तार र साहित्यिक पत्रिकाको प्रकाशनमा कुनै कमी आउन दिनुभएन ।
तर गएको तिस वर्षअघि वसन्तदाइ अमेरिकातिर लाग्नु भयो । सात समुन्द्रपारिको पाताल प्रवास । तर, त्यहाँ पनि दाइको रुचि र सक्रियता अलिकति पनि कम भएन । झन् झाँगिएर गयो । उहाँमा साहित्य सिर्जना गर्ने, साहित्यिक संगठन गर्ने दृष्टिकोणमा कुनै परिवर्तन आएको थिएन ।
अमेरिकामा पनि आफ्नो मूलविधा कविता लेखनलाई निरन्तरता दिइरहनु भयो । निबन्धहरू पनि लेखिरहनु भयो ।
वसन्तदाइ एक कुशल संगठक हुनुहुन्थ्यो, त्यसको परिणति उहाँ नेपाल हुँदा नै देखिएको थियो । जसरी नेपालमा संगठन बिस्तारमा उहाँ सक्रिय हुनुहुन्थ्यो, त्यसै गरी अमेरिकामा पनि साहित्यिक संगठन गर्दै सर्जकहरूलाई एउटा घेरामा गोलबद्ध गर्दै जानु भयो ।
अमेरिकाजस्तो व्यस्त देशमा पनि उहाँले नेपाली भाषा साहित्यमा समर्पित साहित्यकारहरूलाई एक ठाउँमा ल्याउन भिडेरै लाग्नुभयो ।
वास्तवमा, वसन्तदाइले लेख्नु भन्दा बढी सर्जकहरूलाई एक ठाउँमा ल्याउने कामलाई बढी महत्व दिनु भयो । सामूहिक नेतृत्व दिँदै संगठनमा लाग्न हरेकलाई हमेसा प्रेरित गर्ने उहाँको प्रवृत्ति थियो । आजसम्म उहाँको यो प्रवृत्ति कायमै छ ।
यसै क्रममा प्रारम्भ तिरै उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्ष पनि हुनुभएको थियो । सन् १९९८ तिर होला । त्यस संस्थाका माध्यमबाट उहाँले थुप्रै साहित्यिक कार्यक्रमहरू पनि गर्नु भएको थियो ।
उहाँ आफै पनि सर्जकहरूलाई गोलबद्ध गर्ने सोचका साथ अगाडी बढिरहने व्यक्ति भएकाले उहाँको नेतृत्वमा विविध क्रियाकलाप हुनु अस्वाभाविक थिएन ।
सन् २००० सालमा अमेरिकाको एटलान्टा शहरमा एएनए, आन्मा र नासियाको संयुक्त रूपमा वाईटुके (Y2K) महाधिवेशन भएको थियो । त्यस अधिवेशनमा भाग लिन नेपालबाट पनि केही सर्जकहरू अमेरिका जानु भएको थियो । पाँच जना साहित्यकार थिए । जसमा डा. तारानाथ शर्मा, डा. अरुण सायमी, रमेश खकुरेल, गोबिन्द गिरी प्रेरणा र म पनि थिएँ ।
त्यस साहित्यिक कार्यक्रम संचालनको जिम्मा वसन्तदाइले मलाई दिनु भएको थियो । मेरा लागि यो अवसर पनि थियो । त्यसै बखत अमेरिकामा बसेर सिर्जना गर्ने धेरै साहित्यकारहरूसँग परिचित हुने मौका मलाई मिलेको थियो ।
सो अधिवेशनमा “अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव” नामक अन्तर्राष्ट्रिय कविता महोत्सव सम्पन्न भएको थियो । संसारभरका सात सय कविहरूले भाग लिएको सो कविता प्रतियोगितामा मञ्जुल, क्षेत्रप्रताप अधिकारी जस्ता सर्जक पुरस्कृत हुनु भएको थियो । र, पुरस्कारको राशि पाँच सय र दुई सय डलरको थियो । सम्भवतः डलरमा पुरस्कार समर्पण यो पहिलो पटक थियो ।
