सिलगढ़ी । “नेपाली साहित्यका इतिहास भइसकेका व्यक्तित्व हुन् नरबहादुर दाहाल। उनले कहिले म नोकरी गर्दिनँ भन्थे। उनी स्वाभिमानका प्रतिमूर्ति थिए। उनले जीवनमा कति सङ्घर्ष गरे त्यसको लेखाजोखा गर्न मुश्किल छ। उनको साहित्यिक अवदानको मूल्याङ्कन कति भयो ऱ उनले के कति पाए, त्यो पनि भन्न मुश्किल छ,” सोमवार १८ सेप्टेम्बर २०२३-को दिन सालबारीस्थित प्रकाशन संस्था बुकएन्टको प्रेक्षागारमा आयोजित नेपाली साहित्यका शिखर पुरुष नरबहादुर दाहाल सम्झाउनी साँझको अवसरमा अध्यक्षीय भाषणमा प्राध्यापक डा. मोहन पी. दाहालले भनिरहेका थिए।
सम्झाउनी साँझको आरम्भमा नरबहादुर दाहालको स्मरणमा द्वीप प्रज्वलन गरेपछि मौन धारण गरियो। त्यसपछि युवा कथाकार-समालोचक लक्ष्मण दाहालले दाहालको जीवनी प्रस्तुत गरे। बाल्यकालदेखि उनको निधनसम्म नरबहादुर दाहालले तय गरेको व्यापक साहित्य यात्राको विवरण राख्दै उनको राजनैतिक क्रियाकलापको समेत परिचयन गराए।
सोनादा डिग्री कलेजका नेपाली विभागका प्राध्यापक एवं सुकुना साहित्यिक सांस्कृतिक संस्थानका साहित्यिक सचिव मेघनाथ छेत्रीले सम्झाउनी साँझको मुख्य कार्यपत्र पेश गरे। कविता, कथा, उपन्यास, नियात्रा, निबन्ध, जीवनी, समालोचनाजस्ता विभिन्न विधामा अनवरत कलम चलाएका नरबहादुर दाहालका साहित्यिक कृतिहरूमाथि विहङ्गम मूल्याङ्कन प्रस्तुत गरे। लगभग एक घण्टा लामो उक्त कार्यपत्रमा दाहालको सिङ्गोपाङ्गो साहित्यिक व्यक्तित्व स्पष्ट रूपायित भएको थियो। कार्यक्रमको अन्त्यमा श्रोता दीर्घाबाट उनको कार्यपत्रको प्रशंसा सुन्न पाइएको थियो।
डा. घनश्याम नेपाल, ज्ञानेन्द्र खतिवड़ाले स्रष्टा नरबहादुर दाहालमाथि आ-आफ्ना गहकिला मन्तव्य राखेका थिए भने मोहन ठकुरीले दाहालको केही कविता पठन गरेर सुनाएका थिए।
कार्यक्रमको अध्यक्षता उत्तर बङ्गाल विश्वविद्यालयको नेपाली विभागका वरिष्ठ प्राध्यापक डा. मोहन पी. दाहालले गरेका थिए भने उत्तर बङ्गाल विश्वविद्यालयको नेपाली विभागका वरिष्ठ प्राध्यापक डा. घनश्याम नेपाल सम्मानित अतिथिको रूपमा उपस्थित थिए। वरिष्ठ कवि मोहन ठकुरी विशिष्ट अतिथि, प्रतिष्ठित कवि ज्ञानेन्द्र खतिवडा मुख्य अतिथि, ब्लक अधिकारी एवं अनुवादक देनुका राई प्रमुख अतिथि रहेको कार्यक्रममा वरिष्ठ कवि-कथाकार भविलाल लामिछाने, उत्तरबङ्ग विश्वविद्यालयका प्रोफेसर डा. सञ्जय बान्तवा कथाकार, सालबारी सेवा समाजका अध्यक्ष एवं कथाकार राजेन मोक्तान, उष्मा प्रकाशनकी अध्यक्षा उर्मिला घिसिङ, केफे द ट्वीन्सकी सञ्चालिका लेखा राई, शब्द समयका कर्मठ सदस्य हेमन्त काफ्ले, सुकुना साहित्यिक सांस्कृतिक संस्थानका सचिव जेबी छेत्री, साहित्यकार देविका सुब्बा खवास, समाजसेवी सुरेन प्रधान, मोनिका प्रधान, ज्योतिका छेत्री, रञ्जना गिरी, पूर्णिमा थामीजस्ता सामाजिक हस्तीहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन बुकएन्टका निर्देशक सुरज गुरुङले गरेका थिए।
सम्झाउनी साँझ स्मरणीय रहने मन्तव्य बुकएन्टका निर्देशक राजा पुनियानीले आफ्नो कृज्ञतार्पण सम्बोधनमा राखेका थिए।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










