भित्रभित्रै गलाउँछ भन्थे
मन, मस्तिष्क र मुटु जलाउँछ भन्थे
अधिक ईर्ष्या, अहङ्कार र महत्त्वाकांक्षाले
बाहिरी शरीर पनि जलाउँदोरहेछ
नजन्मेका, नजन्माइएका र जन्मन नपाएकाहरू
जसलाई यो संसार देखाइएन, देख्न पाएनन्
यो धर्ति टेकाइएन, टेक्न पाएनन्
उनीहरूलाई यो संसार कस्तो छ के थाहा ?
जन्मन र ज्यूँन नपाउनेका लागि जीवन के हो, के थाहा ?
जन्मेपछि हरपल बाँच्नका लागि
सङ्घर्षमा लागिरहेकालाई
मृत्युको दैलोमा एकमुठ्ठी सासको
भिक्षा मागिरहेकालाई
मात्र थाहा हुन्छ होला
जीवन र जीवन जिउनुको सही मूल्य
जीवनलाई चरू सम्झेर
स्वयं आहुति दिनेहरूलाई
सायद बाहिरी शरीरमा बलेको आगोभन्दा
हृदयभित्र दन्केको ज्वाला
कयौँ गुणा पीडादायक थियो होला
जल्न लगाइए होला, जलाइए होला
कसैलाई बहादुरी लाग्ला, कसैलाई कायरता, तर
जीवनभित्रै घट्ने हर घटनाको ओखती
जीवनभित्रै हुन्छ र खोजिनु पर्छ
आत्मदाह वा कुनैखाले आत्महत्या होइन कि!
यस्तो लाग्छ –
आफूले हिँडेको हृदयविदारक मृत्युको बाटो
अरू जीवनयात्रीको लागि पदचाप नबनोस्
आफ्नै मृत्यु कुर्नलाई कोही अधैर्य छ भने
उसको धैर्यता अरू केमा होला र ?
बोलाउनु पर्दैन
मृत्यु त आफैँ आउँछ
उर्लँदो खहरे बनेर
एकक्षणमै जीवनका सबै रङ्गहरू बगाएर लान्छ
यदि तिनै रङ्गहरूले जीवनको क्यानभासमा
कुनै चित्र कोरिएको छ भने, सायद
जीवन्त रहनेछ केवल त्यही चित्र !
मात्र एकपटक जल्ने
जीवनको अमूल्य अग्निकुण्डमा
आत्मा जलेको कहिल्यै नभेटियोस्
वीभत्स बहादुरी कसैको नदेखियोस्
जीवनभर हवनका यी मन्त्रहरू सर्वथा उच्चारण भइरहून् –
“अति ईर्ष्याम् स्वाहा !
अति अहङ्कारम् स्वाहा !!
अति महत्वाकांक्षाम् स्वाहा !!!”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










