लुप्लिनाको कुराले आजसम्म पनि म अविवाहित छु । उनले के भनेकी हुन् त्यो समयमा, यसो सम्झिँदा ठीकै भनेकी हुन् कि जस्तो पनि लाग्छ कता कता । तर पनि चित्त भने अझै बुझिरहेको छैन ।
गड्याङगुडुङ मेघको गर्जनसँगै झिलिक झिलिक बिजुली चम्किँदा र झरी पानीमा निद्रै लाग्दैन । आँधी हुरी मडारिएर आउँदा सालको पात जस्तै यो घर कतै उडाइ लान्छ कि जस्तो लाग्छ । उभियो भने अविरल वर्षाद निथ्रुक्क भिजेर पुराना कागजात र दस्ताबेज कुहिएरै जाने डर । त्यति मात्र कहाँ हो र पीर पनि ! घरै भत्किएर कुन दिन आफू फ्याप्लो बनिने बेर छैन ।
“फुकीलाई ओछ्यान, मुड्कीलाई सिरानी, पँधेरो जानु बाजा र गाजा, घरभित्रै बाट देखिन्छ तारा ।” यसरी भनेका थिए रे, उहिले नै एकजना तन्नेरीले उसकी प्रेमिकालाई । त्यसपछि सधैंका लागि आफ्नो जीवन त्यही घरमा व्यतीत गर्ने निर्णय गरेर घरमै पुग्दा छाँगाबाट झरिन् रे प्रेमिका । मेरो पनि अवस्था तिनै प्रेमी पात्रको जस्तो भएको छ ।
मेरो जीवनमा एउटा यस्तो अविस्मरणीय घटना यसरी घटेको थियो । वैशाख महिनाको एक साँझ, कुखुरा बास लाग्ने समय अगावै । पछ्यौराले माथिबाट छोपिएको थुन्से र ठूलो र लामो खाले पेरुङ्गोमा ह्यान्ड ब्याग पाराले कुखुराको भाले बोक्ने दुई वटी तरुनीहरू सिधै मेरै घरतिर हानिएर आउँदै थिए । पुगेर आँगनको माथिल्लोपट्टिको ढुङ्गे सिँढीमा भारी बिसाएर बसेका उनीहरूको शारीरिक हाउभाउले गहिरो थकान देखाइरहेको थियो ।
म भने गाईबस्तु थन्काउन पसेँ । हतार नगरौँ त आकाशमा कालो घनघोर बादलहरू डल्ला डल्ला भएर डाँडा पारिबाट मडारिएर आउँदै थिए । मानौँ कुनै अनिष्ट सन्देश लिएर छोप्न आएका काला पर्दाहरू । एक्कासि बिजुलीले चिर्दा आकाश फाटे झैँ भयो । पानीसँगै असिना पर्न थाल्यो किसानले बारीमा मकै छरे जस्तो । पुरै डाँडा, बैंसालु उतिस र काभ्राका टुप्पाहरू हल्लाउँदै आयो आँधी । कतै सुँगुर खोरको छाना र कटेरोको छाना उचालेर कमिलाले मकैको चाख्ला जाँतोको छेउबाट बोकेर लगे जस्तै लाँदै थियो । बाँसका टुप्पाहरू छटपटाएका सर्प जस्ता हल्लिन्थे । असिनाको चुटाइले धुजाधुजा भएर केराको पात चिच्याइ रहेको थियो, “अब यता नआऊ, केही छैन !”
