यात्राको सुन्दर पक्ष भन्नु नै माटोसँग साक्षात्कार हुनु हो । पञ्च महाभूतले बनेको शरीरलाई प्रकृतिसँग नजिक राखेर नियाल्नु नै परमात्मा भेटिनु हो । देशको सम्पूर्ण भूभाग घुम्न सकिएला नसकिएला तर मनमा उत्साह र उमङ्गका लहरहरू बोकेर आन्तरिक पर्यटकको रूपमा नेपालका हर वस्ति पुग्ने रहर म भित्र पनि छ ।
यस्तै हार्दिकता मनभरी बोकेर स्रष्टा पदयात्राको टोलीको संयोजनमा हामी दम्पती सामेल भएको एक वर्ष पुग्न आँटेछ । दुवैको एकै पेशा त छँदै थियो तर साहित्यको क्षेत्रमा हाम्रो उस्तै रुचि रहनु सौभाग्यको कुरा हो । देशको कुना काप्चामा पुगेर यात्राको मिठास बटुल्नु त छँदै थियो त्यो भन्दा पनि देशको आर्थिक, सामाजिक, राजनीति, कला साहित्यको अध्ययन गर्नु अर्को लक्ष थियो ।
हामी साहित्यिक कार्यक्रममा स्रष्टा पदयात्राको ७० औ शृङ्खला २०८० जेष्ठ ५ गते शुक्रवार बिहान ६. बजे गोङ्गबु बसपार्कमा पुग्ने सल्लाह अनुसार सम्पूर्ण तयारीको साथ हामी दुवै दम्पती सामेल हुन पुग्यौं ।
हाम्रा साथमा हुनुहुन्थ्यो स्रष्टा पदयात्रीको टोली जसमा हुनुहुन्थ्यो घनश्याम प्रसाई, गंगाप्रसाद भेटवाल, शीतल गिरी, अप्सरा ढकाल, वीमल अर्याल, दिपक प्रसाद भेटवाल, माधव घिमिरे अटल, खोलाघरे साहिलो, वसन्त रिजाल, रामकुमार पण्डित, अभय श्रेष्ठ, जयराम विडारी, शम्भु गजुरेल,रुवी सत्याल, डिल्लीराज अर्याल, बलचन्द्र मिश्र जम्मा भएर ग. २ ख १५१४ को वसबाट ६.१५ को समयमा स्याङ्गजाको मालुङ्गा प्रस्थान गरेका थियौं । बाटोभरि स्रष्टाहरूसँग मिठा भलाकुसारी भए ।
गङ्गा प्रसाद भेटवालले आफ्नो क्यामरामा फोटो र भिडियोहरू अपलोड गर्दै हुनुहुन्थ्यो । बसमा कैद भएका भिडियो रचना वाचन समावेश गरिएको थियो । बसभरी स्रष्टाहरूले ल्याएका मिठा परिकार एक आपसमा बाँडेर खानुको अर्को मजा थियो । एकै परिवारका सदस्य हामी बस भरी गीत संगीतको आनन्दमा रमाउँदै थियौ ।
बीच बीचमा चियापानका लागि गाडीबाट ओर्लेर फ्रेस भयौं । प्रकृतिको काखमा लुटुपुटु गर्दै यात्रा अघि बढिरहेको थियो । गाडीबाट देखिएका प्राकृतिक सौन्दर्य नियाल्दै क्यामरामा कैद गर्नु यात्राको अर्को आनन्द थियो । हाम्रो यात्रा सुमधुर हुँदै गयो ।
दिनभरिको बसको यात्राले थकित भएका हामीलाई यात्रीहरू झम्के साँझ ७. बजेको समयमा स्याङ्जाको मालुङ्गा ओर्लियौं । एक त बसको यात्राको थकान अर्को तिर अझै डेढ दुई किलोमिटर ओरालो बाटो ओर्लिनु पर्ने नै भो हाम्रो टोलीलाई स्वागतार्थ स्वामी चैतन्य कृष्णको साथमा अरू भक्त हुनुहुन्थ्यो । दिनभरिको थकान मेटिए झैँ अनुभूति भयो । ईश्वरको भक्त र भागवत दर्शनले मन प्रफुल्लित हुन्छ सायद ईश्वरको अंश भनिन्छ प्राणीलाई ईश्वर कै सामीप्य पाए झैँ अनुभूत गरियो ।
