भाषा, साहित्य र संस्कृति भनेको त्यो देशको, समाजको प्राण हो । मुटुको धुकधुकी हो, पहिचान अनि गौरव हो । सभ्यताको चिन्ह पनि हो । भाषा र साहित्यको संवृद्धि भन्नु नै राष्ट्रकै संवृद्धि हो । जब भाषा, साहित्यका उचित व्यवस्थापन, उन्नयन र विकास भएको देखिँदैन तव स्पष्ट भन्न सकिन्छ- त्यो देश र समाज अधोगति उन्मुख छ ।
नेपाली भाषा साहित्यको हिसाबले पनि संवृद्ध छ । हुन त नेपाली साहित्यको तुलनामा नेपाली भाषा उपर अनेक तर्क, वितर्क र वाद-विवादहरू भएका पाउँछौं हामी । देवनागरी लिपिको यो हाम्रो भाषालाई “नेपाली भाषा” भनी नामकरण गर्नु नै गल्ती थियो । भारतले आफ्नो भाषालाई भारती भाषा भन्दैन । फिलिपिन्सले तागलोक भन्छ । धेरै देशहरूका यस्ता अन्य उदाहरणहरू पाइन्छन् । हामीले खस जुम्ली भाषालाई किन नेपाली भनियो ? यस्ता धारणा बोकेर वादविवादमा रुमल्लिनेहरूको पनि कमी छैन समाजमा ।
खैर, म यी तर्क/वितर्कतर्फ जान चाहन्न । आज म संयुक्त राज्य अमेरिकामा भाषा साहित्यमा क्रियाशील र समर्पित केही संस्थाहरूको बारेमा उल्लेख गर्नेछु । भाषा साहित्यको विकासको रूप कस्तो देखिँदो छ अमेरिकामा ? नेपाली भाषी प्रवासीहरूले भाषा र साहित्यको संरक्षण र जगेर्नामा कस्तो भूमिका निर्वाह गरिरहेका छन् ? भन्ने विषयमा आफ्नो नितान्त निजी धारणा वा सानो समीक्षा प्रस्तुत गर्ने जमर्को गर्नेछु । म प्रारम्भमा नै यो नम्र निवेदन गर्न चाहन्छु कि ममा यस विषयको ज्ञान र बुझाइ अपूर्ण छ । मेरा यी बिचारहरू, भावनाहरू गहिरो खोजमूलक अनुसन्धानबाट प्राप्त निष्कर्ष होइनन् । न त विज्ञता प्राप्त महानुभावहरूसँग परामर्श गरी लेखिएको लेख हो । यो त सामान्य अवलोकन र एकसरो अनुभवको आधारमा प्रस्तुत धारणा मात्र हुनाले यसमा अपुग र अपर्याप्तहरू प्रशस्त हुन सक्छन् ।
संसारमा आप्रवासिने क्रम ह्वात्तै बढेको छ । विभिन्न कारणहरूले गर्दा अधिकांश मुलुकका बासिन्दाहरू आप्रवासीको रूपमा यत्रतत्र छरिएर रहन पुगेका पाउँछौँ हामी । आप्रवासिने नेपालीहरूको पनि सङ्ख्या ठूलो छ ।
यसरी नेपालीहरू आप्रवासी बन्दै गएको अवस्थामा नेपाली भाषा, साहित्य नेपाली भूगोलभित्र मात्र सीमित रहन सक्दैनन् र त विश्वको धेरै राष्ट्रहरू र तिनका कुनाकाप्चासम्म पुगेका छन् । यस अर्थले निर्धक्क भन्न सकिन्छ- प्रवासमा साहित्य लेखन उर्वर बन्दै गएको छ र नेपाली भाषाको प्रचार, प्रसारमा व्यापकता आएको छ ।
जहाँसम्म संयुक्त राज्य अमेरिकाको प्रसङ्ग छ, हो, यहाँ पनि नेपाली भाषी आप्रवासीहरूको सङ्ख्या क्रमशः बढ्न गएको छ र त्यही अनुपातमा भाषा साहित्यको पनि प्रयोग, विस्तार र विकास हुँदै आएको पाइन्छ ।
हामी स्वदेशबाट एक्लै विदेशतर्फ लागेका हुन्छौँ । यसो बिचार गर्दा फगत एक्लो व्यक्ति परदेश पुगेको देखिन्छ । तर यथार्थमा आफूसँगै भाषा, साहित्य, संस्कार, संस्कृति, सभ्यता आदि जस्ता कुराहरू छायासरी साथै लिएर आएका हुन्छौँ ।
