चार कुना मिलेको फराकिलो जग्गालाई ढुङ्गाको पर्खालले युगौंदेखि घेरिएको छ । जग्गाको बीच भागमा एउटा बूढो चिलाउनेको रुख ठिङ्ग उभिएको छ । रुखको ठ्याक्कै फेदैमा देउताको थान छ । यो  राईहरूको साकेला थान हो । आज साकेला थानमा यूकेलिप्टस् अर्थात मसला भनिने रुखका बिरुवाहरू रोप्ने कार्यक्रम धमाधम चलिरहेको छ ।

उता साकेला थान वारिपारि फलाँटे जङ्गलका रुखहरूको मन आज कम्ती दुखेको छैन । पात्ले एकोहोरो गनगन गरिरहन्छ, ‘किन यो गाउँमा ल्याउनु पर्यो कुनै आगन्तुक बिरुवा ? हामी थिएनौं र युगौंदेखि यहाँ ? ‘

भलायोको त्यस्तै गुनासो छ, ‘हामी भलायोहरू पनि त थियौं । हामी रैथाने जातिलाई नरोपेर किन रोप्नु पर्यो त्यो परदेशी बिरुवा ?’

उत्तिसले झन् घोर भर्त्सना गरेको छ, ‘हामी उत्तिसहरू यो गाउँको हरेक दुःखसुखमा युगौंदेखि साथ सहयोग गर्दै आएका छौं । साकेला थानभित्र रोपिनु पर्नेमा हाम्रो पहिलो दाबी छ ?’

यो हो हल्लाबीच बूढो गोब्रे सल्ला बोलेको छ, ‘सुन्दरता  यसको प्रमुख कारण हो । यी नयाँ जातिका रुखहरू चिल्ला र सुरिला छन् । मानिसहरूलाई यसले लोभ्याएको छ । यी सफा र सुन्दर छन् ।’

बूढाको कुराले सबै चुप भएका छन् ।

आज उक्त वृक्षारोपणको वर्षौंपछि साकेला थानका यूकेलिप्टसहर बढेर जवान भएका छन् । फलाँटे जङ्गलका प्रत्येक पात्ले, भलायो, उत्तिस र सल्लाहरू यूकेलिप्टसका प्रेममा चुर्लुम्म डुबेका छन् । लाग्छ प्रेमले सबथोक जितेको छ । प्रेमले शान्ति ल्याएको छ ।