म दौडेर घर पुग्दा ती तरुनीहरूले थुन्से घरभित्र खाँदेका रहेछन् । मेरा दिदीबहिनीहरूसँगै ती तरुनीहरू पनि घरको बलोमा तुर्लुङ् तुर्लुङ् झुन्डिएका थिए । मकैको पिठो, सुँगुरको खप्पर र हड्डी अगेनामा डढाएर धुवाँ निकाल्दै, घेम्पाको जाँड झिकेर हतार हतार छर्दै थिइन् आमा । मकैको पिठो र हड्डी डढाउँदा आँधीहुरी तर्किन्छ, जाँडको छक्रा छर्दा चट्याङ पर्दैन भन्ने लोक विश्वास छ । तर, यसको वैज्ञानिक तथ्य त होला नहोला । आँधीले झन्डै उडाइ लगेको बिचरा मेरो घर ! बलोमा झुन्डिएर धन्न जोगाए दिदीबहिनी र पाहुनाहरूले ।
एकछिनपछि असिना पानी र आँधीहुरी शान्त हुँदा रातको बर्कीले जमिन छ्याप्पै छोपिसकेको थियो । घरभित्र जमेको पानी बटुकोले उघाएर फलिन् दिदीले । त्यसपछि ती पाहुनाहरूलाई घरको परतिर कुनामा गुन्द्री बिछ्याइ दिइन् । बेलाबेला चलिरहेको हावा सामना गर्दै पिलपिल बलिरहेको थियो थिप्री मट्टितेलको गन्ध छर्दै । मेरो आँखा चोर्दै मलाई झलक झुलुक हेर्दै कानेखुसी गर्दै मुसुमुसु हाँस्दै बसे ती पाहुना तरुनीहरू ।
“हैना, हजुर्का घर त याँ पो रैछ नि !” एकजना लजालु पाराले पछ्यौराले मुख छोप्दै बोलिन् ।
“हजुर, ह त ।” मैले भनेँ ।
“एस्तो आपत्मा इहाँ ओत लाग्न पायुङ् र धान्ना ढुक्क भोयुङ्, नात्र बिजोख हुन्थ्युङ् हला ।” अर्की चाहिँ बोलिन् ।
“हैना, तप्पैलै हामी चिन्छुङ् नि, तर तप्पैले हाम्लै चिन्नु भोएना हला ?” अर्कीजना बोलिन् ।
केहीबेर अन्योलमा परेँ म । कतै भेटघाट भएको हो कि भनेर घोत्लिएँ, त्यसपछि भनेँ ।
“सिस्नुको फेद चढ्न सकिँदैन, दुःख र पीडा लुकाउन सकिँदैन, के गर्नु हजुर विरक्तै लाग्दो कटेरे घरलै सम्झेर दर्बार ऐदिनु भयो राम्रै भयो । अनि यो भन्दा पैले हाम्रो भेटघाट कतै भाको थ्यो कि ?”
“ह त आनि, आस्ति अम्बरपुर आङ्बुङ् मेलामा भेट भोएर तेत्रो धान नाचेको बिर्सिनु भाको ? हाम्रो घर नाःङ्गी ह नि । हाम्रो दिदी एतै माथि डाँडा गाउँमा फाच्चा आएर बसेको छ । हिजु आस्ति भार्खरै सुख्येरी भोएछ र हेर्नु जाँदै गरेको, हुरीपानीले रोकेर रात परिगोयो ।”
“ठिक्कै छ त, भोलि बिहानै पुगिहाल्नुन्छ ।” मैले भनें ।
“आझै पनि तप्पैले हाम्लै चिन्नु भोएना हला है । मै त हुङ् नि छ्रयौघारे कान्छी, साथी चैँ बाँस्घारे मैली ।” लजाएर हो कि किन हो कुन्नि छेउघरे कान्छीको तिघ्रा बाँसघरे माइलीले चिमोटी दिइन् ।
बेलुकीको खानपिन सकेर दिदीबहिनीहरूले भुइँ बढारकुढार गरेर घरभित्रै लहरै ओछ्यान लगाए । सुँगुर सुतै एकै ठाउँमा दिदीबहिनीहरूसित ती पाहुनाहरू पनि लस्करै ओछ्यान लागे । म भने बाहिर सिकुवामा ओछ्यान लगाएर पल्टिएँ । ‘साँच्चै अस्ति आङ्बुङ् मेलामा जाँदा यी पाहुनाहरूसँग भेट भएर रातभर धान नाचेको तर सामूहिक नाचले गर्दा उत्ति राम्ररी ख्याल राख्न सकिएनछ क्यारे । उसो त यिनै कुन चाहिँ एकजना या यिनीहरूकै एकजना साथीले गाएको पालाम अहिले पो सम्झिन्छु ।
