
१. पहिलो लघुकथा
(मारवाडी समुदायबाट पहिलो महिला लघुकथाकार)
सासू आमा
इन्दु तोदी

इन्दु तोदी
मेरो पनि अरू बुहारीहरूझैँ आम धारणा थियो, सासूहरू सधैँ सासू नै हुन्छन्, ती कहिल्यै आमा बन्न सक्दैनन् । त्यही धारणामै भिजेर होला मैले पनि आफ्नी सासूभित्र कहिले आमा खोज्ने चेष्टा गरिनँ, खोजेकी भए भेट्थेँ कि ! सधैँभरि सासू भनेको त बुहारीलाई मनग्य काम लाउने, हेप्ने, तर्साउने अनि पर-पर राख्ने खालका नै हुन्छन् भन्ने नै परेको थियो । यसै सोचले ग्रसित भएर होला उहाँले कहिलेकाहीं गरेको गालीलाई पनि म गम्भीरताले लिने गर्थें अनि उहाँको मायामा चाहिँ स्वार्थ देख्थेँ । यस्तै भ्रमैभ्रममा परेर म आफैँ नै उहाँदेखि निकै टाढा-टाढा भाग्न थालेँ । एकदिन यस्तो पनि आयो कि म श्रीमान् अनि छोराछोरीलाई लिई घरबाट बेग्लै बस्न थालेँ ।
एक दिनको कुरो हो, म लुगा सुकाउँदा सुकाउँदै रिगंटा लागेर छतबाट झरेर बेहोश भएँ । आँखा खुल्दा हस्पिटलको बेडमा थिएँ । अगाडि सासू उभिएको देखेँ । मेरो खुट्टा भाँच्चिएको रहेछ, खुट्टाको ठूलो अप्रेसन भयो । डाक्टरले तीन महिना बेडमै सुत्नु पर्छ भने ।
माइतमा आमा प्यारालाइज्ड भएर वर्षौंदेखि बेडमै हुनुहुन्थ्यो । यस्तोमा कसले गराई दिने ? मलाई अब तीन महिनासम्म बेड रेस्ट ! अनि कसले हेरिदिने मेरो श्रीमान् अनि बच्चा ! सोचेर आँखा रसाए, आफुलाई एकदमै असहाय महसूस गरें । अकस्मात कोमल हात शीरमा पर्यो अनि कडा स्वर सुनियो, ‘केको चिन्ता लिएकी ? अनि तेरा यी आँखाहरू किन रसाएका म छँदाछँदै ?’
त्यो स्वर थियो मेरी सासू आमाको ! मैले उहाँको हात च्याप्प समाएँ अनि निकैबेरसम्म रोई रहेँ ।
###
(व्यापारमा प्रख्यात मारवाडी समूहमा एदाकदा साहित्यिक प्रतिभाहरूको जन्म हुन्छ । इन्दु तोदी त्यही समुदायको पहिलो महिला लघुकथाकार हुन् ।
इन्दु तोदी विराटनगरबाट धरान पुगिन् । धरान नै उनको मुख्य कार्यक्षेत्र हो । साहित्यमा रुचि राख्ने उनी मारवाडी संघसँग पनि सम्बन्धित छिन् । उनी नेपाली लघुकथामार्फत नारीभित्रको पीडा र अनुभूतिहरूलाई खोतल्न सिपालु छिन् ।
प्रस्तुत लघुकथा “सासू आमा” नेपाली समाजमा देखिइरहेकै विषयमाथि लेखिएको एक पारिवारीक कथा हो । नारीको शत्रु नारी नै हुन्छन् भन्ने आम भावनामा सासू बुहारीको सम्बन्धलाई समाजमा बढो अतिरञ्जित गरिएको छ । यसै पृष्ठभूमिमा कथा बहेको छ । तर कथाको अन्त्यले विषयलाई “यु टर्न” गरिदिँदा पाठक आफैँ आचम्मित हुन सक्नेछन् ।)
२. ब्यापक काल
विजय पराजय
राजु क्षत्री अपूरो