भाषा साहित्यको संवृद्धि र विकासको लागि पहिलो कुरा प्रयोक्ताहरूमा जागरूकता र सचेतनाको आवश्यकता पर्दछ । जब उनीहरू सजग, सचेत र जागरूक हुन्छन् तव भाषा साहित्यले सामान्यतया अधोगतिको नियति भोग्नु पर्दैन । प्रयोक्ताहरूको निगरानी र खबरदारीबाट भाषा साहित्यले निरन्तर सही बाटो समाउँछ । यसको विकासमा विभिन्न जातीय समूहहरूको प्रयास पनि आवश्यक परिहाल्छ । सरकारको भूमिकालाई कम आँक्न हुँदैन तर सरकारले मात्र गरेर पनि हुँदैन । मुख्य कुरा स्वार्थरहित सम्बन्धित विभिन्न सङ्घ, सङ्गठनहरूको सामूहिक शक्ति नै भाषा साहित्यको उन्नति र प्रगतिको लागि सर्वथा बलियो शक्ति मानिन्छ । मैरीको गोलो बनी सामूहिक प्रयास, एकता र सहभागिता कायम गर्न अनि सहयोगी भावना सृजना गर्न सङ्घ, सङ्गठनहरू सक्षम हुन्छन् ।
संयुक्त राज्य अमेरिका ठूलो र फराकिलो भूभागमा फैलिएको देश हो । जसरी यो देश फैलिएको छ त्यसैगरी नेपाली समुदाय पनि फैलिँदै गएका छन् । सबै राज्यहरू मात्र हैन प्राय: सबै जसो शहरहरूमा धेरथोर नेपाली पुगेका देखिन्छन् । भनिन्छ- सरकारी तथ्याङ्कले कम सङ्ख्या देखाउँछ तर जानिफकारहरू भन्छन्- नेपाली भाषी भूटानीहरू समेत थपिएपछि कम्तीमा पाँच लाख नेपाली भाषी छन् अमेरिकामा । यसरी सङ्ख्यामा वृद्धि भएर नै होला शायद नेपाली भाषा, साहित्य, संस्कार र संस्कृतिको प्रयोग र जगेर्ना गर्नेहरू ह्वात्तै बढ्न पुगेका अनुभव हुन्छ ।
अमेरिकामा नेपालीहरू समेत संलग्न भै पहिलो खुलेको संस्था “अमेरिका नेपाल सोसाइटी” (ANS) हो । पहिलो संस्था हुनाले यसको केही थप जानकारी प्रस्तुत गर्ने अनुमति चाहन्छु । अमेरिकी समाज र समुदायसँग घुलमिल हुने र हातेमालो अगाडि बढाउने अनि नेपालीहरूको सुखदुःखमा साथ सहयोग गर्ने उद्देश्यले यो संस्था खुलेको भनिन्छ । यसलाई स्थापना गर्न नेपालका लागि अमेरिकी पूर्व राजदूत “ईल्सओर्थ” को सक्रियता प्रमुख थियो । उनी मानार्थ सभापतिमा चयन भए । सन् १९६७ मा स्थापित यो संस्थाको पहिलो मानार्थ अध्यक्ष “विलिएम ग्रेसम” हुन् । यसको कार्यालय भर्जिनियामा रहेको छ । कार्य समितिमा अमेरिकी र नेपालीहरूको सहकार्य र सहभागिता थियो । पछि अमेरिकीहरूको सङ्ख्या घट्दै गयो । यो संस्थाको मूल उद्देश्य नेपाली भाषा साहित्यको विकासमा प्रत्यक्ष काम गर्ने नभएता पनि यसले प्रकाशन गर्न थालेको आफ्नो मुखपत्र “आवाज” मार्फत नेपाली भाषा र साहित्यको प्रयोग र सृजनामा तत् समयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । त्यो आवाज पत्रिका अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषीको आवाज मुखरित गर्ने साधन र प्रतीकको रूपमा स्थापित थियो भन्न सकिन्छ । कवि वसन्त श्रेष्ठ कार्यकारी सम्पादक बनेर आवाज पत्रिकाको ३ अङ्कसम्म प्रकाशित भएको कुरा उनकै ‘अँगालोभरिको अनुभूति’ नामक पुस्तकमा उल्लेख छ । तत्कालीन समयमा ‘आवाज’ पत्रिकाले अमेरिकामा भानुभक्तको रामायणले झैँ भाषिक एकता कायम गर्दै नेपाली साहित्यको बिगुल फुक्न गयो भन्न सकिन्छ । यो संस्था हालसम्म कायम रहेको र गतिविधिहरू प्रारम्भिक कालको तुलनामा केही घट्दै गएको कुराको जानकारी प्राप्त हुन आएको छ ।