“सिमलै फुल्छ डालैपिच्छे
जोवनै ढल्छ सालैपिच्छे”
यस्तो समस्याबीच फेरि आज यही घर ताकेर कसरी आएका होलान् । हुन त उनीहरू पनि विपत्मा परेर त आए । लाज र डरको लुकाउने ठाउँ त हुँदैन नै । यसरी नै कुनै बेला समस्याहरू आइपर्छन् भनेर घर बनाउने कोशिश गरेको धेरै भए पनि अहिलेसम्म छेपारोको कथा मात्र भएको छ । अब जे भए पनि सकियो ।’
यसरी आफ्नै मनसँग संवाद गरिरहेको बेला ढोका खोलेर बाहिर निस्की आए पाहुनाहरू । सास थुनेर सुतेझैँ अभिनय गरेँ । सिकुवाबाट बिस्तारै बलेँसी नाघ्दै आँगनको छेउमा जाँदै थिए । “ऐय्या हो…!” एकजना पाहुनाको मुखबाट झन्डै अश्लील शब्द फुत्किन खोज्दै लडेको आवाज सुनेँ । सन्नाटामा बिस्तारै टाउको उठाएर हेर्दा ब्याट्री सकिनै लागेको जीप टर्चको फक्सले एकजनाले देखाइरहेकी थिइन् भने एकजना हिलोमा चिप्लिएर उत्तानो लडिरहेकी थिइन् ।
“हौ, साथी के पो गर्छस् ?” एकजनाले भनिन् ।
“याँ चाक ठोकिएर मर्न लागेको बेला के पो भन्छस् हौ ।” जुरुक्क उठेर सुर्किएको लुङ्गी मिलाउँदै भनिन् ।
यसरी गन्थन गर्दै आँगनको पल्लो छेउनेर पिसाब फेर्दै गरेको आवाज कानमा गुन्जिरहेको थियो खेतको समाहा जस्तो ।
“हौ, केम्बारग्येख्र तेःङ्मे, ला ! सिक्वामा सुत्नेले त था पायेना ?”
“कोनिनु आरिन्ने हेक्याङ्ङा ।”
अलिअलि घुरे जस्तो गरेर थाहा नपाउने जस्तो गरेँ । पाहुनाहरू घरभित्र पसिगए ।
हिजो हाम्रो स्थिति यस्तो मात्र थिएन । मेरो बाजेले बनाएको ठूलो र राम्रो घर मेरै आँखासामु भत्किँदै छ । जोसुकै व्यक्तिले लोभ्याएको, मन पराएको घर । आँगन वरिपरि विभिन्न प्रजातिका रङ्गीचङ्गी फूलहरूसँगै फुपूहरूको बैँस पनि फुलेको थियो । यस घरमा बटुवा र नयाँ मानिस कति आउँथे, कति बास बस्थे । दिनदिनै मेरा बाजेको उमेरले बैंसालु भन्ज्याङहरू पार गरेर घाम निल्नै लागेको क्षितिज छुँदै थियो । लौरोको सहाराले मात्र आफूलाई उभ्याउन सक्ने अवस्थामा पुग्दै गएपछि घर संरक्षण गर्न सकेनन् । समय सँगसँगै फुपूहरूले पनि माइतीघर छाडेर कर्म घरतिर आफ्नो भाग्य पछ्याउँदै लगे । त्यसपछि बिस्तारै बिस्तारै घर भत्किँदै जान थाल्यो । बाजेको मृत्युपछि त झन् फुपूहरूले पनि पुरै माया मारे । बाजेको परिश्रम र पौरखले बनाएको यतिको राम्रो घर हेर्दाहेर्दै भत्किँदै छ । ढोकाहरू बाङ्गिएका छन्, मूलखाँबो घुन लागेर ढलेको छ, गारो भत्किएको छ । स्याल, वनढाँडे जस्ता वन्यजन्तुहरू घरभित्र पसेर गुँड लगाएर बस्न थालेका छन् ।
वास्तवमै भन्ने हो भने यो घर यसरी भत्किने थिएन । यो घर भत्किनुको कथा बेग्लै छ । बाजेका छोरा (काका, बडा, र बुबा)हरूको कहिल्यै पनि मिलेमतो नहुने, सल्लाह नमिल्ने । दिनभर सुत्ने, अर्काको घरमा मात्र मरीमरी काम गर्ने, आफ्नो घरमा दाजुभाइ मिलेर काम नगर्ने, झगडा मात्र गर्ने, आफ्नो घर स्याहारसुसार नगर्ने, आफ्नो उन्नति प्रगतिको काम नगर्ने, आफ्नो बुबाले बनाएको घर संरक्षण नगर्ने भएकोले भत्किएको हो । यति बेला उनीहरू कताकता बेपत्ता जस्तै भएका छन् ।
