
१. पुतली – श्यामप्रसाद न्यौपाने

श्यामप्रसाद न्यौपाने
फुर्र फुर्र पुतली आँगनीमा नाच्दछे
फूलसँगै खेलेर खुसी भई हाँस्दछे
कैले बस्छे फूलमा कैले बस्छे पातमा
खेल्नलाई मसँगै बस्छे मेरो हातमा
रङ्गीचङ्गी पखेटा फिँजाएर डुल्दछे
जताजता फूल छन् त्यतैतिर भुल्दछे
टिउँरीका पातमा बसी हाँस्छे मुसुक्क
कानमा गई फूलको के के भन्छे खुसुक्क
साना उसका पखेटा सानै उसको शरीर
सानै उसको मुख छ खान्छे कसो गरेर
आँगनीमा आएकी पुतली रमाएकी
छोप्नु हुन्न उसलाई हेरौँ मात्र दिदीभाइ
———-
[गल्याङ – ४, स्याङ्जा जन्मस्थल भई हाल सुनवल – १२ भुमही, नवलपरासीमा बसोबास गर्दै आएका कवि श्यामप्रसाद न्यौपाने (२०२४) ‘स्वतन्त्रता’ शीर्षकको निबन्ध प्रकाशित गरी वि.सं. २०४६ देखि साहित्यिक क्षेत्रमा उदाएका प्रतिभा हुन् । मोतीलाल बहुमुखी क्याम्पस , सुनवल, नवलपरासीमा प्राध्यापन पेसामा संलग्न उनले नेपाली साहित्यमा स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि हासिल गरेका छन् । साहित्यका गजल, कविता, मुक्तक, खण्डकाव्य, लघुकथा लगायतका सिर्जनात्मक विधाका अतिरिक्त समालोचनाका क्षेत्रमा समेत उत्तिकै सक्रिय स्रष्टा न्यौपानेका विभिन्न विधाका १३ वटा जति कृति प्रकाशित छन् । कवि न्यौपानेले वि.सं. २०६० तिरबाट बालकविता लेखनको आरम्भ गरेका हुन् । उनको पुतली बालकविता ७ अक्षरे बालोरी छन्दमा रचित प्रकृतिचित्रणात्मक सुन्दर बालकविता हो । प्राकृतिक कीट पुतलीलाई विषयवस्तु बनाइएको यस बालकवितामा पुतलीले गर्ने क्रियाकलापलाई बालसुलभ भाषामा व्यक्त गरिएको छ । पुतली जस्ता किराहरूले स्वतन्त्रतापूर्वक जीवन जिउन पाउनु पर्दछ भन्ने विचार व्यक्त गर्दै पुतलीलाई हेरौँ मात्रै तर नछोपौँ भन्ने आग्रह र सन्देश यस बालकवितामा अभिव्यक्त भएको छ । कवितामा अन्त्यानुप्रासको सफल योजना रहेको छ ।]
*******
२. प्यारो मेरो पाठी छ – प्रकाश खड्का “अभियान”