समयको बहावसँगै भाषा साहित्यको सन्दर्भमा अमेरिकामा धेरै सङ्घ, सङ्गठन र संस्थाहरू खुल्दै गए । कोही केही समय काम गरे र निष्क्रिय भए । कोही बन्दै पनि भए । यसरी थपिने र बन्द हुने क्रम समाजमा चलिरहनुलाई स्वाभाविक रूपमा लिन सकिन्छ पनि । हाल कार्यरत केही साहित्यिक र कुनै शुद्ध सामाजिक सङ्गठन जो भाषा साहित्यको विकासमा पनि थोर बहुत क्रियाशील छन्, यिनका बारेमा सर्वप्रथम केही कुरा उल्लेख गर्ने छु ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नितान्त साहित्यिक सङ्गठन हो । अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, विकास, उन्नयन, संवृद्धि र फैलावटको लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महत्त्वपूर्ण भूमिका रही आएको पाइन्छ । यसले आफ्नो उद्देश्य अनुरूपको सबै क्रियाकलापहरू सम्पन्न गर्न सक्यो, सकेन त्यो बेग्लै पक्ष हो तर यो जत्तिको प्रभावकारी र गतिशील नेपाली साहित्यिक संस्था अन्तर्राष्ट्रिय स्तरमा अर्को कुनै देखिएको छैन पनि ।
यो संस्था अन्तर्गत संसारको विभिन्न मुलुकमा रहेर नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा निरन्तर क्रियाशील धेरै च्याप्टरहरू छन् । अर्को कुरा क्षेत्रीय स्तरमा समेत सङ्गठन निर्माण गरी विभिन्न केन्द्रीय उपाध्यक्षहरूलाई संयोजक तोकेको देखिन्छ ।
यो संस्था सन् १९९१ मा अमेरिकाको वासिन्टन डिसीमा साहित्यकार होमनाथ सुवेदीको अध्यक्षतामा गठन भएको थियो । केन्द्रीय कार्यालय अमेरिकाको डिसीमा नै छ र त्यही स्थलमा रहेको बोर्ड अफ ट्रष्टि र केन्द्रीय समितिले नेपाली भाषा, साहित्यको रथ हाँकिरहेका छन् । यसका हरेक गतिविधिहरू भाषा साहित्यको उन्नयनमा केन्द्रित देखिन्छ । यो संस्थाले नेपाली भाषामा नियमित रूपमा ‘अनेसास दर्पण’ र ‘अन्तर्दृष्टि’ नाम भएका दुई साहित्यिक पत्रिकाहरू प्रकाशन गरी नेपाली र नेपाली भाषी साहित्यप्रेमीको सेवामा समर्पित देखिन्छ । यसै अन्तर्गतको केन्द्रीय महिला समितिले प्रकाशन गरी आएको “सिर्जनामा नारी” पत्रिकालाई पनि यो मेसोमा म सम्झन चाहन्छु ।
लेखक एवं साहित्यकारहरूलाई हौसला दिने र प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न विधाहरूमा प्रकाशित उत्कृष्ट नेपाली पुस्तकहरूलाई पुरस्कृत गर्दै आएको छ । त्यस्तै ‘अनेसास हिरो’ जस्तै अन्य पुरस्कारबाट पनि निःस्वार्थ, सक्रिय र प्रतिभाशाली व्यक्तिहरूलाई सम्मानित, पुरस्कृत र अभिनन्दित गरेको देखिन्छ । विभिन्न लैंगिक तथा विषयगत संयोजक (वाल, महिला र संस्कृति आदि संयोजक) तोकेर त्यस समूह र विषयको विकासमा दत्तचित्त भै आएको छ । नयाँ पुस्ताका बालबालिका जसको मातृभाषा नेपाली होइन, उनीहरूलाई लक्षित गरी कविता वाचनका समेत कार्यक्रम सञ्चालन भएका पाउँछु म । यी सबै गतिविधिहरू अनेसासले अमेरिकी भूमिमा रहेर नै सञ्चालन गरिआएको हुँदा प्राय: अमेरिकामा रहेका प्रवासी नेपालीहरूले यसको रसास्वादन गर्न पाएका छन् भन्न सकिन्छ ।
एक त ट्रष्टि र केन्द्रीय समितिको अधिकांश कार्यक्रमहरू अमेरिकामा नै सम्पन्न हुने गर्दछन् । दोस्रो अमेरिकाको विभिन्न राज्यहरूमा अनेसासका शाखा अर्थात् च्याप्टरहरू स्थापना भएका छन् । ती च्याप्टरहरूले पनि आआफ्नो सदस्य सङ्ख्या र क्षमता अनुसार उच्च किसिमले भाषा र साहित्यको जगेर्ना र गतिविधि सञ्चालन गरी आएका पाउँछौँ हामी । यसरी हेर्दा केन्द्र र च्याप्टरहरू सबैले रचना वाचन, पुस्तक विमोचन, समीक्षा र