भक्तराज आचार्य संगीत प्रतिष्ठानले शनिबार एक कार्यक्रमका बीच नेपाली संगीत क्षेत्रका प्रख्यात गायक दीप श्रेष्ठ तथा संगीतकार शक्ति बल्लभलाई भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७९ ले विभूषित ग-यो । कार्यक्रममा दुवै सम्मानित व्यक्तित्वलाई ५० हजार रूपैयाँ नगद, सम्मानपत्रसहित वरिष्ठ गायक भक्तराज आचार्यले सम्मान गर्नुभयो ।
यस वर्षदेखि भक्तराज आचार्य संगीत प्रतिष्ठानले सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान पनि गर्न थालेको छ । जसअनुसार नेपाली संगीत क्षेत्रमा सन् २००८ यता विभिन्न वाद्यवादन गरिरहनु भएका विश्वनाथ प्रताप सिंह (वीपी सिंह)लाई नगद २५ हजारसँगै सम्मानपत्र प्रदान गरियो ।
दुई महिनाअघि मात्र मुटुको समस्याका कारण अस्पताल भर्ना हुनुभएका सिंहको स्वास्थ्यलाभको कामना गर्दै रकम हस्तान्तरण गरिएको हो ।
सो कार्यक्रममा गायक श्रेष्ठले वरिष्ठ गायक भक्तराज आचार्यले एक अर्कालाई तपाईं भन्दाभन्दै कुनबेलादेखि तिमी भन्न थाल्यौँ हामीलाई नै थाहा भएन भन्दै २०४५ सालमा गरिएको सांगीतिक टूरका क्षण स्मरण गर्नुभयो ।
आफैँमा मग्न रहनु हुने भक्तराजको आफ्नोपनका कारण कालजयी रचना गर्न सफल हुनुभएको टिप्पणी गायक श्रेष्ठले गर्नुभयो । जब जब रेडियो नेपालमा रेकर्डिङको डेट खाली हुन्थ्यो, भक्तराजसँग सधैँ केही न केही कालजयी रचना सधैँ हुन्थ्यो र कहिल्यै डेटलाई खाली जान दिनु भएन भन्दै गायक श्रेष्ठले यो सम्मान आफूले पाएका अन्य कयौँ सम्मानहरूभन्दा उच्च भएको बताउनुभयो ।
कार्यक्रममा अर्का सम्मानित संगीतकार शक्ति बल्लभले गायक भक्तराज आचार्य संगीत सिकाईका विद्यालय हुनुभएको तर अहिले दुई होनहार छोरा सत्यराज आचार्य र स्वरूपराज आचार्यले त्यही विद्यालयलाई विश्वविद्यालय बनाइसकेको भन्दै परिवारको उच्च मूल्याङ्कन गर्नुभयो ।
आफ्ना पितापुर्खाको महानतालाई कसरी अक्ष्क्षुण राख्दै अघि बढ्नुपर्छ भन्दै सत्य-स्वरूपले नयाँ पुस्ताका लागि अनुकरणीय कार्य गरिरहेकामा संगीतकार बल्लभले प्रशंसा गर्नुभयो ।
संगीतकार बल्लभले एकताका पाकिस्तानी गायक शौकत अलीसँग काम गर्दा उनले अन्य कसैलाई नखोजी सिधै भक्तराज आचार्यलाई खोजेको देख्दा आश्चर्यमा परेको बताउनु हुँदै उहाँले भन्नुभयो, ‘केही कलाकारले राष्ट्रिय पहिचान बनाएका छन् तर भक्तराजले अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल हुनुभएको देख्दा ज्यादै खुसी लागेको छ ।’
यस्ता व्यक्तित्वका नाउँबाट पुरस्कार थाप्दा आफूलाई ज्यादै खुसी लागेको संगीतकार बल्लभले बताउनुभयो ।
कार्यक्रममा उहाँले अन्य गायक र सत्य-स्वरूपसँग काम गर्दा निकै फरक महसुस हुने स्मरण पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘धेरै नयाँ कलाकारसँग काम गरिन्छ तर सत्यस्वरूपसँग भने सजिलो हुन्छ । उनीहरूले घरैमा गीतको अभ्यास गर्छन् । नत्र त अहिलेका गायकहरू कुनै अभ्यास नगरी सिधै रेकर्डिङमा आएर गाउन थालेपछि पसिनै निकालिदिन्छन् ।’
कार्यक्रममा सम्मानित गायक तथा संगीतकार श्रेष्ठ र बल्लभका गीतहरूलाई सत्य, स्वरूप र सुरज थापाले अनप्लग्ड संस्करणमा गायन प्रस्तुत गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