कालीगण्डकीको किनारमा अवस्थित झोलुङ्गे पुल काटेर हाम्रो टोली कालीगण्डकीको उत्तर बाहिनी क्षेत्रमा रहेको झोलुङ्गे पुल पार गरेर पाल्पा जिल्लाको असेर्दीमा रहेको स्वामी चैतन्य कृष्णको उत्तम व्यवस्थापनमा रहेको कालीगण्डकी गुरुकुलमा रात्रिको भोजन र बासको व्यवस्था सहित स्रष्टा पदयात्रीको स्वागत गरियो ।
कालीगण्डकीको सुसाई र मनको सुसाई उस्तै हुन्छ क्यार मन एकतमास त्यहाँको जनजीवनले प्रभावित भएको थियो । त्यो आतिथ्यमा मिठास भरिएको थियो । पाहुनालाई ईश्वरको स्वरूप मानिने हाम्रो संस्कार आफैंमा धन्य छ । बटुकहरुको हँसिलो व्यवहार अतिथिलाई गरिने सत्कारले हाम्रो सभ्यता कति धनी छ भन्ने कुरा स्पष्ट हुन्छ ।
वालिङ् पुगेपछि हाम्रो यात्रा टोलीमा अर्का एक स्थानीय संयोजकका रूपमा आदरणीय व्यक्तित्व डा.तुलसी खनाल ‘प्रभास’ समेत मिसिनु भएपछि यात्राको रोमाञ्चकता अझै बढेको थियो । स्थानीय रहन-सहन रीतिस्थिति चालचलन परम्पराका बारेमा यथेष्ट जानकारी दिलाउनु भएको थियो ।
रातको भोजन पश्चात् गरिएको प्रतियोगितात्मक साहित्य गोष्ठीमा सबैले आफ्ना आफ्ना सिर्जना वाचन गर्यौं जसमा मैले आफ्नो कविता हाकुने सुनाएँ । जापानको बसाइँमा ज्वालामुखीको पहाड घुम्ने अवसरमा लेखिएको त्यो कवितामा सगरमाथा र जापानको हिमाल फुजीलाई प्रणय सूत्रमा बाँधिएको विषय थियो । आन्तरिक प्रतियोगिता गरेर शीतल गिरी र विमल अर्यालको निर्णायकत्वमा स्रष्टा पदयात्री खोलाघरे साहिंलोको कविता उत्कृष्ट रहेको घोषणाका आधारमा नगद १६००। प्रोत्साहन पुरस्कार स्वामी चैतन्य कृष्णको बाहुलीबाट प्रदान गरिएको थियो ।
जब विश्राम लिन हामी दुई महिला यात्रीलाई अलग कोठामा व्यवस्था गरिएको थियो, कवि अप्सरा ढकाल र म केही समय जीवनको दुःख–सुख बाँड्दै थियौँ । उहाँ पनि जापानमा बस्नु भएको रहेछ । केही समय जीवनको मिठा नमिठा अनुभूति सुनाउँदै गयौँ । विदेशका अनौठा नियम, कामको बोझ र त्यहाँका जनजीवनका कुराहरू गर्दा गर्दै अप्सरा ढकाल भुसुक्कै निदाउन पुग्नु भयो ।
मलाई भने निद्रा पटक्कै परेन । कालीगण्डकीको सुसाई उस्तै त्यसैमाथि रातमा कराउने अनौठो चराको स्वरले मलाई छटपटी मात्रै भएन कता कता डरले डेरा पो जमाउन लाग्यो । जुरुक्क उठेर बत्ती बाल्ने आँटसम्म नआउनु आफैलाई दया लाग्यो । कालीगण्डकीको सुसाइसँगै मन अनन्त कुरा खेलिरह्यो । मनमा जब डर हुन्छ छाया पनि भूत बन्छ भन्थे हो कि भनेझैं भयो ।