राजु क्षेत्री अपूरो
दाइ, दाइ भन्दै हँस्याङ फस्याङ तल्लाघरे माइलाको छोरा कराउँदै, घरतिर हामफाल्दै आएको देखेर वस्तुस्थिति बुझ्न सोधे- `के भयो भाइ ? किन आत्तिएको ?´
सासै नरोकी उसले भन्यो- `हाम्रो टोलको नयाँ सरकारी भवनमा क्वारेनटाइन बनाउने अरे नि ! कोरोनाको बिरामीहरू राख्ने रे ! सरकारी मान्छेहरु आएका छन् ।
उसले रिसावेगले रन्थनिदै भन्यो, `म यो टोलको सर्वेसर्वालाई नसोधी तिनका त्यत्रो हिम्मत ? को हुन् ती सरकारी भतुवाहरु ? टोलको सुरक्षा मेरो दायित्व हो भन्ने बुझेनन् कि ?´
तिनीहरू भवनमा देखेर त म खबर गर्न आको नि दाइ ! तिनलाई के थाहा ? दाइको तागत !
ल हिँड जाऔँ । हाम्रा सबै मान्छेलाई बोलाएर जम्मा गर है त !
निमिषभरमै उसको आह्वानमा सिङ्गो टोलबासी उपस्थित भए। आवश्यक परे आक्रमण गर्न आदेश पर्खिएको सिपाहीझैँ थिए। वार्ता गरे । कुरो मिलेन । त्यो दिनलाई काम स्थगित गरेर सरकारी मान्छेहरू कुलेलम ठोके । आफू विजयी भएकोमा धन्य ठाने उनले ।
भोलिपल्ट सबै टोलबासी उनको जयजयकार गर्दै थिए । टोलमा कोरोना पोजेटिभ बिरामी नभित्रिने भयो भनेर सबै दङ्ग भए । सबैले दिल खोलेर प्रशंसा गरे । धेरैले बधाई दिए । आफ्नो विजयमा खुसी हुँदै गरेको अवस्थामै राति छोरोलाई हनहन्ती ज्वरो आयो । सास फेर्न गारो भएको देखियो । न जा भन्दाभन्दै अस्ति साथीहरूसँग घुम्न गएको छोराको अवस्था हेर्दा कोरोना सङ्क्रमित भएको हो कि भन्ने शङ्का उब्जियो। स्वास्थ चौकी पनि लकडाउनले बन्द थियो । मध्यरात कहाँ लाने ? ऊ आत्तियो । यता उता कल गरे पनि कसैले बिरामी छेउ आउन मानेनन् । रात जेनतेन बित्यो ।
बिहानीपख मिर्मिरेमै हिजोका सरकारी कर्मचारीहरू र प्रहरीहरूको दलबलसहित आउँदै गरेको देखे उनले ।
प्रशासनले सरकारी काममा बाधा पुर्याउन खोजे कानुनी कार्वाही गर्नु भन्ने आदेश लिएर आएका थिए। हत्त न पत्त अगाडि बढेर उनले जिम्मा पाएका अधिकृतलाई भने- “सर आजैबाट भवनलाई क्वारेनटाइन बनाऔँ । टोलका बिरामीहरूलाई सुरक्षित राख्नुपर्यो नि !´´
###
(नेपाली लघुकथाको २०६० को दशकलाई ब्यापककाल मानिन्छ । यही दशकको सुरूवाती समयदेखि लघुकथाकार राजु क्षेत्री “अपुरो” लेखनी आरम्भ भएको पाइन्छ ।
राजु क्षेत्री “अपुरो” क्रियाशील लघुकथाकार हुन् । उनी आफू पनि लघुकथा लेख्ने र अरूलाई पनि लघुकथा लेख्न उत्पेरित गर्छन् । “लघुकथा कुनो” पेजमा रहेर केही समय सक्रिय उनी पछिल्लो समय “हाम्रो लघुकथा पाठशाला” एक योजनाकार भई नेपाली लघुकथामा नवप्रवेसीहरू भित्राउन सक्रिय छन् । सामाजीक यथार्थवादी धारका लधुकथा लेख्न खप्पिस राजु क्षेत्री “अपुरो”का चार वटा लघुकथासंग्रहहरू प्रकाशित छन् ।
प्रस्तुत लघुकथा “विजय पराजय” कोरोनाको कहरमा लेखिएको एक कथा हो । यो अत्यन्तै समसामयिक छ । आफ्नो भलाईका लागि हामी नेपालीहरूले के-कसोसम्म गर्न सक्छौ ? भन्ने प्रश्नको उत्तर लघुकथामा खोजिएको छ ।)
३. मलाई मन परेको लघुकथा
सम्मान
खगेन्द्र बस्याल

खगेन्द्र बस्याल
अलि बुझ्ने भएपछि उसले आफ्ना बुबालाई सोधी, `यी भित्तामा सजाइएका फोटाहरु कसका हुन् ? जसलाई तपाईंले दैनिक नमस्कार पनि गर्नुहुन्छ ।´
उनले भने- ` हाम्रो देश बनाउने ठूला नेताका हुन् छोरी।´
केहीबेरको मौनतापछि उसले फेरि सोधी, `मेरो साथीको घरमा पनि यसैगरी फोटाहरू सजाइएका थिए तर त्यहाँ यी फोटाहरूमध्ये कसैको पनि फोटाहरू थिएनन् । किन फोटाहरू फरक परेको ?´
उनले जवाफ दिए, `ती अर्कै पार्टीका नेताका फोटा हुन् नि !´
छोरीले उत्सुकता साथ फेरि सोधी, `के तिनीहरूले देश बनाउने काम गरेका थिएनन् र ?´
जायज प्रश्नले केहीबेर उनी अलमलिए । अन्ततः प्रश्न उचित लागेर उनले भने,` हो, उत्तिकै योगदान छ तर ती फरक दलका भएर हो छोरी।´
उसलाई बाबुको जवाफ चित्त बुझेन, यसैले भनी, `सबै मिलेर देश बनाएको हो भने किन मायामा कन्जुस्याइँ ? हाम्रो उद्देश्य देश विकास हो कि पार्टीको मात्रै विकास हो ?´
उनले अन्ततः भने, देशकै विकास हो ।
उसले बाबुको जवाफलाई उछिनेर भनी, `उसोभए आजैदेखि हामी सबै दलका शीर्ष नेताका फोटाहरू राखेर सबैको मन जित्ने कामको शुरुआत हाम्रै घरबाट गरौं हुन्न र ?´
###
(खगेन्द्र बस्याल अनुभवले खारिएका स्रष्टा हुन् । उनी काव्यको अलावा पछिल्लो समय निरन्तर लघुकथा लेख्ने एक क्रियाशील स्रष्टा हुन् । रुपन्देहीलाई आफ्नो कर्मथलो बनाएका उनी साहित्यमा आफ्नो प्रष्ट परिचय बनाउन लागिपरेका छन् ।
प्रस्तुत लघुकथा “सम्मान” मा खगेन्द्र बस्यालले बालिकाको मुखबाट आम जनताको प्रश्न सोधेका छन् । लघुकथाले समाज हुँदै देश बनाउन हाम्रो खराब राजनीतिक चेतलाई झक्झकाएको छ । कथाको बालपात्रको झैँ स्वभाव हाम्रा नेताहरूमा पलाए देशको मुहार हाम्रै पालामा परिवर्तन हुने थियो ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ असार २०८३, शनिबार 










