एक दिन एउटा समाचारले सबैलाई त्रसित बनायो । समाचारको शीर्षक थियो – दिउँसै सरकारको हत्या ।
दिनदहाडै सरकारको हत्या भएकाले अस्तव्यस्त भयो देश । हत्यारको खोजी तीव्र भयो । अन्ततः केही समयमा नै सहनशीलताको नकाबपोसधारी हत्यारा पक्राउ पर्यो । हत्यारालाई अदालतमा उभ्याइयो । न्यायाधीशले प्रश्न गरे, “के तिमीले सरकारको हत्या गरेको हो ?”
“हो श्रीमान् ! सरकारको हत्या मैले नै गरेको हो ।”
“सरकारको हत्या गर्दा आफूलाई मृत्युदण्ड हुन्छ भन्ने जान्दा जान्दै किन हत्या गर्यौ त ?”
“युगौँदेखि हाम्रो देशको सरकारले विभिन्न नाममा हामीलाई लुटिरहेकाले अब यो लुट सहन नसक्ने भएकाले र अब यो लुटाहा सरकारलाई जीवित राखे अन्य पुस्ताहरूसमेत लुटिने भएकाले सरकारको हत्या गरेको हुँ श्रीमान् ।”, हत्याको कारण स्पष्ट पार्छ हत्याराल ।
न्यायाधीश पुनः बोल्छन्, “तिम्रो अनुहारमा लगाएको त्यो सहनशीलताको नकाब उतार अब ! तिमीलाई मृत्युदण्डको सजाय दिनुअघि तिम्रो परिचय खुल्नु जरुरी छ ।”
हत्याराको अनुहार हेर्न सबै उत्सुक भए, आखिर को रहेछ त सरकारको हत्यारा ?
हत्यारा केही नबोली आफ्नो अनुहारमा लगाएको सहनशीलताको नकाब उतार्न थाल्छ । नकाबभित्रको अनुहार देखेर सबै अचम्मित बन्छन् । न्यायाधीश पनि धर्मसङ्कटमा पर्छन् । हत्यारालाई मृत्युदण्ड दिए देश नै नरहने स्थिति बन्छ ।
लुटाहा सरकरको हत्यारा जनता हुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 