अर्को विकल्प नरहेपछि अन्ततोगत्वा मनले भन्यो ईश्वरको शरण पर्नु । गुरुले दिनुभएको मन्त्र जप गर्न थालेँ, एक चित्त भई आफैलाई समर्पण गर्दै मेडिटेसन गर्न थालेँ । तब मुटुको धड्कन कम हुँदै गयो । कति बेला झपक्क निद्रा परेछ पत्तो भएन । बिहानीपखको सपनामा पानीको तरङ्गमा शिव पार्वतीको दिव्य दर्शन भयो, बहुत सुन्दर कोमल छाया छवि देखियो त्यो दिव्यतामा मैले समर्पण गरेँ, अद्भुत आनन्द महसुस भयो ।
बिहान पख आँखा खुल्दा कवि अप्सरा ढकाल उठिसक्नु भएको रहेछ । मलाई अझै पनि मनमा शान्ति महसुस हुँदै थियो । नित्य कर्म सकेर बिहान सबै यात्री चियापान गर्न थाल्यौं । गुरु स्वामी चैतन्य कृष्णले हामीलाई रातमा निद्रा पर्यो परेन भन्दै प्रश्न गर्नुभयो । कवितासंग्रह ‘अछूत जून’ समर्पण गर्दै आफ्नो बिहानीको सपनीको कुरा बताएँ । उहाँले बडो आनन्दका साथ भन्नु भयो, ‘हजुर बढो भाग्यमानी हुनुहुँदो रहेछ जो कोहीलाई भगवानको दिव्य दर्शन मिल्दैन हजुरलाई कृपा भयो, बहुत खुशी लाग्यो ।’ मन अझै पुलकित भयो । त्यो दिन मलाई जीवन सफल भए झैँ भयो ।
त्यसपछि जेठ ६ गते सूर्यको मिठो आगमनसँगै हामीले १०८ शिवलिंग दर्शन गरेर रांगदीघाट अवलोकन गर्यौं । कालीगण्डकीको सुसेलीसँगै फोटो भिडियो आफ्नो आफ्नो क्यामरामा कैद गर्दै रमायौँ । कालीगण्डकीको किनारमा स्वामी गुरु चैतन्य कृष्णसँग त्यहाँको जनजीवन, भाषा–साहित्य–संस्कृति विकासको बारे छलफल भयो ।
मालुंगाबाट ५ कि.मी. टाढा रहेको छ । जहाँ योगी नरहरीनाथले कोटी होम लगाएर गुरुकुल, गौशाला, आयुर्वेदिक उपचार केन्द्र लगायत स्थापना गर्नु भएको रहेछ ।
बीचमा गुरुकुल बन्द भएछ र अहिले पुनः सञ्चालनमा आएको पाइयो । धार्मिक हिसाबले यस क्षेत्रलाई रामजीघाट भनिँदो रहेछ । यस ठाउँदेखि अलि पर काली गण्डकीको पुल तरेर दाहिनेतर्फ रहेको नदी किनारको पहरामा सिद्ध गुफा अवलोकन गर्ने मौका पायौं । सो गुफामा साङ्ख्य दर्शन प्रणेता कपिल मुनीले तपस्या गरेर सिद्धि प्राप्त भएको प्रसङ्ग जोडेर त्यहाँका पुजारी कथा भन्दा रहेछन् । यिनै अनुभूतिका साथ हामी प्राकृतिक सौन्दर्य नियाल्दै रमाइलो गर्यौं ।
जहाँ पुगे पनि आफ्नै माटोको सुगन्ध न हों मन उतै रमाउन थालिसकेको थियो । त्यो दिव्य भूमिमा अनौठो आनन्द महसुस भएको थियो तर समय भन्दा अघि र भाग्य भन्दा बढी पाइँदैन भने झैँ समयको अभावले हामी मालुङ्गा फर्क्यौं । नयाँ ठाउँ नौलो अनुभूतिले हामीलाई बेग्लै ऊर्जा थप्दै थियो ।