विवेचना गरेका छन् । दशैं, तिहार, नयाँ वर्ष जस्ता विभिन्न राष्ट्रिय पर्वहरू हर्षोल्लासपूर्वक मनाएका छन् । कवि, कलाकार र साहित्यकारहरूको जन्म र जयन्तीहरू भव्य रूपमा मनाउने चाहना हुने व्यक्तिहरूले साहित्यिक मैदान र अवसर पाएका देखिन्छ । यसरी अमेरिकामा आप्रवासी नेपालीहरू अनेसासको माध्यमबाट नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना, उन्नति र विकासमा रमाउन मात्र पुगेका छैनन् साहित्य सिर्जनामा प्रेरित र उत्साही भएका छन् ।
अमेरिकामा भाषा र साहित्य अनि संस्कृतिमा क्रियाशील हुन सन् २०१४ मा स्थापित अर्को संस्थाको नाम हो- अमेरिका नेपाल साहित्य प्रतिष्ठान । यसको अध्यक्ष वरिष्ठ साहित्यकार गोविन्द गिरी प्रेरणा हुन् । मूल रूपमा उनकै चाहना र सक्रियतामा यो स्थापना भएको हो । यसले पनि अमेरिकामा बासुशशी, हरिभक्त समेतका जन्मजयन्ती मनाएको, डा. तारानाथको श्रद्धाञ्जली सभा, कवितारामको सम्मान र पछि श्रद्धाञ्जली सभा, एकल कविता वाचनहरू आदि कार्यक्रम सम्पन्न गरिसकेको कुरा गोविन्दजीबाट नै जानकारी हुन आएको छ । यो संस्था हालसम्म आफ्नो उद्देश्यमा समर्पित भै क्रियाशील पाइन्छ । यसै गरी साहित्य साँझ अमेरिका नामक संस्था पनि विगत ८ वर्षदेखि अमेरिकामा क्रियाशील छ । आफ्नो विविध रचनात्मक र गतिशील क्रियाकलापको कारण सुपरिचित हुँदैछ । नेपाली साहित्यको विविध विधाहरूको छुट्टाछुट्टै समितिहरू निर्माण गरी तिनीहरू मार्फत विषयगत क्रियाकलापहरू निरन्तर सञ्चालन गरी आएको देखिन्छ ।
अमेरिकामा अन्य धेरै साना, ठूला सङ्घ सङ्गठनहरू नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा प्रत्यक्ष क्रियाशील अवश्य छन् । यो सानो आलेख भएको हुँदा मैले माथिका संस्थाहरूलाई प्रतिनिधिमूलक संस्थाको रूपमा विवेचना गरेको हुँ ।
अब म अमेरिकामा रहेका वर्गीय र विशुद्ध सामाजिक सङ्गठनहरूको प्रसङ्ग कोट्याउन गै रहेको छु । यी संख्यात्मक रूपमा अत्यधिक धेरै छन् । ती मध्ये केहीले आफ्नो मूल उद्देश्य भाषा साहित्य नहुँदानहुँदै पनि आफू मातहत समिति, उपसमिति गठन गरेर वा नगरेरै पनि नेपाली भाषा साहित्यको विकास र विस्तारमा क्रियाशील भै आएका देखिएको छ । उदाहरणको लागि मात्र म केहीको नाम उल्लेख गर्न गएको छु- गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका । एसोसिएसन अफ नेप्लिज ईन द अमेरिका- १९८३,( ANA) । एसोसिएसन अफ नेप्लिज ईन मिडवस्ट अमेरिका-१९८२( ANMA) । नेप्लिज एसोसियसन ईन साउथ-ईस्ट अमेरिका- १९९१(NASeA) । अमेरिका नेपाल हेल्पिङ् सोसाईटि- २००८(ANHS) । अन्तर्राष्ट्रिय नेपाली समाज- बि सं २०७८ ईन्स) आदि ।
संस्था सञ्चालन गर्नु भनेको त्यति सहज र सरल कुरा अवश्य होइन । जुन भावना र उत्साहले शुरू गर्यो त्यो सधैँ कायम नहुन सक्नाले लामो समयसम्म नाम चलेका कतिपय संस्थाहरू पनि वर्तमानमा गतिविधि शून्य भै शास मात्र धानेर बसेका पाउँछौँ हामी ।
