यता जहाजका कुरा अझै सपना नै छन्
यहाँ दूरदराजका कुरा बिरलै भेटिन्छन्
हाम्रा आफ्नै कथा पनि लुकेर अलग्गै बसेकी
प्रियतमाझैँ रुप बदलिएको भान हुन्छ
तर आत्मियता हाम्रो आलो घाउ हो
जुन कहिल्यै भरिन्न
भेटिन्छ, यतै जुनेलीको छायाँमा
ताराको टिमटिमको आडमा
पाखातिरका कुरा हुन यी यस्तै छ पहाडमा

तिमी शहरको रङ्गीन स्वादमा जुलेबी खोज्छौ
म बाटामा झरेको किम्बु र ऐँसेलु टिप्छु
तिम्रो झिलिमिली सधैँको
सस्तो र रित्तो,
मेरो झिलिमिली अमूल्य तिहारको
तिम्रो बोली, बानी, संस्कार
तिमीले खाएको चामलजस्तै, किनेको
मेरो शब्द, शैली र स्वभाव बारीको कोदोजस्तै
आफैँले गोडेको, आफैँले टिपेको
तिम्रो उदाङ्गो सभ्यतामा केही वजन छैन
त्यो भन्दा बढी शक्ति हाम्रो ढेक्चीको दालमा छ
छ कसौंडीको माडमा
तिम्रो सपनाको दुनियाँभन्दा उज्ज्वलता छ यता
हो, उज्यालो छ पहाडमा

तिम्रो बिहान सुरु हुन्छ फोहोरको थुप्रो पन्छाएर
हामी कुचो लगाएर संघार सिंगार्छौ
तिमी उठ्छौ अलार्मको किरकिरले
मेरो गाउँलाई चराले बिउँझाउँछन्
तिम्रो विष घुलेको हावामा शुद्धता खोजेर दिन बित्छ
हामी गुराँसको बासना लिएर रात बोलाउँछौ
तिम्रो शहर ढुंगाको र त्यस्तै
तिम्रो मन ढुङ्गा झैँ, कठोर
मेरो गाउँ माटोको र माटो जस्तै उर्वर मनहरू
तिम्रो अहंको चाबी
हाम्रो मूलको पानी जत्तिकै पनि छैन
निरस र उग्रताको चरम छ
कुनै दिन तिम्रो चलनको खोलोमा
तिमी आफैँ डुब्नेछौ र रित्तिनेछौ
गाउँको ममताको भुमरीको प्रगाढमा
जसरी रित्तो बन्छ तिम्रो निर्जीवता
उत्सवमा, चाडबाडमा
यहाँ आफन्त भेट्न दशैं चाहिन्न,
खासमा आफन्त भेट्न कतै जानु पर्दैन
हाम्रा सबै आफन्त हुन् पहाडमा ।

दुधौली -१, सिन्धुली