भन्नुको तात्पर्य, वसन्त दाइ नेपाली भाषा साहित्यको उन्नयनका लागि उत्तिकै दत्तचित्त हुनुहुन्थ्यो, जुन क्रियाशीलता नेपालमा थियो । दाइको यो क्रियाशीलता अति प्रशंसनीय छ भनिरहँदा अतिरञ्जना नहोला ।
सन् १९८३ सालमा स्थापना भएको “एएनए” संस्था अमेरिकामा धेरै लोकप्रिय संस्था मानिन्छ । वसन्तदाइले संस्थाको कार्यकारी सदस्य सन् १९९५ मा लिनु भयो । सो संस्था द्वारा नेपाली साहित्यको विकासमा “ईन टच” साहित्यिक पत्रिकाको पनि प्रकाशन गर्नु भयो । सन् २०१० मा सोही संस्था अन्तर्गत “ नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका” गठन भयो र उहाँ संस्थापक अध्यक्ष भएर कार्यभार सँभाल्नु भयो । प्रतिष्ठानले नेपाल र अमेरिकामा अनेकानेक साहित्यिक कार्यक्रमहरूको आयोजना गरेको थियो ।
त्यस अन्तर्राष्ट्रिय नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको सम्पर्क कार्यालय नेपालमा पनि थियो । हामी नजिकका कतिपय साथीहरू सो संस्थामा आबद्ध पनि भएका थियौं ।
त्यस बेला सो प्रतिष्ठानले अन्तर्राष्ट्रिय कविता महोत्सवको आयोजना गर्ने गर्दथ्यो । कविता महोत्सवका पुरस्कारको रकम एक हजार डलर, पाँच सय डलर र तिन सय डलरको थियो । सन् २०१२ देखि धेरै वर्ष सम्म पहिलो पुरस्कारको राशि वसन्त दाइले आफ्नै बुबा आमाको नाममा प्रायोजन पनि गर्नु भएको थियो ।
सम्भवतः कविता लेखेर सबै भन्दा ठुलो राशिको पुरस्कार यही नै थियो । प्रतिष्ठानको यो कार्यक्रम धेरै ठाउँमा भएको थियो । एउटा कार्यक्रम त राष्ट्रपति भवनमै भएको थियो । राष्ट्रपति हुनुहुन्थ्यो डा. रामवरण यादव ।
यसरी साहित्यिक संगठन र त्यसको परिचालनमा वसन्त दाइको गतिशीलता र योगदान विशिष्ट रहेको थियो । संगठन निर्माणका क्षेत्रमा वसन्त दाइ अत्यन्तै मुखरित हुनु भएको मैले जहिल्यै अनुभव गरेको छु । यसरी संगठन विस्तार गरिनुपर्छ भनेर हामीलाई पनि सधैँ सिकाउनु भएको छ ।
एउटा प्रसङ्ग सम्झना आउँछ, सन् २०१२ मा वाशिङ्टन डिसीमा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले अन्य कार्यक्रमका साथै “अन्तर्राष्ट्रिय नेपाली साहित्य महिला सम्मेलन” को आयोजना गरेको थियो । नेपाल बाट पद्मावती सिंह, चन्द्रकला नेवा, ललित दोषी र रुकु कार्की लगायतका थुप्रै महिला साहित्यकारको जमघट भएको म सम्झन्छु । सो कार्यक्रममा मैले पनि भाग लिने मौका पाएको थिए ।
त्यो कार्यक्रम आफैमा एक सफल कार्यक्रम थियो । जहाँ महिला साहित्यकार तथा साहित्यका विविध विषयमा विहङ्गम छलफल भएको थियो । त्यसै अवसरमा प्रतिष्ठानले सम्पादक विमल भौकाजीको सम्पादनमा “नारी-श्रष्टा चिन्तना र सिर्जना” साहित्यिक समालोचना संग्रह पनि प्रकाशित गरेको थियो ।