माथि उल्लेखित संस्थाहरू मध्ये अन्तर्राष्ट्रिय स्तरमा नै नेटवर्क फराकिलो र सुपरिचित अनि लामो अवधिसम्म भाषा र साहित्यको क्षेत्रमा आफ्नो संलग्नता पनि कायम रहनाले गैरआवासीय नेपाली सङ्घ, समन्वय परिषद् अमेरिकालाई छनोट गर्दै यसले नेपाली भाषा साहित्यको क्षेत्रमा गरेको क्रियाकलाप र गतिविधिको संक्षिप्त प्रकाश पार्ने जमर्को गरेको छु । हालाकी यो संस्था “खुट्टामा बाटो र आँखामा सपना” लिँदै आफ्नो उद्देश्य प्राप्तिको लागि एकताको सिक्रीमा अनिवार्य बाँधिनु पर्नेमा केन्द्रदेखि नै टुट, फुट, गुट, उप-गुटको पोखरीमा पौडी मात्र खेलेको छैन स्वदेशी राजनैतिक मदारीहरूको डमरुको स्वार्थपूर्ण चालमा छमछमी नाचेको पाउँछौँ हामी ।
यति हुँदा हुँदै पनि गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले आफू मातहत नेपाली भाषा साहित्य समिति गठन गरेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पनि क्रियाशील छ । यो पङ्क्तिकारले विगत छ वर्षदेखि यो समितिमा रहेर काम गरिरहेको र हाल २०२३-२०२५ कार्यकालको भाषा साहित्य समितिको अध्यक्ष पदमा क्रियाशील रहेको कुरा निवेदन गर्न चाहन्छु ।
विगतमा यो समितिले मासिक एउटा मात्र साहित्यिक रचना वाचन कार्यक्रम सञ्चालन गरी आएको परम्परालाई परिवर्तन गरी वर्तमान कार्यसमितिले मासिक दुईवटा नियमित साहित्यिक कार्यक्रमहरू गर्दै आएको छ । एउटा हो – “रचना वाचन”, जुन पहिलेदेखि नै चल्दै आएको हो । अर्को- संसारभरबाट प्रकाशित भएका नेपाली साहित्यका विविध विषयका पुस्तकहरू लोकार्पण, समीक्षा, विवेचना, मूल्याङ्कन, परिचर्चा गर्ने कार्यक्रम थप्यौँ हामीले । जसले गर्दा एकातर्फ लेखक, कवि र सम्बन्धित पुस्तकका सर्जकहरूलाई उत्साहित बनाउने काम भएको छ । अर्कोतर्फ उनीहरूका सिर्जनाको प्रभाव, पुग-अपुग र कमी कमजोरीको लेखाजोखा गरी गुणस्तरीय साहित्य लेखनमा उत्प्रेरित गरिआएको छ । यी दुई कार्यक्रमहरूले आजसम्म निरन्तरता पाई आएका छन् ।
यसका साथै भाषा साहित्य समितिले हाम्रा प्रमुख साहित्यिक पर्वहरू, कवि र साहित्यकारहरूका जन्म, जयन्तीहरू मनाई आएको छ । साहित्यिक उत्सवहरूमा पनि सरिक भै कार्यक्रमहरू गर्दै आएको छ । र साहित्यिक विभूतिहरूको सम्झना र सम्मान गरेको छ ।
अर्को कुरा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको इतिहासमा नै पहिलो पटक वर्तमान भाषा साहित्य समितिले “ के म नेपाली होइन र ?” शीर्षकमा विश्वव्यापी कविता प्रतियोगिताको आयोजना गर्यो र भरखरै सफलतापूर्वक सम्पन्न भएको छ । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः अमेरिकी डलर ६००.॰॰ , ४००.०० , ३००.०० र ३ जनालाई जनही डलर १००.०० का दरले प्रोत्साहन पुरस्कार सहित सम्मान पत्र प्रदान भयो ।
भाषा साहित्य समितिको मुखपत्र “साहित्य- सौरभ” प्रकाशनको थालनी विद्वान् साहित्यकार पीपलमणि सिग्देल समितिको संयोजक हुँदा (२०२१-२०२३) को अवस्थादेखि भएको हो । त्यो प्रकाशन अमेरिकी गैरआवासीय नेपाली सङ्घको इतिहासमा पहिलो र सिर्जनशील घटना बनेर रहेको छ । यो पहिलो प्रकाशनको क्रममा पनि हामी धेरै खट्यौँ । जसको प्रधान सम्पादक म स्वयं थिएँ ।
त्यसैको निरन्तरताको रूपमा हाल कार्यरत भाषा साहित्य समिति “साहित्य-सौरभ- अङ्क २” प्रकाशनको अन्तिम चरणमा पुगेको जानकारी गराउँदछु ।