प्रकाश खड्का “अभियान”
प्यारो मेरो पाठी छ
मुने भन्ने बानी छ
बोक्ने गर्छु काखमा
मेरो साथी सानी छ
गीत मेरो सुनेर
उफ्री नाच्छ भगाई
मैले खाको देखेर
खान्छ दाना रमाइ
हिड्ने गर्छु गाउँमा
आफू जस्तै सजाई
साथी संगी माझमा
मेरी मुने लजाइ
——–
[चाँगुनारायण नगरपालिका वडा नं ७ , खरिपाटी भक्तपुर घर भई हाल हाल अमेरिकाको बोस्टन सहरमा बसोबास गर्दै आएका प्रकाश खड्का “अभियान ” (२०३७) नेपाली साहित्यका मुक्तक ,हाइकु, गजल, कविता, लघुकथा र कथा विधामा कलम चलाउने गर्दछन् । नेपालमा छँदा विभिन्न विद्यालय तथा कलेजमा शिक्षण र प्राध्यापन पेसाको अनुभव बटुलेका उनी हाल अमेरिकामा हुलाक सेवामा सेवारत छन् । अनेसास बोस्टन (सचिव), लायन्स क्लब नरउड (महासचिव), मेट्रोवेस्ट नेपाली कम्युनिटी(महासचिव) र यसै संस्थाद्वारा सञ्चालित नेपाली भाषा स्कुलमा शिक्षक र अन्य विभिन्न संस्थामा कार्यरत रहेका उनी बालसाहित्य लेखनमा समेत रुचि राख्दछन् । बालबालिका अति नै मन पर्ने, उनीहरूसँग हुँदा सबै पीडा भुल्ने कारणले पनि उनी बालकविता लेख्न रुचाउँछन् । उनको ‘प्यारो मेरो पाठी छ’ कविता प्राकृतिक जीवलाई विषय बनाएर लेखिएको बालकविता हो । आफ्नै साथीजस्तो ठानेर सानो पाठीलाई काखमा खेलाएको प्रसङ्ग प्रस्तुत बालकवितामा अघि सारिएको छ । यस बालकवितामा सानो पाठीले गर्ने क्रियाकलापलाई बालबालिकाले बुझ्ने भाषामा कवितात्मक र रोचक पारामा व्यक्त गरिएको छ ।]
*********
३. विद्यार्थी – शान्ति सिग्देल

शान्ति सिग्देल
राम्रो बाटो हिँड नानी सबेर
सीता माता भृकुटीझैँ बनेर
आमा बाबा गुरु हुन् दिव्य पाटो
भन्ने जान्नू अनि खुल्नेछ बाटो।
(१)
विद्यार्थी हौ सृजनाका मुहान
पढ्दा लेख्दा नित बढ्नेछ मान
राम्रो सोच्ने दिल होस् दिव्य बोली
बढ्दै जाऊन् अझ तिम्रा सहेली ।
(२)
नौला नौला प्रण गर्दै नथाकी
हिँड्नू नानी शुभ सोची नआत्ती
साना राम्रा कलिला फूल जस्तै
हौ विद्यार्थी सिक नानी प्रशस्तै ।
(३)
पाखा खोल्सा वनमा फूल रोपी
गाना गाई मनमा प्रेम बोकी
यो धर्तीको जय मात्रै गरेर
बढ्दै जाऊ शिर उच्चो गरेर।
(४)
————-
[तारकेश्वर गाउँपालिका-२ नुवाकोटमा जन्म भई हाल त्रिभुवन माध्यमिक विद्यालय किस्पाङ- ५, नुवाकोटमा शिक्षण पेशामा आबद्ध शान्ति सिग्देल (२०४१) शास्त्रीय छन्दको कविता लेखनमा सक्रिय सर्जक हुन् । साहित्यका विविध विधामध्ये उनी विशेष गरी कविता लेखनमा सक्रिय छन् । उनी मिठा मिठा बालकविता पनि लेख्छिन् । बालमनोभावना बुझेर बालोपयोगी र बालसुलभ कोमल भावनामा आधारित बालमनोविज्ञानयुक्त कविता लेख्न उनी खप्पिस छन् । उनी आफ्ना बालकवितामा बालबालिकालाई व्यावहारिक ज्ञान र नैतिक सन्देश प्रदान गर्दछिन् । उनको प्रस्तुत विद्यार्थी बालकविता वातोर्मी छन्दमा रचित बालकविता हो । म भ त गु गु गण सूत्र र SSS SII SSI SS गण सङ्केत रहेको यस बालकवितामा प्रत्येक हरफमा कथ्य संरचना अनुसारका ११-११ अक्षर रहेका छन् । यस बालकवितामा कवयित्री सिग्देलले बालबालिकाले आफ्नो भविष्य उजिल्याउनका लागि सुमार्गमा लाग्नुपर्ने सन्देश र प्रेरणा दिएकी छन् ।]
**********
– rcghimire47@gmail.com



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० असार २०८३, मंगलवार 