वसन्तमान दाइको साहित्यिक सक्रियताका बारेमा जति नै चर्चा गरे पनि कम हुन्छ । गएको वर्ष काठमाडौं आउँदा उहाँका केही कृतिहरू सार्वजनिक गरिए । जसमा उहाँको एउटा संस्मरणात्मक पुस्तक “अँगालोभरिको अनुभूति’ थियो भने अर्को आफ्ना पिताजीको सम्झना र पिताजीले म्याङ्लुङ क्षेत्रको विकासमा दिनु भएको योगदान बारे उल्लेख गरिएको छ । पुस्तक हो “नारायणमान श्रेष्ठ : इतिवृत्त” ।
वसन्त दाइको पिताजीको चर्चा यहाँ सान्दर्भिक होला । दाइको पिताजी पूर्वाञ्चलको पुरानो स्कुल श्री सिंह बाहिनी हाई स्कुलको संस्थापक हेड मास्टर भएर लामो समय सेवा गर्नु भयो । एक कुशल शिक्षक एवं प्राचार्यको रूपमा ।
विसं २००४ सालमा उक्त स्कुलको स्थापना हाम्रा बाजे लोकमान श्रेष्ठले गर्नु भएको थियो । जहाँ हाम्रो काका नारायणमान श्रेष्ठले संस्थापक हेडमास्टर भएर लामो सेवा गर्दै काकाले आफूलाई सामाजिक सेवामा पनि पूर्णता सहभागिता जनाउनु भयो ।
म्याङ्लुङको स्थानीय विकास निर्माण तथा अन्य विकास कार्यमा उहाँको सक्रियता रहेको थियो । ठेक्कापट्टामा पनि उहाँ संलग्न हुनु भएको थियो । यथार्थमा वसन्त दाइका पिताजी, हाम्रा काका त्यस क्षेत्रका लागि प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो ।
वसन्त दाइको जीवन आफ्नै किसिमबाट अगाडी बढ्यो । साहित्यिक संवेदनशीलता उहाँमा भरिएको थियो । साहित्यिक क्रियाकलाप उहाँको कर्म थियो । कर्मका लागि हुनु पर्ने लगनशीलताको कमी उहाँमा हुने कुरै भएन । त्यसैले अमेरिका पुगेपछि पनि उहाँको साहित्यिक र सांगठनिक कर्मको गति उस्तै रह्यो ।
अमेरिकामा उहाँको बसाइँ औसतमा धेरै राम्रो थियो । तथापि, उहाँले आर्थिक उपार्जनलाई मात्रै आफ्नो अभीष्ट बनाउनु भएन । उहाँले नेपाली भाषा, साहित्य, कला, संस्कृतिको उत्थानमा पनि केही गर्न सकिन्छ भन्ने दृष्टिकोणलाई महत्त्व दिनु भयो । र, सोहीअनुरूप विविध काम गर्दै जानु भयो । जसको परिणति हो उहाँको आजको साहित्यिक गतिशीलता ।
वसन्त दाइको अमूल्य योगदान छ नेपाली भाषा साहित्यको उन्नयनमा ।
अमेरिकामा रहेको उहाँको निजी पुस्तकालय देखेर म दङ्ग पर्छु । त्यति राम्रो र ठुलो पुस्तकालय छ उहाँको । अर्को कुरो, भर्जिनिया जाने र वसन्त दाइ सँग संगत नगर्ने नेपाली साहित्यकार सायद कमै होलान् । उहाँको घरमा अतिथि भएर जाने थुप्रै नेपाली साहित्यकारहरू हुनुहुन्छ ।
यतिखेर यो आलेख लेख्दै गर्दा वसन्त दाइ नेपालमै हुनुहुन्छ । दाइ बर्षेनी मातृभूमि टेक्नुहुन्छ । पाठकका लागि केही साहित्यिक खुराक दिनुहुन्छ । दाइको यो साहित्यिक समर्पणप्रति नतमस्तक छु म । उहाँको सम्मानमा केही गरौँ भन्ने सोचिरहेको छु । एपेक नेपाल त्यसका लागि तयारी गरिरहेको छ ।
