साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई लेखक भरत सी ‘रणवीर’को गैरआख्यानात्मक कृति “राज्यसत्तामा कम्युनिस्ट क्रान्ति र भ्रान्ति”  प्राप्त भएको छ ।

प्रस्तुत पुस्तकमा लेखकले कम्युनिस्ट विचारसित सम्बन्धित विषय र कतिपय घटना-सन्दर्भका कुराहरूलाई अत्यन्त मिहिनेतपूर्वक र सिर्जनात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।

१ सय ८८ पृष्ठमा बुनिएको यस पुस्तक २ खण्डमा विभाजन गरिएको छ । खण्ड १ ‘राज्यसत्तामा कम्युनिस्ट क्रान्ति र भ्रान्ति’ मा कम्युनिस्टको इतिहास तथा वर्तमान र भविष्य बारे चर्चा गरिएको छ भने खण्ड २ ‘कम्युनिस्टको उपस्थिति र अस्तित्व’मा झापा विद्रोहको कुरादेखि लिएर परिवर्तित परिस्थिति र कम्युनिस्टको कार्यभारसम्म बारे विशेष उल्लेख गरिएको छ ।

भूमिकामा विप्लव ’सी’ लेख्छन्, “अध्ययन, व्यवहार र प्रयोगबाट मान्छेले जति असल ज्ञानहरू सङ्गृहीत गर्छ, ती सजीव र वैज्ञानिक हुन्छन् । ती ज्ञानलाई एउटै लहरमा सूत्रबद्ध गरेपछि एउटा तागत पैदा हुन्छ । त्यही तागतका बलमा श्रमिक जनताले दुनियाँलाई बदल्ने हो । हामीले नेपाली वर्गसङ्घर्ष, वैचारिक सङ्घर्ष र सत्ता-सङ्घर्षमा अनुभव र संश्लेषण गरेका नौला विचार यस्तै महत्त्वका छन् । भरत ’सी’ ले हाम्रा यी विचारलाई जसरी नयाँपनसहित प्रस्तुत गर्नुभएको छ, यसले पार्टी -पङ्क्ति र श्रमिक जनतालाई राम्रो वैचारिक खुराक उपलब्ध गराउनेछ ।”

“आजको नेपालमा जे छ, त्यो होइन; जे होइन, त्यो छ । जे भनिन्छ, लेखिन्छ, त्यो गरिँदैन; जे गरिन्छ, त्यो भनिँदैन र लेखिँदैन । संविधानमा छ- समाजवादोन्मुखता तर व्यवहारमा छ- दलाल पुँजीवादोन्मुखता । नारा छ- देश, समाज र जनताको सेवा र समृद्धि तर परिणाम छ, ठीक त्यसको विपरीत परिणामदेखि परिणामसम्म, रूपदेखि रूपसम्म रूपसम्म र अंशदेखि अंशसम्ममा नै सीमित छन् मान्छेहरू ।” लेखकीयमा लेखक उल्लेख गर्छन्, “उनीहरूलाई कारण, सार र समग्रमा केन्द्रित हुनु छैन र हुन दिइएको छैन । यो बेला लेनिनलाई सम्झिँदै भन्नुपरेको छ कि घोषणा गर्न पुँजीवादले केही बाँकी राखेको छैन तर कार्यान्वयन गर्न वैज्ञानिक समाजवाद अपरिहार्य छ ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य ३ सय ९० रुपियाँ रहेको छ ।