उत्तरवाहीनी क्षेत्रमा वारिपट्टी सो गुरुकुलको आयोजनामा बन्दै गरेको विशाल आयुर्वेदिक अस्पताल, यज्ञ स्थल, सभा कक्ष पाहुना घर लगायत अवलोकन गर्यौ । त्यहाँ एउटा पुरानो पीपलको बोट रहेछ जसले समय समयमा शंख ध्वनि गुञ्जाउँदो रहेछ, पिपलको बोटलाई कल्प वृक्ष भनिन्छ प्राणीलाई भरपुर अक्सिजन दिने यो वृक्ष प्राणी लाई वरदान नै हो । पिपलको बोटलाई परिक्रमा गरेर त्यही सबैले सामूहिक फोटो खिच्यौं यादहरू ताजा राखेर मन भरी उत्साह बटुल्दै झोलुङ्गे पुल तरेर हामीले हाम्रो उद्देश्यतर्फ केन्द्रित हुँदै, यस क्षेत्र चयन गर्न पुगेका थियौं । गुरुबाट धेरै कुराको जानकारी प्राप्त गर्ने सौभाग्य प्राप्त गर्ने मौका जुरेको थियो ।
हाम्रो टोली त्यहाँको कार्यक्रम समापन पश्चात् ट्रयाक्स चढी मिर्मि पुगेका थियौं । त्यहाँ रहेको मिर्मि आधारभूत विद्यालयका व्यवस्थापक ज्ञानु पाण्डे लगायतको अथक प्रयासले देशकै नमुना विद्यालयमा दरिएको हेर्न पायौं, बुझ्न पायौं । सामुदायिक विद्यालयले शैक्षिक सुधार गर्न चाह्यो भने हुने रहेछ भन्ने ज्वलन्त उदाहरणले पुलकित हुँदै समाजप्रतिको वहांको योगदानलाई सम्झिएर धन्यवाद ज्ञापन गरेका थियौं ।
शिक्षाको क्षेत्रमा हामी आफ्नो क्षेत्रबाट सबैले सकेको योगदान दिने हो भने यसको स्तरोन्नति हुन समय नलाग्ने रहेछ । नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन आउन धेरै समय नलाग्ने रहेछ भन्ने उदाहरण हेरेर हामीले बडो आनन्द महसुस गर्यौं । शहरी क्षेत्रमा मात्रै नभै गाउँको प्रत्येक क्षेत्रमा यसरी नै पहल गर्ने हो भने हाम्रो विद्यालय शिक्षक र विद्यार्थीको शिक्षा क्षेत्रमा ठूलो क्रान्ति आउने कुरामा दुई मत नहोला । उदारहणीय कार्यको प्रशंसा गर्दै हामी उहाँहरूसँग छुट्टियौँ ।
दिनभरिको थकान मीठा अनुभूति समेट्दै विश्राम र खानपिन गरेर आफूलाई पुनः ताजगीको लागि तयारमा लाग्यौं ।
बिहानीको प्रभाती किरणसँगै यात्रा टोली उत्साह उमङ्ग बटुल्दै तेस्रो दिन बिहान ७ गते आइतबार कालीगण्डकी ए जलविद्युत परियोजना भ्रमण गर्यौं । जलविहारको क्रममा भिडियो र फोटो खिच्न पनि खिच्यौं । पानीको लहरमा भावनाका तरङ्ग पैदा हुँदै गए । कवि मनमा कवित्व भाव प्रकट हुँदै गयो ।
