घामले छायालाई के पो सम्झला र
म त आफैँलाई सम्झनु अगाडि
तिमीलाई सम्झने मान्छे
जितले हारलाई के पो सम्झला र
म त आफैँलाई जिताउनु अगाडि
तिमीलाई जिताउने मान्छे
जीवनले यौवनलाई के पो सम्झला र
म त आफ्नो जीवन भन्दा बढी
तिम्रै जीवन ज्यूने मान्छे
हो त, म रुनु बढी
तिमीलाई हँसाउने मान्छे
प्रिया तिमी जन्मेको दिन
म के भनुँ, कसो भनुँको मझधारमा उभिएर
यो कविता लेख्दै छु
तिमी जन्मिने बेला
लाग्यो होला आकाशमा बादल
चल्यो होला हावा सर् सर्
र पर्यो होला झरी झर् झर्
प्रिया आज तिमी जन्मेको दिन
म यत्ति भन्न चाहन्छु
मनको बादल म पन्छाउँला
हुन्छ भन तिमी
हुरी नै चले जीवनमा, साथ दिउँला सहन
हुन्छ भन तिमी
कहिलेकाहीँ वर्षा बनेर पोखिदा
थामी दिउँला वर्षादी बनेर
हुन्छ भन तिमी
प्रिया तिमी जन्मेको दिन
म के भनुँ, कसो भनुँको मझधारमा उभिएर
यो कविता लेख्दै छु
प्रिया तिमी जन्मेको दिन
म यत्ति चाहन्छु
तिमीलाई सजाएर पनि सजाइरहन पाऊँ
तिमीलाई पाएर पनि पाइरहन पाऊँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
‘साहित्यपोस्ट काव्य पुरस्कार २०८१’ को अन्तिम सूचीमा ‘‘मायाको आयतन’’
२१ असार २०८३, आईतवार 