एकातिर यसरी परिषद् अन्तर्गतको भाषा साहित्य समितिहरूले विगत लामो समयदेखि नेपाली भाषा साहित्यको समृद्धिमा लागिपरेको छ भने यही परिषद्को छाता सङ्गठनको रूपमा रहेका अमेरिकाका विभिन्न राज्यहरूमा स्थापित च्याप्टरहरूले पनि आफ्ना अन्य गतिविधिको साथै वर्षको २/४ वटा साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । नयाँ पुस्ताका बालबालिकाहरूलाई नेपाली भाषा कक्षाहरू सञ्चालनमा पनि ल्याएका छन् । साथै सन् २०१८ मा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले १- ६ कक्षासम्मका भाषा पुस्तकहरूलाई पिडिएफ गरी डिजिटल माध्यमबाट आवश्यकता हुनेहरूलाई उपलब्ध गराएको घटना उल्लेख गर्दछु । टेक्सस च्याप्टरको सहायतामा पनि सन् २०२० मा नेपाली भाषा सिकाइका लागि विभिन्न विषयका सामाग्रीहरू अभिभावकलाई जानकारी भनेर डाउनलोड गर्न मिल्ने गरी अनलाइनमा राखेको थियो । अर्को प्रसङ्ग – केन्द्रीय गैरआवासीय नेपाली सङ्घ, भाषा साहित्य समितिले विदेशमा बसेका स्रष्टाहरूका प्रकाशित पुस्तकहरू मध्येबाट उत्कृष्ट ठहरिएको पुस्तकलाई वार्षिक रु दुई लाख नगद राशिको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिआएको सन्दर्भलाई यहाँ कोट्याउनु सान्दर्भिक नै हुनेछ ।
यो समितिले परदेशीहरूका रचना जम्मा गरी गत बर्ष नियात्रा अङ्क प्रकाशन पनि गरेको थियो ।
उल्लेखित सानो टिपोटबाट पनि भन्न सकिन्छ कि गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका नेपाली भाषा–साहित्यको सेवा र विकासमा क्रियाशील छ र समर्पित देखिन्छ ।
अमेरिकामा नेपालीभाषी भूटानी जनसमुदायका कारणले पनि नेपाली भाषा–साहित्य फैलिने र विकसित हुने अवसर पाएको छ । नेपाली साहित्य परिषद् भुटान, ग्लोबल भूटानीज लिटरेरी अर्गनाइजेशन लगायत अन्य ठूला र स्थानीय तहमा खुलेका धेरै साहित्यिक संस्थाहरू अत्यन्तै क्रियाशील छन् । यी संस्थाहरूले र कतिपय व्यक्तिगत प्रयासमा पनि नेपाली भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक बनाएका र प्रकाशित गरेका छन् । राम्रो नेपाली किताब, राम्रा नैतिक कथाहरू लगायत धेरै पाठ्यपुस्तकहरू बाहिर ल्याएका छन् । नेपाल र अन्य देश–विदेशबाट अतिथिहरूलाई आमन्त्रण गरी लगातार २/३ दिनसम्म भव्य र उत्साहप्रद तवरले साहित्यिक महोत्सवहरू मनाइँदै आएका छन् ।
अमेरिकाको हरेक राज्य, शहर र वस्तिहरू जहाँ नेपालीहरू कम्तीमा ५०/६० जना जति सङ्ख्यामा बसोबास गर्न पुग्छन्, त्यहाँ आपसी भातृत्वपूर्ण एकता कायम राख्न र दुख–सुखमा साझेदार हुन स्थानीय तवरमा सामाजिक संस्था स्थापना हुने गर्दछ । यदि प्रशस्त सङ्ख्यामा नेपालीहरू छन् भने एउटै राज्यमा वा शहरमा पनि धेरै संस्थाहरू स्थापना भइसकेका देखिन्छन् । यी संस्थाहरूले नेपाली राष्ट्रिय पर्वहरू जस्तै दसैँ, तिहार, नयाँ वर्ष आदि आवश्यकता अनुसार मनाउँछन् । यदि संस्थामा भाषा–साहित्यको क्षेत्रमा चासो राख्ने सदस्यहरू छन् भने संस्थाकै पहलमा कम्तीमा वर्षको १/२ पटक भव्य तवरले रचना वाचन, साहित्यकारका जन्मजयन्ती, साहित्यिक छलफल, गोष्ठी, पुस्तक विमोचन र समीक्षा आदि जस्ता साहित्यिक कार्यक्रम गर्ने चलन र परम्परा रहेको छ ।