मैले काठ, ढुङ्गा थुपारेर बाजेजस्तै सुन्दर घर बनाउने सोच बनाएर एउटा घडेरी छनौट गरेर घर बनाउने निर्णय गरेँ । वास्तुशास्त्र अनुसार माटो खदालेँ । माटो खदालेको ठाउँमा माकुराले जालो पनि टाँगेको थियो । माकुराले जालो टाँगेको ठाउँ उपयुक्त हुन्छ भन्ने वास्तुशास्त्रीय विश्वास पद्धति अनुसार घर बनाउनै तयार गर्दै थिएँ । ठीक त्यसैबेला फेरि बुबा, काका र बडाहरूले बिथोल्न थाले । घर त मानिसलाई मात्र होइन, जीवजन्तु र पशुपन्छीलाई पनि अपरिहार्य छ । जङ्गली जनावरहरूको पनि अनेक ओढार हुन्छ, चराहरूको पनि रुख हुन्छ । ‘भोक के हो, खान नपाई सडकमा बस्नेलाई सोध, शोक के हो, आफ्नो सन्तान गुमाएकी आमालाई सोध, थकान के हो, उकालीमा भारी बोक्ने भरियालाई सोध, घर के हो, भाडामा बस्नेलाई सोध ।’ भने जस्तै घर नहुनुको पीडा घर नहुनेलाई मात्र बोध हुन्छ । कति आवासविहीन मानिसहरू रुँदैछन् । खुला आकाशमा उड्ने चरा थकित भएर रुखमै बसे जस्तै त हो नि मानिस पनि । बल बैँस हुँदासम्म जहाँ गए पनि अन्ततः घरमै आउनुपर्छ । कसैले चित्त दुखाउँदा होस्, कतै परदेशमा बिरामी पर्दा किन नहोस् आखिर मानिसले सम्झिने त घर नै हो । जसरी पनि घर विना त नहुने रहेछ ।
अब त के भन्छन्, मलाई मतलब भएन । जतिसुकै बिथोल्न खोजे पनि, झगडै गरे पनि मेरो प्रयासलाई अगाडि बढाएरै छाड्छु । यही मेरो बाजेले बनाएकै घर नै मर्मत गर्छु । झ्याल ढोकामा जसरी सुन्दर बुट्टा कुँदिएका छन्, अब उसरी कुँद्ने । सुन्दर घर बनाएर पाजाइ तेन्तुम्याङ् जस्ता च्याब्रुङ नाच्नेहरूलाई नाच्न लगाउनु पर्यो । मुन्धुमी लय सहितको च्याब्रुङको धुनले मात्र घुन झार्न सक्छ र भत्किँदैन घर । मुन्धुम नपुगेको घर जति बनाए पनि भत्केको भत्केकै गर्छ ।
यतिका वर्षसम्म एकापसमा मायाको डोरीमा नत्थिएर बाँचेका छौँ लुप्लिनासँग । “दुबो जस्तो धर्ती बाँधेर सांसारिक रीतलाई पछ्याउनुपर्छ नि अब त,” भन्दै कति फकाउँछु लुप्लिनालाई । “सबैभन्दा पहिले घर बनाऊ, मन नमिलेर बाँडिएर, छरिएर हिँडेका काका, बाउ र बडाहरूलाई एकै ठाउँमा भेला पार, त्यसपछि मात्र तिमीले राखेको प्रस्ताव पारित हुन्छ ।” लुप्लिनाको यस्तो अडानको सिरानी लगाएर कति रातहरू निलिसकें यही झुपडीमा । साँच्चिकै उज्यालो सँगै उठेर घर बनाउने दृढ सङ्कल्प गर्दै पल्टिरहेँ नसुती रातभरि । उज्यालो हुनुपूर्वको रिमरिमे पर्दा फाट्नेगरी पाहुनाहरूको भाले पेरुङ्गो भित्रैबाट बेजोडले बास्यो । त्यसपछि गाउँ भरिका भालेहरू प्रतिस्पर्धात्मक तरिकाले बास्न थाले ।
(लिम्बू भाषाबाट अनुवाद गरिएको कथा)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ श्रावण २०८३, शनिबार 