मिर्मी सेतीबेनी ४ किमि स्टीमबोटबाट जलयात्रा गर्नुको आनन्द बेग्लै रह्यो । धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र बनेको संसारकै विशाल शालीग्रामको दर्शनले मन आनन्दित तुल्यायो । पितृ तर्पण गर्नेहरू भेटिए । आस्था र विश्वासको केन्द्रबिन्दु बनेको उक्त क्षेत्रमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको थियो ।
विष्णु अवतार मानिले शालिग्राम शिलाको दर्शनले मात्रै पनि जीवनको नकारात्मक ऊर्जा हटेर सकारात्मक ऊर्जा भरिने जनमासनमा विश्वास रहेको छ । हुन पनि ठूलो क्षेत्र ओगटेको विशाल शालिग्रामको दर्शन गर्न पाउनु सौभाग्यको कुरा थियो । अझै विश्वको ठूलो शालिग्राम शिला नेपालमा मात्रै हुनु अर्को गर्वको विषय हो । यस क्षेत्रको प्रचार प्रसार व्यापक रूपमा गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रूपमा रहनुको साथै त्यहाँको जनजीवनको आर्थिक उन्नतिमा अझै टेवा पुग्ने थियो ।
हाम्रो देशमा भएका यस्ता पौराणिक र धार्मिक सांस्कृतिक धरोहरलाई संरक्षण एवं अनुसन्धानको लागि राखिनु पर्दछ । जसबाट देशको आर्थिक सामाजिक तथा सांस्कृतिक धरोहरलाई जीवित राख्न टेवा पुग्नेछ र भावी पुस्ताले हाम्रा धार्मिक सांस्कृतिक पक्षलाई जोगाउन सक्ने थिए ।
समयको पाबन्दी एकतर्फ छँदै थियो । त्यहाँको जनजीवन र अन्य भौगोलिक अवस्थितिको अवलोकन पश्चात् पुल तरेर पर्वत जिल्लामा पुगी सेती बेनीबाट पर्वतको पैयुँ हटियासम्मको पदयात्रा गर्यौं । १२. बजेको समयमा नबीना होटेलमा भोजन गर्यौं । सो पश्चात् मोटर खोजेर हामी स्याङ्जा वालिङ पुगेका थियौं । स्याङ्जा बहुमुखी क्याम्पस, पूर्णामृत भवानी मा.वी. का प्राध्यापक । अध्यापकसँग अन्तर क्रिया गरेर, यस यात्राका सहजकर्ता डा.तुलसी प्रभाससँग बिदा भएर साँझ ५. ३० तिर रात्रीबस चढेर बिहान ४.३० को समयमा काठमाडौं उपत्यकाको कलङ्की चोक अवतरण पश्चात् यस महिनाको स्रष्टा पदयात्रा सम्पन्न भएको थियो ।
यात्राको मिठास आफैँमा सुन्दर पक्ष हो । यात्रामा देखे भेटिएको वस्तु स्थितिलाई अवलोकन गर्दै साहित्यको नौलो अनुभूतिलाई समेटिनु यात्राको उद्देश्य पनि हो । उद्देश्यपूर्ण यात्रा गर्नु र त्यो यात्राको अनुभूति समेट्दै विश्राम लिइरहँदा अझै नयाँ ठाउँको यात्रा विवरण लेख्न नयाँ ऊर्जा थप्दै जानु छ ।
यो यात्रामा साथ सहयोग संस्मरण लेख्न नव ऊर्जा थप्नु हुने यात्रा संयोजक सितल गिरी सर प्रति हार्दिक आभार व्यक्त गर्दै अर्को यात्रा संस्मरणमा भेट हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 