अमेरिकाबाट प्रकाशित समाचारमूलक नेपाली पत्रिकाहरू र संस्थाका मुखपत्रहरूले पनि नेपाली भाषा–साहित्यको विकासमा मलजल गर्दै आएका छन् । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) अमेरिकामै छ । पत्रपत्रिकाहरू प्रायः ठूला–ठूला शहरहरूबाट प्रकाशित भइसकेका पाइन्छन् । उदाहरणका लागि केहीको नाम उल्लेख गर्न गइरहेको छु– खसोखास, परदेश, नेपालीपोस्ट, कुराकानी, विश्वपरिक्रमा, सगरमाथा टाइम्स, विश्व सन्देश, नेपाली आवाज आदि । नियमितता हुन नसक्नु यिनका मुख्य कमजोरी देखिन्छ र बन्द हुने अनि पुनः खुल्नु कतिपयको नियति बनेको छ ।
नेपालीभाषीहरूले स्थापना गरेका सामाजिक संस्थाहरू अत्यधिक भएकाले यिनले प्रकाशन गर्ने आफ्ना मुखपत्रहरू पनि धेरै छन् । भाषा–साहित्यलाई परदेशमा उर्वर बनाउन यी मुखपत्रहरूले पनि महत्त्वपूर्ण भूमिका खेलेका छन् भन्ने लाग्छ मलाई ।
‘कोठे साहित्यिक रचना वाचन’ कार्यक्रम अमेरिकामा लोकप्रिय भई अत्यन्तै प्रचलनमा आएको छ । हितचाहना मिलेका र सानो समूहमा रहेका साथीभाइ भेला भई चाहना अनुसार १/२/३ महिनापिच्छे पालैपालो आ–आफ्ना घर वा डेरामा प्रायः बिदाको दिनमा सामूहिक भेला भई रचना वाचन गर्ने परम्परा लामो भइसकेको छ । बारम्बारको यस्तो आत्मीय भेटघाटले साहित्यिक विमर्श र रसास्वादन मात्र नभई स्वदेशमा रहेका परिवार, इष्टमित्र, नातेदार सम्झिँदा न्यास्रो बनेको दिलमा शीतल मलमको काम गरेको छ ।
अमेरिकामा आप्रवासी नेपालीको सङ्ख्या ह्वात्तै बढेसँगै नयाँ पुस्ताको जायजन्म बढ्नु स्वाभाविकै हो । यसरी बढ्दै गएका बालबच्चाहरूलाई नेपाली भाषा नसिकाउने हो भने नेपालमा रहेका आफ्ना हजुरबा–हजुरआमा लगायतका परिवारसँगको मायामोह, आत्मीयता र सम्पर्कमा दरार उत्पन्न हुन सक्छ । त्यसैले कहाँ, कसरी र कुन माध्यमबाट नेपाली भाषा सिकाउने भन्ने चिन्ता अभिभावकहरूमा बढेको छ । बालबच्चाको सङ्ख्या हेरेर अभिभावकहरूको सामूहिक प्रयासमा प्रत्येक छिमेक, टोलहरूमा प्राथमिक स्तरका नेपाली भाषा कक्षाहरू सञ्चालन हुँदै आएका छन् । यी भाषा कक्षाहरू सामान्य बोल्न र हल्का लेखपढ गराउन सक्ने स्तरमा मात्र सीमित छन् ।
यस्तै समस्यालाई मध्यनजर राखी भर्जिनियाको अमेरिका नेपाली सहयोगी समाजले सन् २०१६ मा अमेरिका–नेपाल शिक्षा सदनको स्थापना गर्यो । शिक्षा–शिक्षणका लागि केही पुस्तकहरूको समेत प्रकाशन गरेको अवगत हुन आएको छ ।
भनिन्छ– विपत्तिले हामीलाई अवसर प्रदान गर्ने र नयाँ बाटो देखाउने पनि गर्छ, जुन हामीले पहिले सोचेका हुँदैनौँ । कोरोनाकालको महाविपत्ति र भयावह अवस्थाको सम्झनाले मात्र पनि हामीलाई बेचैन बनाउँछ । मान्छेले मान्छेलाई स्पर्श गर्न र सामुन्नेमा बोल्न, भेटघाट गर्न समेत डराउनुपर्ने त्यो दारुण अवस्थाले गर्दा मानिसहरूलाई आफ्नै निवास जेलसरह हुन पुग्यो । यस्तो दुखद, विरहपूर्ण अवस्थामा जूम प्रविधिको व्यापक उपयोग भयो र घरको कोठामा बसीबसी संसारभरका मानिसहरूसँग सामूहिक छलफल, मिटिङ गर्ने पद्धतिले व्यापकता पायो । यो क्रम आजसम्म निरन्तर चलिरहेको छ ।