उहाँको एउटा नयाँ कृतिको पनि तयारी हुँदैछ । विदेशमा बसेर पनि नेपाली कविता र साहित्यको योगदानमा उहाँलाई हामीले एपेक सम्मानबाट सम्मान पनि गरेका थियौं । त्यस्तै साहित्यिक पत्रकार संघबाट पनि उहाँ केही समय अघि पुरस्कृत हुनु भएको छ । उहाँले अरू पनि पुरस्कारहरू पाउनु भएको छ ।
पुरस्कार पाउनु नपाउनु यो ठुलो कुरो होइन । ठुलो हो उहाँको योगदान । जुन उहाँले देश बाहिर रहेर पनि नेपाली भाषा साहित्यको उत्थानका लागि गर्नु भएको छ ।
आज पनि उहाँ नेपाली भाषा साहित्यमा सक्रिय स्रष्टाहरू लाई गोलबद्ध गर्न तत्पर हुनुहुन्छ । यो योगदानलाई उहाँको नामसँग छुट्याउन नै सकिँदैन ।
केही मानिस विदेशमा गएर आर्थिक रूपमा सम्पन्न भएपछि लेखक हैसियतले माथि आउने प्रयासमा लागेको नदेखिएको होइन । तिनले आफूलाई लेखकका रूपमा स्थापित गर्न अनेक गर्दै आएको पाइन्छ ।
तर वसन्त दाइ जहाँ रहनु होस्, उहाँको स्वभाव, कार्यशैली, गतिमा कुनै परिवर्तन भेटिन्न । नेपालमा हुँदा पनि उहाँ कविता लेख्नु हुन्थ्यो र साहित्यिक पत्रकारिता गर्नु हुन्थ्यो । अमेरिकामा पनि उहाँको यही दिनचर्या रह्यो ।
अझ अमेरिका प्रवासमा गए पछि उहाँको यो सक्रियता झनै बढेर गएको मेरो अनुभव छ । व्यस्तताको पर्याय मानिने अमेरिकामा पनि उहाँको कलमले, साहित्यिक कर्मले विश्राम लिएको छैन ।
वसन्त दाइको कवित्वका बारे थोरै कुरा अझ आवश्यक छ । उहाँ विद्रोही स्वभावको कवि हुनुहुन्थ्यो । परिवर्तनको पक्षमा उहाँको कलम सधैँ अगाडी बढिरहेको मैले पाएको छु । मुलुकलाई माया गर्नु पर्छ भन्ने उहाँको चेतनामा कुनै परिवर्तन आएको छैन । उहाँको लेखनमा स्पष्ट झल्किन्छ ।
स्कुले जीवनकालमा कवि गोष्ठी गर्ने, पुस्तकालय प्रवर्धनका लागि भिडेर लाग्ने र राजधानीबाट साहित्यिक कार्यक्रम लिएर गएका समूहहरूलाई वसन्त दाइ र हामीले तेह्रथुममा निरन्तर सहयोग गरेका थियौं । राल्फालीलाई सहयोग गरेको आज पनि मेरो स्मृतिमा छ ।
वसन्त दाइ हामीभन्दा अग्रज हुनुहुन्थ्यो । उहाँको पछाडि लाग्दा पनि हामीले केही सिक्न पाउँथ्यौ । जान्न पाउँथ्यौ । उहाँका पिताजीबाट पनि हामीलाई बारम्बार मार्गदर्शन मिल्दै आएको थियो । अझ भनौँ, दाइको घर हाम्रा निम्ति अध्ययनको एउटा विहङ्गम थलो थियो ।
वसन्त दाइको लेखनका विषयमा जति चर्चा गरे पनि कम हुन्छ । बस् यति मात्र भनौँ, हाम्रो औंला समाएर साहित्यमा डोर्याउने वसन्त दाइको उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना !!!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










