सार फुर्सद नै छैन
अति व्यस्त छ र पो
असार भयो
व्यस्तताको कुनै सीमा नै छैन
लेखापालको कक्षमा भुक्तानी
कुरिरहेको उपभोक्ता भन्दा पनि
प्राविधिक फाँटमा आफूले गरेको
कामको मूल्याङ्कन गराइरहेको ठेकेदार
भन्दा पनि
रोपाइँ गर्दैगर्दा कुलो टुटी
पानी फर्काउन गएको खेताला
भन्दा पनि बढी व्यस्त छ
सरकार योजना बनाउनमा
बिचौलिया योजना पार्नमा
माननीयहरू आफ्नो पहलको
हिसाब सुनाउनमा
सरकार प्रस्तुत बजेट पारित गराउनमा
सुदूर बस्तीका नागरिक
आशा भरोसाको रातो किताब हेर्नमा
असार जत्तिकै व्यस्त छन्
छन त छन् रातो किताबमा
नयाँ योजना छन्
नीति कार्यक्रम र बजेटमा
नयाँ नीति र कार्यक्रम पनि छन्
त्यसैसँग ढाड सेक्ने गरी बढेको कर र
करका कारण बढेको महँगी पनि छ
ज्योतिषीले दिएको मुहूर्त टर्न सक्ला
चिकित्सकले दिएको
अन्तिम समय सर्न सक्ला
मौसम विज्ञान विभागको
पूर्वानुमान फरक पर्न सक्ला तर
टस न मस
असार मसान्त गडेर बसेको छ
हिउँदभरि पर्न नसकेको पानी
बर्खा लागेको आभास दिँदै पर्न थाल्छ
बर्खाको नदीको भेलमा
अस्तित्व हराउने खहरे
उत्पात मच्चाउँदै उर्लन्छन्
गर्मी होस् वा झरी
मानो छरी मुरी फलाउने
स्वर्णिम सपना बोकेको किसान
त्यत्तिकै व्यस्त छ
असार जत्तिकै
असार आफैँमा व्यस्त कहाँ हो र?
व्यस्त गराउँछ समयले
व्यस्त गराउछ सरकारले
असार हो असार
व्यस्त भएकाले पो हो
असार ।
परशुराम १२, डडेल्धुरा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ असार २०८३, मंगलवार 