कोरोनाअघि नै जुम प्रविधि विकास भइसकेको थियो तर वातावरण खुला हुनाले र प्रयोगमा बानी नपर्नाले यसको प्रयोगकर्ता अति नै सीमित थिए । भाषा–साहित्यसम्बन्धी गतिविधिहरू भौतिक रूपमा नै जम्मा भई आयोजना गरिन्थे, जसले गर्दा एकातिर समय र धन खर्चिलो, अर्कोतर्फ सहभागिता न्यून र आयोजनामा कमी हुने गर्थ्यो । कोरोनाकालदेखि जूम प्रविधिको व्यापक प्रयोगले गर्दा साहित्यिक कार्यक्रमहरू अनगिन्ती आयोजना हुन थाले । संसारका विभिन्न भागबाट सहभागी हुन चाहनेहरूलाई घरको कोठामा भेट्न सकिने भयो । आपसी परिचय र सहभागिताले ज्ञान साटासाट गर्ने अवसर ह्वात्तै बढ्यो । भाषा–साहित्यसम्बन्धी विविध कार्यक्रमहरूको प्रचार–प्रसार भयो । सहभागिता र आयोजनाको वृद्धिले व्यापकता पायो । त्यो व्यापकताले पाठक, दर्शक, उपभोक्ता र प्रयोगकर्तालाई हित र फाइदा दियो । भन्न सकिन्छ– कोरोनाले नेपाली भाषा–साहित्यमा पखेटा हालिदियो, उसको उडान अमेरिकाभित्र मात्र सीमित रहेन, संसारभर विचरण गर्न सक्षम बनायो । यसरी भाषा–साहित्यको विकास र फैलावटमा विपत्तिले पनि परोक्ष वा प्रत्यक्ष हित गर्न पुग्दो रहेछ, जुन कुरा हामीले सोचेका पनि थिएनौँ ।
अमेरिकामा भाषा–साहित्यको विकासमा केही अप्ठ्यारा छन् । लेखक, साहित्यकारहरूले पुस्तक छपाइ, प्रकाशन, वितरण आदिमा समस्या झेल्नुपरेका गुनासा गर्छन् । अर्को कुरा, दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको मातृभाषा अंग्रेजी हुने गर्छ । नेपाली भाषा शिक्षण उच्च तहको पाठ्यक्रममा आधारित नभई प्रारम्भिक तहको मात्र भएकाले नेपाली उनीहरूले राम्रोसँग बोल्न र लेख्न कठिन भइरहेको छ । दोस्रो, नेपाली शुद्ध बोल्न र लेख्न नै समस्या पर्नेहरूले नेपाली साहित्य सिर्जना गर्ने कल्पना कसरी गर्न सकिन्छ र ? दोस्रो पुस्ताको यो स्थितिबाट अभिभावक, लेखक र साहित्यकारहरू अत्यन्तै चिन्तित छन् । आफ्नै सन्तानले पढ्न नसक्ने आफ्ना पुस्तक र सिर्जना हेर्दा सर्जक, साहित्यकारहरू असमञ्जसमा देखिन्छन् भने आफ्ना पितापुर्खाद्वारा सिर्जित पुस्तकहरू अध्ययन गर्न नसक्दा दोस्रो पुस्ता दुखी भएको छ । त्यसर्थ, अभिभावक एवं सम्बन्धित सङ्घ–संस्थाहरूले सर्वप्रथम नेपाली भाषा शिक्षणलाई पहिलो प्राथमिकतामा राखेर जानुको विकल्प छैन । अन्यथा, प्रवासमा पहिलो पुस्ताले मात्र ठेलेर नेपाली भाषा–साहित्यको रथ कति परसम्म पुग्ला र ?
साहित्यको गुणस्तरमा चियोचर्चा गर्ने र औँलो ठड्याउनेहरू अमेरिकामा नभएका होइनन् । ‘परदेशको साहित्यलाई रहरको साहित्य’ भनी यसको गुणस्तरमाथि हाँसीमजाक गर्नेहरूलाई अमेरिकामा रहेका प्रवासी नेपाली साहित्यकारहरूले क्रमशः निरुत्साहित बनाउँदै ल्याएका देखिन्छ । एकातिर साहित्यिक सिर्जना र प्रकाशनको बाढी आएको छ भने अर्कोतर्फ गुणस्तरमा पनि सुधार हुँदै गएको कुरा अमेरिकी भूमिमा लेखिएका नेपाली साहित्यले चर्चित नेपाली पुरस्कारहरू प्राप्त गर्न सफल भएका घटनाबाट पुष्टि हुन्छ ।
जे होस्, अमेरिकामा नेपाली भाषा–साहित्यको विकासका लागि सामाजिक सङ्गठनहरू, साहित्यिक संस्थाहरू, अभिभावक र भाषा–साहित्यका प्रयोगकर्ताबीच समन्वय, सहकार्य र पारस्परिक सम्बन्ध बढाउँदै दोस्रो पुस्तामा नेपाली भाषाको ज्ञान अभिवृद्धि गर्दै लैजानु अनिवार्य देखिन्छ ।
गोरखा, बजार, हाल- म्याडिसन अमेरिका ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० असार २०८३, मंगलवार 










